Engineeer Khabar

इन्जिनियरहरुद्वारा बहुप्रकोपिय जोखिम प्रतिरोधी अपाङ्गमैत्री भवन निर्माण गरी हस्तान्तरण

१७ मंसिर- लम्जुङ्ग: लम्जुङ्गको बेन्शीसहर-१० बांझाखेतमा गत मंगलबार न्यु जेनेरेसन इन्जिनियरिङ कन्सल्टका प्राविधिक टोलीले न्युन लागतमा स्थानीय प्रविधि प्रयोग गरेर केवल दुई महिनामै बहुप्रकोपीय जोखिम प्रतिरोधी अपाङ्गमैत्री निर्माण गरी हस्तान्तरण गरेका छन् ।

गत जेठ ५ गते लमजुङलाई केन्द्रविन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पले सो क्षेत्रमा धेरै घरहरुमा क्षति पुर्याएको थियो । प्रभावित मध्ये एक घर थियो लमजुङ बेशिसहर नगरपालिका–१०, बाँझाखेत स्थित चन्द्र बहादुर घिमिरेको घर। घिमिरेको ९ जनाको परिवारमा तीन सदस्य अपाङ्गता भएका व्यक्ति छन् । दुई जना बोल्न नसक्ने छन् भने एक जना उठ्न पनि नसक्ने । सो भूकम्पले घर पूर्ण रुपमा भत्किएपछि घिमिरेको ९ जनाको परिवारको बिचल्ली भएको थियो  र ओत लगाउने ठाउँ समेत थिएन।

No description available.

सोहि अवस्थामा भूकम्पको प्रभाब अध्ययन गर्न इन्जिनियरहरूको एक समूह (न्यू  जेनेरेसन इन्जिनियरिङ कन्सल्ट नेपाल– एनजेन) लम्जुङ्ग पुगेको थियो । अध्ययन गर्ने क्रममा उक्त  समुहका एक सदस्य ई. दिपेन्द्र गौतमको  नजर घिमिरेको अवस्थामा पर्यो । प्राविधिक अध्ययन गर्न गएता पनि सो दृश्यले ई. गौतमको मनमा गहिरो प्रभाव पार्यो । इन्जिनियरखबरसंग संवाद गर्ने क्रममा ई. गौतमले भने “म त कतिपय दृश्य देखेर भावविव्हल नै भएको थिएँ, इन्जिनियरिंगले मानवतालाइ पहिलो लक्ष्य बनाउनुपर्छ” । त्यसपछि ई. गौतम लगायतको समूहले घिमिरेको परिवारको आवास बन्दोबस्त गर्ने अठोट गर्यो ।

No description available.

उक्त अध्ययन समुहले आर्थिक सहयोग संकलन गरी आफ्नो प्राविधिक दक्षताको प्रयोग गर्दै स्वयंसेवीको रुपमा काम गर्ने योजना अघि बढाए । न्यू  जेनेरेसन इन्जिनियरिङ कन्सल्ट नेपालका ८ जना सदस्य र एक जना आर्किटेक्टगरी ९ जना योजनालाई साकार पार्न निरन्तर लागिरहे  । सोहि क्रममा, लामो समयदेखि विपद जोखिम न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएका कोमल अर्यालसंग अध्ययन टोलीको भेट भयो । घर बनाउनको लागि आर्थिक संकलन गर्न अर्यालले समेत अध्ययन टोलीलाई सघाए । सो घरको निर्माण दुइ महिनामा सम्पन्न गर्नका लागि डा कोमल राज अर्यालले मानवीय सहायता संयोजन, एनजेन कन्सल्टका आठ जना संरचना इन्जिनियरहरु रबिन्द्र अधिकारी, दिपेन्द्र गौतम, गोविन्द राज भट्ट, इश्वरी खरेल, पुस्कर कोइराला, प्रत्यूष झा, रेवती बरुवाल, र ललित भट्ट तथा आर्किटेक्ट स्वर्णिमा खतिवडाको प्राविधिक सहयोग र स्वयंसेवी योगदान एवं कमलजङ्ग थापाको संयोजनसहित स्थानीय जनसहभागिता रहेको थियो ।

No description available.

संवाद कै क्रममा ई. गौतमले भने, “बहुप्रकोपीय जोखिमको अध्ययन नगरी घर र अन्य संरचना निर्माण गर्दा एउटा प्रकोपलाइ विचार गरी बनाइएका संरचना अर्को प्रकोपले क्षति गर्ने क्रम बढेको छ, त्यसैले नेपालजस्तो बहुप्रकोपीय जोखिम उच्च भएको क्षेत्रमा अब हुने निर्माण भूकम्प प्रतिरोधी मात्रै भएर हुदैन, बहुप्रकोपीय जोखिम उत्थानशील हुनुपर्छ।”  नेपाल बहुप्रकोपीय जोखिमका हिसाबले विश्वको बीसौं अति उच्च जोखिम क्षेत्रमा रहेको समेत ई. गौतमले जनाए । “स्थानीय प्रविधि र परम्परागत निर्माण शैलीको प्रयोगले संरचनाको दीगोपना र न्यून लागत पनि सुनिस्चित गर्छ । हामीले निर्माण गर्न चाहेको न्यारेटिभचाहि स्थानीय प्रविधि र नवीनतम ज्ञानको प्रयोग गरेर उत्थानशील संरचनाहरु कम लागतमै बन्न सक्छन भन्ने पनि हो”, उनले थपे ।

No description available.

नेपालको बहुप्रकोपिय जोखिम उत्थानशील संरचना विकासमा सुरुवाती अनुसन्धानमा संलग्न अनुसन्धान समुहले नै उक्त घरको डिजाइन र निर्माण गरेको छ । उक्त समूहले नेपालका बिभिन्न स्थानमा रहेका भर्नाकुलर घरहरुको अध्ययन गर्दै सो सिकाइको प्रयोग गर्दै घरका डिजाइन गर्दै आएका छन् । सोहि क्रममा, लम्जुङ्गमा समेत डिजाइन गर्नुअगाडी भूकम्प, पहिरो, बाढी, आगलागीजस्ता प्रकोपहरुको मुल्यांकन गर्दै  डिजाइन गरिएको जानकारी ई. गौतमले दिए । ६ कोठाको घर भूकम्प प्रतिरोधात्मक मात्र होइन बहु प्रकोप जोखिम प्रतिरोधात्मक र अपांगमैत्रीसमेत बनाइएको छ । कुल रु. १० लाखमा स्थानीय स्तरबाटै निर्मित उक्त घरमा भत्किएको घरको ढुंगा र काठ अधिकांश पुनर्प्रयोग भएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.