सधैलाई अस्ताए, सबैका निरौला बाजे
Home News मुख्य समाचार

सधैलाई अस्ताए, सबैका निरौला बाजे

इन्जिनियर खबर - Oct. 11, 2025 1178 views
images/557988846_4077953342457701_4281554923829496768_n.jpg
images/557988846_4077953342457701_4281554923829496768_n.jpg
Text Size

विश्वनाथ निरौला उर्फ निरौला बाजे, पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्ने सबै विद्यार्थीको मस्तिष्कमा झल्किरहने नाम हो। पुल्चोक क्याम्पसमा पढेका तर निरौला बाजेलाई नचिनेका सायदै कोही होलान्। पेशाले सिभिल बिभागका सर्भे प्रशिक्षक उनी बिद्यार्थीका लागी फरक फरक भूमिका देखिन्थे, कहिले अभिभावक, कहिले साथी, कहिले मार्गदर्शक अनि कहिले प्रिय पात्र अर्थात तपाइँ जस्तो हुनुहुन्छ, उनी त्यसै बनि दिन्थे। अंग्रेजीलाई सामान्ययीकरण गरेर बोल्ने उनको बानी उत्तिकै लोकप्रिय थियो।  निरौला बाजेको आफ्नै स्वभाव थियो, सधै हसिलो, सधै फिट, सधै मग्न मुस्कान यी सबै गुणले निरौला बाजे पुल्चोक क्याम्पसमा सबैको प्रिय थिए। यिनै प्रिय निरौला बाजे गत आश्विन १९ गते भगवानको पनि प्रिय बन्न पुगे, अर्थात उनी सधैका लागी अस्ताए। २०१७ सालमा खोटाङको ऐंशेलुखर्कमा जन्मिएका निरौला बाजेले २०८२ को आश्विन १९ मा काठमाडौँको नर्भिक अस्पतालमा अन्तिम सास फेरे।

images/557988846_4077953342457701_4281554923829496768_n.jpg

२०३९ सालमा कार्यालय सहायकको रुपमा दैनिक ज्यालादारीमा अस्थायी नियुक्ति लिएर पुल्चोक क्याम्पसमा प्रवेश गर्दा उनी २२ वर्षका थिए र पुल्चोकबाट केही नजिकै रहेको पाटन स्कुलमा कक्षा आठमा पढ्दै थिए। पछि एस.एल.सी सम्मको अध्ययन सक्काए पछि उनले कार्यालय सहायकको जागिर छोडी दिए र २०४७ साममा ‘सर्भे ल्याब ब्वाइको रुपमा  स्थायी रुपमा त्रिभुवन विश्वविद्यालय प्रवेश गरे। पुल्चोक क्याम्पसमा प्रवेश गरे पछि उनले पछाडी फर्किएर हेर्नु परेन, यही क्याम्पसबाट उनका दुइ छोराले इञ्जिनियरिङ्ग अध्ययन गरे।

images/557988846_4077953342457701_4281554923829496768_n.jpg

पुल्चोक क्याम्पसको होस्टेल नजिकै उनको निरौला स्टोर नामको पसल थियो, त्यो स्टोर पुल्चोकमा पढ्ने प्राय: सबै विद्यार्थीको दैनिकी जस्तै थियो, त्यहाँ मसौमी फलफुलको फ्लेवरमा एउटा निरौला फ्लेवर समेत भेटिन्थ्यो, त्यस्तो फ्लेवर जो कसैलाई बिझाउदैनथ्यो, निरौला बाजेको आफ्नै फ्लेवर "कर्ड इटीय़ा", "दही मात्रै खाएर हुन्छ? बनाना खाओ, ज्यान बनाओ", "ह्वाट डु यु निड ” "ओके ! ओके !!” "वेल कि अनवेल" निरौला बाजेको फिस्स हाँसो, टुटेफुटेको अंग्रेजी इत्यादी। करिब एक वर्ष  अघि देखि उनले आफुले चलाउदै आएको निरौला स्टोर छाडिदिए, निरौला बाजेले छोडेपछी निरौला स्टोरको चार्म नै घटेको कत्ति विद्यार्थीहरुले बताउथे।

गत मध्य वैशाखमा सिभिल इञ्जिनियरिङ्का विद्यार्थीहरुको सर्भे क्याम्पको पाचौं दिन बेलुका १२ बजे तिर निरौला बाजेलाई अकस्मात छाती दुख्यो, त्यती बेला उनी त्रि.वि. स्मृति भवन, किर्तिपुरमा थिए  तुरुन्तै पाटन अस्पतालमा लगे पछि अस्पतालले रिफर गरिदियो अनि थापाथली स्थित नर्भिक अस्पतालमा उनको सघन कक्षमा राखेर उपचार गरियो, केही दिनको अस्पताल बसाइ पछि उनी निको भएर फर्किए, नियमित काममा फर्किन थालेका थिए, औषधीसंगै बोकेर हिड्थे, भेटेर स्वास्थ्य अवस्था सोध्नेहरुलाई यदाकदा औषधी देखाउथे र प्राय: उनले एउटै कुरा भन्थे  "ठाउँमा भएकाले बाचियो, नत्र मरिने रहेछ।"

त्रिभुवन विश्वविद्यालयको नियामानुसार आगामी कार्तिक देखि उनी अनिवार्य अवकाशमा जादैँ थिए। तर  अवकाशमा जानु करिब एक महिना अघि उपचारकै क्रममा गत आश्विन १९ गते बेलुका ८:४८ बजे थापाथाली स्थित नर्भिक अस्पतालमा उनको मृत्यु भयो। आश्विन २१ गते पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार भएको थियो। उनको असामयिक निधनले यति बेला पुल्चोक क्याम्पसले एउटा कर्तव्यनिष्ठ कर्मचारी गुमाएको छ, क्याम्पसका विद्यार्थीले आफ्ना प्रिय अभिभावक गुमाएका छन्। अलबिदा प्रिय निरौला बा ।

कसले के भने

पुल्चोक क्याम्पसका सबै विद्यार्थीलाई हृदयदेखि माया गर्ने, उनीहरूको सुखदुःखमा सधैं साथ दिने, विद्यार्थीहरूले भोगिरहेका समस्याबारे विद्यार्थीनेताहरूसँग सल्लाहसुझाव बाँड्ने हाम्रा प्रिय अभिभावक निरौला बा आज हामीमाझ रहनुभएन। पुल्चोक क्याम्पसका विद्यार्थीहरूले एक सच्चा अभिभावक गुमाएका छन् ।सोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै, निरौला बा प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । - बिराज अर्याल, स्ववियु अध्यक्ष- २०७९

५ बर्षे पुल्चोक क्याम्पसको ईन्जिनियरीङ्ग अध्ययन सगैं होस्टेल बसाईमा मेरो सुख दुखमा अभिभाकत्व प्रदान गर्नु हुने आदरणीय विश्वनाथ निरौलाअकंल को असामयिक निधनले स्तब्ध बनाएको छ ! आजकाल काठमाडौं कामको शिलशिलामा जादा पुल्चोक क्याम्पस पुग्दा तपाइलाई नभेटी फर्कनसक्दैनथे तसर्थ कि निरौला स्टोर्स कि सिभिल विभाग मा गएर भेट्दथे, एकछिन गफिन्थे, उत्तिकै जोसिलो देखिनुहुन्थ्यो, सदा उत्तिकै हौसाला प्रदानगर्नुहुन्थ्यो ; अब हाम्रो भेट सदाको लागि नहुने भयो अकंल ! अकंल हजुरको बैकुन्ठमा बास होस। - आकाश थापा मगर, पुर्व विद्यार्थी, 

हाम्रो कलेजका दिनहरूमा पुल्चोकको नीरौला स्टोर हाम्रा मनपर्ने ठाउँ मध्य एक थियो। किराना सामान किन्ने होस् वा मौसमी फलफूल, प्रत्येकपटकनीरौला अंकलको रमाइला हाँसोले सब्मिशनको तनाव पनि हल्का बनाइदिन्थ्यो।उहाँको निधनको खबरले निकै दुःखी बनायो। उहाँको परिवार रआफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।उहाँको आत्माले शान्ति पाओस्। - रोशन थापा मगर, स्ववियु अध्यक्ष- २०७३

साह्रै रमाइलो हुनुहुन्थ्यो, साचो सेवा गर्नुभएको थियो। हार्दिक श्रद्धाञ्जली निरौला बा । - सागर ढकाल, पुर्व विद्यार्थी

images/557988846_4077953342457701_4281554923829496768_n.jpg

What is Your Father Put is Your Name ? अङ्ग्रेजी जस्तो भयङ्कर लाग्ने भाषालाई यति सरलिकृत नेपालीकरण गर्ने आत्मिय ब्यक्ति भेटियो- पुल्चोक होस्टेलमा ।निरौला बाजे । पुल्चोक होस्टल बसेर इन्जिनियरिङ्ग पढ्ने हामी हजारौको जिवनमा `निरौला बाजे´ को प्रसङ्ग छुट्यो भने धेरै कुरा छुट्छ । घर देखि धेरैपर आइपुग्दा हामिलाई घाउघरकै जस्तो चिरपरिचित  वातावरण बनाइदिन निरौला बाजे हुनुहुन्थ्यो । हामीले उहाको पसलमा Cash या क्रेडिटमा कतोबनाना इटियो  होला ? कति कड इटियो होला ! जे खाइयो लभ मिसाएर खाइयो । हार्दिक श्रदान्जली निरौला दाजु !!  बेला बेला भेट हुन्थ्यो र Well - Unwell साटासाट हुन्थ्यो । अब त्यो रहेन ।अल बिदा !! जहाँ रहनुहुन्छ, खुसी र शान्त रहनुहोला ! - सागर मणि, पुर्व विद्यार्थी

images/557988846_4077953342457701_4281554923829496768_n.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *