काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आईटी र कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीका लागि अमेरिकी कम्पनीमा पेड इण्टर्नसिप दिने सम्झौता गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन भोलानाथ घिमिरे र अमेरिकाको लस एन्जल्सस्थित रिसेक्युरिटी कम्पनीका बिजनेस हेड राजन राज पन्तबीच बिहीबार उक्त विषयमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो।
सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, अन्य पदाधिकारी तथा विश्वविद्यालयसँग सम्बन्धन लिएको हिलसाइड कलेज अफ इन्जिनियरिङका एमडी गोपीकृष्ण न्यौपाने उपस्थित थिए। विश्व बजारमा दक्ष आईटी जनशक्तिको ठूलो माग रहेको बताउँदै रिसेक्युरिटीका बिजनेस हेड पन्तले भने, ‘अब पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूले अध्ययनसँगै काम गर्ने अवसर पाउनेछन्। यसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा बिक्नसक्ने दक्ष जनशक्ति बन्ने अवसर दिनेछ।’
उनका अनुसार, रिसेक्युरिटी कम्पनीले विद्यार्थीहरूलाई साइबर सेक्युरिटीका विभिन्न क्षेत्रमा पेड इण्टर्नसिपका साथै फ्याकल्टी तालीम र नयाँ प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्नेछ।इन्जिनियरिङ संकायका डीन घिमिरेले भने, ‘विश्वविद्यालयले इन्जिनियरिङ मात्र होइन, विज्ञान, प्रविधि र साइबर कानुनसमेत समेट्ने गरी पाठ्यक्रम तयार पारेको छ। यस सम्झौताले ती कार्यक्रम कार्यान्वयनमा कोसेढुंगा साबित हुनेछ।’ उनले थपे, ‘आजको युगमा जुनसुकै क्षेत्रमा गए पनि आईटीको सामान्य ज्ञान अनिवार्य बनेको छ। डाटा सेक्युरिटीका लागि यस्ता समझदारीहरू विद्यार्थीका लागि महत्वपूर्ण अवसर हुन्।’
विश्वविद्यालयका अनुसार, यस कार्यक्रम अन्तर्गत इण्टर्नसिपमा सहभागी हुन चाहने विद्यार्थीहरूले सम्बन्धित आईटी अध्यापन गराइरहेका कलेजमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
Your email address will not be published. Required fields are marked *