जेन जी आन्दोलनमा भएको दमन र हिंसात्मक गतिविधिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले विभिन्न भवनहरूमा आगजनी गर्न प्रज्वलनशील रसायन प्रयोग भए वा नभएको पत्ता लगाउनका लागि वैज्ञानिक परीक्षण गराउने भएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माले महत्त्वपूर्ण भवनहरूबाट खरानी सङ्कलन गरेर परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई भनिएको जानकारी दिएका छन्।
प्रहरी प्रयोगशालाका प्रमुखले जाँचबुझ आयोगले पठाएको पत्रअनुसार परीक्षण गरिने बताएका छन्। नेपाली सेनाका अनुसार भदौ २३ र २४ को जेन जी प्रदर्शनका क्रममा सरकारी कार्यालयसहित झन्डै ७०० वटा संरचनामा क्षति पुगेको छ।संसद् भवन, सिंहदारबारस्थित प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय रहेको शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, मन्त्रीहरूको निवास सहितका महत्त्वपूर्ण सरकारी कार्यालयमा आगजनीका कारण ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
आन्दोलनको केही दिनपछि बीबीसीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो घरमा आगजनीका लागि पटकाजस्तो वस्तु प्रयोग गरिएको बताएका थिए। "पहिला पेट्रोल छर्किन्छन् अरे त्यहाँ। अनि लाइटरजस्तो के हो कुन्नि पटका पड्काएर भित्र आगो लगाउने। अनि कोठाकोठा जलाउँदै हिँड्ने। यो प्रकारले जलाएको रहेछ," खनालले भनेका थिए। आगजनीमा उनकी श्रीमती गम्भीर घाइते भएकी थिइन्।
पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले पनि हिमालय टिभीलाई दिएको अन्तर्वार्तामा रसायन प्रयोगको आशङ्का गरेका छन्। "म आफैँ पनि आर्किटेक्चरको विद्यार्थी हुनुको नाताले जुन अहिलेको आधुनिक प्रविधिले बनेका भवनहरू हुन्छन्। त्यति साह्रो ह्वार्ह्वार्ती त दन्कने गरी आगो लाग्दैन। त्यहाँ विशेष प्रकारको केमिकल आदि चाहिँ प्रयोग हुनुपर्छ," उनले भनेका छन्। अमेरिकी प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले विज्ञहरूलाई उद्धृत गर्दै नेपालको प्रदर्शनका क्रममा आगजनीका लागि रसायन प्रयोग भएको हुन सक्ने समाचार प्रकाशित गरेको थियो।
परीक्षणको नतिजा कहिले आउँछ?
एक महिनाअघि गठित जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ। आयोगले १२ सातामा काम सक्ने गरी कार्य योजना बनाएर काम गरिरहेको प्रवक्ता शर्माले बताए। आयोगको पत्रअनुसार अवशेषहरूको परीक्षण गरेर पठाउन नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालालाई १० देखि १५ दिनको समय लाग्ने प्रयोगशालाका प्रमुख योगबहादुर पालले बताए। "नमुना सङ्कलनको काम प्रहरी प्रधान कार्यालयबाट गठन भएको विशेषज्ञ टोलीले गरिरहेको छ। त्यो टोलीमा हाम्रो प्रयोगशालाका साथीहरू पनि सहभागी हुनुहुन्छ," पालले भने। "त्यो नमुना कस्तो स्वरूपमा आउँछ त्यसको परीक्षण र विश्लेषणका लागि लाग्ने समय त्यहीअनुसार निर्धारण हुन्छ," उनले भने। "साधरणतया हाम्रो क्षमताले भ्याउने मात्रा र स्वरूपको नमुना आयोग भने हामीले १० देखि १५ दिनमा रसायन प्रयोग भए नभएको प्रतिवेदन दिन सक्छौँ। देशबाहिर परीक्षणका लागि पठाउनुपर्ने अवस्था आयो भने मात्रै समय लाग्ने हो।" राष्ट्रिय चासोको विषय भएका कारण प्रयोगशालाले प्राथमिकता दिएर परीक्षणको काम अघि बढाउने उनले बताएका छन्।
Your email address will not be published. Required fields are marked *