२४ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजार शुक्रबार दिउँसो केहीबेरमै सखाप बन्यो ।
सिलिन्डर ग्यास पड्किएर एउटा पसलमा लागेको आगो फैलँदा सिंगो बाम्का बजार नै ध्वस्त बनेको छ । बाम्का बजारमा लहरै १२० बढी पसलहरू थिए । धेरैजसो पसलहरू टहरामा थियो । पसलले नै उनीहरूको जीवन चलेको थियो । तर शुक्रबारको भीषण आगलागीले क्षणभरमा उनीहरूको खुसी क्षणभरमै लुट्यो ।
केहीबेर अघिसम्म गुल्जार रहेको बाम्का बजार अहिले हेरिनसक्नु भएको छ स्थानीय रामबहादुर ऐडीले भने। उद्धारको काम ढिला गरी सुरु हुँदा धेरै पसलहरू जलेको उनले गुनासो गरे । ‘जलेर खरानी भएपछि उद्धारको टोली आयो । पालिकामा आगो निभाउने एउटा दमकल पनि छैन । कसरी आगो नियन्त्रणमा आउँछ ?,’ उनले प्रश्न गर्दै भने, ‘खबर गर्न नेटवर्कले पनि काम गरेन । अहिले जिल्लाबाट पनि टोली आएर आगो नियन्त्रणमा लिइरहेको छ ।’
उनको मात्र होइन बाम्का बजारको २० वटा भन्दा बढीको पसल जलेर पूर्णरूपमा नष्ट भएको छ । ‘कति जल्यो कति । विवरण अहिले सबै छैन,’ ऐडीले भने । बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार नियन्त्रणमा लिन दमकल नभएकाले डोजर र ट्यांकरको सहयोग लिनु परेको थियो। ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रूपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन’ उनले भने । बाजुराको बाम्का बजारमा हिजो भएको घटना प्रतिनिधिमुलक घटना मात्र हो, यस्तो प्रकृतिका घटना महिनै पिच्छे दोहोरिने गरेका उदाहरणहरु छन्।
विगतका केही ठूला घटनाहरू
गत माघमा काठमाडौँको कमलपोखरी स्थित सानदार म:ममा सिलिण्डर ग्यास बिस्फोटन हुदा ११ जना घाइते भए भने ठुलो आर्थिक क्षति भयो। गत फाल्गुनमा बाराको निजगढमा एउटा वर्कशपमा सिलिण्डर ग्यास ग्यास बिस्फोटन हुदा तीन जनाको मृत्यु भयो भने ५ जना घाइते भए। २०७९ को फाल्गुनमा दाङ्गको तुलसीपुर स्थिति कृषि बिज उत्पादन केन्द्रमा सिलिण्डर ग्यास बिस्फोटन हुदा २ जना घाइते भए भने थुप्रै क्षति भयो। २०७८ को चैत्रमा सिन्धुपाल्चोकको बाह्रबिशे नगरपालिकामा ग्यास बिस्फोटन हुदा ३ जना बालबालिकाको अनाहकमा ज्यान गयो। २०७९ फागुन ४ मा आफ्नै घरमा ग्यास बिष्फोटन हुदा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी गम्भीर घाइते भए भने उनको ८६ बर्षीय आमा हरिकला भण्डारीको मृत्यु भयो।
किन हुँदैछन् यस्ता विस्फोटहरू?
नेपालमा ग्यास सिलिण्डर विस्फोटका घटना बारम्बार भइरहेका छन्। तर चिन्ताजनक कुरा के हो भने वर्षौंदेखि दोहोरिइरहँदा पनि यसको जडमा पुगेर समाधान गर्न गम्भीर पहल भएका छैनन्। ग्यास सिलिण्डर विस्फोटका घटनाका प्राय कारणहरू लगभग उस्तै छन् — लिक भएका सिलिण्डर, असुरक्षित भण्डारण, पुराना र जाँच नगरेका रेगुलेटर र पाइप, तथा प्रयोगकर्ताको लापरवाही। यसका अतिरिक्त ग्यासको सुरक्षा नियमन गर्ने निकायको कमजोरी, बजारमा गुणस्तरहीन उपकरणहरूको सहज उपलब्धता, र प्रयोगकर्तामा चेतनाको अभावले गर्दा यस्ता विस्फोट दोहोरिरहन्छन्।
कमजोर पूर्वतयारी र राज्य संयन्त्रको फितलो व्यवस्थापन
ग्यास बिस्फोटनका यस्ता घटनाहरूलाई अझ गम्भीर बनाउने अर्को पक्ष भनेको पूर्वतयारीमा हुने कमजोरी र विस्फोटपछि हुने आगलागी नियन्त्रणमा हुने चुनौति हो। नेपालमा ग्याससम्बन्धी आगलागी वा विस्फोट भएपछिको आपतकालीन प्रतिक्रिया प्रणाली कमजोर देखिन्छ। प्रायः यस्ता घटनाहरूमा दमकल ढिलो पुग्ने, उद्धार टोलीसँग आवश्यक उपकरण नहुनु, र स्थानीयवासीहरूमा प्राथमिक सहायताका सीप नहुनुजस्ता समस्या देखिन्छन्। हिजोको बाजुराको बाम्का बजारका घटनामा समेत सुरक्षाकर्मी घटनास्थलमा पुग्दा आगोले बजारको ठूलो हिस्सा नष्ट गरिसकेको थियो। भने नगरपालिकासंग दमकल समेत थिएन र आगो निभाउन डोजर र ट्याक्टरको भर पर्नु पर्यो। यस्तो परिस्थितिमा पूर्वतयारीको कमजोरी मात्र होइन, घटनापछि राज्य संयन्त्रको प्रभावकारी र द्रुत प्रतिक्रिया नहुनुले क्षति झनै बढाउने गरेको स्पष्ट देखिन्छ। यसर्थ, अब जोखिम मूल्यांकन, उद्धार अभ्यास र पूर्वतयारी योजनालाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी छ।
Your email address will not be published. Required fields are marked *