काठमाडौं — मुस्लिम धर्मावलम्बीहरूको दोस्रो प्रमुख चाड बकर ईद (इदुल अजहा) आज देशभर श्रद्धा, भक्ति र धार्मिक विधिअनुसार मनाइँदै छ। कुर्बानीको पर्व भनेर चिनिने यो चाड इस्लाम धर्ममा ठूलो महत्व राख्छ।
बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने कार्यले पर्वको सुरुवात भएको हो। नमाजपछि आपसमा शुभकामना आदानप्रदान गर्दै मुस्लिम समुदायले आपसी भाईचाराको भाव प्रस्तुत गरेका छन्। विशेषगरी दरबारमार्गस्थित नेपाली जामे मस्जिद र काश्मीरी मस्जिद लगायत देशका विभिन्न मस्जिदहरूमा भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ।
बकर ईद इस्लाम धर्मका महान नबी इब्राहिम (अलैहिस्सलाम) ले अल्लाहको आदेशमा आफ्ना प्रिय छोरा इस्माईल लाई कुर्बानी गर्न तयार भएको ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ। धार्मिक विश्वास अनुसार, अल्लाहले इब्राहिमको आस्थालाई परिक्षण गर्न यस्तो आदेश दिएका थिए। इब्राहिमको दृढ आस्थाबाट प्रभावित भई अल्लाहले इस्माईलको सट्टा स्वर्गबाट पठाइएको दुम्बाको कुर्बानी गर्नु भएको थियो।
यस अवसरमा धर्मले जायज मानेका जनावरलाई कुर्बानी दिइन्छ, र कुर्बानीको मासु तीन भागमा बाँडिन्छ — एक भाग गरिब र विपन्नहरूलाई, अर्को भाग आफन्त तथा मित्रहरूलाई, र तेस्रो भाग परिवार आफैँका लागि राखिन्छ।यसरी पर्वले आस्था, समानता र सामाजिक उत्तरदायित्वलाई जोड दिन्छ।
यो पर्वको अवसरमा मक्का-मदिना जानुलाई पनि शुभ मानिन्छ। हज यात्राका लागि नेपाल सरकारले गृह मन्त्रालयअन्तर्गत हज समिति मार्फत व्यवस्थापन मिलाउने गरेको छ।
बकर ईदको मुख्य दिन आज भए पनि मुस्लिम धर्मावलम्बीहरूले तीन दिनसम्म यो पर्व मनाउने गर्छन्। पर्वको सम्पूर्ण अवधिभर कुर्बानी गर्नु धार्मिक विधिको हिस्सा हो। सरकारले मुस्लिम समुदायको यस महत्त्वपूर्ण पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
Your email address will not be published. Required fields are marked *