एयर इन्डियाको विमान उडेलगत्तै दुर्घटना: विश्व हवाई क्षेत्र स्तब्ध
Home News मुख्य समाचार

एयर इन्डियाको विमान उडेलगत्तै दुर्घटना: विश्व हवाई क्षेत्र स्तब्ध

इन्जिनियर खबर - June 13, 2025 251 views
-
-
Text Size

पश्चिम भारतको गुजरातमा चालक दलका सदस्यसहित २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटना हुदा यति खेर विश्व नै स्तब्ध बनेको छ। भारतको अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहीबार दिउँसो १:३८ बजे बेलायतको लन्डन ग्याटविकका लागि उडान भरेको बोइङ–७८७–८ ड्रिमलाइनर विमान दुई मिनेटमै मेघनीनगर आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो

-

विमानको भग्नावशेषबाट रातिसम्म २०४ जनाको शव निकालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानबाट उछिट्टिएका एक यात्रुको भने जीवितै उद्धार भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय मूलका बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश दुर्घटनामा बाँचेको समाचार फोटोसहित प्रकाशित गरेको छ । एयर इन्डियाले समेत उनी बिमानको ११ 'ए' नम्बरको सिटमा सवार भएको पुष्टि  गरेको छ। 

-

दुर्घटनामा विमान टुक्रा–टुक्रा भएको र तत्कालै ठुलो आगोको लप्का देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । उड्नेबित्तिकै उचाइ लिन नसक्दा विमान उडेको दुई मिनेटमै आकाशबाट जमिनतर्फ खस्न थालेको र नजिकैको आवासीय चिकित्सकहरूको एउटा अवासीय भवनमा बजारिएको थियो । जहाज बजारिएको थाहा पाएपछि भवनमा रहेका एक चिकित्सकले दोस्रो तलाबाटै हामफालेर ज्यान जोगाएका थिए । विमान बजारिँदा भवनमा ठूलो विस्फोटको आवाज सुनिएको थियो । विस्फोटमा होस्टेलका पाँच मेडिकल विद्यार्थीको समेत मृत्यु भएको र केही घाइते भएका भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । 

विमानमा चालक दलका सदस्यसहित २४२ यात्रु रहेको र तीमध्ये १६९ भारतीय, ५३ ब्रिटिस नागरिक, सात पोर्चुगलका, एक क्यानडेली नागरिक थिए । विमानमा चालक दलका सदस्य १२ जना थिए । मृत्यु हुनेमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीसमेत छन् । दुर्घटनाग्रस्त क्षेत्र विमानस्थलबाट करिब १.७ किलोमिटरको दूरीमा पर्छ ।

भारतीय नागरिक उड्डयन कार्यालयको मौसम पूर्वानुमान शाखाका अनुसार दुर्घटनाको समयमा मौसम एकदम सफा थियो । हावाहुरीको कुनै सम्भावना नभएको र भिजिबिलिटी ६ किलोमिटरसम्म रहेको समाचार आएका छन् । यसका बाबजुद बोइङ ७८७–८ उडेको दुई मिनेटमै कसरी खस्यो भन्नेबारे धेरैको चासो बढेको छ । विमानमा प्राविधिक समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

जहाजले उड्नेबित्तिकै एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर मे डे कल (आपत्कालीन सूचना ) दिएको थियो । लगत्तै कन्ट्रोल रुमसँग जहाजको सम्पर्क विच्छेद भएको र एयर ट्राफिक कन्ट्रोलले विमानमा देखिएको समस्याबारे सोध्दा चालकले कुनै जवाफ नफर्काएको समाचारहरूमा उल्लेख छ । पाइलटहरू क्याप्टेन सुमित सभरवाल र प्रथम अधिकृत क्लाइभ कुन्दरले उडान भरेका थिए । सभरवालसँग आठ हजार दुई सय घण्टा र कुन्दरसँग एक हजार एक सय घण्टा उडान अनुभव थियो ।

एक यात्रुले जोगाए ज्यान

यति ठूलो दुर्घटनामा एक यात्रु भने बाँचेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सिट नम्बर ११–ए का यात्रु भारतीय मूलका बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेशको जीवितै उद्धार भएको हिन्दुस्तान टाइम्सले पुष्टि गरेको छ । अहमदाबाद सिभल अस्पतालमा उपचारार्थ उनको अवस्था पनि खतरामुक्त रहेको समाचारमा उल्लेख छ। हिन्दुस्तान टाइम्सका अनुसार विश्वास परिवार भेट्न केही दिनका लागि भारत आएका थिए । ‘टेकअफ भएको ३० सेकेन्डमै ठुलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो,’ उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘जब म उठेँ, मेरो वरिपरि शवहरू छरिएका थिए । म डराएँ । उठेर दौडिएँ । कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल पुर्‍यायो ।’

बोइङलाई झट्का

एयर इन्डियाको बोइङ–७८७–८ ड्रिमलाइनर विमान दुर्घटनापछि अमेरिकी जहाज निर्माण कम्पनी बोइङ फेरि आलोचित बनेको छ । बोइङ जहाजको सुरक्षामाथि निरन्तर प्रश्न तेर्सिरहेका वेला ड्रिमलाइनर जहाज यति ठूलो दुर्घटनामा परेको हो । सन् २०२१ देखि २०२३ को बिचमा बोइङको विमानको कार्यक्रमले ‘डेलिभरी सस्पेन्सन’लगायत थुप्रै असफलता भोगेको थियो ।अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले बोइङलाई एक महिनामा सातवटा विमान बनाउनका लागि आफ्नो उत्पादन गति बढाउन अनुमति दिएको थियो । बिक्रीको मामिलामा बोइङले व्यापक कठिनाइको सामना गरिरहेको बताइन्छ ।

ड्रिमलाइनर ठुलो जहाजको पहिलो भयानक दुर्घटना
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले ड्रिमलाइनर ठुलो जहाजको पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताए । “ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो । अहिलेसम्म ड्रिमलाइनरमा मात्रै ‘वान बिलियन प्यासेन्जर फ्लाइ’ गरेको रेकर्ड छ । यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो । यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ ।” विश्व एभिएसन बजारमा ड्रिमलाइनरको सङ्ख्या करिब एक हजार १०० रहेको जनाइन्छ ।

एयर इन्डियाले गर्यो ब्यालक आउट

यसैबिच, एयर इन्डियाले दुर्घटनापछि सामाजिक सञ्जालमा आफ्नो प्रोफाइल ब्ल्याकआउट गरेको छ । अमेरिकी उड्डयन सुरक्षा सल्लाहकार तथा वासिङटन डिसीस्थित सेफ्टी अपरेटिङ सिस्टमका सिइओ जोन एम कोक्सले एयर इन्डियाको विमान उडानका लागि राम्ररी व्यवस्थित गरिएको थियो कि थिएन भन्नेबारे अनुसन्धान हुनुपर्ने बताए । 

टाटाले जनही एक करोड क्षतिपुर्ती दिने

यसैबिच, एयर इन्डियाको दुर्घटनामा ज्यान गुमाउने सबै यात्रुलाई टाटा कम्पनीले जनही १ करोड भारीय रुपैया दिने जानकारी गराएको छ। कम्पनीका अध्यक्ष एन. चन्द्रशेखरनले बिहीवार घोषणा गरेका हुन्। साथै टाटा समूहले घाइतेहरूको उपचार खर्च समेत व्यहोर्ने र उनीहरूलाई आवश्यक सम्पूर्ण सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, "हामी बी. जे. मेडिकलको होस्टेल निर्माणमा समेत सहयोग प्रदान गर्नेछौं," उनले भने।

 

-

 

-




Leave a Comment

Your email address will not be published. Required fields are marked *