पोखरा विमानस्थलमा ३६ लाख लिटरको हवाई इन्धन डिपो निर्माण
Home News अर्थतन्त्र

पोखरा विमानस्थलमा ३६ लाख लिटरको हवाई इन्धन डिपो निर्माण

इन्जिनियर खबर - June 26, 2025 204 views
images/no.jpg
images/no.jpg
Text Size

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब साढे दुई वर्षपछि ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण भएको छ। नेपाल आयल निगमले करिब ६८ करोड रूपैयाँको लगानीमा विमानस्थल नजिकै डिपो निर्माण गरेको हो।

images/no.jpg

१२ लाख लिटरका तीन वटा हवाई इन्धन ट्यांकसहित अत्याधुनिक डिपो निर्माण सम्पन्न भएको परियोजना प्रमुख प्रदीप यादवले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो तयार भएको छ,’ यादवले भने, ‘साउन दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’

images/no.jpg

डिपो २०८० साउन पहिलो साता निर्माण सुरु भएको थियो। नेपाली निर्माण व्यवसायीले यो डिपो भारतीय निर्माण कम्पनीसँगको सहकार्यमा निर्माण गरेका हुन्। ‘निगमको आफ्नै लगानी र स्वदेशी निर्माण व्यवसायी तथा प्राविधिकले हवाई इन्धन डिपो निर्माण गरेको यो पहिलो पटक हो,’ यादवले भने, ‘यो आयल निगमका लागि पनि गौरवको विषय हो।’

पोखरामा सिजनमा दैनिक १८ हजारदेखि २२ हजार लिटरसम्म इन्धन खपत हुन्छ। पोखराको पुरानो विमानस्थलमा ६४ हजार लिटर क्षमताको मात्रै भण्डारण रहेको थियो। पुरानो विमानस्थलबाट नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा बाउजरमा हवाई इन्धन लगेर निगमले इन्धन व्यवस्थापन गर्दै आएको थियो।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई इन्धन डिपो निर्माण गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए। ‘अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका विमानलाई सेवा दिन सहज हुनेछ,’ भट्टले भने, ‘सहज रूपमा गुणस्तरीय इन्धन सेवा दिन सहज हुन्छ।’

नयाँ डिपोमा सम्भावित आगजनी दुर्घटनाको पूर्व सर्तकताका लागि १२–१२ सय किलोलिटरका दुई वटा पानी टयांक पनि निर्माण गरिएको छ। डिपोमा पम्प हाउस, अफिस भवन, ल्याब लगायतका संरचना निर्माण भएका छन्। हवाई इन्धन अतिसंवेदनशील वस्तु भएकाले यसको गुणस्तर र सुरक्षामा विशेष ध्यान पुर्‍याउने गरी आवश्यक पूर्वाधार निर्माण गरिएको प्रमुख यादवले बताए। हवाई इन्धन डिपो पूर्ण स्वचालित प्रणालीमा सञ्चालन हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी हवाई कम्पनीको चाप बढेसँगै हवाई इन्धनको माग पनि बढ्ने अनुमान छ। नयाँ डिपो निर्माण गरेपछि बढ्दो माग अनुसार जहाज कम्पनीलाई हवाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगम सक्षम हुनेछ। अबका दिनमा हवाई इन्धन बिक्री थप व्यवस्थित गर्न सहज हुने निगमले जनाएको छ।

पुरानो विमानस्थलमा रहेको डिपो परिसरमा १६–१६ किलोलिटरका चार वटा हवाई इन्धन भण्डारण गर्ने अन्डर ग्राउन्ड टयांक रहेका छन्। घरेलु विमानस्थलबाट करिब साढे ६ किलोलिटरको दूरीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा घरेलु विमानस्थलकै हवाई इन्धन डिपोबाट डिस्पेन्सरमा ल्याएर बाउजरमा सारेर जहाजमा इन्धन भर्ने काम गर्दै आएको छ।

आयल निगमसँग काठमाडौंमा सात हजार सात सय १०, विराटनगरमा दुई सय ८०, भैरहवामा ५६, पोखरामा ६४, नेपालगन्जमा दुई सय ८०, सुर्खेत ६०, धनगढीमा ४५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ। निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, झापा भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, सिमरा, जनकपुर लगायतका विमानस्थलमा इन्धन डिपो छ। निगमले सिमरा, मन्थलीमा अस्थायी रूपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ। विमान उडानको चाप भएका कपितय विमानस्थलमा बाहिरबाट ट्यांकरमा हवाई इन्धन लगेर भर्ने पनि गरिएको छ।

images/no.jpg

दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु, रामेछाप, रुकुम चौरजहारी, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु, तुम्लिङटार विमानस्थल संखुवासभा लगायतका विमानस्थलमा हवाई इन्धन डिपो छैन। डिपो नभएका विमानस्थलमा हवाई जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन उडान सुरु हुने विमानस्थलबाटै बोकेर जाने गरेका छन्। विमानस्थलमा हवाई इन्धन डिपो बनाउन नागरिक उड्डयन प्राधिकरणको पनि तत्परता चाहिने निगमले जनाएको छ।

images/no.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *