काठमाडौं । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् । २५ वर्षीय सुनिलले गत २१ जुनमा ललितपुरस्थित बज्र ननिता फिटनेसमा उक्त किर्तिमान कायम गरेका हुन्। यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए। सुनिलले उक्त कीर्तिमान तोडेका हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो आधिकारिक वेबसाइटमा पनि सुनिलको यो रेकर्डबारे राखेको छ । विश्व रेकर्ड बनाएपछि सुनिलले नेपाललाई विश्वमा चिनाउँदा धेरै गर्व लागेको बताएका छन् । ‘नेपालको झण्डा बोकेर विश्व सामु उभिन पाउँदा आफु अत्यन्त गौरवान्तित छु ’ उनले इञ्जिनियरखबरसँग भने, ‘अब वर्ल्ड क्यालिस्थेनिक्स प्रतिस्पर्धामा पनि नेपालको झण्डा सर्वोच्च स्थानमा पुर्याउने लक्ष्य राखेको छु ।’
२०२० देखि निरन्तर प्रशिक्षण
सुनिलले सन् २०२० देखि निरन्तर अभ्यास गर्दै आएका छन्। सुरूवातमा ३ वटा पनि सही पुलअप गर्न नसक्ने अवस्थाबाट अभ्यास सुरु गरेका उनले पाच वर्ष पछि विश्व किर्तिमान नै कायम गर्न सफल भएका छन्। विश्व किर्तिमान राख्ने तयारी सहित उनले पछिल्लो छ महिना देखी निरन्तर क्ल्याप पुलअप प्रशिक्षण लिदै आइ रहेका थिए। निरन्तरको मिहिनेत र लगनशीलताले उनलाई सफलतामा पुराएको छ। यस अघि उनले सन् २०२४ मा मुम्बईमाआयोजित एशियन क्यालिस्टेनिक्स च्याम्पियनसिपमा इन्ड्युरेन्स वर्गमा एक स्वर्ण र एक रजत पदक समेत जितिसकेका छन्। हाल उनले थुप्रै युवाहरुलाई प्रशिक्षण समेत दिदै आएका छन्।
पुल्चोक क्याम्पस देखि विश्व रेकर्ड सम्म
एकै मिनेटमा ३२ पटक क्ल्याप पुलअप गरेर विश्व रेकर्ड कायम गरेका सुनिल पुल्चोक क्याम्पसका पुर्व विद्यार्थी हुन्। वि.सं २०७६ सालमा इञ्जिनियरिङ्ग अध्ययनका लागी पुल्चोक प्रवेश गरेका उनले पुल्चोक क्याम्पसको मेकानिकल एण्ड एरोस्पेस इञ्जिनियरिङ्ग बिभागबाट एरोस्पेस इञ्जिनियरिङ्ग बिषयमा स्नातक सम्मको अध्ययन गरेका छन्। पुल्चोक क्याम्पसमा नै रहँदा पनि उनले पुल्चोक फिटनेस हबको अध्यक्षको भूमिका समेत निर्वाह गरि सकेका छन्। उनले आफ्नो कार्यकालमा पुल्चोक क्याम्पसमा फिटनेस सम्बन्धि थुप्रै कामहरु समेत गरेका थिए।
के हो क्ल्याप पुल अप ?
क्ल्याप पुलअप एउटा अत्यन्तै कठिन र उन्नत स्तरको क्यालिस्थेनिक्स व्यायाम हो, जसमा आफ्नो शरीरलाई तीव्र गतिमा बारतिर तानेर, बारबाट दुबै हात केही समयका लागि हटाइन्छ, त्यसपछि हावामा ताली बजाएर फेरि छिटो बार समातेर शरीरलाई नियन्त्रणपूर्वक तल ल्याइन्छ। यो अभ्यास सामान्य पुलअपको तुलनामा धेरै शक्ति, गति, समन्वय र शरीरमाथिको नियन्त्रण आवश्यक पर्ने व्यायाम भएको र अभ्यास गलत तरिकाले गर्दा चोटपटकको सम्भावना उच्च हुने बिज्ञहरु बताउछन्।
Your email address will not be published. Required fields are marked *