दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले ५० वर्ष पुग्ने प्रारम्भिक प्रतिवेदन चिनियाँ टोलीले बुझाए पछि यति बेला सिङ्गो देश नै उत्साहित बनेको छ। चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इञ्जिनियरिङ्ग कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ गरी ४ हजार मिटर गहिराइसम्म खनेर प्राप्त नमुनाको ल्याब परिक्षण पछि उक्त प्रतिवेदन प्राप्त भएको हो। दैलेखमा पेट्रोलियम खानी रहेको पुष्टि भएपछि यति खेर बिभिन्न कोणबाट अध्ययन र विश्लेषण हुन थालेको छ र त्यो सङै नेपालमा केमिकल इञ्जिनियरिङ्गको आवश्यकता र महत्व फेरी एक पटक सतहमा आएको छ।
नेपालमा केमिकल इञ्जिनियरिङ्ग
नेपालको सन्दर्भमा केमिकल इञ्जिनियरिङ्ग केही नयाँ इञ्जिनियरिङ्ग विषयको रुपमा रहेको भए पनि औद्योगिक क्रान्ती मार्फत विश्वमा लम्किरहेका मुलुकहरुका लागी यो एक शताब्दी भन्दा पनि पुरानो विषयको रुपमा रहेको छ। पेट्रोलियम लगाएतका इन्धनका धनी राष्ट्रहरुले यति खेर रसायन प्रविधिको प्रयोग मार्फत बिश्व अर्थतन्त्रमा पहिलो भैरहेका छन्। नेपालमा काठमाडौ विश्वविद्यालयमा वि.सं २०७२ देखी र त्रिभुवन विश्वविद्यालयमा वि.सं २०७६ साल देखि केमिकल इञ्जिनियरिङ्ग कार्यक्रम संचालनमा छन्। तर त्यसो त करिब ३ दशक अघि देखि नै कोलम्बो प्लान अन्तर्गत थुप्रै नेपालीहरुले केमिकल इञ्जिनियरिङ्ग विषय अध्ययन गरी आएका पनि छन्। हाल नेपाल इञ्जिनियरिङ्ग काउन्सिलमा करिब २५० जना केमिकल इन्जिनियरहरु दर्ता भएका छन् भने सरकारी सन्यत्रका उपल्लो तहमा समेत केमिकल इन्जिनियरहरु कार्यरत छन्। उद्योग, उत्पादन, प्रदूषण नियन्त्रण र स्रोत संरक्षणका लागि सुरक्षित विधिको खोज गर्दै दिगो विकासमा समेत केमिकल इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुने गर्दछ।
पेट्रोलियम अन्वेषण, उत्पादन र प्रशोधनमा अबको बाटो
दैलेखमा पेट्रोलियम खानी, धौवाधीमा फलाम खानी, चुरे भावरमा युरेनियम खानी लगाएत देशका बिभिन्न भु भागमा थुप्रै खानीका स्रोतहरुको खोजी र पुष्टि हुनु आफैमा सुखद हो। नेपालमा यस्ता प्रकारका खानीका स्रोतहरु रहेको पुष्टि भएपनि त्यसको प्रशोधन र ब्यवसायिक उत्पादनहरुमा त्यती धेरै जोड दिएको पाइदैन। त्यसो त सन् १९८० मा नै जाइका र नेपाल सरकारले गरेको अध्ययन अनुसार काठमाडौ र ललितपुरका केही भुभागहरुमा २० देखी ३३० मिटरको गहिराइमा ग्यास भेटिएको र ब्यवसायिक उत्पादन भए उपत्यकाको त्यती बेलाको माग अनुसार ५० वर्ष लाई पुग्ने भनिएको थियो। तर बिडम्बना त्यो प्रतिवेदन पनि प्रतिवेदनमा नै सिमित भयो र ब्यवसायिक उत्पादन भने हुन सकेन। अहिले दैलेखको जलजलेको कुवामा मात्र १ अर्व १२ करोड घन मिटरको मिथेन ग्यास भेटिएको पुष्टि भएको छ भने चारवटै कुवा बाट करिब ४ अर्व ३० करोड उत्खनन गर्न सकिने प्रारम्भिक अनुमान छ। यसलाई व्यवसायिक रुपमा उत्पादन गर्न सके मुलुकको ५० बर्षको मागलाई धान्ने नेपाल आयल निगमको तथ्यांक छ।
मिथेन र यसको बहु उपयोगिता
यतिखेर दैलेखको जलजलेमा भेटिएको भनिएको प्राकृतिक ग्यास मिथेन हो। एउटा कार्वन र चार वटा हाइड्रोजनको अणुबाट मिथेन बनेको हुन्छ। मीथेन प्राकृतिक रूपमा पेट्रोलियम संरचनाभित्र, जैविक पदार्थको विघटनबाट, तथा ग्यास कुमा र कोइला खानीहरूमा पाइन्छ। रङ्गहीन र गन्धहीन हुने यो ग्यास अत्याधिक ज्वलनशील हुन्छ। मिथेन ग्यास पेट्रोल वा डिजेलको तुलनामा सस्तो, स्वच्छ र वातावरणमैत्री इन्धन हो। मिथेन ग्यासलाई गाडीमा इन्धनको रूपमा प्रयोग गर्न, बिजुली उत्पादन गर्न, पाइपलाइन बाट घर घरमा पठाएर खाना पकाउने काममा प्रयोग गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि प्रयोग गर्न सकिन्छ ।
कसरी गर्न सकिन्छ ब्यवसायिक उत्पादन?
स्टीम मिथेन रिफोर्मिङ मार्फत उच्च तापक्रम र पानीको वाष्प प्रयोग गरेर मिथेन ग्यासलाई हाइड्रोजन र कार्बन डाइअक्साइडमा रूपान्तरण गर्न सकिन्छ। नेपालको परिप्रेक्ष्यमा, मिथेन रिफोर्मिङबाट प्राप्त हाइड्रोजन ग्यासलाई अमोनिया ग्यास उत्पादनमा प्रयोग गर्न सकिन्छ। अमोनिया ग्यास मुख्यत: रासायनिक मल उत्पादनको प्रमुख स्रोत हो। मिथेन ग्यासको प्रयोगबाट प्राप्त हुने हाइड्रोजन र कार्बन डाइअक्साइडले युरिया उत्पादनलाई महत्वपुर्ण भूमिका खेल्छ। यतिखेर सरकारले रासायनिक मल उत्पादन सम्बन्धि उद्योगलाई प्राथमिकतामा राखेको र नेपाल आयल निगमले समेत यस सम्बन्धि काम गरी रहेकाले यहि मिथेनको प्रयोगबाट रासायनिक मल, युरिया उत्पादन गर्न सके अर्थतन्त्रको हिसाबले समेत यो परियोजना बहु उपयोगी हुने देखिन्छ। त्यस्तै मिथेनबाट मिथानोल सम्मको व्यवसायिक उत्पादन गरी यसलाई बायोफ्युलको रुपमा प्रयोग गर्न सकिन्छ। दैलेखमा भेटिएको मिथेन करिब १ शताब्दी देखी प्रयोगमा रहेको प्रविधिको प्रयोग गरी पेट्रोल, डिजेल लगायत ब्याट्री सम्मको उत्पादनमा बहुउपयोगी साबित हुनेछ।
विश्वब्यापी रुपमा नै पेट्रोलियम अन्वेषण, प्रशोधन र भन्डारणमा केमिकल इन्जिनियर र इञ्जिनियरिङ्ग प्रविधिको प्रयोग भएको देखिन्छ। नेपालमा केमिकल इन्जिनियरको संख्या तुलनात्मक रुपमा कम भएको र माग गर्दा जनशक्ति पनि नपाउने हुनाले सो सरहका जनशक्ति मार्फत काम हुँदै आएको देखिन्छ तर अब ब्यवसायिक रुपमा नै केमिकल इन्जिनियरको उत्पादन भैरहेकाले यस्ता कामहरुमा यिनै जनशक्तिलाई प्रयोग गर्नु अत्यावश्यक हुन्छ। कार्वनको मात्रा एकदमै धेरै हुने भएकाले वातावरणलाई कुनै पनि प्रकारको हानी नपुराउने गरी यसका प्रशोधनका उपायहरु पहिल्याउन, उत्पादनमा वृद्धि गर्न, नयाँ प्रविधिहरुको पहिचान गरी त्यसलाई उपयोग गर्न केमिकल इन्जिनियरहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्दछन्। विश्वकै सबै भन्दा ठुलो पेट्रोलियम प्रशोधन उद्योग साउदी आरामकोमा कुल दक्ष जनशक्तिको ५०% भन्दा बढी केमिकल इन्जिनियर छन्। यस बाहेक भारत, चीन, अमेरिका, कुवेत, कतार लगाएतका देशका पेट्रोलियम उद्योगहरुमा ठुलो मात्रामा केमिकल इन्जिनियरहरु कार्यरत छन्। यस बाट पनि पेट्रोलियम अन्वेषणमा केमिकल इन्जिनियरको भूमिका र महत्वबारे बुझ्न सकिन्छ। देशमा नै उत्पादन भएका र विदेशबाट उच्च शिक्षा लिएर फर्किएका केमिकल इन्जिनियरहरुलाई प्रयोग गरेर यसको ब्यवसायिक उत्पादन तर्फ लाग्नु आजको आवश्यकता समेत रहेको छ। पेट्रोलियम पदार्थ रहेको पुष्टिबाट हौसिएको सरकारले यसको उत्पादन र भन्डारणमा पनि निकै सक्रियता पुर्वक काम गर्ने हो भने हाम्रै पुस्ताले दैलेखको पेट्रोलियम, धौवधीको फलाम र चुरे भावर क्षेत्रको युरेनियम मात्र हैन, यस्तै पुष्टि हुन बाकी थुप्रै खानीलाई उपयोग गर्न सक्छन्।
आवश्यकता अनुसारको पाठ्यक्रम
केमिकल इञ्जिनियरिङ्ग विषयको पाठ्यक्रममा पेट्रोलियमका प्रशोधन, भन्डारणका विधि, उपकरणका बारेमा समावेश गरिएको र सरकारले अझ पेट्रोलियम विषयका नै विशेषज्ञ उत्पादनका लागी अनुरोध गरेमा पाठ्यक्रमलाई थप संसोधन गर्दै अघि बढाउन इञ्जिनियरिङ्ग अध्ययन संस्थान तयार रहेको संस्थानका डीन प्रा. डा. सुशील बहादुर बज्राचार्यले बताउनु भयो । उहाँका अनुसार इञ्जिनियरिङ्ग अध्ययन संस्थानले यस विषयका सन्दर्भमा प्रधानमन्त्री कार्यलय, सम्बन्धित मन्त्रालय र विभागलाई समेत जानकारी गराएको छ ।
Your email address will not be published. Required fields are marked *