त्रिभुवन विश्वविद्यालयले एक पक्षिय रुपमा निर्णय गर्दै सेवा सुबिधा खारेज गरेको विषयलाई लिएर यति बेला इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पसका प्राध्यापकहरु आन्दोलनमा छन् ।
त्रि. वि सभा तथा कार्यकारी परिषद्ले विभिन्न मितिमा गरेको निर्णयले इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता हनन भएको भन्दै प्राध्यापकहरुले मिति २०८२ अषाढ १९ मा इन्जिनियरिङ अध्ययन संस्थानका डीनलाई ज्ञापन पत्र बुझाइ चरणबद्द आन्दोलनका घोषणा गरेका हुन् ।
त्रि. वि को कार्यकारी परिषद्ले गरेका निर्णयले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कार्यन्वयन समितिले त्रि. वि विकेन्द्रीकरणका नियामावली अनुरुप गरेका निर्णयहरु एक पक्षीय रुपमा खारेज हुँदा ई. अ. सं अन्तर्गत कार्यरत शिक्षकहरुलाई बेरुजुको भार समेत थोपर्ने खतरा भएको प्राध्यापकहरुले बताएका छन् ।
त्रि. वि ले एक पक्षीय निर्णयले गर्दा पुर्ण शुल्कीय कार्यक्रम लागु गर्दा भएको आम्दानी क्याम्पस प्रयोजन कै लागी खर्च हुने मुलभुत सिद्धान्तको समेत बिपरित भएको भन्दै प्राध्यापकहरु आन्दोलन उत्रेका हुन्। बिरोध कार्यक्रम अन्तर्गत प्राध्यापकहरुले २४ गते सम्म दैनिक दुइ घण्टा पेन डाउन गर्ने र २५ गते त्रि. वि ले नचिन्ने पदहरु (विषय समिति अध्यक्ष, प्रोग्राम को-अर्डिनेटर लगाएत) बाट सामुहिक राजिनामा दिने बताएका छन् ।
के भन्छन् प्राध्यापकहरु?
पुल्चोक क्याम्पसका प्राध्यापक प्रा. डा. बिनोद पराजुली त्रि. वि को यो कदमले इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता माथि नै प्रश्न उठाएको बताउँछन् । “कार्यान्वयन समितिले निर्माण गरेको विनियमहरु मार्फत प्राध्यापकहरुले क्याम्पस मार्फत प्राप्त गरेका सवै अतिरिक्त पारिश्रमिक बेरुजु हुनु र माथिल्लो निकायले विकेन्द्रीकरण नियम अन्तरगत संचालित अध्ययन संस्थानहरुले निर्माण गरेका नियम / कार्यविधिलाइ नचिन्नु वा स्वीकार नगर्नु आफैंमा दुखद छ । यसले इअसं को स्वायतत्ता माथि प्रश्न र संकुचन गरेको छ ।“ उनले भने “पूर्णशुल्कीय कार्यक्रम लागू हंदाको अवधारणा नै अध्ययन संस्थान र अन्तर्गतका क्याम्पसहरुको भौतिक पूर्वाधारको विकास, आर्थिक स्वावलम्बन, विश्वविद्यालयले पर्याप्त अनुदान नदिने अवस्थामा स्वावलम्बन हुने प्रक्रिया भन्ने अवस्थामा अहिलेको स्थितिमा सवै संकुचित हुनु दुर्भाग्यपूर्ण छ ।“
त्यस्तै, पुल्चोक क्याम्पसका सह प्रा. डा. गणेश कुमार श्रेष्ठका अनुसार, त्रि. वि को यो निर्णयले गर्दा ई. अ. सं को का. स को निर्णय अनुसार भएका थुप्रै निर्णयहरु बेरुजुमा पर्ने अवस्था आएको र पछिल्लो समय आम्दानी मानेर कर समेत तिरि सकेको रकम बेरुजुमा पर्न नहुने बताउँछन् । साथै सह प्रा. श्रेष्ठ त्रि. वि को यो निर्णयले करार शिक्षकको सेवा सुबिधा समेत कटौती भएको र ६०% भन्दा बढी करार शिक्षक कार्यरत संस्थानमा यो अवस्था आउनु आफैमा दु:खद हुने बताउँछन् ।
पुल्चोक क्याम्पसका प्राध्यापक संघका सचिव रोशन कार्कीले आन्तरिक श्रोतबाट प्राप्त आम्दानी क्याम्पस कै प्रयोजनका लागी प्रयोग गर्नु पर्नेमा त्रि. वि को एक तर्फिय निर्णयले विकेन्द्रीकरणको सिद्धान्तमा नै बाधा पुराएको र यसले ई. अ. सं को स्वयत्ततामा प्रश्न उठेको बताए ।
के भन्छन् त्रि. वि पदाधिकारी
प्राध्यापक संघको नेतृत्वमा प्राध्यापकहरुले गरि रहेका आन्दोलनबारे हामीले त्रिभुवन विश्वविद्यालय र इञ्जिनियरिङ्ग अध्ययन संस्थानको पदाधिकारीसङ समेत सम्पर्क गरेका छौँ। इञ्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा. डा. सुशील बहादुर बज्राचार्यका अनुसार प्राध्यापकहरुले राखेका विभिन्न मागहरुका सन्दर्भमा ई. अ. सं. डीनको कार्यालयले समेत समर्थन गरेको बताएका छन्। त्रि. वि. विकेन्द्रीकरणको नियम अनुसार २०५५ मा त्रिभुवन विश्वविद्यालयले दिएको अधिकार अहिले आएर खारेज गर्नु र ती अधिकारका प्रयोग गरेर ई. अ. सं. ले गरेका निर्णयहरुलाई बेरुजुमा राख्न नहुने डीन बज्राचार्यले बताए। उनले प्राध्यापकहरुले उठाएका मागका सन्दर्भमा आफु जानकार रहेको र आन्दोलनरत प्राध्यापकहरुसँग निरन्तर सम्पर्कमा समेत रहेको बताए । साथै उनले यस बिषयका सन्दर्भमा धेरै अघि देखि नै रजिष्ट्रारको कार्यालयलाई समेत जानकारी गराएको र छिट्टै निर्णयमा पुग्ने जानकारी गराए।
त्रि. वि.का रजिष्ट्रार प्रा. डा. केदार प्रसाद रिजाल भने त्रि. वि. ले इन्जिनियरिङ अध्ययनको स्वायत्तता फिर्ता नलिएको र दुई वर्ष अगाडी देखि नै बेरुजुको समस्या भएका थुप्रै संस्थान, बिभाग र फ्याक्ल्टीको बेरुजु समाधानका लागी त्रि. वि ले रजिष्ट्रारको नेतृत्वमा समिति समेत गठन गर्न लागेको र पुल्चोकबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यका नाम समेत आइसकेको अवस्थामा प्राध्यापकहरुले आन्दोलन गर्न नहुने बताउँछन् । “समस्या समाधानका सन्दर्भमा त्रि. वि गम्भीर छ, हामी नीतिगत रुपमा नै यी समस्यालाई समाधान गर्न लागि परि रहेका छौँ, त्यसैले प्राध्यापकहरुले बिरोधका कार्यक्रम फिर्ता लिएर अध्ययन, अध्यापनमा फर्कन अनुरोध गर्दछौँ ।“ उनले भने ।
यस विषयमा कुरा गर्दा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. खड्क केसीले पनि त्रि. वि ले कुनै पनि स्वायत्तता नखोसेको र आन्दोलनको कुनै आवश्यकता समेत नरहेको बताए । यस विषयमा आफुले थप अध्ययन गरी रहेकाले अहिले थप नबोल्ने समेत उनले बताए ।
पठनपाठनमा समस्या नहोस्: स्ववियु
प्राध्यापकहरुको चरणबद्द बिरोधका कार्यक्रमले दिनहुँ दुई घन्टा पठनपाठनमा अवरोध भै रहेको छ भने बुधबारदेखि सामुहिक राजिनामा दिनाले पठनपाठन थप प्रभावित हुने अवस्था आउने छ। प्राध्यापकहरुका मागका सन्दर्भमा विश्वविद्यालयले समाधान निकाल्न पर्ने र पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकार हनन गर्न नहुने पुल्चोकका स्ववियु अध्यक्ष स्वयं श्रेष्ठ बताउँछन् । भाद्र देखि सेमेष्टर परिक्षा संचालनको तयारीमा रहेको र थुप्रै विषयको पाठ्यक्रम पुरा नभएकाले यस्ता बिरोधका कार्यक्रमले थप समस्या हुने भन्दै विश्वविद्यालय, डीनको कार्यालय र आन्दोलनरत प्राध्यापकहरु बिच समाधानको उपाय पहिल्याउन पर्ने उनले बताए ।
पुल्चोक क्याम्पसमा प्राध्यापकहरुले आन्दोलन जारी राखेको तेस्रो दिनमा थापाथली क्याम्पसका प्राध्यापकहरुले समेत डीन मार्फत उपकुलपतिको कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएका छन् भने पुल्चोक क्याम्पसको कर्मचारी संघले समेत यो बिरोधलाई समर्थन जनाएको छ। मंगलबार एक बिज्ञप्ति जारी गर्दै कर्मचारी संघ पुल्चोक इकाइले आन्दोलनरत प्राध्यापकको माग पुरा गर्न, बेरुजुको समस्या समाधान गर्न विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ।
Your email address will not be published. Required fields are marked *