अनिर्णयको बन्दिमा इन्जिनियरिङ अध्ययन संस्थान: स्वायत्तताको संकट, परिक्षा अन्योलमा
Home News मुख्य समाचार

अनिर्णयको बन्दिमा इन्जिनियरिङ अध्ययन संस्थान: स्वायत्तताको संकट, परिक्षा अन्योलमा

इन्जिनियर खबर - July 16, 2025 300 views
images/519493056_10227969489052329_6906510640978537188_n.jpg
images/519493056_10227969489052329_6906510640978537188_n.jpg
Text Size

काठमाडौं, असार ३२ –
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अहिले गम्भीर प्रशासनिक, शैक्षिक र नीतिगत संकटको भुमरीमा फसेको छ। २०५५ सालदेखि त्रि.वि.ले दिएको विकेन्द्रीकरण र सीमित स्वायत्तताको आधारमा आफैंलाई आर्थिक रुपमा सशक्त बनाउँदै आएको संस्थानको अधिकार २०८० सालयता क्रमशः कटौती भइरहेको छ। यही कारण अहिले पुल्चोक, थापाथली, पोखरा, धरान र चितवन क्याम्पसहरूमा पठनपाठन ठप्प छ, र संस्थानका प्राध्यापकहरु आन्दोलनमा होमिएका छन्।  
प्राध्यापक संघले त्रिविले दिएको आर्थिक अधिकार कटौती गरी प्रशासनिक र शैक्षिक स्वायत्ततामा पनि हस्तक्षेप गरेको आरोप लगाउँदै २५ असारदेखि संस्थानका पाँचै आङ्गिक क्याम्पसहरूमा अध्ययन अध्यापन बन्द गरी आन्दोलनको घोषणा गरेका छन्। प्राध्यापकहरुले गरेको आन्दोलनमा कर्मचारी र विद्यार्थीहरुले समेत ऐक्यबद्धता जनाएका छन्। आन्दोलनरत प्राध्यापकहरुको मुख्य मागहरू नै २०५५ सालदेखिको विकेन्द्रीकरण र स्वायत्तताको सुनिश्चित गर्दै आर्थिक, शैक्षिक र प्रशासनिक अधिकारमाथिको सबै प्रकारका हस्तक्षेप तुरुन्त खारेज गर्न भनेका छन्। 

images/519493056_10227969489052329_6906510640978537188_n.jpg

के भन्छन् प्राध्यापकहरु?

images/519493056_10227969489052329_6906510640978537188_n.jpg

पुल्चोक क्याम्पसका प्राध्यापक प्रा. डा. बिनोद पराजुली त्रि. वि को यो कदमले इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता माथि नै प्रश्न उठाएको बताउँछन् । “कार्यान्वयन समितिले निर्माण गरेको विनियमहरु मार्फत प्राध्यापकहरुले क्याम्पस मार्फत प्राप्त गरेका सवै अतिरिक्त पारिश्रमिक बेरुजु हुनु र माथिल्लो निकायले विकेन्द्रीकरण नियम अन्तरगत संचालित अध्ययन संस्थानहरुले निर्माण गरेका नियम / कार्यविधिलाइ नचिन्नु वा स्वीकार नगर्नु आफैंमा दुखद छ । यसले इअसं को स्वायतत्ता माथि प्रश्न र संकुचन गरेको छ ।“ उनले भने “पूर्णशुल्कीय कार्यक्रम लागू हंदाको अवधारणा नै अध्ययन संस्थान र अन्तर्गतका क्याम्पसहरुको भौतिक पूर्वाधारको विकास, आर्थिक स्वावलम्बन, विश्वविद्यालयले पर्याप्त अनुदान नदिने अवस्थामा स्वावलम्बन हुने प्रक्रिया भन्ने अवस्थामा अहिलेको स्थितिमा सवै संकुचित हुनु दुर्भाग्यपूर्ण छ ।“

त्यस्तै, पुल्चोक क्याम्पसका सह प्रा. डा. गणेश कुमार श्रेष्ठका अनुसार, त्रि. वि को यो निर्णयले गर्दा ई. अ. सं को का. स को निर्णय अनुसार भएका थुप्रै निर्णयहरु बेरुजुमा पर्ने अवस्था आएको र पछिल्लो समय आम्दानी मानेर कर समेत तिरि सकेको रकम बेरुजुमा पर्न नहुने बताउँछन् । साथै सह प्रा. श्रेष्ठ त्रि. वि को यो निर्णयले करार शिक्षकको सेवा सुबिधा समेत कटौती भएको र ६०% भन्दा बढी करार शिक्षक कार्यरत संस्थानमा यो अवस्था आउनु आफैमा दु:खद हुने बताउँछन् ।

पुल्चोक क्याम्पसका प्राध्यापक संघका सचिव रोशन कार्कीले आन्तरिक श्रोतबाट प्राप्त आम्दानी क्याम्पस कै प्रयोजनका लागी प्रयोग गर्नु पर्नेमा त्रि. वि को एक तर्फिय निर्णयले विकेन्द्रीकरणको सिद्धान्तमा नै बाधा पुराएको र यसले ई. अ. सं को स्वयत्ततामा प्रश्न उठेको बताए ।

स्वायत्तता समाप्त पार्ने चलखेल
गत दुई वर्षदेखि त्रि.वि.ले लगातार आर्थिक स्वायत्ततामाथि अंकुश लगाउने निर्णयहरू गर्दै आएकोमा ति निर्णयहरु सच्याउन निरन्तर पत्र मार्फत ध्यानाकर्षण गराए पनि कुनै ठोस कदम नाचालेकाले आन्दोलनमा उत्रन प्राध्यापकहरु बाध्य भएका हुन्।  २०८० सालको त्रिवि सिनेटबाट पारित बजेट वक्तव्यमा संस्थानले आर्जन गरेको आम्दानीमा समेत कार्यकारी परिषद्को पूर्वस्वीकृति लिएर मात्र खर्च गर्न भनिएको छ। यसले संस्थानले संचालन गर्दै आएको पूर्ण शुल्कीय (Full Fee) कार्यक्रमबाट आएको आम्दानीसमेत केन्द्रको नियन्त्रणमा राख्ने प्रावधान लागू गरेको आन्दोलनरत प्राध्यापकहरुले बताउनु भयो। त्रि वि को यस निर्णयबाट—आंशिक शिक्षकहरूको तलब, अनुसन्धान परियोजनाहरू, छात्रवृत्ति, भौतिक पूर्वाधार सुधारजस्ता संस्थानको आफ्नै दायित्वहरूमा गम्भीर असर परेको छ। स्थायी कर्मचारीको संख्या कम हुँदा करारमा रहेका जनशक्तिहरूको व्यवस्थापन समेत अब संकटमा परेको छ।

कुलपति, सहकुलपति मौन 
यस आन्दोलनकै बीच विदेश भ्रमणमा रहेका डीन बुधबार स्वदेश फर्किएर छन् र आन्दोलनरत प्राध्यापक तथा स्ववियुका प्रतिनिधिलाई भेट गरेका छन्। शिक्षकलगायत स्ववियुले लगातार माग पत्र बुझाउँदा पनि विश्वविद्यालय प्रशासनले चासो नगरेको आरोप प्राध्यापकहरुले लगाएका छन् ।  आन्दोलनरत शिक्षकमध्ये एकले लेखेका छन्— "न कुलपती न सहकुलपती न उपकुलपति गम्भीर, उता छन त तेइ मात्र "एकदम पोजिटिभ " !!
का.प Meeting भोलि भोलि त्यो दिन  कहिले हो ??
नियमित भाद्रमा हुनुपर्ने परीक्षा तालिका सर्ने खतरा भइसक्यो, अझै भोलि नै पर्खिने ??" 

स्ववियुको समर्थन
स्ववियु, पुल्चोक क्याम्पसले हालै त्रि. वि. का नव नियुक्त उपकुलपति र  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा औपचारिक ज्ञापनपत्र बुझाउँदै स्वायत्तताको रक्षा र पठनपाठन पुनः सञ्चालनका लागि तत्काल पहल गर्न माग गरेको छ। उनीहरूले भनेका छन् "आईओई जस्तो प्रतिष्ठित शिक्षण संस्थाको स्वायत्तता केवल प्रशासनिक होइन, गुणस्तरीय शिक्षाको मेरुदण्ड हो। यसको रक्षा गर्नु शिक्षक र विद्यार्थी दुवैको साझा दायित्व हो।"साथै स्ववियुले प्राध्यापक संघलाई आन्दोलनको शैलीमा परिवर्तन ल्याउँदै शैक्षिक गतिविधिलाई पुनः सामान्य बनाउने अपील समेत गरेको छ। बुधबार थापाथली क्याम्पसका स्ववियु पदाधिकारीले समेत आन्दोलनरत  प्राध्यापकहरु भेला भएकै स्थानमा आइ आइओइको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकको माग तत्काल पुरा गर्न र पठनपाठन सामन्य बनाउन आह्वान गरेको छ।  विद्यार्थीहरुले पठनपाठन सुरु गर, हामीलाई पढ्न दे भन्दै डीन कार्यालयको अगाडी केही बेर नाराबाजी समेत गरेका थिए। 

इन्जिनियरिङ अध्ययन संस्थान अब विश्वविद्यालय?
अब त्रिभुवन विश्वविद्यालय अन्तर्गत बस्नुभन्दा अलग ‘इन्जिनियरिङ विश्वविद्यालय’ को स्थापना गर्नु उत्तम विकल्प हो भन्ने बहस समेत सतहमा आएको छ । केहीले खुला रूपमा यो विकल्पको पक्षमा मत दिन थालेका छन्। उनीहरूको भनाइमा, "त्रि.वि.बाट फेरि अधिकार नफर्कने अवस्था बनिसकेको छ, अब अलग हुनु नै एक मात्र दीर्घकालीन समाधान हो।" 
एक प्राध्यापकले सामाजिक संजालमा लेखेका छन् , "जिम्मेवारी र अधिकारको तराजु भत्काउनेहरु बाट, जम्मा स्वायत्तता कि पूर्ण स्वतन्त्रता? बेला आएको छ गम्भिर भएर आँट्ने।"

images/519493056_10227969489052329_6906510640978537188_n.jpg

परिक्षा अन्योलमा 
प्राध्यापकहरुको आन्दोलनका कारण इन्जिनियरिंग अध्ययन संस्थानको भाद्रमा हुनु पर्ने नियमित परिक्षा समेत अन्योलमा परेको छ। थुप्रै विषयको पाठ्यक्रम पुरा नभएको र प्राध्यापकहरुको आन्दोलन जारी नै रहेका कारण भाद्र देखि सेमेष्टर परिक्षा संचालन गर्न करिब कठिन छ।  यसरी आन्दोलन लम्बिदै जादा क्यालेण्डरमा समेत असर पर्न सक्ने हुनाले प्राध्यापकको आन्दोलनको निचोड बार्ता मार्फत छिटो भन्दा छिटो हुन जरुरी छ। 

images/519493056_10227969489052329_6906510640978537188_n.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *