गत फाल्गुन १४ मा खोटाङको दिक्तेल म पहिलो पटक प्रथम राष्ट्रिय बाँस सम्मेलनमा बक्ताको रुपमा सहभागी हुन पुगेको थिए । त्याहाका मेयर तीर्थराज भट्टराईले फोनमा मलाई निमन्त्रणा गर्ने बेलामा भन्नु भएको थियो, हाम्रो पालिकामा थुप्रै बाँस छन्, बाँसका थुप्रै बहुउपयोगिता छन्, यसलाई प्रयोगमा ल्याउन सकिए राम्रै आर्थिकोपार्जन हुन्छ, नीती निर्माणमा केही चुनौतीहरु छन् तिनलाई समाधान गर्न यो सम्मेलनले सहयोग गर्ने मैले विश्वास लिएको छु, तपाईंले यसको केमिकल सम्बन्धि पाटो बाट एउटा प्रस्तुति दिनु पर्ला । मैले तुरुन्तै मेयरलाई आफु सहित केही साथीहरु सहभागी हुने बताए ।
सम्मेलनमा सहभागी हुन जाने अघिल्लो दिन म सङै जाने तयारीमा रहेका २ जना साथीहरुको स्वास्थ समस्याले जान सकेनन् र ती साथीहरु नगए पछि आफु पनि नजाने निर्णय गरेको थिए तर पछि फेरी अन्य साथीहरुसङ समन्वय गरेर जाने निधो गरे। जाने र नजाने अन्योलताको बिच १४ गते बिहान म सहित ५ जना साथीहरु सम्मेलनमा सहभागी हुन काठमाडौबाट प्रस्थान गर्यौ ।
फाल्गुन १५ गते प्रथम राष्ट्रिय बाँस सम्मेलनको उद्घाटनको दिन संघीय सरकारका माननीय बन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले सम्मेलनको उद्घाटन गरे । संघीय सांसद, प्रदेशका माननीय, सबै जसो राजनैतिक दलका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, बाँसमा काम गरि रहेका निजी क्षेत्रका प्रतिनिधि, स्थानीय सबैको उपस्थितिमा करिब २५ भन्दा बढी बक्ताले बाँस सम्मेलनको उद्घाटन सत्रमा बोले, बोल्ने सबैले मेयरलाई धन्यवाद मात्र दिएनन्, मुक्तकण्ठले प्रशंसा समेत गरे, सरोकारवालाहरुले नीतिगत चुनौतीलाई समाधान गर्ने आश्वासन दिए । करिव १३ वटा प्राविधिक सत्रहरुमा थुप्रै बक्ताहरुले यसको बैज्ञानिक, सामाजिक र संस्कृतिक महत्वका बारेमा प्रस्तुती दिए, बाँसको माध्यमबाट दिक्तेलको आर्थिक रुपान्तरणमा टेवा पुराउने समेत बताए।
दिक्तेलमा मेयर भट्टराईको लोकप्रियता निकै लोभलाग्दो थियो, फरक राजनैतिक दल, तिनका नेताले समेत यिनको खुलेर प्रशंसा गर्थे । जलवायु परिवर्तन, यसको असर, बाँस लगाएतका स्थानीय उत्पादनको महत्व लगाएतका सन्दर्भमा यिनको तार्किक क्षमता लोभ लाग्दो थियो। मातृ शोकमा एक वर्ष सम्म सेतो लुगा लगाएर बसिरहेका उनी घर बाहिर केही खादैन थिए, तर बिहानै देखि बेलुका ढिलो सम्म उनको सक्रियता निक्कै फुर्तिलो थियो। सम्मेलनको एउटा प्राविधिक सत्रलाई सम्बोधन गर्ने क्रममा मैले भनेको थिए, एक जना मेयरको अग्रसरताले यति सम्म गर्न सकिँदो रहेछ भने सबै स्थानीय तहले आफ्नो स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने हो भने हामीले अर्थतन्त्रमा राम्रै सुधार गर्न सक्छौं ।
फाल्गुन १७ गते दिक्तेल घोषणा पत्र जारी गर्दै सम्मेलन सकियो, प्रमुख भट्टराईले काठमाडौंबाट गएका थुप्रै सहभागीहरु मध्य सम्भव भएका जतिलाई छुट्टाछुट्टै भेटे, नीतिगत सुधारका लागी आ- आफ्नो ठाउँ बाट पहल गर्न अनुरोध गरे, आफैले पनि निक्कै मिहिनेत गरि नै रहे, घरी प्रदेश सरकारलाई घच घचाउथे, घरी सङिय मन्त्रीलाई, दिक्तेलमा गएर मुक्तकन्ठले मेयरको प्रशंसा गरेका आफ्नै पार्टीका मन्त्री पनि मेयरलाई आश्वासन दिदै थिए, मेयर उप राष्ट्रपति, प्रधान न्यायाधीस, सभामुखलाई बाँसका फर्निचर नै उपहार दिदै कानुन निर्माणका लागी भद्र रुपमा घचघचाई रहेका थिए। तर लामो समय सम्म पनि नीतिगत सुधार नभएको भन्दै यति बेला उनै स्थानीय सरकारका प्रमुख संघीय सरकार विरुद्ध काठमाडौको माइतीघरमा आमरण अनसनमा बसेका छन् ।
विभिन्न ७ बुदे माग राखेर अनसनमा बसेका भट्टराईको माग सम्बोधन गर्नै नसकिने किसिमको पनि छैन । स्थानीय उत्पादन बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोड र नम्स तयार गरि कानुन निर्माणको माग राखेर भट्टराई ४ दिनदेखि आमरण अनसन बसेका हुन् । उनले जथाभाबी प्रकृति दोहन गर्ने क्रसर, उद्योगलाई कारबाही पहाडी जिल्लाहरूमा बाँदर आतंकबाट बसाइँसराइ दर बढेको हुँदा तत्काल नीतिगत निर्णय गरि क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पहिलो चरणमा वन र उद्योग मन्त्रालय र मातहतका सबै निकायले बाँस, काठ, राडी पाखी वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउन पनि नीतिगत निर्णयको माग गरेका छन् ।
बाँसको भवन निर्माण कोड तथा नम्स लागु गर्नु पर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु पर्ने जस्ता हेर्दा सामान्य लाग्ने माग लिएर एउटा स्थानीय तहका प्रमुख नै राजधानीमा अनसन बस्नु पर्ने अवस्थाले हाम्रो संघीयताको मर्मलाई नै जिस्काइ रहेको छैन र? मेयर भट्टराईको जीवन रक्षाका सन्दर्भना तततत निकाय जिम्मेवार बनुन।
Your email address will not be published. Required fields are marked *