अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन : निगमको अर्को मेगा प्रोजेक्ट
Home News मुख्य समाचार

अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन : निगमको अर्को मेगा प्रोजेक्ट

इन्जिनियर खबर - Aug. 13, 2025 9568 views
images/487857447_1899136690892033_2944488135492983330_n.jpg
images/487857447_1899136690892033_2944488135492983330_n.jpg
Text Size

एक पछि अर्को मेगा प्रोजेक्ट संचालन गर्दै आइरहेको नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)को आर्थिक सहयोगमा नेपालकै पहिलो आन्तरिक पेट्रोलियम पाइपलाइन निर्माण गर्ने भएको छ । २०८१ असोज १७ गते भारतको नयाँ दिल्लीमा भारतको सिलगुढी–झापा (चारआली) र बाराको अमलेखगन्ज–चितवन (लोथर) दुई पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता भएको थियो । त्यसअघि भारतसँग २०८० जेठ १८ गते ३ बुँदे गर्भमेन्ट टु गर्भमेन्ट (जीटुजी) समझदारी भएको थियो । सोही सम्झौता अनुसार निर्माण कार्यको प्रारम्भिक काम अघि बढेको हो। 
गत साउन १६ गते चितवनको लोथरमा फिल्ड कार्यालय स्थापना गरी प्रोजेक्टको सुरूआत गरिएको निगमले जनाएको छ फिल्ड कार्यालय स्थापना सँगै बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर दूरीको पाइपलाइन निर्माण प्रक्रिया शुरू भएको हो। 
कार्यालय स्थापन भएलगत्तै वातावरण प्रभाव मूल्याङ्कन(ईआईए) गर्ने काम र ल्यान्ड म्यानेजमेन्ट गर्ने कामको शुरूआत भएको अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइन आयोजना प्रमुख ई. प्रदीप यादवले जानकारी दिए । ल्यान्ड म्यानेजमेन्ट भएलगत्तै पाइपलाइन र भण्डार गृह निर्माणको काम शुरू हुने उनको भनाइ छ ।
कार्यालय स्थापन भएलगत्तै हामीले काम शुरू गरिसकेका छौं । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम शुरूआत भएको छ,’ उनले भने, ‘अब निरन्तर काम भइरहन्छ । बाटो बनाउने, माटो भर्ने रुख काट्नेलगायत काम धमाधम हुनेछन् ।’
नेपाल आयल निगमले इन्धनको सहज आपूर्तिको लागि पाइपलाइन कनेक्टिभिटी र भण्डारण क्षमता अभिवृद्धि लाई पहिलो प्राथमिकताका राखेर गृहकार्य अघि बढाइ रहेको छ । जस अन्तर्गत काठमाडौँको सिनामंगल स्थित अन्तराष्ट्रिय हवाई इन्धन डिपो र बुटवलको प्रादेशिक कार्यालयमा भण्डारण क्षमता अभिवृद्धिको काम भै रहेको छ। विभिन्न समयमा ट्याङ्कर व्यवसायीले गर्ने आन्दोलनका कारण इन्धन आपूर्तिमा  उत्पन्न हुने असहज परिस्थितिलाई पाइपलाइन कनेक्टिभिटीले सधैंका लागि अन्त्य गर्ने लक्ष्य लिएको छ ।

images/487857447_1899136690892033_2944488135492983330_n.jpg

बिस्तृत परियोजना प्रतिबेदन तयार 
नेपालको आयल निगम र भारतको इन्डियन आयल कर्पोरेसन(आईओसी)बीच भएको बीटूबी (बिजिनेस टु बिजिनेस) सम्झौताअनुसार अमलेखगञ्ज–लोथर पाइपलाइन बिस्तार गर्न लाग्ने खर्च भारतले व्यहोर्ने छ भने ग्रिनफिल्डसहितको भण्डार गृह निर्माणमा भारतको प्राविधिक सहयोग र निगमको आर्थिक सहयोग हुनेछ । यस परियोजनाको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । डीपीआर अनुसार ओछ्याइने पाइपलाइनको व्यास १०.७५ इन्चको हुनेछ । जहाँ पाइपलाइनको चाप १७३.५ किलोप्रति वर्ग सेन्टिमिटर हुनेछ । यस्तै, पाइपलाइनबाट २ सय ७३ किलोमिटर प्रतिघण्टाको गतिले इन्धनको आपूर्ति हुनेछ । डीपीआरअनुसार लोथरमा १६० वर्गमिटर क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण गरिनेछ । आईओसीबीच भएको सम्झौताअनुसार सम्झौता भएको साढे चार वर्ष अर्थात् ५४ महिनामा परियोजनाअन्तर्गत सम्पूर्ण निर्माण कार्य सक्नु पर्ने जनाइएको छ ।
पाइपलाइन, भण्डारण गृह र ग्रिन फिल्ड टर्मिनल निर्माणमा कूल ८ अर्ब ८१ करोड भारतीय रुपैयाँ (१४ अर्ब ९ करोड ६० लाख नेपाली रुपैयाँ) लागत लाग्नेछ । यस परियोजनाका लागी आईओसीले ३ अर्ब २८ करोड ८० लाख (भारु) आर्थिक सहयोग गर्नेछ । बाँकी रकम भने  नेपाल आयल निगमले लगानी गर्नेछ। २०७३ सालमा नै आयल निगमले राप्ती नगरपालिका वडा नम्बर १ स्थित नदी किनारमा ७१ करोड ९ लाख ५८ हजार ६८४ रुपैयाँमा २३ विघा १२ कट्ठा ३ धुर जग्गा खरिद गरेको थियो । सोही जग्गामा निगमले अहिले अमलेखगञ्जबाट पाइपलाइन ओछ्याएर लोथरसम्म पाइपलाइन स्टेशन  बनाउँदै छ ।  जहाँ ९१ हजार ९ सय किलोमिटर क्षमताको भण्डारण गृहसहित ग्रिन फिल्ड टर्मिनल निर्माण गर्ने योजना छ ।

images/487857447_1899136690892033_2944488135492983330_n.jpg

कस्तो बन्दै छ पहिलो आन्तरिक पेट्रोलियम पाइपलाइन ? 

बाराको अमलेखगञ्ज पाइपलाइन स्टेसनबाट पाइपलाइन जोडेर चितवनको लोथरसम्म पेट्रोलियम पदार्थ पुर्‍याउन यो परियोजना अगाडि बढाइएको हो । भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जमा आइपुगेको पेट्रोलियम पदार्थ पाइपलाइन स्टेसनबाट पाइपलाइन जोडेर चितवनको लोथरसम्म पुर्‍याइनेछ । जहाँ ९१ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण गृह निर्माण हुनेछ ।
झन्डै ५ वर्षअघि दक्षिण एसियाको पहिलो नेपाल–भारत अन्तरदेशीय मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भएर अहिले सहज रूपमा डिजल आपूर्ति भइरहेको छ । 
लोथरमा बनाइन लागेको स्टेसनमा पेट्रोलतर्फ ११ हजार किलोलिटर क्षमताको तीन वटागरी ३३ हजार किलोमिटर, डिजेलतर्फ १५ हजार ५ सय किलोलिटर क्षमताको तीन वटागरी ४६ हजार ५ सय किलोलिटर, मट्टितेलतर्फ ८ सय किलोलिटर क्षमताको २ वटागरी १ हजार ६ सय र हवाई इन्धनतर्फ ३ हजार ६ सय किलोलिटर क्षमताको तीन वटागरी १० हजार ८ सय किलोलिटर क्षमता भएको भण्डारण गृह निर्माण हुनेछ । त्यस्तै, यसबाहेक प्रत्यक २५० किलोलिटर क्षमताको दुई वटा ट्रान्समिक्स ट्यांक पनि निर्माण हुनेछ । यस्तै, चारवटा अन्डरग्राउण्ड ट्यांकसमेत निर्माण हुनेछ । पेट्रोलतर्फ ५० किलोलिटर, डिजेलतर्फ ५० किलोलिटर, मट्टितेलतर्फ ५० किलोलिटर र हवाईइन्धनको ५० किलोलिटर गरी २ सय किलोमिटर क्षमताको अण्डरग्राउन्ड ट्याँक निर्माण हुनेछ ।

images/487857447_1899136690892033_2944488135492983330_n.jpg

निगमको गौरवको परियोजना: कार्यकारी निर्देशक भट्ट 
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले अमलेखगञ्ज - लोथर पेट्रोलियम पाइपलाइन मुलुक कै गौरवको परियोजना भएको बताएका छन्। पेट्रोलियम पदार्थको आपुर्तीमा यो परियोजनाले दीर्घकालीन महत्व राख्ने भट्टले बताए। पेट्रोलियम पदार्थको सहज वितरण निगमको प्रमुख दायित्व भएको र यस्ता परियोजनाले मुलुक भर सहज रुपमा पेट्रोलियम पदार्थको वितरण हुने भट्टले बताए।

images/487857447_1899136690892033_2944488135492983330_n.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *