नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी समेत बढ्दो छ। सिडेनको केन्द्रिय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ। सिडेनको आवश्यकता, उमेदवारी लगाएतका विषयमा केन्द्रित रहेर इन्जिनियर खबरले संचालन गरि रहेको सिडेन उमेदवारलाई ७ प्रश्नको दोस्रो शृंखलामा हामीले अध्यक्षका उम्मेदवार ई. धनेन्द्र केसीसँग विशेष कुराकानी गरेका छौँ।
१. संक्षिप्तमा तपाइँको परिचय
म ई. धनेन्द्र केसी, घर ललितपुर । वि.सं. २०५५ मा इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना भई २०५८ मा उत्तीर्ण भएको थिए । त्यस पश्चात एडभान्स इन्जिनियरिङ कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ कार्यक्रममा भर्ना भई अध्ययन गरेको थिए । २०६७ सालमा नेपाल इन्जिनियरिङ कलेजबाट कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर गरेको छु । विगत दुई दशकदेखि पूर्वाधार विज्ञको रुपमा सेवा गर्दै आएको छु । हाल म सोसाइटी नेपाल कन्स्ट्रक्सन कम्पनीको म्यानेजिङ डाइरेक्टरको रुपमा कार्यरत छु । देशमा मात्र सीमित नभई छिमेकी मुलुक भारत, जापान, चीनलगायतका देशमा समेत कामको अनुभव हासिल गरेको छु । आफ्नो पेशागत ज्ञानलाई थप परिष्कृत गर्न थाइल्यान्डको फुकेट क्याम्पसमा इन्भाइरोन्मेन्ट इन्जिनियरिङमा पीएचडी गर्दैछु ।
२. सिडेनको अध्यक्षका उम्मेदवार हुनुहुन्छ, तपाईँको राजनीतिक यात्रा र भूमिकाका बारेमा थोरै जानकारी दिनुस् न ।
मेरो राजनैतिक यात्राको सुरुवात थापाथली क्याम्पस देखि नै सुरु भएको हो । मसँग थापाथली क्याम्पसको स्ववियु अध्यक्ष भइसकेको अनुभव छ । एडभान्स इन्जिनियरिङ कलेजमा स्नातक तह अध्ययनको दौरानमा समेत स्ववियु अध्यक्ष भएर काम गरि सकेको छु । सिडेनमा करिब दुइ दशक देखि आबद्ध भएर काम गरि रहेको छु । मैले यस भन्दा अगाडी सिडेन दोस्रो कार्यसमितिको उपमहासचिव साथै नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा युवा परिचालन समितिको संयोजक लगायतका विभिन्न जिम्मेवारीमा रही कुशलतापूर्वक भूमिका निर्वाह गरेको छु । हाल म नेपाली कांग्रेसको महासमिति सदस्य र नेपाली कांग्रेस बागमती प्रदेशको शैक्षिक बिभागको सह संयोजकको जिम्मेवारीमा समेत कार्यरत छु । करिब २५ वर्षको यो अवधि भर इन्जिनियरहरूको हक हितको आवाज नै मेरो मुख्य प्राथमिकतामा रहेको छ ।
३. सिडेन भित्रकै फरक फरक समूहमध्ये दुइ समूह मिलेर निर्वाचनमा छन् र तपाइँहरु एक्लै होमिनु भएको छ, कत्तिको सहज अनुभव गरिरहनु भएको छ?
निश्चय नै हामी निर्वाचन जित्छौँ, समूह र उप समूहहरू हुनु स्वाभाविक हो तर हामीले हामीले के बुझ्नु पर्छ भने हामीसँग करिब ६५ सय कुल मतदाता हुनुहुन्छ, तपाईंले भन्नुभएका धारहरूलाई जोड्दा पनि चाहिँ त्यसको आधा संख्या पनि पुग्दैन । यदि आधा संख्या उहाँहरूको पुग्दैन भने त्यो बाँकी रहेको स्पेस चाहिँ हामीले लिड गरेको स्पेस हो । केही अमुक मान्छेहरू बसेर गठबन्धन गरे भने त्यही नै आधिकारिक हो भनेर मतदाताले विश्वास गर्नु हुन्छ लाग्दैन। अर्को कुरा जो उहाँहरू अहिले मिल्नु भएको छ, उँहाहरू सबैभन्दा तिक्ततापूर्ण सम्बन्ध भएका साथीहरू मिल्नुभएको छ, उहाँहरू केवल संख्याका लागी आपसमा मिलि रहनु भएको छ, तोरी र कोदोको गठबन्धन अलिक सुहाउदो हुन सक्थ्यो तर गहुँ र तोरीको अलिक सुहाँउदो हुदैन, छैन। त्यसकारणले उहाँहरू कोको मिल्नुभएको छ भन्ने कुराहरूले हामीलाई त्यति धेरै फरक पार्दैन। अग्रजहरूको आशिर्वाद र अनुजको उर्जा र सामथ्र्यले हाम्रो टिम अहिले चुनावी मैदानमा होमिएको छ, हामी निर्वाचन जित्छौ हामी विश्वस्त छौँ। हाम्रा सामुहिक एजेन्डा, उमेदवारका अनुभव र कार्य शैलीले हामी चुनाव जित्नेमा विश्वस्त छौँ।
४. सिडेनका अध्यक्षका रुपमा तपाईँको मुख्य योजना के के छन् ?
सिडेन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो तर स्वतन्त्र ढंगले हामी अघि बढी रहेका छौँ । जसले सिडेनलाई सिडेन बनाउनु भयो उँहाहरूलाई हामी कदापी बिर्सन सक्दैनौं, बिर्सदैनौं र उँहाहरूलाई स्मरण गरेर, उँहाहरूको जगमा टेकेर उँहाहरूले ल्याउनु भएको निरन्तरतामा हामीले एक्सटेन्सिभ ढंगले नयाँ काम गर्ने भन्ने हाम्रो एजेन्डा हो, हामी इतिहास बिर्सेर नयाँ कुरा मात्र गर्दैनौँ, अग्रजलाई हामी सम्मान गर्छौं र युवा इन्जिनियरहरूका थुप्रै समस्या छन तिनलाई समाधान गर्न लागि पर्नेछौं । इन्जिनियरहरूका पेशागत सुरक्षा गर्ने वा स्थानीय तहमा जति इन्जिनियरहरूले काम गर्नुहुन्छ, उहाँहरूको बढुवा, उहाँहरूको सुरक्षा, उहाँहरूले स्थानीय तहमा झेलेका अनगिन्ति समस्याहरू छन्, तिनलाई समाधान गर्न हामी केन्द्रित हुनेछौँ । अर्को अत्यन्त महत्वपुर्ण भनेको हाम्रो विद्यमान ऐन, नियम, कानूनले गर्दा इन्जिनियरिङ चाहिँ एक खालको चेपुवामा छ, जस्तो विकासको प्रक्रियामा कलम बोक्ने इन्जिनियरहरूलाई अख्तियारको डर छ, प्राइभेट सेक्टरलाई काम गर्नेलाई सरकारी अधिकारीहरूको डर छ, कन्ट्याक्टरलाई अर्को सरकारी नियुक्त कन्सल्टेन्ट इन्जिनियरको डर छ, यो त परिपूरक हुन पर्ने हो नि, तर त्यस्तो हुन सकी रहेको छैन, हामीले त्यसमा थुप्रै कामहरू गर्नु पर्नेछ हामी गर्दछौं । अर्को अत्यन्त महत्वपूर्ण भनेको सिडेन नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्थाका अतिरिक्त आम नेपाली इन्जिनियरहरूले नजिकबाट हेरि रहनु भएको संस्था समेत हो, हाम्रा साथीहरूले लामो समय NEA मा नेतृत्व गर्नु भएको छ, उहाँहरूका पर्फर्मेन्सका कुराहरू समेत जोडिने गरेको छ, सिडेनलाई अन्य दलका शुभेच्छुक संस्थाहरूले समेत नजिकबाट नियालिरहेका हुन्छन्, तसर्थ अनुभवका आधरमा नयाँ उर्जा सहित सिडेनलाई अगाडी लैजान्छु ।
५. दलका शुभेच्छुक संस्थाको आवश्यकता छैन भन्ने सुनिन्छ, यसलाई कसरी लिनु हुन्छ?
नेपालमा आजको सन्दर्भमा राजनैतिक दलका शुभेच्छुक संस्थाहरूको आवश्यकता अझ महशुस गरेको छु । हामीले पुर्वाधारका क्षेत्रमा, विकासका क्षेत्रमा थुप्रै कामहरू गर्नु पर्नेछ, राजनैतिक दलहरूलाई ती कामका आवश्यकता र महत्वका बारेमा जानकारी दिने काम हाम्रा जस्ता शुभेच्छुक संस्थाहरूले गर्नेछन् । कुनै बेला आइओइ खोल्नु पर्छ भन्ने हाम्रै कांग्रेसका पुर्बज नेताहरूले सोचेका कारणले गर्दा आज गरिबका छोराछोरीले आफ्नै ट्यालेन्टसँग उभिएर फ्रीमा राम्रो शिक्षा पाइ रहेको अवस्था छ । पूर्वाधारको नीतिमा, विकासमा, आर्थिक पाटोमा बोल्न र सकारात्मक रुपमा पैरवी गर्न पनि हाम्रा जस्ता संस्थाहरूको आवश्यकता छ । इन्जिनियरहरूको हकहितको पैरवी गर्न हामीले सम्बन्धित निकायहरूलाई झकझकाउने गर्नु पर्दछ, हामी गरि रहेका छौँ, साच्चै नै सिडेन बोलि रहने छ ।
६. तपाईंले आवश्यकताका कुराहरु गर्नु भयो, अहिले साच्चै नै सिडेनले त्यस्तो कामहरु गरेको छ?
अवश्य, सिडेन मार्फत हामीले नेपाली काङ्ग्रेसलाई समेत पुर्वाधारका क्षेत्रमा सचेत गराइ रहेका छौँ । हामीले नेपाली काङ्ग्रेस केन्द्रीय कमिटिसङ समन्वय गरेर पूर्वाधारका बिषयमा कार्यक्रम चलाउँछौं, मैले उक्त कार्यक्रमको संयोजनका लागी पार्टीसङ समन्वय गरे, आज पुर्वाधार, बिकास र निर्माणका सन्दर्भमा हामीले कार्यक्रम चलाइरहेका छौँ । आइटी क्षेत्रका सन्दर्भमा हामीले थुप्रै नीतिगत झन्झटहरू देख्यौ, तीनका समाधानका लागी पार्टीका पदाधिकारीहरूलाई भन्यौ, माननीय सांसदहरूलाई भन्यौ, पार्टीले नेतृत्व लियो, नीतिगत अप्ठ्याराहरू फुक्यो, आज आइटी क्षेत्रका हजारौं उध्यमीहरू लाभान्वित हुनुहुन्छ । हामीले अझ थुप्रै गर्न छ, हामी गर्छौं । यी अनुभवका आधारमा हामी अगाडि बढ्ने छौँ ।
७. अन्त्यमा तपाईंका मतदातालाई के भन्न चाहानु हुन्छ?
नेपाली काङ्ग्रेस र सिडेनमा आबद्ध भएर मैले लामो समय देखि पेशागत हकहितको रक्षामा काम गरि नै रहेको छु, इन्जिनियरिङ क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहनु भएका साथीहरूलाई समायोजन गरेर हामी यति बेला निर्वाचनमा होमिएका छौँ, प्रत्येक निर्वाचनमा प्रत्येक मतले महत्त्वपूर्ण मिनिङ राख्छ, २५ वर्ष देखि सिडेनमा काम गरि रहेको हुनाले सिडेनका साथीहरूले पक्कै पनि बुझ्नु भएकै छ । तपाईं र हामीले परिकल्पना गरेको सिडेनको निर्माणका हामी अग्रजको अनुभव र आशीर्वाद अनि अनुजको उर्जा लिएर अघि बढी रहेका छौँ, त्यसैले तपाईंको अमुल्य मतका लागी आह्वान गर्दछु ।
Your email address will not be published. Required fields are marked *