नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी समेत बढ्दो छ। सिडेनको केन्द्रिय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ। सिडेनको आवश्यकता, उमेदवारी लगाएतका विषयमा केन्द्रित रहेर इन्जिनियर खबरले संचालन गरि रहेको सिडेन उमेदवारलाई ७ प्रश्नको तेस्रो शृंखलामा हामीले अध्यक्षका उम्मेदवार ई. रवि भुषण झासँग विशेष कुराकानी गरेका छौँ।
१. संक्षिप्तमा तपाइँको परिचय
म, ई. रवि भुषण झा, पेशाले सिभिल इन्जिनियर । मैले पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक तथा इन्भारमेन्टल इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेको छु। स्नातक र स्नातकोत्तरपछि म परामर्श सेवामा संलग्न हुँदै इन्जिनियरहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने काममा लागिरहेको छु। देशभित्र निर्माण हुँदै गरेका ठूला–साना पूर्वाधार परियोजनामा सक्रिय भूमिका निर्वाह गरेको छु।
२. सिडेनको अध्यक्षका उम्मेदवार हुनुहुन्छ, तपाईँको राजनीतिक यात्रा र भूमिकाका बारेमा थोरै जानकारी दिनुस् न ।
पुल्चोक क्याम्पसमा अध्ययनकै क्रममा नेविसंघमा आबद्द भएर राजनीतिक यात्राको सुरुवात गरेँ र पछि स्ववियु सचिवसम्मको भुमिका निर्वाह गरे र त्यही बेला इन्जिनियरिङ पेशा तथा सामाजिक नेतृत्वलाई सँगसँगै अगाडि बढाउने संकल्प लिएको थिएँ। पुल्चोक क्याम्पसमा स्ववियु सचिव हुँदा नै म विद्यार्थी आन्दोलन हुँदै नेपाली कांग्रेसको लोकतान्त्रिक धारमा जोडिएको हुँ। त्यसपछि नेपाल इन्जिनियर्स एसोसिएसनको उप–महासचिव र महासचिव भएर जिम्मेवारी निर्वाह गरेँ। इन्जिनियरहरूको हक–हितमा आवाज बुलन्द गर्दै विभिन्न नीति निर्माण तहमा दबाब सिर्जना गर्दै आएको छु।
३. सिडेन भित्रकै दुई वटा फरक फरक समूहलाई समायोजन गरेर निर्वाचनमा होमिनु भएको छ, कत्तिको सहज अनुभव गरिरहनु भएको छ?
यो लोकतन्त्रमा निर्वाचन सामान्य प्रक्रिया हो र संख्या बढ्दै गएपछि आकांक्षी पनि बढ्दै जान्छन । सँगसँगै आकांक्षी बढ्दै गएपछि एउटा समान विचार धाराहरु एक ठाउँमा बस्न थाल्छन र टीम भनेकै लाइक minded एकैठाउँमा हुनु हो। तपाईंले जुन समुहको कुरा गर्दै हुनुहुन्छ, त्यो समुहको पहिला नेतृत्व गरिरहनु भएको आदरणीय दाइ नेपाली काङ्ग्रेसको राजनीतिमा होमिए पछि त्यो समुहलाई मैले नै लामो समय देखि नेतृत्व गर्दै आइरहेको छु। विगत १ वर्षदेखि म पूर्ण रुपमा टीम नै जिताउँछु भनेर लागेको छु। राजनीतिमा यही हुन्छ भनेर परिणाम हुँदैन, सबै सुरक्षित हुन चाहन्छ र यो दुइवटा ठूला टीम जोडिसकेपछि हामी सुरक्षित महशुस गरेका छौ।
४. सिडेनका अध्यक्षका रुपमा तपाईँको मुख्य योजना के के छन् ?
इन्जिनियरिङ पेशामा केही समस्याहरु जरुर छन् तिनलाई समाधान गरेर समग्र इन्जिनियरिङ पेशाको मुल्य र मान्यतालाई अघि बढाउनु हाम्रो प्रमुख दायित्व हो ।आज सामान्य कारणले इन्जिनियरहरुको बदनामी भै रहेको छ, प्राविधिक त्रुटि भएका ठाउँहरुको अध्ययन गर्न इन्जिनियर कै नेतृत्वमा समितिमा गठन गर्नुपर्नेछ, हामीले त्यसमा काम गर्नु पर्ने देखेका छौँ । आज नीतिगत रुपमा नै केही सुधारहरु गर्नु पर्नेछ, हालका विद्यमान केही नीति नियमहरुलाई परिवर्तन गर्नु पर्नेछ, त्यसका लागी सिडेनले नेपाली कांग्रेस मार्फत राज्यलाई झकझकाउनु पर्नेछ। यी समस्याहरु समाधानका लागी स्पष्ट नीति नियम र कार्ययोजना सहित हामी अघि बढेका छौँ । मैले सिडेनलाई अझ सशक्त र सबल संस्थाको रूपमा अघि बढाउने संकल्प लिएको छु । इन्जिनियरहरूको अधिकार र सम्मानित जीवन सुरक्षित गर्न, पेशालाई स्थायित्व दिने आधार निर्माण गर्न, लोकतन्त्रवादी इन्जिनियरहरूको साझा धारणा संस्थागत गर्न र राष्ट्र निर्माणमा नीतिगत सुधारमार्फत इन्जिनियरको योगदानलाई केन्द्रमा ल्याउन मेरो मुख्य भुमिका हुनेछन् । र यी सबै कार्यहरु गर्न गराउन सबल र चलायमान सिडेन निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो, मैले त्यसको लागी आवश्यक काम गर्नेछु।
५. नेइएको उपमहासचिव र महासचिव समेत भै सक्नु भएको छ ?ती भुमिकामा रहदा तपाईंले के कस्तो कामहरु गर्नु भयो ?
जिम्मेवारीलाई कुशलतापूर्व निर्वाह गर्न सकिन्छ भन्ने तथ्य यसअघि नेपाल इन्जिनियर एसोसिएनको उप–महासचिव र एसोसिएसनको निर्वतमान महासचिव भएर प्रमाणित गरिसकेको छु । सरकारी सेवामा इन्जिनियरहरुको प्रवेश सातौ तहबाट हुनुपर्ने हाम्रो एजेण्डा आज सातै प्रदेश र स्थानीय तहमा कार्यान्वयनमा आएको छ । संघीय व्यवस्था अनुसार एसोसिएनलाई प्रदेशिक संरचनामा ल्याउन समेत एसोसिएनमा रहदा मैले नेतृत्वदायी भूमिका खेलेको थिए । इन्जिनियर एसोसिएसनको ३४ औं कार्यसमितिको निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन मार्फत मतदान कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ जसको नेतृत्व मैले नै गरेको थिए । एसोसिएसनको महासचिव रहदा इन्जिनियरहको नयाँ सदस्यता तथा नविकरण गर्न अनलाईन प्रणालीबाटै आवेदन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याउन सफल भएको छु । इन्जिनियरिङ स्टाफ कलेजको हाम्रो अवधारणा लागु भने गर्न सफल भएनौ। मैले नेइएमा रहदा र नरहदा पनि इन्जिनियर / आर्किटेक्टहरुको हक हितको पक्षमा बुलन्द आवाज उठाउदै आइरहेको छु । थुप्रै राजनीतिक एवं सामाजिक कार्यमा सक्रिय रहदै आएको छु ।
६. इन्जिनियरिङ्ग संस्थाहरु दलिय आधारमा भन्दा पेशागत आधारमा हुनु पर्छ भन्ने आवाज उठ्छ, यसलाई तपाईँ कसरी लिनुहुन्छ?
हामी जुन देशमा बसिरहेका छौ, त्यो देशको लागि यो प्रश्न त्यती सुहाउँदो हुदैन । यहाँ थुप्रै बेथितिहरु छन्, त्यसका लागी आवज उठाउन पर्नेछ, त्यसको नेतृत्व दलका शुभेच्छुक संस्थाहरुले गर्छन् । आज इन्जिनियरहरुलाई सामान्य धरपकड भयो भने प्रशासनले त्यसलाई नियन्त्रणमा लिन्छ तर राज्यले यसमा केहि वास्ता गर्दैन, यदि उसको पक्षमा बोल्ने कोही भएन भने राज्यले पिडित इन्जिनियरलाई नै च्याप्ने काम गर्छ, यसका लागी पहल र समाधान गर्न यी संस्थाहरुको आवश्यकता छ। जब सम्म यी सबै कुराहरु सिस्टमेटिक हुन्छन्, त्यसपछि मान्छेहरू आफै यसलाई छोड्न थाल्छन । अहिले पनि NEA लगायतका प्रोफेसनल अर्गनाइजेसनले टेक्निकल काम अघि बढाइराछन्, तर यो सिडेन लगायत संस्थाहरूले इन्जिनियरको राइट्सका लागि फाईट गर्नुपर्ने अवस्था छ। तसर्थ यी संस्थाहरुको आवश्यकता छ।
७. अन्त्यमा तपाईँको मतदातालाई के भन्न चाहानु हुन्छ?
इन्जिनियरिङ क्षेत्रमा म लगाएत हाम्रा उमेदवारहरुले गर्नु भएको भुमिकालाई एक पटक महशुस गरेर, इन्जिनियरिङ्ग समुदायको हितलाई केन्द्रमा राख्दै, सिडेनलाई अझ मजबुत र चलायमान बनाउनका लागि आगामी भाद्र १४ गते हुने निर्वाचनमा मलाई र मेरो समूहलाई मतदान गर्न अनुरोध गर्दछु ।
Your email address will not be published. Required fields are marked *