काठमाडौं । नेपाल इञ्जिनियरिङ परिषदले स्थापना भएको २४ वर्षपछि पहिलो पटक खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्ने भएको छ।परिषदले शुक्रबार सूचना प्रकाशित गर्दै ३ वटा प्राविधिक, २ वटा अप्राविधिक र १ वटा विविध सेवा गरी जम्मा ६ पदमा स्थायी नियुक्ति प्रक्रिया सुरु गरिएको जनाएको छ। यसअघि हिजो मात्रै लोक सेवा आयोगले स्थायी पदपूर्तिका लागि सहमति दिएको थियो। आयोगको सहमति प्राप्त भएलगत्तै परिषदको पदपूर्ति समितिको बैठक बसेर आवश्यक निर्णय गरिएको परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो। “परिषदको स्थापनापछि पहिलो पटक लोक सेवा आयोग बाट स्थायी पदपूर्ति प्रक्रिया अघि बढेको हो। मैले पदभार ग्रहण गरेदेखि नै यसका लागि तयारी गरिरहेको थिएँ, आज त्यो प्रक्रिया पूरा भएको छ,” भट्टराईले इञ्जिनियर खबरसँग भन्नुभयो।
परिषदले प्राविधिकतर्फ सिभिल इञ्जिनियर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इञ्जिनियर र कम्प्युटर इञ्जिनियर माग गरेको छ। त्यस्तै, अप्राविधिकतर्फ प्रशासन सहायक, सूचना सहायक र लेखापालका लागि दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिदेखि २१ दिनभित्र आवेदन दिन सक्नेछन्। साथै, दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सकिने परिषदले जनाएको छ। आवेदन फारम परिषदको वेबसाइट www.vacancy.nec.gov.np मार्फत भर्न सकिनेछ। यससँगै परिषदले कार्य सम्पादन मूल्यांकनका आधारमा आन्तरिक बढुवाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
परिषदका अनुसार विभिन्न ५ पदका लागि एक तह बढुवा गर्न लोक सेवा आयोगको सहमति प्राप्त भएको छ। योग्यता पुगेका कर्मचारीले ३० दिनभित्र परिषदको प्रशासन शाखामा सम्पर्क राखी आवेदन फारम बुझाउन सक्ने परिषदले जनाएको छ।
Your email address will not be published. Required fields are marked *