६ महिनाअघि नै काम सक्ने ठेकेदार कम्पनी र आयोजनालाई सम्मान
Home News अर्थतन्त्र

६ महिनाअघि नै काम सक्ने ठेकेदार कम्पनी र आयोजनालाई सम्मान

इन्जिनियर खबर - June 10, 2025 285 views
images/mahesh_dai.jpg
images/mahesh_dai.jpg
Text Size

बागलुङ — भौतिक संरचना निर्माणमा लामो समय लागेको र पटकपटक म्याद थप्दा पनि काम नसकिएको समाचार आइरहन्छन् । तर कालीगण्डकी करिडोरको एक खण्डमा भने तोकिएभन्दा  ६ महिनाअघि नै काम सम्पन्न भएको छ । यति मात्रै होइन समय अगाडि नै कालोपत्र गरिएको भन्दै ठेकदार कम्पनी र आयोजनालाई सम्मानसमेत गरिएको छ ।

images/mahesh_dai.jpg

आगामी पुसभित्र कालोपत्रको जिम्मा लिएको ठेकदार कम्पनी कालिका कन्स्ट्रक्सनले जेठ दोस्रो सातामै काम सकेकाले आयोजनाका कर्मचारी, प्राविधिकलाई शनिबार सम्मान गरिएको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा पर्ने कालीगण्डकी करिडोरको ‘हर्मीचौर–बलेवा’ खण्डको ४५ किमि सडकमा समयअघि नै कालोपत्र भएको हो ।

images/mahesh_dai.jpg

शनिबार बागलुङको जैमिनीधाममा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाको तर्फबाट करिडोर आयोजना कार्यालयकी आयोजना प्रमुख कल्पना अधिकारी र व्यवस्थापक महेश सुवेदीसहित कर्मचारी र प्राविधिकलाई सम्मान गरिएको हो ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जैमिनीका उपप्रमुख हरिहर शर्माले ठेकेदार कम्पनी सबैले काम अलपत्र पारेका छैनन् भन्ने सन्देश बागलुङबाट दिएकाले सम्मान गरेको बताए । 'राम्रो गर्नेलाई सम्मान र सकारात्मक सन्देश दिन सकेमा अलपत्र परेका अन्य आयोजना पूरा गर्न प्रेरणा मिल्छ,' श्रेष्ठले भने । समय अगावै काम सक्दा ठेकदारको ६ महिना बचेको र जनताको लाखौंको व्यवसाय बढेको उनले बताए । गौरवका आयोजा समयमा सक्ने वातावरण सबैले बनाउनुपर्नेमा उनले जोड दिए ।

आयोजना प्रमुख अधिकारीले काम सम्पन्न भएको कम्पनी र स्रोत अभावमा काम रोकेका ठेकदारलाई भुक्तानी दिन नपाएको भन्दै राज्यले स्रोत सुनिश्चित गर्नुपर्ने बताइन् । यो अभियान सफल पार्न स्थानीय जनप्रतिनिधिले पनि ठूलो योगदान पुर्‍याएको उनको भनाइ थियो ।

२०७९ मंसिर २६ गते सम्झौता गरेर २०८२ मंसिर २५ मा सक्ने सम्झौता थियो । यो खण्डबाहेक हर्मीचौरदेखि रिडीसम्मको सडक अघिल्लो वर्ष नै कालोपत्र भइसकेको छ । बागलुङको बलेवादेखि मालढुंगासम्मको खण्ड भने अझै सकिएको छैन ।

कार्यक्रम सफल भएको भन्दै जैमिनीधामस्थित सडकमै सम्मान कार्यक्रम आयोजना गरिएको हो । सम्मानका लागि जैमिनीका पूर्व नगरप्रमुख इन्द्रराज पौडेलसहित जैमिनी र बागलुङ नगरपालिकाका वडाध्यक्षसमेत सहभागी थिए ।

images/mahesh_dai.jpg

यो सडक बनेपछि जैमिनीको कुश्मीसेरादेखि बुटवलका लागि दैनिक बस सेवा सञ्चालन भइसकेको छ । सडक कालोपत्र भएपछि १०–१२ घण्टा लाग्ने सडक अहिले ५ घण्टामा छोटिएको स्थानीयले बताए ।

images/mahesh_dai.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *