इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला लुम्बिनी प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौँ । पुर्वाधार, सडक र संचारले पछिल्लो दशकमा लुम्बिनी प्रदेशले तिब्र बिकास गरेको देखिन्छ । सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले लुम्बिनी प्रदेशमा विभिन्न स्थानीय तहले पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा गरेको बिकास र तीनको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुको सफलताको कथा र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ। यो शृंखलामा हामीले लुम्बिनी प्रदेशको रुपन्देही स्थित बुटवल उपमहानगरपालिकाले पूर्वाधारमा गरेको बिकासको स्थलगत भ्रमण सहितको विशेष रिपोर्टिङ गरेका छौँ । (स्थानीय केही प्रतिनिधि जनता, बुटवलबाट काठमाडौँ आएर अध्ययन गरि रहेका केही विद्यार्थीसँगको अन्तरक्रिया अनि हाम्रो टोलीले दुई पटक गरी ७ दिन बुटवल बसेर यहाँका स्थानीय, सरोकारवाला निकाय अनि विभिन्न व्यवसाय गरि रहेकाहरुसँगको अन्तरक्रिया तथा पालिकाले उपलब्ध गराएको तथ्यांकको आधारमा यो सामाग्री तयार गरिएको हो ।) पूर्वाधारमा बिकास: खाल्डारहित सडक, उज्यालो बाटो
यति बेला बुटवलमा देखिने तिब्र बिकास भनेको नै फराकिला र उज्याला सडक हुन् । बुटवल - भैरहवा सडक खण्डको नै आभास दिने गरि भित्रि सडक पनि चार लेनमा बिस्तार गरिएको छ भने बस्ती सम्म पुग्ने सडकहरु पनि खाल्डा रहित कालोपत्रे छ। बुटवलमा देखिएको यो बिकासका सन्दर्भमा हामीले नगर प्रमुख खेलराज पाण्डेयलाई सोधेका थियौँ "नगरको अधिकांश बजेट पूर्वाधारमा खर्च गर्नु भयो कि केन्द्रको मुख ताक्नु भयो?" जवाफमा पाण्डेयले मुस्कुराउदै भनेका थिए, "हाम्रा प्रमुख प्राथमिकतामा शिक्षा, स्वास्थ्य अनि बल्ल भौतिक पूर्वाधार पर्दछ गत वर्ष २६% रकम शिक्षामा खर्च भएको थियो, यसको प्रतिफल तत्काल देखिदैन तर दीर्घकालिन रुपमा यसले ठुलो महत्व राख्दछ । सडक निर्माणमा हाम्रा अत्यन्त राम्रा अभ्यास छन्, यहाँको निर्माण काममा जनताले समेत केही हिस्सा रकम लगानी गर्नुहुन्छ, यसले गर्दा बिकास निर्माणका काममा जनताले अपनत्व लिने र पूर्वाधार निर्माण देखि यसको संरक्षण सम्म गर्ने हुनाले निर्माण कार्य समेत दिगो हुने गरेको छ।"
बुटवलमा यति बेला तपाइँले रातको समयमा भित्रि सडकमा यात्रा गर्नु भयो भने पूर्ण रुपमा उज्यालो पाउनु हुन्छ । मुलुक कै पहिलो १३२ के. भी. को मोनोपोल जडानको काम यहीँ पालिकामा भएको छ । १६, १२ र १० मिटरका गरेर यति बेला बुटवलमा ७० भन्दा बढी हाइ मास्ट पोल जडान भएको छ, जसले रातको समयमा बुटवललाई उज्यालो मात्र बनाएको छैन, सहरको सौन्दर्यीकरण समेत बढाएको छ । मुख्य सडकमा असरल्ल रहेका ट्रान्सफर्मर तथा तारहरु केही हदसम्म भए पनि व्यवस्थित देखिन्छन् । बुटवलमा हालसम्म २४८.८२ कि.मि सडक पूर्ण रुपमा कालोपत्रे भएको छ, ६९.२९ कि. मि खण्डस्मित सडक निर्माण भएको छ, यस्तै ३१.४५ कि. मि. धुले सडक निर्माण भएको छ, १५० वटा कल्भर्ट तथा पुलको निर्माण भएको छ, करिब ६ कि.मि सिचाईं कुलोको निर्माण भएको छ भने २२३० हेक्टर जमिनमा सिचाईं सुबिधा पुगेको छ। बुटवलमा यति बेला केही पूर्वाधार बिग्रिएको छ भने त्यो हो बुटवल उपमहानगरपालिकाको नगर कार्य पालिकाको कार्यलय। गत भाद्र २४ मा भएको आन्दोलनले यति बेला उपमहानगरको कार्यालयमा ठुलो क्षति भएको छ। नगर प्रमुखको कार्यकक्ष रहेको स्थानमा तोडफोड भएपछि नगर प्रमुख अहिले कार्यालय प्रमुखको कार्यकक्षमा सरेका छन्। बिहिबार इन्जिनियर खबरको टोली कार्यालय पुग्दा सचिवालय बाहिर रहेको पारिलो घाममा केही स्थानीयसँग गफीइरहेका प्रमुख पाण्डेयलाई हामीले सोधेका थियौं, "यो क्षति ग्रस्त भवन कहिले सम्म बनाउनु हुन्छ ?" जवाफमा पाण्डेयले कार्यालय भवन निर्माण गर्न ठुलो लगानी लाग्ने र स्थानीय स्रोतबाट तत्काल बनाउन सम्भव नरहेकाले केन्द्र वा अन्य सरोकारवाला निकायले सहयोग रकम उपलब्ध गराए मात्र बनाउन सम्भव रहेको बताए, उनले पालिकाको बजेटबाट उक्त भवन नबनाउने अड्डी कसे । २०७८ सालमा निर्माण भएको यो कार्यालय भवनको अघिल्लो भागको तल्लो तल्ल पूर्ण रुपमा ध्वस्त नै छ।
फोहोर व्यवस्थापनमा बुटवल
स्थानीय तहको सबैभन्दा ठुलो टाउको दुखाइको विषय नै फोहोर व्यवस्थापन बन्ने गरेको छ। काठमाडौँ उपत्यकाको फोहोर बन्चरे डाँडा ल्याण्डफिल साइटमा डम्पिङ हुँदै आएको छ, त्यो पनि बिबादै बिबादको बिचमा। बुटवलमा भने फोहोर व्यवस्थापनको एउटा अनुपम नमुना देख्न सक्नु हुन्छ । हरेक दिन बिहान ६ बजे नै फोहोर संकलन गर्न गाडी आउँछ, यहाँ प्रत्यक दिन फरक फरक प्रकारको फोहोरहरु संकलन हुने गर्दछ। कुहिने, नकुहिने र पुन: प्रयोग गर्न सकिने गरी स्थानीयले छुट्टाएर राखेका फोहोरहरुको बर्गीकरण गरि पालिकाले संकलन गर्ने गर्दछ र संकलित फोहोर वडा नम्बर ७ स्थित शिवनगर सामुदायिक बनको छेवैमा निर्माण गरिएको डम्पिङ साइटमा लगेर थुप्रने गरिएको छ। यति बेला बुटवलले फोहोरबाट इन्धन र कम्पोस्ट मलको निर्माण गर्न सकिने सम्भाव्यताको बारेमा अध्ययन समेत गरि रहेको छ। फोहोर व्यवस्थापन कार्यमा करिब १५० जना प्रत्यक्ष/ अप्रत्यक्ष गरी सहभागी भएका छन् । बुटवलमा साप्ताहिक रुपमा करिब ५३० टन फोहोर संकलन हुने गर्दछ जसमा करिब ६४% फोहोर कुहिने प्रकारका छन् । बुटवलको अर्को उदाहरणीय अभ्यास हामीले गत शनिबार बुटवलमा देख्यौँ । शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म करिब हजारौँ नागरिकको उपस्थितिमा (७० % महिला) बुटवल सरसफाई अभियान कै रुपमा संचालन हुने गर्दछ । बुटवलको यो अभ्यास अन्य पालिकाका लागी पनि उत्तिकै अनुकरणीय हुनेछ ।
गरि खाने समाजको निर्माणलाई प्राथमिकता
प्राय: सबै स्थानीय तहहरुले पछिल्लो वर्षहरुमा गरेको बिकास भनेका नै सडक हो। घर अगाडीको सडक चिल्लो हुने तर त्यही सडक हुँदै घरमा प्रवेश गर्ने मान्छे सिपको अभावमा बेरोजगार बस्नु पर्ने नेपाली समाजको नियति जस्तै बनेको छ। यही यथार्थलाई नजिकबाट देखेका पाण्डेयले भौतिक पूर्वाधारसँगै मानव संसाधनको बिकासलाई पनि सँगै लैजाने प्रयत्न गरेका छन् । बजेट विनियोजन गर्दा नै पालिकाले भौतिक पूर्वाधारका लागी ५१% र मानव संसाधनमा ४९% बजेट बिनियोजन गर्दछ । पालिकाले यति बेला विभिन्न प्रकारका सिपमुलक तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ जसबाट हजारौँ जनता लाभान्वित भएका छन् । पालिकाले यति बेला कृषि सामग्रीको उत्पादनका लागी आरन संचालन गर्नेहरुका लागी ५ लाख अनुदानको व्यवस्था गरेको छ, पालिकाबाट पन्चेबाजाको तालिम लिएका महिलाहरुले व्यवसायिक रुपमा पन्चेबाजा संचालन गरिरहेका छन्, मकै पकेट क्षेत्रको व्यवस्था मार्फत कृषकहरुले दशौँ गुणा थप आम्दानी गरि रहेका छन्, दुधमा ३ रुपैयाँको अनुदानको व्यवस्था गरेको छ, भैंसीको पाडी किनेर व्यवसायिक रुपमा संचालन गर्नेहरुका लागी ५०% रकम पालिकाले दिने व्यवस्था गरेको छ, यसबाट स्थानीयले लाखौँ रुपैँया रकम आम्दानी गरेका छन् । अझ रोचक त, यो भेगका अधिकांश सुनचाँदी पसल बङ्गालका कालीगढहरुले संचालन गर्ने गर्दथे, पालिकाले यहीं अवस्थालाई चिर्न सुनचाँदीका काम गर्न इच्छुकहरुको लागी सिपमुलक तालिमको व्यवस्था गर्यो, पालिकाबाट तालिम लिएर अहिले यही काम गरेर मासिक १० लाख सम्म आर्जन गरि रहेका छन् यहाँका स्थानीयले । जुत्ता चप्पल मर्मत तथा निर्माणका लागी एक हप्ताको मात्र तालिम लिएका स्थानीय महिलाले मासिक तीन लाख सम्म कमाउने गरेको तथ्यांक पालिकासँग छ । तर पालिकासँग तालिम लिएका र खासै केही नगरेका केही पात्रहरुले गर्दा केही तालिमहरु नाम मात्रको भै रहेको र त्यसले प्रशिक्षक, प्रशिक्षार्थी र नगरको समेत समय र बजेट खेर गइ रहेको उनको बुझाइ छ। त्यसैले आवश्यकताको तालिम लिएर त्यसलाई जीविकोपार्जनसँग जोड्न र ती तालिमहरुको प्रभावकारिता कायम राख्न पालिकाले थप काम गरिरहेको पाण्डेयले बताए । पालिकाले जातीय, सांस्कृतिक र भाषिक पहिचानका तालिमका लागी समेत आवश्यक बजेट बिनियोजन गरि रहेको छ । जसले यहाँका स्थानीय भाषा, साहित्य र कलाको प्रवर्धन समेत हुँदै आएको छ ।
यसका अतिरिक्त बुटवल उपमहानगरले हरेक वर्ष उद्योग, प्रतिष्ठानका प्रतिनिधिको उपस्थितिमा रोजगार मेलाको आयोजना गरेर यहाँको जनशक्तिलाई रोजगारसँग जोडिरहेको छ । गत वर्ष मात्र १७३ जनालाई रोजगार मेला मार्फत रोजगारीमा जोडिएको र आगामी वर्षहरुमा १००० पुराउने नगरको लक्ष्य छ । यसका अतिरिक्त नगरले प्रत्यक वर्ष मासिक ६००० रकम उपलब्ध गराउने गरी ३०० स्वयम्सेवकको व्यवस्था गरेको छ । ती स्वयम्सेवकहरु मध्य १०० जना ट्राफिक व्यवस्थापनमा, १०० जना फोहोरमैला व्यवस्थापनमा र बाकी १०० जना राजश्व संकलनमा काम गरि रहेका छन् । यो कार्य अन्य पालिकाका लागि पनि अनुकरणीय हुन सक्नेछ ।
शिक्षा र स्वास्थ्यमा बुटवल
बुटवल उपमहानगरपालिकाले गत वर्ष कुल बजेटको २६% रकम शिक्षा क्षेत्रमा खर्च गरेको छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीको प्रतिफल तत्काल नै नदेखिए पनि दीर्घकालीन रुपमा बुटवलको समग्र बिकासका लागी यो लाभदायक हुने प्रमुख पाण्डेय बताउँछन् । बुटवलमा प्रत्यक वर्ष १५००० भन्दा बढी विद्यार्थी कक्षाकोठाको अभावमा सामुदायिक विद्यालयमा पढ्नबाट बन्चित हुन पुगेका छन्। करिब १ अर्व रुपैंयाको लगानी हुने हो भने उक्त अवस्था अन्त्य हुने पाण्डेय बताउँछन्, यसका लागी संघीय सरकार, प्रदेश सरकारका साथै विभिन्न दातृ निकायहरुसँग समेत सहकार्य गरि रहे पनि प्रतिफल प्राप्त नभएको पाण्डेयको गुनासो छ । अन्य पालिकाहरुले आफ्ना स्थायी बासिन्दालाई मात्र छात्रवृति प्रदान गर्दै आएकोमा शिक्षाबाट कोही पनि बन्चित नहुन् भन्ने उद्देश्यले देशको जुनसुकै कुनाबाट आएका विद्यार्थीहरुलाई पनि बुटवलले छात्रवृति प्रदान गर्दै आएको छ । यो उपमहानगर भित्र कर्णाली प्रदेशका मात्रै १५०० विद्यार्थी अध्ययन गर्दैछन् । शिक्षण संस्थाहरुलाई सुचना, प्रविधि मैत्री बनाउदै लैजानुका साथै स्वास्थ्यकर्मीको व्यवस्था बुटवलले गरेको छ। गत वर्ष तीन वटा विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरिएकोमा अहिले थप ५ वटा विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको र क्रमश: सबै विद्यालयमा लैजाने प्रमुख पाण्डेय बताउँछन्। शिक्षालाई सिप, सिपलाई उद्योग, र उद्योगलाई उत्पादनसँग जोड्न सकिए मात्र हाम्रा शिक्षा व्यवहारिक हुन्छन् भने बुझेका नगर प्रमुख पाण्डेयले पालिकाका छोरीहरुलाई पढाउन विशेष कार्यक्रम नै ल्याए । ‘छोरी पढाउ कार्यक्रम’ अन्तर्गत प्रत्यक वर्ष ४० जना छोरीहरुले बुटवल टेक्निकल इन्स्टीट्युटमा पालिकाको पूर्ण सहयोगमा २ वर्षे प्राविधिक विषय अध्ययन गरि रहेका छन् । यहाँबाट उत्पादन भएका छोरीहरुले भोलि देश र बुटवलको बिकासका लागी थप योगदान दिनेमा पूर्ण आशाबादी देखिन्छन् प्रमुख पाण्डेय ।
स्वास्थ्यका क्षेत्रमा पनि बुटवलले प्रगती गरि रहेको छ। आम्दा अस्पाताल र गौतम बुद्ध सामुदायिक मुटु अस्पताल गरे दुइ सामुदायिक, १३ नीजी अस्पताल र १८ वटा आधारभूत स्वास्थ्य संस्थाहरु मार्फत यहा स्वास्थ्य सेवा प्रवाह भै रहेको छ। २०५५ सालामा स्थापित यहाँको आम्दा अस्पतालमा २०० शैया थप गर्दै साथै आइसियुको व्यवस्था गर्न लागिएको छ। आम्दा अस्पतालमा गत वर्षबाट PCL, हेल्थ असिस्टेन्ट र स्टाफ नर्सको पढाइ सुरु भै सकेको छ। आम्दा अस्पताल परिसरमा भेटिएका स्थानीय होटेल व्यवसायी प्रेम भट्टराईले अस्पताल परिसर देखाउँदै भने, "यति थोरै पानी पर्दा पनि हिलो हुने गरेको थियो अहिले ब्लकको व्यवस्था भए पछि परिसर सफा भएको छ, प्रमुखमा खेलराज जी आइ सकेपछि HDU थप भएको छ भने ICU थप गर्नका लागी थुप्रै पहल गरि रहनु भएको छ, सम्भवत नतिजा आउनेछ, राजनैतिक रुपमा आफु पाण्डेयसँग नजोडिए पनि सडक र पूर्वाधारको क्षेत्रमा उहाँले गरेको बिकास भने सबैले प्रशंसा गरिरहेका छन्।" बुटवलमा दैनिक १६ वटा जिल्लाका ८००० भन्दा बढी बिरामी उपचारका लागी आउने गरेको उपमहानगरको तथ्यांक छ। वडा नम्बर १३ र १७ मा JFTR ग्रान्ट अन्तर्गत निर्मित बहुउद्देशीय भवनमा १५ शैयाको अस्पताल सेवा सुरु भएको र यो आर्थिक वर्ष भित्रमा नै कम्तीमा एक जना चिकित्सकको व्यवस्था गरिने नगर प्रमुख पाण्डेयले बताए। अहिले बुटवलले संघीय कानुनमा टेकेर "स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा अनुमति मापदण्ड- २०८०" को कानुन निर्माण गरेको छ, जस अन्तर्गत यस क्षेत्र भित्र संचालित क्लिनिक तथा अस्पतालको अनुगमन गरिने हुनाले स्वास्थ्य संस्थाहरु व्यवस्थित भएका छन्।
धार्मिक, पुरातात्विक पर्यटन पूर्वाधारमा बुटवल
वि. सं. १८७२ मा नेपाल अंग्रेज युद्दको क्रममा जीतगढी क्षेत्रमा नेपालले प्राप्त गरेको विजय र त्यसको नेतृत्वकर्ता कर्णेल उजिर सिंह थापाको स्मृतिमा बुटवलले हरेक वर्ष बैशाख ७ गते विजयोत्सव आयोजना गर्दछ । जीतगढी किल्लामा गोरखा दरवारदेखि ११ दिनको पैदल यात्रा गरेर बुटवल आएका सैनिकहरुको स्वागत सहित विशेष कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यहि जीतगढी किल्लामा १८७२ भन्दा अगाडीको विशाल नेपालको नक्शा देख्न सकिन्छ। जीतगढी किल्ला, फुलबारी उद्यान, रामपिथेकस पार्क लगाएतका पर्यटकीय स्थलमा पालिकाले बर्षेनी ठुलो धनराशी लगानी गर्ने गरेको छ।
बुटवल देखि मुक्तिनाथ हुँदै कोराला नाका जोड्ने धार्मिक पर्यटकिय पदमार्ग निर्माण पर्यटनको क्षेत्रमा आफ्नो प्रमुख योजना भएको पाण्डेयले बताए । यो कार्यक्रम अन्तर्गत कोराला नाका देखि लुम्बिनीसम्म वार्षिक ५ लाख तिब्बतियन र चिनीया बौद्ध धर्मावलम्बी पर्यटक लुम्बिनी ल्याउने र भारतका विशेष गरी गुजरात, दिल्ली लगाएत अन्य क्षेत्रका करिब ५० लाख धार्मिक पर्यटकीय यात्रुहरु मुक्तिनाथ लैजानका लागी कालिगण्डकी कोरिडोरको प्रयोग गरेर एउटै मार्गबाट दुइवटा धार्मिक पर्यटनको क्षेत्रको बिकासका लागी यति बेला पाण्डेयले विभिन्न प्रकारका लबिइङहरु गरिरहेका छन् । यसका अतिरिक्त बुटवलसँग जोडिएका पहाडका विभिन्न धार्मिक धामहरु जस्तै ऋणी ऋखेश्वर, गुल्मी राम मन्दिर, पर्वत सेतीबिनी, बाग्लुङ जैबिनीधाम, कालिका मन्दिर, म्याग्दी गलेश्वर धाम र मुस्ताङको कागबेनी धाम हुँदै मुक्तिनाथ धामहरुको समेत बिकास गर्ने गरी त्यहाँको पालिकासँग समन्वय गरेर काम गर्न बुटवलले यतिबेला नेतृत्व लिइरहेको छ । निकै उत्साहपूर्ण र आशाबादी भावमा पाण्डेय भन्छन्, “बुटवलदेखि मुक्तिनाथसम्मका सबै नगर प्रमुख, गाउँपालिका प्रमुख र भारतका समेत केही स्थानीय सरकारका प्रमुखहरुको उपस्थितिमा बुटवलमा छिट्टै सम्मेलन गरी बुटवललाई धार्मिक पर्यटनको केन्द्र बनाउन हामी क्रियाशील छौँ, यसका लागी केही चरणका कामहरु समेत सुरु गरि सकेका छौँ, अब सम्मेलनको आयोजना गरेर परिणाममुखी काम गर्नेछौं ।”
प्रदेशको राजधानी दाङ सर्दाको पिडा बुटवलले अनुभूती गरि रहेको छ । अन्तराष्ट्रिय बिमानस्थल, प्रदेश राजधानी लगाएतका आधारमा यहाँको होटेल तथा पर्यटन व्यवसायमा लगानी गरेका अधिकांश होटेल व्यवसायीहरुले सोचे अनुरुप व्यवसाय फस्टाउन नसकेको बताई रहेका छन् अझ एक हिसाबले सिथिल जस्तै छ। फुलबारी उद्यान, जीतगढी किल्ला, मणिमुकुन्द शेनको दरबार, रामपिथेकस पार्क, सिद्धबाबाको मन्दिर लगाएत थुप्रै धार्मिक पर्यटनको सम्भावना बोकेको यो क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिए पनि बाह्य पर्यटकहरु त्यति उपस्थिति देखिदैन। धार्मिक पर्यटकका यात्रुहरुलाई आकार्षित गर्न होटेल व्यवसायीले सोहि अनुसार आफुलाई परिष्कृत गर्दै जानु पर्ने पाण्डेय बताउँछन्, "लुम्बिनीदेखि कागबेनीधामसम्मको यात्रा गर्ने पर्यटकहरु यही मार्गको प्रयोग गरे पनि यहाँ नरोकिनु दुख:द हो, तर धार्मिक पर्यटकहरुलाई नै लक्षित गर्ने गरी हामीले हाम्रा होटेल व्यवसायहरु संचालन गर्नु पर्ने छ, उँहाहरु मदिरा र मासुजन्य पदार्थ भएको ठाउँमा प्राय: बस्न नरुचाउने हुनाले उहाँहरुको रुची अनुसारको होटेल संचालन हुने हो भने थप आकर्षण गर्न सकिन्छ, हामी त्यसका लागी आवश्यक कामहरु गर्नेछौं।"
बट्यौली देखि खस्यौलीसम्मको बिकास
मान्छेहरु सबैतिरबाट बटुलिने हुनाले यो सहरको नाम बट्यौली हुँदै बुटवल रहन गएको स्थानीय बताउँछन्। अहिले पनि पुराना स्थानीयहरु तिनाउ खोला पारीलाई पारी बुटवल (बट्यौली) र वारीलाई वारी बुटवल (खस्यौली) भनेर चिन्दछन्। यहीँ पुरानो बट्यौलीको संरक्षणका लागी पनि आवश्यक कामहरु भइरहेको प्रमुख पाण्डेय बताउँछन्, वडागत रुपमा पनि थुप्रै बजेटको व्यवस्था भएकाले ती क्षेत्रका वडाहरुले पनि आवश्यक काम गरि रहेको उनले बताए । बिगतमा ढाक्रेहरुले पहाडबाट घिउ बेच्न आउने र यहाँबाट नुन, तेल र कपडा लिएर जान प्रयोग गर्ने ऐतिहासिक बुटवल - नुवाकोट पदमार्ग अहिले जिर्ण जस्तै छ, यही पदमार्ग निर्माणका लागी १६ करोड बजेट बुटवल उपमहानगरपालिकाले व्यवस्था गर्ने गरी अहिले ५ करोड बिनियोजन भै सकेको उनले बताए । यो सडकमा पुरातत्व झल्कने गरी पुहुले घरहरु, ढाक्रेले प्रयोग गर्ने गरेको लुगाहरु, बिश्रामस्थलहरुको निर्माण गरिने गरी तयारी भैरहेको र छिट्टै टेन्डरमा जाने नगर प्रमुख पाण्डेय बताउँछन् । अन्तराष्ट्रिय सहयोगी संस्थाहरुको सहयोगमा बुटवल, १५ सेमलारमा साढे १९ बिगाह क्षेत्रफलमा कृषि व्यवसायिक केन्द्रको स्थापना र मोतिपुरमा औद्योगिक क्षेत्र स्थापनाको प्रक्रियामा रहेको र यसले यहाँको अर्थतन्त्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने नगर प्रमुख पाण्डेयाले बताउनु भयो।
अहिले बुटवलमा छाडा चौपाया नियन्त्रणमा आएको छ । वडा नम्बर ७ स्थित शिवनगर सामुदायिक बनमा रहेको गौशालामा चौपायाहरुको व्यवस्थापना गरिनेछ । छाडा चौपाया देखेको खण्डमा नगर प्रहरी, जन प्रतिनिधि वा अन्य सरोकारवालाहरुलाई जानकारी गराए पछि उपमहानगरले ती चौपायाहरुको व्यवस्थापन गर्दछ । यहाँ रोचक के देख्न सकिन्छ भने बिहान १० बजे गाईहरु आफैँ चरण जान्छन् भने बेलुका ५ बजे आफैं बासस्थानमा फर्कने गर्दछन्। गौशाला संचालन मार्फत चौपायाहरुको व्यवस्थापन गर्दा आफुलाई सन्तोषको अनुभूति भएको प्रमुख पाण्डेयले बताउछन। हप्तामा कम्तिमा एक पटक उनलाई यहीं गौशालामा देख्न सकिन्छ, अनि अर्को दिन सडक सरसफाईमा। संघ र प्रदेश सरकार समेतको समन्वयमा बुटवलको ज्योतिनगरको पहिरो नियन्त्रणका लागी तार जालीको व्यवस्था बुटवलमा भएको छ, यसले धेरै हदसम्म पहिरो नियन्त्रणमा आएको स्थानीयहरुले बताए। बुटवलमा टोलबिकास संस्थामा ३० वर्ष मुनिका युवाहरुको उपस्थिति कम्तीमा ३०% सुनिश्चित हुने गरी बिधान तयार गरिएको छ। बा- आमासँग नगर प्रमुख कार्यक्रम, बुटवलको किसान हाम्रो शान, छोरी पढाउ कार्यक्रम, कौशी/ करेशाबारी प्रदर्शन कार्यक्रम, गृहणी महिला स्वरोजगार कार्यक्रम, दुध मिसनका लागी पाडी प्रवर्दन कार्यक्रम, मेयर युवा इलम कार्यक्रम जस्ता कार्यक्रमहरु बुटवलका मौलिक, महत्वपुर्ण र परिणाममुखी कार्यक्रमहरु हुन्, यसले समग्र बुटवलको बिकासमा महत्वपुर्ण भूमिका खेली रहेको छ। बुटवलको विकास र यहाँको समृद्धिका लागी गर्नु पर्ने कामहरुका सन्दर्भमा सुझाव संकलन गर्न पाण्डेयले बिज्ञ सहित छलफलको आयोजना गर्छन् । हरेक वर्ष विभिन्न विषयका करिब १५० भन्दा बढी इन्जिनियर / आर्किटेक्टलाई समिल्लित गरेर अबको बुटवलको गुरुयोजनामा समावेश गर्नु पर्ने कामहरुका सन्दर्भमा उपमहानगरले सुझाव मागी रहेको छ ।
आलोचनारहित छैनन् पाण्डेय पनि
स्थानीय तहका जनप्रतिनिधीहरु आलोचनारहित हुन नै सक्दैनन्, यो प्राय: सबै पालिकामा लागु हुने गर्दछ। पाण्डेय पनि आलोचनारहित भने छैनन् । हामीले बुटवलमा भेटेका प्राय: सबैले पूर्वाधार, सडक र संजालमा पाण्डेयले गरेको बिकासको प्रशंसा गरे पनि सडक पेटीबाट ब्यापार हटाउने, इ- रिक्साहरुसँग बर्षेनी नवीकरण शुल्क लिने तर पार्किङ उपलब्ध नगराउने जस्ता विषयमा पाण्डेयको आलोचना गरेका थिए । यो विषयमा हामीले पाण्डेयलाई सोधेका थियौँ, "समाजबादको नारा लिएर निर्वाचनमा होमिनु भएको तपाइँले निम्न आय भएका भुइँ मान्छेहरुलाई नै किन गरि खान नदिनु भएको?" केही बेर शालीन भएर पाण्डेयले भने, "मुख्यतया: सडकपेटी भनेकै पैदलयात्रीका लागी हो, उहाँहरुलाई अवरोध गर्न हुँदैन, हामीले यहाँ व्यापार गरि रहनु भएका साथीहरुलाई थप व्यवस्थित रुपमा ब्यापार संचालन गर्न दिनका लागी नै सडकपेटीबाट स्थानान्तरण गरेर तोकिएको ठाउँमा ब्यापार गर्नका लागी अनुरोध गरि रहेका छौँ फराकिला सडक पेटीले सडकको सौन्दर्यकरणमा भूमिका खेल्छ अनि व्यवस्थित बजारले उपभोक्तालाई त्यही क्षेत्र भित्र आकर्षण गर्छ, उहाँहरुले यसमा सहकार्य गर्नेमा विश्वस्त छु।" आलोचनाका सन्दर्भमा उनले थप भने, "आफ्नो सक्रियता र सहभागिताका सन्दर्भमा आफु सन्तुष्ट छु तर बिकासका लागी चाहिने कुल बजेटको २०% मात्र बजेट प्राप्त हुने र विषयगत क्षेत्रमा अड्कलेर बजेट दिनु पर्ने र माग पुरा गर्नु पर्ने हुनाले बजेटको अभावले आफु स्वयम पनि सन्तुष्ट हुन सक्ने अवस्था भने छैन।"
संघ र प्रदेशको कार्यशैलीप्रति गुनासो
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय संघ र प्रदेश सरकारका कार्यशैली र गर्ने व्यवहारप्रति गुनासो गर्दछन्। संघ र प्रदेशले स्थानीय तहको माग र आवश्यकताको आधारमा भन्दा पनि विभिन्न मानिसहरुको पहुँचका आधारमा बजेट बिनियोजन गरिदिनाले समस्या एका तिर हुने र बजेट अन्तै तिर बिनियोजन भै रहेको प्रमुख पाण्डेयको गुनासो छ र यो समस्याको समाधान हुने हो भने थुप्रै परिणाम देखिनेमा उनी विश्वस्त छन् । केन्द्र र प्रदेश सरकारले समेत आवश्यकताको आधारमा स्थानीय तहसँग समन्वय गरेर बजेट बिनियोजन गरिदिनु पर्ने उनले बताए । सरल जीवन बिताउने राजनीतिज्ञलाई मन्त्रालय, बिभाग र अड्डाले समेत खासै महत्व नदिने तितो अनुभव सुनाउँदै उनले भने, "सिंहदरबारको खाल्डोले राजधानी बाहिरलाई हेर्ने नजर नै फरक छ, यहाँका जनजीविकाका सन्दर्भमा जोडिएको मुद्दालाई त्यति महत्व दिएर सुन्दैन, यसमा सुधार हुन जरुरी छ।" संघ र प्रदेश बिचको मात्र हैन अन्तर स्थानीय तहबिचको समन्वयका लागी समेत पाण्डेय नेतृत्वको उपमहानगरले काम गर्दैछ। प्रथम उपमहानगर सम्मेलनको आयोजना गरेको बुटवलले बिकासका लागी अन्तराष्ट्रिय निकायको समेत ध्यानाकर्षण गराईरहेको छ।
अन्त्यमा,
देशकै हेभीवेट नेताहरुको निर्वाचन क्षेत्र हुनाको फाइदा पक्कै पनि बुटवलले लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन। संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, पाण्डेयलाई त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला खेलराज पाण्डेय नेतृत्वको बुटवल उपमहानगरले केही आशालाग्दो काम गरि रहेको छ । अघिल्लो पटकको निर्वाचनमा पराजित पाण्डेयलाई २०७९ को निर्वाचनमा बुटवलका ३०२४९ मतदाताले विश्वास गरेका थिए । राजनैतिक दलप्रति जनताको बढ्दो बितृष्णा, जेन जी आन्दोलनका बाछिट्टा, जनताको आक्रोश, स्थानीय तह भित्र हुने बिबाद, नदीजन्य पदार्थको उत्खनन, आफ्नै र फरक दलबाट निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने बाध्यता, कर्मचारीतन्त्रको आलश्यता, नगरको भत्किएको भवनले पार्ने मनोबैज्ञानिक असर, परिवर्तनका क्रममा आफ्नै दल र फरक दलबाट आउन सक्ने अवरोध जस्ता चुनौतीका बिच पाण्डेयको आगामी करिब डेढ वर्षे कार्यकाल आजै आकलन गर्नु केही हतारो हुन सक्छ, तर बिहानीले दिनको संकेत गर्छ भनेझैँ सडक, संजाल र पूर्वाधारको बिकासमा बुटवलले राम्रै प्रगती गरिरहेकै छ।
Your email address will not be published. Required fields are marked *