त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको व्यवहारिक अनुसन्धान तथा बिकास केन्द्रले विश्व मौसम विज्ञान संगठन, जल तथा मौसम विज्ञान बिभाग र ललितपुर महानगरपालिका, वडा नम्बर १३ र १४ को कार्यालय सँग नक्खु खोला कोरिडोरमा बाढीले हुने क्षति र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा लामो समय देखी अनुसन्धान गर्दै आएको छ । यो अनुसन्धान बिपद बाट बच्न गर्न पर्ने पुर्व तयारीका सन्दर्भमा सन् २०२२ मा संयुक्त राष्ट्रसंघका महासचिवद्वारा सुरु गरिएको "सबैका लागी पुर्व सुचना (Early Warning For All) पहल अन्तर्गत गरिएको हो । EW4ALL का मुख्य चार आधारभूत स्तम्भहरू छन्: जोखिम ज्ञान (Risk Knowledge), अवलोकन र पूर्वानुमान (Observations and Forecasting), सूचना प्रसारण र सञ्चार (Dissemination and Communication) र तयारी तथा प्रतिक्रिया (Preparedness and Response) । केन्द्रले यी चारै स्तम्भमा रहेर विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। यस अघि पनि ललितपुर महानगरपालिकाको वडा नम्बर १४ को कार्यालयमा बाढी नक्शांकनको कार्यक्रम सम्पन्न भइसकेको छ।
यसैको शिलशिलामा मिति कार्तिक २९ गते त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको व्यवहारिक अनुसन्धान तथा बिकास केन्द्रले विश्व मौसम विज्ञान संगठन, जल तथा मौसम विज्ञान बिभाग र ललितपुर महानगरपालिका, वडा नम्बर १३ र १४, नेपाल रेडक्रस सोसाइटी र International Federation of Red Cross and Red Crescent Societies, (IFRC) को सहकार्यमा बाढी पुर्व सुचनामा आधारित कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम ललितपुर महानगरपालिका वडा नम्बर १३ स्थित स्मृतिनगर टोलमा उक्त कार्यक्रमको आयोजना भएको थियो।
नेपालमा वर्षनी बाढीजन्य बिपदबाट थुर्पै ज्यान गुमाउने गरेको सरकारी तथ्यांक नै छ। गत वर्ष आश्विन १२ र १३ गते नक्खु खोलामा आएको भिषण बाढीबाट थुप्रैले ज्यान गुमाए भने कयौँ घरबार बिहिन हुन पुगेका थिए । बाढीजन्य बिपदका पुर्व तयारी तथा अभ्यासका अभावमा थुप्रैले ज्यान गुमाउन परेको अवस्थालाई चिर्न यो प्रकारको कार्यक्रमको आयोजना गरिएको विपद बिज्ञ डा. बसन्त राज अधिकारीले बताउनु भयो ।
कृतिम घटना अभ्यास भनेको सम्भावित प्राकृतिक विपद्को अवस्थामा समुदाय, स्थानीय निकाय, सुरक्षाकर्मी, उद्धार टोली र सरोकारवाला निकायहरू बीचको समन्वय र तयारी अवस्थाको परीक्षण गर्न आयोजित एक व्यवहारिक अभ्यास हो। यस अभ्यासको मुख्य उद्देश्य वास्तविक विपद् आउँदा कसरी प्रभावकारी रूपमा सुचना प्रवाह गर्ने, जनसुरक्षाका उपायहरु अपनाउने, उद्धार तथा राहत कार्य सञ्चालन गर्ने र सम्पर्क सञ्जाल बिस्तार गर्ने भन्ने विषयमा सहभागीहरूलाई व्यवहारिक अनुभव प्रदान गर्नु हो। यसले पूर्वसूचना प्रणालीको प्रयोग, सुरक्षित स्थलमा स्थानान्तरण, सूचना आदानप्रदान, र आपतकालीन संयोजन अभ्यास गर्ने अवसर उपलब्ध गराउँछ।
कृतिम घटना अभ्यासका लागी नेपाल रेडक्रस सोसाइटीका बिज्ञहरु तथा तालिम प्राप्त स्वयंसेवकहरुले सहजीकरण गरेका थिए। यो अभ्यास अन्तर्गत बिपदका विभिन्न पाँच वटा अवस्थाहरुमा सम्बन्धित निकायहरुले गर्नुपर्ने तयारीका बारेमा अभ्यास गरिएको थियो। जल तथा मौसम बिज्ञान बिभागले बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेको बताए पछि नगरको आपतकालीन कार्य संचालन केन्द्र, वडा स्तरियविपद व्यवस्थापन समिति र समुदाय स्तरिय विपद् व्यवस्थापन समितिले विभिन्न चरणमा गर्नु पर्ने तयारी गरिएको थियो।
युवा, बालबालिका, घाइते, गर्भवती महिला, जेष्ठ नागरिक तथा हुल हुज्जत गर्ने समूहहरुमा सहभागीलाई विभाजन गरी बिभिन संयन्त्रहरुले गर्नु पर्ने भूमिकाको अभ्यास समेत गरिएको थियो। कार्यक्रममा स्थानीय, आयोजक, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि गरेर ८० भन्दा बढी सहभागी थिए। यो पुर्व अभ्यासले आफुहरु लाभान्वित भएको र वास्तविक विपदका समयमा समेत यसै गरी तुरुन्त उद्दार हुन पर्ने स्थानीय सहभागीहरुले बताए। केहि सहभागीहरुले यस्ता कार्यक्रम वर्षा आउनु भन्दा एक महिना पहिला गर्नुपर्ने सुझाब दिएका थिए ।
Your email address will not be published. Required fields are marked *