रङ बदलेको रंगेलीको कथा
Home News फिचर्ड स्टोरी

रङ बदलेको रंगेलीको कथा

इन्जिनियर खबर - Nov. 21, 2025 1927191 views
images/6.png
images/6.png
Text Size

इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला प्रदेश- प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौ । सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले  विभिन्न स्थानीय तहहरुले पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा गरेको बिकास र तीनको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुको सफलताको कथा र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ । पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा पछिल्लो समय कोशी प्रदेशको रंगेली नगरपालिकामा पनि तिब्र बिकास भएको देखिन्छ । यो शृंखलामा हामीले फेरिएको रंगेलीको स्वरुपको स्थलगत अध्ययन गरेर विशेष सामाग्री तयार गरेका छौँ। (स्थानीय केही प्रतिनिधि जनता, रंगेलीबाट काठमाडौँ आएर अध्ययन गरि रहेका केही विद्यार्थीसँगको अन्तरक्रिया, विभिन्न बिकास साझेदार संस्थाहरुका प्रतिनिधि, अनि हाम्रो टोलीले दुई पटक गरी ६ दिन रंगेली बसेर यहाँका स्थानीय, सरोकारवाला निकाय अनि विभिन्न व्यवसाय गरि रहेकाहरुसँगको अन्तरक्रिया तथा  पालिकाले उपलब्ध गराएको तथ्यांकको आधारमा यो सामाग्री तयार गरिएको हो ।)

images/6.png

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट पूर्व दक्षिण क्षेत्रमा करिव २५ किलोमिटर यात्रा गरे पछि रंगेली पुगिन्छ। बिराटनगर देखि कटहरी, कर्सिया सम्मको निर्माणाधिन धुले सडकको यात्रा गरिरहँदा मोरङबाट राष्ट्रिय राजनीतीमा प्रभुत्व जमाएका शिर्ष नेताहरुलाई नसम्झने पक्कै कोही हुदैनन् । करिब चालिस-पचास मिनेटमा पच्चिस किलोमिटरको यात्रा पार गरे पछि हामी रंगेली नगरपालिका प्रवेश गर्छौँ, स्मरण रहोस्, रंगेली मोरङको पुरानो सदरमुकाम हो। कुनै समय जिल्लाकै सदरमुकाम रहेको रंगेली एक दशक अगाडी सम्म बिकासमा निकै पछाडी थियो, यहाँबाट तिब्र रुपमा बसाइ सरेर अन्यन्त्र जाने गरेका थिए । तर पछिल्लो दशकमा रंगेलीले आफ्नो रंग बदलेको छ । दश वर्षको अन्तरालमा तपाइँ रंगेली जानु भएको छैन भने तपाइँलाई यो त्यही रंगेली हो जस्तै लाग्दैन । रंगेलीका धुलो र कच्ची सडक अहिले उज्यालो, चिल्लो र फराकिलो बनेको छ । अनि यही सडकबाट रंगेलीले बिकासको सपना देखेको छ । जिल्लाको पूर्व दक्षिण क्षेत्रमा पर्ने यो पालिका क्षेत्रफलका हिसाबले बिराटनगर महानगरपालिका भन्दा झन्डै दोब्बर छ, तर वार्षिक बजेटका हिसाबले महानगरको भन्दा झन्डै ३०% मात्र बजेट छ। बिराटनगरबाट जाँदै गर्दा रंगेली प्रवेश गरेपछि हामीले छुट्टै अनुभव गर्न पायौँ, सडकका बिच डिभाइडरमा राखिएका बिरुवाले अघि पार गरेको कच्ची सडक एकै छिनमा बिर्साइदिन्छ । फराकिला, सफा र उज्यालो बाटो, पार्क जस्तै लाग्ने कार्यपालिका भवन, पिच गरिएको भित्री सडक, कृषि बजार, सडकको बिच डिभाइडरमा राखिएको विरुवा, सुबिधा सम्पन्न रंगेली अस्पताल लगाएतका थुप्रै संरचनाको बिकासले अहिले रंगेलीको रंग नै बदलिएको छ। अनि यही बिकासको नायक बनेका छन् यहाँका नगर प्रमुख: दिलिप कुमार अग्रवाल उर्फ बगडीया।

images/6.png

पूर्वाधार बिकासमा रंगेली: खाल्डारहित चिल्ला सडक, सिचाई देखि  अत्याधुनिक भवन सम्म

यति बेला रंगेलीमा देखिने तिब्र बिकास भनेको नै फराकिला र उज्याला सडक हुन् । हुलाकी राजमार्ग मात्र हैन भित्री सडक पनि कालोपत्रे भएको छ। सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे भएको छ। पुर्व पश्चिम हुलाकी मार्गको डिभाइडर र सडक पेटीमा तथा उत्तर दक्षिण हुलाकी मार्गको सडक पेटीमा हरीयाली प्रवर्धन एवम् सौन्दर्यकरणका लागि करीब १५ किमी सडकमा फूल तथा विभिन्न जातका विरुवा रोप्नाले सहरको सौन्दर्यकरण भएको छ।  वडा अध्यक्ष र नगर प्रमुख बिचको शक्ति संघर्षको अभ्यास प्राय: सबै पालिकाका समस्या हुन्, तर यहाँ हामीले फरक अभ्यास पाएका छौँ, वडाहरुमा कुनै प्रकारको सिलिङ नछुट्टाई वडाबाट माग भएका योजना मध्य प्राथमिकताका आधारमा एकमुष्ट योजनाहरु संचालन हुने गर्दछन् । २०७९ को निर्वाचनबाट निर्वाचित भए लगत्तै सबै वडालाई समेटी ३८ कि. मि को सडक अस्फाल्ट कालेपत्रे गर्ने प्रक्रिया अन्तर्गत करिब १४ कि.मि सडक कालोपत्रे भएको छ भने बाकि सडक यही आर्थिक वर्षमा सम्पन्न हुने अवस्थामा रहेको नगर प्रमुख अग्रवालले बताए । प्रमुख अग्रवालका अनुसार नगरभित्र जम्मा ९७ कि.मि सडक कालोपत्रे भएको छ भने १३५ कि. मि खण्डस्मित सडक छन् त्यस्तै ८० कि.मि धुले सडक छन्। नगर भित्र ८७ वटा सडक पुल र ३ वटा झोलेंगे पुलको निर्माण भएको पालिकाको तथ्यांक छ ।

यी सडकहरुमा रातको समयमा यात्रा गर्दा पूर्ण रुपमा उज्यालो पाउनु हुन्छ । सबै वडाहरुमा रहेका मुख्य चोक र मुख्य तथा सहायक सडकहरुमा सडक बत्ती जडान भएको छ, सो बापतको रकम पालिकाले प्राधिकरणलाई मासिक रुपमा बुझाउने गरेको छ । अन्य पालिकामा देखिने पालिका र प्राधिकरण बिचको शक्ति संघर्ष यहाँ देखिदैन । रातको समयमा कर्सियाबाट रंगेली जादै गर्दा टाढा टाढाका गाउँहरुमा टहटह बलेको बत्ति देख्न सकिन्छ, अनि यहीँ बत्तिको मुनि रहेर रंगेलीका जनता समृद्धिका सपना देखिरहेका छन् । ट्रान्सफर्मरको लाइन पुराउन हालिएका पोलहरु बाहेकका प्रत्यक पोलमा यहाँ बत्ति जडान गरिएको छ, रातको समयमा नगर प्रहरीले बत्तिको निरीक्षण गर्ने गर्दछन्, नबलेका ठाउँमा टिपोट गरी मर्मत सम्भारको कार्य गर्ने युनिटलाई जानकारी गराउछन् ।पोलको बत्ति हाल्ने जिम्मा लिएको कम्पनीले नै दुइ वर्ष सम्म मर्मत तथा नबलेका बत्ति हटाइ नयाँ बत्ति जडान गर्ने जिम्मा लिएकाले पालिकालाई आर्थिक भार समेत पर्दैन। रातको समयमा रंगेली बेहुली झैँ सिङ्गारिएको देख्न सकिन्छ। सुरु सुरुमा रातको रंगेली हेर्न नजिकका पालिकाबाट पनि थुप्रै स्थानीय आउने गरेको कर्मचारीले बताए।  

चार पालिका (रंगेली र सुनबर्षी तथा कानेपोखरी र धनपालथान गापा) को साझेदारीमा प्रदेश सहयोग कार्यक्रम र भौतिक पूर्वधार मन्त्रालय कोशी प्रदेशको सहयोगमा विपद् व्यवस्थापनका लागि १२ करोडको लागत अनुमानमा, नगरपालिकाले जग्गा उपलब्ध गराएर मुख्यमन्त्री अत्यावश्यक केन्द्र निर्माणको कार्य करीब ७० प्रतिशत सम्पन्न भएको छ । यो पालिकामा नगरका सबै वडाहरुमा ओभरहेड खानेपानी ट्याङ्की निर्माण कार्य संचालनमा रहेको छ, यसबाट खानेपानीको सहज वितरण हुनेछ। यहाँका सिमान्तकृत संथाल समुदायको लागि २२ वटा आधुनिक घरहरु निर्माण गरिएको नगर प्रमुख अग्रवालले बताए। गत वर्ष आगलागी पछि यी समुदाय पुर्ण रुपमा घरबार बिहिन हुन पुगेका थिए, पछि पालिकाको अनुदानमा अहिले यो समुदाय आफ्नै घर भित्र सुरक्षीत रुपमा बसि रहेको छ। प्रविधिको प्रयोग पालिकाले तिब्र रुपमा गरेको देखिन्छ। अस्पताल, नगरपालिका, सार्वजनिक शौचालय र वडा नं ७ को कार्यालयमा सेफ्टी ट्याङ्कीको सट्टा अत्याधुनिक EMSTP जडान गरिएको छ, यसबाट दिसाजन्य लेदोको  व्यवस्थापन भै रहेको छ भने लेदो व्यवस्थापन केन्द्र निर्माणको कार्य अघि बढाइ सकेको योजना तथा प्रशासन शाखाका प्रमुख दिपक प्रकाश तिम्सिनाले बताए। यहाँका स्थानीय उत्पादनको प्रवर्दन गर्न ६०० मे.ट को कोल्ड स्टोर निर्माण सम्पन्न हुने चरणमा रहेको छ भने ३०० जना अटाउने आधुनिक अडिटोरियम हल निर्माण कार्य भइरहेको छ। यति बेला नगर कार्यपालिकाको कार्यालय सहित सबै वडा कार्यालयहरुले आफ्नै प्रशासनिक भवनबाट सेवा दिइ रहेका छन्। आधुनिक सामुदायीक भवन, पुस्तकालय र शौचालयको निर्माणको कामहरु भै रहेका छन्। 

केही वर्ष अघि सम्म कालोपत्रे सडकमा हिड्न पाउनु सपना जस्तो लाग्नेमा अहिले आफ्नै अगाडी  उज्याला र चिल्ला सडक देख्दा यहाँका स्थानीयहरु अत्यन्त खुशी छन्। संघियताको फाइदा यहीँ पालिकामा देख्न सकिन्छ। कुनै समय जि. वि. स. ले वर्षको पाँच लाख मात्र दिने यो नगरमा अहिले संघ, स्थानीय सरकार र प्रदेशले करोडौँको लगानी गरेको छ। जम्मा १६ करोड मात्र बिकास बजेट भएको पालिकामा यतिका बिकास केन्द्र र संघीय सरकारको समन्वयमा नै भै रहेको छ। ववियाबिर्ताको नहरको बाटोमा साइकल काँधमा हालेर हिडेका केही स्थानीयहरु अहिले यही सडकमा मोटरसाइकल चलाइरहेका छन्। यहाँको कार्यपालिका भवन कुनै पार्क भन्दा कम छैन, बेलुका कार्यलय समय सकिए पछि यो ठाउँ पार्कको रुपमा परिणत हुन्छ, अनि यहाँ भेटिन्छन् फरक फरक उमेर समुहका स्थानीय।

गत भाद्र २३ र २४ मा भएको आन्दोलनले यो पालिका पनि अछुतो रहन सकेन। भाद्र २४ को विध्वंशमा परी नगर र वडामा गरी करिव ३ करोडको बराबरको क्षति भएको प्रारम्भिक मुल्यांकन छ। कार्यपालिका भवनको अघिल्लो भाग पूर्ण रुपमा जलेको थियो, अडिटोरियम हलका लागी ल्याइएका बन्डल नै नखोलेका मार्वलहरु पूर्णरुपमा ध्वस्त छ। आन्दोलनको ७० दिन पछि रंगेली पुग्दा यहाँका अधिकांश सरकारी भवनहरुको पुन: निर्माण कार्य सम्पन्न भै सकेको छ। कार्यपालिका भवनलाई अगाडी बाट हेर्दा आन्दोलनका क्रममा क्षति भएको भान नै पाउनु हुन्न।

स्वास्थ्यमा रंगेली

स्वास्थ्यका क्षेत्रमा पनि रंगेलीले उल्लेख्य प्रगती गरि रहेको छ। रंगेली अस्पताल, ३ स्वास्थ्य चौकी, छ आधारभूत स्वास्थ्य केन्द्र, १ शहरी स्वास्थ्य केन्द्र र १ नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद सेवा) मार्फत यहाँ स्वास्थ्य सेवा प्रवाह भै रहेको छ। गत श्रावणमा न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा स्थानीय तह मातहत सञ्चालन भएका देशभरका अस्पतालमध्ये रंगेली नगर अस्पतालले सबैभन्दा बढी ८६ अंक प्राप्त गर्दै उत्कृष्ट बनेको थियो। सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सूचकका आधारमा रंगेली अस्पतालले सबैभन्दा बढी अंक पाएको थियो । पाँच वर्षअघि मोरङ जिल्ला अस्पतालको रूपमा चिनिएको रंगेली नगर अस्पतालको भौतिक संरचना र सेवासुविधा दयनीय अवस्थामा थियो। बिरामीहरू उपचार गर्न समेत आउन छाडेका थिए, तर अहिले रंगेली अस्पतालको अवस्था सुध्रिएको छ, अझ भनौँ, बिरामी रंगेली अस्पताल अहिले स्वस्थ भएको छ, अस्पताल मात्र स्वस्थ भएको छैन, अस्पतालले चार भन्दा बढी छिमेकी पालिकाहरु र सीमावर्ती भारतका नागरिक समेतलाई स्वस्थ बनाइरहेको छ। अहिले विभिन्न विभागसहित गुणस्तरीय सेवा प्रदान गर्न थालेपछि बिरामीको संख्या समेत बढेको छ।

पहिले चिकित्सक र स्वास्थ्यकर्मी बस्न नमान्ने रंगेली अस्पतालमा अहिले ६ बिशेषज्ञ चिकित्सक, १६ मेडिकल अधिकृत सहित नर्स, स्वास्थ्यकर्मी, सफाई कर्मचारी गरी १६२ जनाको टिमले सेवा दिदैं आएको छ । पहिले १५ शय्यामा सीमित अस्पतालमा अहिले ७० शय्या सञ्चालनमा छन्। अस्पतालमा २४ सै घण्टा आपतकालीन, बाहिरंग र अन्तरंग सेवा सञ्चालन छन्। आफ्नै प्रयोगशाला, भिडियो एक्सरे, जनरल अप्रेसन कक्ष, फार्मेसी, प्रसूति कक्ष र आधुनिक आपतकालीन कक्ष उपलब्ध छन्। निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै रंगेली अस्पताललाई प्रथम सेवा बिन्दु बनाएर स्वास्थ्य सेवा दिइरहेको छ। हाल अस्पतालमा दैनिक पाँच सयदेखि ६ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। इमर्जेन्सीमा दैनिक दुई सयजना र प्रसूतिगृहमा मासिक दुई सयभन्दा बढी आमाहरूले प्रसूति सेवा लिन थालेका छन्। रंगेली अस्पताल लगाएतका सामुदायिक अस्पतालले चुस्त, दुरुस्त सेवा प्रवाह गर्न थालेपछि यहाँ नीजी अस्पतालहरुले बिरामी पाउनै छाडेका छन्।

नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गर्दै पालिकाको स्थायी बासिन्दालाई रंगेली अस्पताल र विराटनगरका अस्पतालहरुमा निःशुल्क रगत उपलब्ध गराउदैं आएको छ।  स्थानीयले नागरिकताको प्रमाण पत्र देखाए पछि प्राप्त गर्ने रगतको भुक्तानी नेपाल रेडक्रसलाई नगरपालिकाले गर्ने व्यवस्था गरेको छ। रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर यो कार्यक्रम संचालन गरिएकॊ पालिकाका स्वास्थ्य शाखा प्रमुखले जनाए। यसका अतिरिक्त २२०० दलित विपन्न, भूमिहीन, परिवारहरुको लागि स्वास्थ्य बीमाको सबै रकम नगरपालिकाले बेहोर्ने गरेको छ भने रंगेली पूर्ण खोप नगर घोषणा भएको छ। समग्रमा स्वास्थ्यको क्षेत्रमा रंगेलीले आशालाग्दो प्रगती गरि रहेको छ।

शिक्षामा रंगेली

अधिकांश पालिकाहरुका सामुदायिक विद्यालयका व्यस्थापन समितिका अध्यक्ष सम्बन्धित वडाका वडा अध्यक्षहरु नै हुने व्यवस्था छ। रंगेलीमा निर्वाचित सबै वडा अध्यक्षहरु नगर प्रमुख कै पार्टीबाट निर्वाचित भएका छन् (नगरका निर्वाचित ४७ जनप्रतिनिधि मध्य ४६ जना नेकपा एमालेबाट निर्वाचित छन्) । प्रमुख बगडीया लाई पनि आफ्नै पार्टीका वडा अध्यक्षलाई समितिको अध्यक्ष बनाइदिने सुबिधा थियो। तर उनले त्यसो गरेनन्, वडा अध्यक्ष मात्र हैन कुनै पनि राजनैतिक दलका वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रीय कमिटिमा रहेका पदाधिकारीहरु विद्यालय व्यवस्थापन समितिमा बस्न नपाउने नियम नगरले लागु गर्यो। हामीले नगर प्रमुख अग्रवाललाई सोधेका थियौँ, "यत्तिको आँट कसरी गर्नु भयो?" उनले एकछिन शान्त रहेर बताए, "गरिबका छोराछोरी पढ्ने स्कुलमा राजनैतिक दलका नाममा हामीले गलत क्रियाकलाप नगर्ने हो भने विद्यालय सुध्रन बेर नै लाग्दैन, भौतिक पूर्वाधारको बिकास मात्र भएर हुदैँन, हामीले अझै यहाँ चेतना जागृत गर्नु छ र चेतनाको संचार गर्ने उपाय भनेकै विद्यालयलाई सुधारेर मात्र हो, हामीले सुधारका लागी शिक्षक सरुवा देखि विद्यालय मर्ज सम्मका नीति अवलम्बन गरेका छौँ।" निक्कै आशावादी स्वरमा उनले भने, "रंगेलीका यहीँ विद्यालयहरुबाट हामीले दक्ष जनशक्ति उत्पादन गर्छौं, समय लाग्ला तर हामीले उत्पादन गर्छौं, विश्वस्त हुनुस्।" अहिले यही नियममा टेकेर धमाधम विद्यालय व्यवस्थापन समितिको छनोट हुदैं छ । सामुदायिक शिक्षाको सुधारमा यो कदम दीर्घकालीन रुपमा फलदायी हुने शिक्षा बिदहरु पनि बताउँछन्। तत्काल नै सामुदायिक विद्यालयको नतिजा हेर्ने हो भने सन्तोष हुने अवस्था पक्कै  छैन, तर नगरका केही निर्णयले केही आशा भने पलाएका छन्। वर्षौ देखि एउटै विद्यालयमा बसेका प्र. अ. र शिक्षकहरुलाई अन्तरविद्यालय सरुवा गरिएको छ, नयाँ शिक्षकको व्यवस्था गरिएको छ, केही आशालाग्दा काम गरी रहेका शिक्षकहरुलाई सम्बन्धित विद्यालयको प्र. अ. को जिम्मा दिईएको छ। विद्यार्थी संख्या कम भएका केही विद्यालयहरुलाई नजिकका विद्यालयहरुसँग मर्ज गरिएको छ।

सामुदायिक विद्यालयमा माध्यमिक तहमा बिषयगत शिक्षकको व्यवस्था गरिएको छ भने निमावि तह संचालित विद्यालयमा विज्ञान बिषयको अध्यापन गराउनका लागि शिक्षक व्यवस्थापन गरिएको छ। यस्तै सम्पूर्ण माविमा तहगत स्थायी प्रअको व्यवस्था गरिएको छ। यसका अतिरिक्त विद्यालयमा पक्की भवन निर्माणको कामहरु भै रहेका छन्। यहाँका २७ सामुदायिक विद्यालय, ३ मदरसा, १२ संस्थागत विद्यालय र १ सामुदायिक क्याम्पसमा जम्मा १२३०९ जना विद्यार्थी अध्ययनरत छन्। पालिकाको साक्षरता दर करिब ७२% छ। फरक क्षमता भएका विद्यार्थीलाई छात्राबास सहितको विद्यालय भवन निर्माण कार्य पुरा भएको छ। प्रसुति स्याहारमा रहेका शिक्षिकाको अभावमा तत्कालका लागी स्वयंसेवक शिक्षक व्यवस्था गरेको छ भने बिज्ञ समूहबाट विद्यालय अनुगमन/निरीक्षणको कामलाई पालिकाले तिब्रता दिएको छ।

शिक्षाको क्षेत्रमा तत्काल नै सन्तोष हुन नसकेपनि पालिकाका सुधारले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढी रहेको छ। वडा नम्बर ३ स्थित रत्न मा. वि का प्र. अ भन्छन्, "आज कक्षा १ मा गरिएको लगानीको प्रतिफल हामीले १० वर्ष पछि मात्र पाउछौं, तर सुधारले हामीमा नयाँ आशा भने पलाएको छ।"

कृषकका रंगेली

यो क्षेत्र सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्र हो। यहाँका अधिकांश जनता कृषि पेशामा आबद्द छन्। कार्तिकका अन्तिममा हामी रंगेली पुग्दा यहाँका कृषकहरु धान भित्राउने चटारोमा थिए। घर अगाडी बनेका बाटोहरुमा खास्सै ठुला सवारी गुड्दैनन्, त्यसैले पक्की सडकको छेउमा नै धान सुकीरहेका थिए। छेउमा नै रहेका नगर प्रमुखले घुमारो पारामा भने, "बाटो छेउमा सुकाएका धान उठाउन हामीले नगर प्रहरी पठाउदैनौ, बरु यो काम सकिए पछि स्थानीय सहित हाम्रा प्रहरीहरुले बाटो छेउका फोहोरहरु सफा गर्दछन्।"  यहाँ उत्पादन भएको धान अहिले सहजै बजार सम्म पुग्छ भने बजारका रासायनिक मल सहजै गाउँ सम्म आइपुग्छन। करिब ८० % जनता कृषि पेशामा आवद्द रहेकाले यहाँको कृषक जीवनस्तर नउठाए सम्म पालिकाको विकास नदेखिने सोचेर नगरले किसान लक्षित थुप्रै कार्यक्रम संचालन गरिरहेको छ। अहिले कृषकहरुको लागि सिचाई मोटर प्रयोग गरे बापतको विद्युत महसुल नगरपालिकाले बेहोर्ने गरेको छ। यसले यहाँका कृषकमा उत्साह थपेको छ। सिँचाई सुबिधाका लागी थुप्रै योजना संचालनमा रहेका छन्। पहिले जडान भएका ५० किलो भोल्टका ट्रान्सफर्मरले सिचाईको विद्युत लोड धान्न नसकेपछि अहिले पालिकाको समन्वयमा २०० किलो भोल्टको ट्रान्सफर्मर जडान भएको छ।

वडा नं. १ मा सीमा बाँध निर्माण भई सो बाट बर्षै भरी करीब २००० बिगाहा क्षेत्रफलमा सिचाइ सुविधा पुगेको छ भने वडा नं ४ र ५ को सिमानाको घाँघी खोलामा बाँध निर्माण गरी कृषकहरुलाई निरन्तर सिचाइ हुने व्यवस्था गरिएको छ। यसका अतिरिक्त वडा नं ७ मा कृषिथोक बजार निर्माणाधीन रहेको छ भने आंशिक रुपमा कृषि थोक तथा खुद्रा बजार संचालन गरिएको छ। वडा नं. ९ मा रहेको पुरानो प्रसिद्ध दोहमना पशु बजार व्यवस्थित गरिएको छ र दोहमना कृषि बजार निर्माण सम्पन्न भई कृषि थोक तथा खुद्रा बजार संचालन गरिएको छ। यसले याँहाको उत्पादनलाई  बजारसँग जोडेको छ। वडा नं. ७ मा नगरपालिका भवनसँगै करिब ३ करोड लगानीमा ६०० मेट्रिक टनको कोल्ड स्टोर निर्माण सम्पन्न हुने चरणमा रहेको छ । यसका ६ वटा कम्पार्टमेन्टमा १०० मेट्रिक टनका भण्डारण क्षमता छ । यसले यहाँका उत्पादनलाई लामो समयसम्म राख्न मद्दत पुराउनेछ । नगरले कृषिको क्षेत्रमा गरेको लगानीबाट यहाँका किसानहरु उत्साहित देखिन्छन्।

संस्कृति र पर्यटनमा रंगेली

रंगेली सांकृतिक हिसाबले समेत बिबिधता भएको क्षेत्र हो। क्षेत्री, मुसहर, केवट, सन्थाल, धानुक जस्ता विविध जातीय संरचना र सांस्कृतिक अभ्यास भएको रंगेलीमा करिब ९२% हिन्दु र करिब ३% इस्लाम धर्मावलम्बी बसोबास गर्ने गर्दछन्। संसारीमाई थान मन्दिर, काली मन्दिर, तिरुपति बालाजी मन्दिर, शिव मन्दिर, छट घाटहरु यहाँका प्रमुख धार्मिक स्थलहरु हुन्। संसारीमाई थान मन्दिरमा दिनहूँ हजारौँ भक्तजनले दर्शन गर्ने गरेको र शनिबार र मंगलबार मात्र करिब १० हजार भक्तजनले दर्शन गर्ने पालिकाले जनाएको छ। संसारी माईथान, काली मन्दिर, मलङ्गथान सिमसार जस्ता क्षेत्रहरु यहाँ पर्यटनका सम्भावन बोकेका क्षेत्र हुन्। तथापी यहाँ खासै ठुलो संख्यामा बाह्य पर्यटकको आकर्षण देखिदैन। बिराटनगरमा नै आन्तरिक पर्यटनको सम्भावना नभएको र रंगेलीको बिकासका बारेमा त्यती जानकारी नभएर बाह्य पर्यटकलाई आकर्षण गर्न नसकेको पालिकाको बुझाइ छ । यहाँका धार्मिक पर्यटनको प्रवर्दन गर्न पालिकाले थुप्रै कार्यक्रमहरु ल्याएको छ। नगरपालिकाबाट साना ठुला गरी २५ वटा मठ मन्दिरहरु निर्माण भएका छन्। जिर्ण अवस्थामा रहेका मठ मन्दिरहरुको स्वरुप अहिले फेरिएको छ। जेष्ठ नागरिक तथा वडाबासीको लागी बिश्रामस्थलको रुपमा फलैचाको खरीद तथा जडान कार्य सम्पन्न गरेको छ। करीब २५ बिगाहा क्षेत्रफलमा रहेको मलंगथान सिमसार निर्माण तथा संरक्षणको कार्य अघि बढेको छ, यसमा सयौं संख्याका पर्यटकलाई आकर्षण गर्न सकिने सम्भावना छ। संसारीमाई मन्दिरको पश्चिम  पट्टीको जनता मावि को जग्गामा फन पार्क निर्माणको लागि डिपिआर निर्माणको काम अघि बढेको छ र छिट्टै डिपिआर सम्पन्न हुने चरणमा छ। १३२ स्थानमा फ्री वाईफाईको व्यवस्था गरेको छ।

तिरुपति आर्यघाटलाई अनुदान दिइ सो मार्फत शव दाहसंस्कारको लागी निःशुल्क दाउरा व्यवस्था गरिएको छ।तिरुपति आर्यघाटलाई व्यवस्थापन गर्दै फुलबारी उधानको निर्माण गरिएको छ। साथै यो बिचमा ४ वटा आर्यघाट/दाहसंस्कार स्थल निर्माण गरिएको छ।

सार्वजनिक सेवा प्रवाहमा रंगेली

साबिकको ववियाविर्ता, दर्वेशा, आमगाछी गाविस र रंगेली नगरपालिका गाभिएर बनेको रंगेली नगरपालिकाको २०७३ फाल्गुण २७ मा पुन: संरचना भएको थियो। जम्मा ९ वटा वडामा विभाजित यो नगरको वडा नम्बर ७ शहरी क्षेत्रमा पर्दछ भने वडा नम्बर ८ अर्ध शहरी र बाँकी सबै वडा ग्रामीण क्षेत्रमा पर्दछन् । १११.७८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो पालिकाको  जनघनत्व ५१४/वर्ग कि.मि. रहेको छ। राष्ट्रिय जनगणना अनुसार कुल  ५७,४९४ (पुरुष ४८.७%, महिला ५१.३%) जनसख्या रहेको पालिकाको जनसंख्या वृद्धिदर: ०.९६%  रहेको छ भने १३,२०६ घरधुरी बसोबास गर्दछन्। पालिकाले यो बिचमा जम्मा ४१ वटा ऐन, ८ वटा  नियमावली, ३८ वटा  कार्यविधि, एउटा मापदण्ड र ४ निर्देशिका बनाएको छ। पछिल्लो समय तिब्र बिकास गरी रहेको यो पालिकाले घाटा बजेट नबनाउने भएकाले सम्झौता भएका योजनाहरुको समयमै भुक्तानी हुने गरेको छ। नगरपालिकाले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण केन्द्र संचालन गरि रहेको छ, यसबाट भाद्र २३ र २४ को आन्दोलन पश्चात रंगेली बाहेक अन्य क्षेत्रका नागरिकले समेत सेवा पाइरेका छन्। राहदानी बनाउनका लागी जिल्लाको मुकाम बिराटनगरसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य गर्दै यहाँकै ईलाका प्रशासन कार्यालय, रंगेलीले समेत पार्सपोर्ट जारी तथा बितरण गर्दै आइरहेको छ। नगरले आफ्नै दमकलबाट तालिम प्राप्त नगर प्रहरी मार्फत रंगेली बाहेक दमकल नभएका धनपाल, सुनबर्षी र रतुवामाई नगरपालिकामा समेत सेवा दिदै आएको छ। यी पालिकाहरुको साझेदारीमा प्रदेश सहयोग कार्यक्रम र भौतिक पूर्वधार मन्त्रालय कोशीको  सहकार्यमा फोहोर प्रशोधन केन्द्र स्थापनाको तयारी छ। बाढी बस्ती सम्मै प्रवेश गरेर कयौँलाई बिस्थापित गराउने गरेकोमा यहाँका  प्रमुख नदीहरु लोहन्द्रा डाँस-बक्राहा चिसाङ खोलामा कटान नियन्त्रण तथा बहाव परिवर्तन गरी बाढी नियन्त्रण र विपद् व्यवस्थापनमा समेत नगरपालिकाले काम गरि रहेको छ।

अन्त्यमा,

images/6.png

देशकै हेभीवेट नेताहरुको निर्वाचन क्षेत्र हुनाको फाइदा पक्कै पनि रंगेलीले लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन। संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, अग्रवाललाई त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला दिलिप कुमार अग्रवाल नेतृत्वको रंगेली नगरपालिकाले केही आशालाग्दो काम गरि रहेको छ । लगातार दुइ पटकको स्थानीय निर्वाचनमा निर्वाचित हुन कुनै पनि जनप्रतिनिधिलाई त्यती सजिलो विषय पक्कै हैन, तर अग्रवालको काम गर्ने शैलीलाई यहाँका स्थानीयले पत्याएर नै दोस्रो पटकका लागी निर्वाचित गराएकै हुन्। पाँच दलका गठबन्धनका बिरुद्द अग्रवालले ३८०० मतान्तरले निर्वाचित हुनु अग्रवालको लोकप्रियता नै हो, यसमा कुनै दुविधा नै छैन, अझ उनले पालिकामा आफ्नै चुनाव चिन्हबाट उठेका सबै जसो उमेदवारलाई (एक जना वडा सदस्य बाहेक) बिजय गराउन सक्नु उनको नेतृत्वको खुवी पनि हो। आज पनि अग्रवाल  केन्द्र, प्रदेश र दातृ निकायको बजेटका लागी राजनैतिक लबीङ्ग गरि रहेकै छन्, बिकास बजेट कम भएका पालिकाहरुलाई बिकास गर्न चुनौती हुनु स्वाभाविक पनि हो, तर अन्य स्रोतबाट बजेटको व्यस्थापन गर्नु राजनैतिक नेतृत्वको खुबी पनि हो, अग्रवाल यही अभ्यास गरि रहेकै छन्। अर्को महत्वपुर्ण अभ्यास भनेको टुक्रे योजनाबाट उपभोक्ता समिति गठन गर्दै दलका कार्यकर्तालाई पोस्ने काम यहाँ देखिदैन, यो अभ्यास अन्य पालिकाका लागी पनि उदाहरणीय बन्न सक्छ। आर्थिक रुपमा सम्पन्न अग्रवाल पालिकाको गाडी नचढेर नीजी गाडी चढीरहेका छन्। अग्रवालले पालिकामा आर्थिक पारदर्शीता कायम राखी रहेको बताइरहदा महालेखाले हालसम्म करिब १५ करोडको बेरुजु भने उठाएको छ, यसमा थप सुधार गर्नु पर्ने नै छ। तर, बिकास र पूर्वाधारका दृष्टिकोणले रंगेलीले अहिले रंग नै बदलेको छ। हामीसँग सम्पर्कमा आएका अधिकांश भुइँ मान्छेले पालिका र अग्रवालको मुक्तकण्ठले प्रसंशा गरेका छन्। पहिलो पटक नगर प्रमुखमा निर्वाचित हुँदा अग्रवालले बिकासको आधारशीला तयार गरे, अहिले त्यही रोडम्यापमा उनले रंगेलीको बिकासको चित्र कोर्दैछन् । राजनैतिक दलप्रति जनताको बढ्दो बितृष्णा, जेन जी आन्दोलनका बाछिट्टा, जनताको आक्रोश, स्थानीय तह भित्र हुने बिबाद, नदीजन्य पदार्थको उत्खनन, निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने बाध्यता, परिवर्तनका क्रममा आफ्नै दल र फरक दलबाट आउन सक्ने अवरोध जस्ता चुनौतीका बिच अग्रवालको आगामी करिब डेढ वर्षे कार्यकाल आजै आकलन गर्नु केही हतारो हुन सक्छ, तर बिहानीले दिनको संकेत गर्छ भनेझैँ सडक, संजाल र पूर्वाधारको बिकासमा रंगेलीले राम्रै फड्को मारी रहेकै छ।

images/6.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *