नेपाल जियोटेक्निकल सोसाइटी (NGS) ले ‘Geomandu 2027’ नामक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने घोषणा गरेको छ। सो सम्मेलन सन् २०२७ को मार्च १७ देखि १९ सम्म तीन दिनसम्म चल्नेछ।
शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममार्फत NGS ले सम्मेलनको घोषणा गर्दै यसले जियोटेक्निकल इञ्जिनियरिङ्ग क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गर्ने अपेक्षा व्यक्त गरेको छ। सम्मेलनमा विश्वभरका भू-प्रविधि, पूर्वाधार, आपत् व्यवस्थापन तथा निर्माण क्षेत्रका विज्ञहरूको सहभागीता रहनेछ।
अन्तर्राष्ट्रिय सोइल मेकानिक्स एन्ड जियोटेक्निकल इन्जिनियरिङ सोसाइटी (आईएसएसएमजीई) अन्तर्गत ११औं एसियन युवा जियोटेक्निकल इन्जिनियर (११औं एवाईजीईसी) र दक्षिण एसियाली जियोटेक्निकल सोसाइटीहरूको एसोसिएसन (एजीएसएसए) अन्तर्गत प्रस्तावित पहिलो दक्षिण एसियाली जियोटेक्निक्स सम्मेलन (एसएसीजी) सँग मिलेर सम्मेलनको संयुक्त आयोजना गर्न लागिएको हो ।
NGS का अनुसार, सम्मेलनले अनुसन्धान, नवप्रवर्तन, र प्रविधि आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, नेपालको भौगोलिक चुनौती र सम्भावनालाई प्राविधिक दृष्टिकोणबाट विश्व सामु प्रस्तुत गर्न सम्मेलनले टेवा पुर्याउनेछ।
नेपालमा प्रत्येक वर्ष पहिरो, डेब्रिस फ्लो, भूकम्प, कटान तथा नदी तटबन्ध क्षतिको उच्च जोखिम रहेको उल्लेख गर्दै वैज्ञानिक अनुसन्धान, पूर्वाधार डिजाइन र जलवायु–सूचित योजना अपरिहार्य भएको भूप्रविधि समाज नेपालका अध्यक्ष सह प्राध्यापक डा. इ. इन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
नेपाललाई विश्वका जटिल पहाडी भू–भागहरूको ‘जीउँदो प्रयोगशाला’का रूपमा पहिचान गर्दै हिमाल, भूकम्पीय जोखिम, पहिरो तथा बाढी र पुरातात्त्विक सम्पदालाई भू–प्राविधिक अध्ययनका अद्वितीय सम्भावना रहेकोले यस पटक नेपालमा अन्तराष्ट्रियस्ताकाे सम्मेलन आयोजना गरिएको समाजका महासचिव इ. कल्पना अधिकारी बताउनुहुन्छ ।


Your email address will not be published. Required fields are marked *