नेपाल भौगर्भिक समाज (NGS) ले हिमाली भू–विज्ञान तथा पर्वतीय भू–प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित कार्यक्रम बाह्रौं नेपाल भौगर्भिक सम्मेलन (NGC- XII 2026) आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। सम्मेलन बि.सं. २०८३ मङ्सिर ३ देखी ५ (सन् २०२६ नोभेम्बर १९ देखि २१) सम्म काठमाडौंमा आयोजना हुनेछ। “सुदृढ, दिगो र स्रोत सुरक्षित विश्वका लागि हिमाली भू–विज्ञानको प्रवद्र्धन” भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनले हिमालय केन्द्रित भू–विज्ञानलाई विश्वव्यापी वैज्ञानिक बहस र नीति संवादसँग जोड्ने लक्ष्य लिएको छ।
नेपाल विश्वकै सबैभन्दा कान्छो र सक्रिय पर्वत श्रृंखलामध्ये एक हिमालयको केन्द्रमा अवस्थित देश हो। भूकम्प, पहिरो, हिमताल विस्फोट, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, पूर्वाधार विकास र वातावरणीय संवेदनशीलता जस्ता विषयहरू यहाँ प्रत्यक्ष रूपमा भू–विज्ञानसँग गाँसिएका छन्। यही सन्दर्भमा नेपाल भौगर्भिक सम्मेलन विगत तीन दशक देखि हिमाली भू–विज्ञानका लागि सबैभन्दा निरन्तर र प्रभावशाली वैज्ञानिक मञ्चको रूपमा स्थापित हुँदै आएको छ।
३१ बर्ष अगाडी पहिलो नेपाल भौगर्भिक सम्मेलन गरेको नेपाल भौगर्भिक समाजले त्यसपछिका दिनहरूमा नियमित रुपमा राष्ट्रीय तथा अन्तराष्ट्रीय सम्मेलनहरू गर्दै आइरहेको छ । समाजले आयोजना गर्न लागेको आगामी संस्करणले राष्ट्रीय तथा अन्तरराष्ट्रीय क्षेत्रमा ख्यातिप्राप्त भू–वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता, नीति निर्माता, विकासकर्मी तथा विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा ल्याउने छ। सम्मेलनको १२औँ संस्करणलाई अझै उच्च अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यका साथ विश्वभरका ४०० भन्दा बढी विज्ञहरूलाई काठमाडौंमा आमन्त्रण गरिएको छ। नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडाले हिमालय पृथ्वीको सबैभन्दा गतिशील भू–क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै यस सम्मेलनले सुरक्षित पूर्वाधार, दिगो स्रोत व्यवस्थापन र जोखिम न्यूनीकरणमा निर्णायक भूमिका खेल्ने बताएका छन्। साथै उनले यस सम्मेलन वैज्ञानिक ज्ञानलाई व्यवहारिक नीति र विकास अभ्याससँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा रहने बिश्वास गरेका छन्।त्यसैगरी, सम्मेलनका संयोजक डा. अनन्त मान सिँह प्रधानले सम्मेलन लाई शुद्ध वैज्ञानिक छलफल मात्र नभई अन्तरविषयगत संवाद र सहकार्यको केन्द्र बनाउने लक्ष्य रहेको बताएका छन्। उनका अनुसार काठमाडौं जस्तो ऐतिहासिक र भू–वैज्ञानिक रूपमा महत्वपूर्ण शहरमा आयोजना हुने सम्मेलनले हिमाली भू–विज्ञानको भविष्यको दिशा तय गर्न योगदान पु¥याउनेछ।
सम्मेलनको उद्देश्य र महत्व
बाह्रौं नेपाल भौगर्भिक सम्मेलन को मुख्य उद्देश्य नेपाल भौगर्भिक सम्मेलनलाई हिमाली तथा पर्वतीय भू–विज्ञानका लागि विश्वकै अग्रणी मञ्चको रूपमा स्थापित गर्नु हो। यसका प्रमुख उद्देश्यहरूमा हिमाली भू–बनोट, टेक्टोनिक्स, प्राकृतिक प्रकोप, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत, जलवायु परिवर्तन र डिजिटल भू–विज्ञानसम्बन्धी नवीनतम अनुसन्धान प्रस्तुत गर्नु, वैज्ञानिक र निर्माणको तहबीच संवाद सुदृढ गर्नु तथा नयाँ पुस्ताका भुबैज्ञानिकहरूलाई अध्यायन अनुसन्धानमा प्रेरित गर्नु रहेका छन्।
सम्मेलनले हिमालय क्षेत्रमा मात्र नभई विश्वका अन्य पर्वतीय भू–क्षेत्रमा कार्यरत वैज्ञानिक र संस्थाहरूबीच अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय भू–विज्ञान क्षेत्रमा नेतृत्वदायी भूमिकामा थप सुदृढ बनाउने विश्वास आयोजकको छ।
सम्मेलनका मुख्य वैज्ञानिक विषयवस्तुहरू
सम्मेलनमा हिमाली भू–विज्ञान र पर्वतीय भू–प्रणालीसम्बन्धी विविध विषयहरू समेटिनेछन्। सम्मेलनमा हिमाली भू–बनोट, टेक्टोनिक्स; इन्जिनियरिङ जियोलोजी र पर्वतीय पूर्वाधार; भूकम्प, पहिरो र जलवायु–जन्य जोखिम; सतही तथा भूमिगत जलस्रोत व्यवस्थापन; खनिज, ऊर्जा र दिगो स्रोत उपयोग; साथै रिमोट सेन्सिङ, डिजिटल भू–विज्ञान, शिक्षा र नीति जस्ता विषयहरूमा कार्यपत्रहरू पेश गरिनेछन्।
कार्यक्रमको स्वरूप
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विश्वप्रसिद्ध विज्ञहरूद्वारा प्लेनरी र की–नोट प्रस्तुतिकरण, समानान्तर मौखिक तथा पोस्टर सत्र, विशेष सत्र, नीति–विज्ञान संवादका लागि प्यानलगत छलफल, विद्यार्थी तथा प्रारम्भिक करियरका वैज्ञानिकका लागि विशेष फोरम, तालिम र कार्यशाला सञ्चालन गरिनेछ। साथै, हिमालयका विशिष्ट भू–संरचनाहरू, सक्रिय टेक्टोनिक्स, पहिरो क्षेत्र, जलविद्युत आयोजना र भू–जल प्रणाली अवलोकन गराउने गरी हुने क्षेत्रीय अध्ययन भ्रमण पनि सम्मेलनको विशेष आकर्षण रहनेछ।
हिमाली भू–विज्ञानका लागि साझा आह्वान
बाह्रौं नेपाल भौगर्भिक सम्मेलन केवल एक वैज्ञानिक कार्यक्रम मात्र नभई हिमाली क्षेत्रका साझा चुनौती र समाधानबारे विश्वस्तरीय संवादको मञ्च हो। प्राकृतिक जोखिम बढ्दो सन्दर्भमा वैज्ञानिक ज्ञानलाई नीति र व्यवहारमा उतार्नु आजको आवश्यकता हो। बाह्रौं नेपाल भौगर्भिक सम्मेलनले यही आवश्यकतालाई सम्बोधन गर्दै हिमालय र पर्वतीय क्षेत्रका लागि दीर्घकालीन, दिगो र सुरक्षित भविष्य निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। त्यसैले, नेपाल भौगर्भिक समाजले स्वदेशी तथा विदेशी सबै भू–विज्ञानीक, अनुसन्धानकर्ता, विद्यार्थी, नीति निर्माता र सरोकारवालालाई यस ऐतिहासिक सम्मेलनमा सक्रीय सहभागिताका लागि हार्दिक आह्वान गरेको छ।
Your email address will not be published. Required fields are marked *