नेपालको इञ्जिनियरिङ जगतमा एक सुपरिचित नाम हो ई. उमेश प्रसाद थानी । इञ्जिनियरिङ क्षेत्रमा थानीको फरक फरक चिनारी छ, नेपाल आयल निगमका बहुप्रसिद्ध सफल कार्यकारी निर्देशकदेखि नेपाल इञ्जिनियरिङ काउन्सिलको रजिष्ट्रारसम्म, सिडेनका अध्यक्षदेखि नेपाल इञ्जिनियर्स एशोसिएसनका महासचिव सम्म, सडक बोर्ड नेपाल र नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्य देखि निजि क्याम्पसका प्रिन्सिपलसम्म । तर फरक फरक जिम्म्मेवारी सम्हाल्दै गर्दा एउटा समानता भने पक्कै छ, त्यो हो उनको कार्यकुशलता र काम गर्ने दृढता । आफुले सम्हालेका विभिन्न जिम्मेवारी कुशलतापुर्वक पुरा गरेका थानीको प्रेरणाको कथा समेट्न उनीसँग विशेष कुराकानी गरेर हामीले सामाग्री यो तयार गरेका छौँ ।
स्कुल बदल्दै एसएलसी सम्म
अहिलेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मा वि.सं २०३६ मा थानीको जन्म भएको थियो । बुवाआमाका तीन दाजुभाइ मध्य कान्छो छोरोको रुपमा जन्मिएका थानीले कक्षा ४ सम्मको औपचारिक शिक्षा गाउँकै तत्कालीन त्रिपुरेश्वर प्रा. वि. बाट पुरा गरे । थानीका बुवा सरकारी सेवामा आवद्द थिए, कक्षा ४ सम्म पढ्दै गर्दा वुवाको पश्चिम नेपालको सुर्खेतबाट पूर्वी नेपालको धनकुटामा सरुवा हुदा थानी पनि बुवासँगै धनकुटा पुगेका थिए । कक्षा ५ मा धनकुटाको गोकुण्डेश्वर बाल मन्दिर माध्यमिक विद्यालयमा आएर अध्ययन गरेका उनी सो समयमा जिल्ला प्रथम भएका थिए । बुवाको धनकुटाबाट फेरी सुर्खेत सरुवा भए पछि थानीले कक्षा ६ देखि ८ सम्मको शिक्षा सुर्खेतको जन मा. वि. बाट नै पुरा गरे । थानीका माइला दाई आइ.एस्सीको अध्ययन गर्न गाउँबाट काठमाडौँ आउन पर्ने भए पछि थानीलाई पनि त्यस पछिका उच्च शिक्षा काठमाडौँमा नै अध्ययन गराउने परिवारको निर्णय पछि पुतलीसडकको पद्मोदय मा.वि. मा आएर उनले कक्षा १० सम्मको अध्ययन गरे र वि.सं २०५१ सालमा एस.एल.सी परिक्षा उतिर्ण गरे ।
बिज्ञानबाट इञ्जिनियरिङमा
थानीका माइला दाजुले पनि आइ.एस्सी अध्ययन गरेका थिए, उनकै प्रभाव र थुप्रै साथीहरुको संगतले उनले पनि अस्कल क्याम्पसबाट आइ.एस्सी गर्ने उद्देश्यले २०५२ सालमा भर्ना गरेका थिए । करिब डेढ महिना जति अस्कलमा पढी रहदा उनका जेठा दाजुले पुल्चोक क्याम्पसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको लागी प्रवेश परिक्षा दिन सुझाव दिए, पछि उनले उक्त परिक्षा उतिर्ण गरे र उनको यात्रा बिज्ञानको विद्यार्थीबाट इञ्जिनियरिङको विद्यार्थी तर्फ मोडियो । २०५५ सालमा पुल्चोक क्याम्पसबाट डिप्लोमा इन सिभिल इञ्जिनियरिङ गरेका थानीले पछि २०५६ - २०६० मा पुल्चोक क्याम्पसबाट नै सिभिल इञ्जिनियरिङ विषयमा स्नातक सम्मको अध्ययन पुरा गरे । अध्ययन कै दौरानमा उनले पुल्चोक क्याम्पसमा रहदा २०५८- २०५९ मा नेपाल विद्यार्थी संघको इकाई अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका गरेका थिए ।
पारिवारिक जीवन
ई. थानी बा- आमाका कान्छा छोरा हुन् । सबल आर्थिक परिवारमा जन्मिएका थानीको बाल्यकाल सुखद नै बित्यो । अध्ययनशील स्वभावका थानी आफ्ना दौतरीहरुसँग पनि त्यतिकै मिलनसार थिए । आफ्ना सन्तानहरुले अध्ययन गरेर स्थायी जागिर खाओस भन्ने नेपाली समाजमा थानीका आमाले भने छोरालाई राजनीतिमा लाग्न प्रेरणा दिनु भएको थियो । त्यसो त थानीका काका पनि नेपाली काँगेसको राजनीतिमा जोडिएकाले थानीलाई घरमा नै राजनैतिक चेत भने पक्कै थियो । आमाको प्रेरणाबाट राजनीतिमा जोडिएका थानी अहिले आमा बुवासँगै काठमाडौँको बुढानिलकण्ठ २ स्थित चपली भंगालमा बस्दै आएका छन् । थानी २०६३ को मङ्सिरमा सुर्खेतकी समी भट्टराईसँग बिबाह बन्धनमा बधिएका थिए । थानीको व्यस्त सार्वजनिक जीवनका कारण परिवारको जिम्मेवारी भने भट्टराईले नै निभाउदै आउनु भएको छ । अहिले उनीहरुका १४ र १० वर्षका अजपा र अजला गरी दुइ छोरीहरु छन् ।
शिक्षा परियोजनाबाट सेवा सुरुवात
थानीले इञ्जिनियरिङ अध्ययन सकाउदै गर्दा शिक्षा परियोजनामा ६ सिटका लागी इन्जिनियरको पद आहवान भएको थियो । त्यसैमा छनोट भएर उनले २०६० देखि हुम्ला जिल्लामा सेवा सुरु गरे । शिक्षा परियोजनामा नै उनी २०६१ सालमा हुम्लाबाट सुर्खेत सरुवा भएका थिए । शिक्षा परियोजनामा रहँदा उनले सामुदायिक विद्यालयका भौतिक पूर्वाधारहरु निर्माणमा काम गरेका थिए । दुइ वर्ष सुर्खेतको बसाई पछि उनी २०६३ सालमा काठमाडौँ शिक्षा कार्यालयमा सरुवा भए र त्यसको दुइ वर्ष पछि पोखरा क्षेत्रीय कार्यालयमा सरुवा भएका थिए । यो बिचमा वि.सं. २०६५ मा उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातोकत्तरसम्मको अध्ययन पुरा गरि सकेका थिए । थानीको पोखरा बसाइ खासै लामो हुन पाएन, उनी पोखरामा नै रही रहेको बेलामा सेभ द चिल्ड्रेन नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थामा उनको छनोट हुन पुग्यो र धनगढीलाई आधार बनाएर उनले करिब २ वर्ष जति काम गरे । दुइ वर्ष काम गरेपछि उनले इञ्जिनियरिङ कै अध्ययन गर्ने निर्णय गरे र सेभ द चिल्ड्रेनको जागिर छोडेर स्नातोकत्तर कार्यक्रमका लागी जलस्रोत इञ्जिनियरिङ विषयमा पुल्चोक क्याम्पसमा वि.सं २०६६ मा भर्ना भए । स्नातोकत्तर अध्ययन गरि रहँदा उनी RRRSDP नामक प्रोजेक्टमा इन्जिनियरको रुपमा काम गर्न सुरु गरे ।
२०६७ सालमा नेपाली काङ्ग्रेसको महाधिवेशन हुँदा उनी महाधिवेशन प्रतिनिधिको रुपमा विजयी भए र नेपाली काँग्रेसको मुलधारको राजनीतिमा जोडीए । त्यस लगतै पूर्णकालीन राजनीतिमा होमिने उद्देश्यले उनी प्रोजेक्टबाट बिदा भए र पार्ट टाइमका रुपमा केही इञ्जिनियरिङ कलेजहरुमा अध्यापन पनि सुरु गरे । २०६८ सालमा इञ्जिनियर्स एशोसिएसनको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि देखिएको भन्दै केही इन्जिनियरहरुले सिडेन भित्र नै बिद्रोह गरे र नेपाल डेमोक्रेटिक इन्जिनियर्स एशोसियएन (NDA) नामक संस्थाको जन्म भयो, थानी त्यही संस्थाको संस्थापक महासचिवको जिम्मेवारीमा थिए ।
नेपाल इञ्जिनियरिङ परिषदका युवा रजिष्ट्रार
तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारले वि.सं. २०७० जेठ १३ गतेको मन्त्रीपरिषदको निर्णयबाट थानीलाई नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारको रूपमा नियुक्त गरेको थियो, यो नै उनको पहिलो सरकारी नियुक्ति थियो । जम्मा ३३ वर्ष कै उमेरमा उनलाई नेपाल इञ्जिनियरिङ परिषदको कार्यकारी भूमिकामा नियुक्त गरेको थियो, त्यो समयमा युवा अवस्थामा नै रजिष्ट्रार हुने उनी सम्भवत पहिलो थिए । काउन्सिलमा रहँदा इञ्जिनियरिङमा लाइसेन्स परिक्षा सुरुवात गर्न उनले महत्वपुर्ण भूमिका निर्वाह गरे । उनकै कार्यकालमा गठन गरिएका विभिन्न समितिहरुले लाइसेन्स परिक्षा लागु गर्न आवश्यक पर्ने ऐनहरु संशोधन लगाएतका कार्यहरु सुरु गरेका थिए । थानी काउन्सिलको रजिस्ट्रार नै हुँदै गर्दा बजारमा नक्कली इन्जिनियरको बिगबिगी छ भन्ने प्राप्त उजुरीका आधारमा छानबिन प्रक्रिया अघि बढेको थियो, त्यती बेला काठमाडौँ प्रहरीसँग समन्वय गरेर करिब १५ जना जति नक्कली इन्जिनियरहरुलाई पक्राउ गरिएको थियो । “इन्जिनियरिङ काउन्सिलले विश्वविद्यालयलाई मान्यता दिने र मान्यता प्राप्त विश्वविद्यालयका नाममा फर्जी सर्टिफिकेट जारी गरेर लाइसेन्सका लागी काउन्सिलमा सर्टिफिकेटहरु ल्याउने कारणले गर्दा लामो समय देखि नक्कली इन्जिनियरको जुन बिगबिगी थियो, त्यसलाई नियन्त्रण गर्न अत्यन्त कठिनाइ थियो, कतिपय अवस्थामा आउने दबाबहरु समेतलाई सामना गरेर हामीले त्यो काम गरेका थियौ, जुन अत्यन्तै कठिनपूर्ण थियो" थानी भन्छन् । एउटा रोचक संयोग कस्तो छ भने अहिलेका प्रधानमन्त्री ई. बालेन्द्र साहको नेपाल इञ्जिनियरिङ परिषदको लाइसेन्समा थानीको नै हस्ताक्षर छ । काउन्सिलका ऐन, नियम कानुनलाई संसोधन गर्न उनकै नेतृत्वमा दीर्घकालीन कामहरु भएको थियो । उनकै कार्यकालमा काउन्सिलको नयाँ भवन निर्माणका लागी आवश्यक प्रक्रिया अघि बढाउने, प्रोफेसनल इञ्जिनियरिङको विनियमावली व्यवस्था लगाएतका संस्थागत सुधारका कामहरु भएका थिए । काउन्सिलको रजिस्ट्रारका रुपमा काम गर्दा नीतिगत रुपमा आइपर्ने समस्याहरुलाई सहज रुपमा समाधान गर्न र कानुनलाई नजिकबाट बुझ्न रजिस्ट्रार बनेकै एक वर्ष पछी अर्थात वि.सं. २०७१ सालमा उनले नेपाल ल क्याम्पसमा एलएलवि कार्यक्रमका लागी भर्ना गरेका थिए ।
रजिस्ट्रार देखि महासचिवसम्म
थानी नेपाल इञ्जिनियरिङ परिषद कै रजिस्ट्रारको जिम्मेवारीमा रहँदा नै नेपाल डेमोक्रेटिक इन्जिनियर्स एशोसियएनको अध्यक्षको जिम्मेवारीमा समेत थिए । सिडेनबाट बिद्रोह गरेर जन्मिएको यो संस्थालाई मुलधारमा ल्याएर एकीकरण गर्न थानीले नेतृत्वदायी भूमिका निर्वाह गरे । लामो संवाद पश्चात नेपाली कांग्रेस निकट इञ्जिनियरहरुको सुभेच्छुक संस्था सिडेन र एनडिए बीचको बिबाद समाधान भै सिडेन एकीकृत भएर नेपाल इञ्जिनियर्स एशोसिएसनको निर्वाचनमा होमिएको थियो । एकीकृत भए पश्चात भएको एनइएको निर्वाचनमा थानी महासचिवको उमेदवार बने र २०७३ भाद्र ३१ मा भएको एनइएको निर्वाचनबाट ३१ औँ कार्यकारिणी समितिको महासचिव पदमा निर्वाचित भए । एनइएको निर्वाचनमा नै होमिदै गर्दा थानीले परिषदका रजिष्ट्रार पदबाट राजीनामा दिन चाहेका थिए, तर निर्वाचन पश्चात मात्र राजीनामा दिने निकटस्थको सल्लाह अनुसार उनले निर्वाचन पश्चात राजीनामा दिए । थानीले महासचिवको जिम्मेवारी सम्हाल्दै गर्दा मुलुक भर्खरै संघियता कार्यन्वयनमा गएको थियो र संघियता अनुरुपका बिधान संसोधन गर्नुपर्ने थियो, एनइएको महासचिवको रुपमा थानीले यो महत्वपूर्ण जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेका थिए । यसका अतिरिक्त एनइएका सदस्यता प्रणालीलाई डिजीटलाइज गर्न र राज्यका विभिन्न संयन्त्रहरुसँग समन्वय गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी २०७३ पौष ४ मा नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्य पदमा नियुक्त भएका थिए, त्यस पछि पौष १९ गते सडक बोर्ड नेपालको संचालक समिति सदस्यमा पनि नियुक्त भएका थिए । एउटा समय यस्तो थियो जसमा काउन्सिलको रजिस्ट्रार, एनइएको महासचिव देखि थुप्रै जिम्मेवार पदहरुको जिम्मेवारी उनले सम्हालेका थिए ।
नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्यको रुपमा रहेर उनले करिब ३ वर्ष जति काम गरे । प्राधिकरण अन्तर्गतका विभागीय कारबाही पुनरावालोकन, वढुवा पुनरावालोकन समिति, छुट बिल पुनरावालोकन समिति लगाएतका थुप्रै समितिको संयोजकका रुपमा रहेर जिम्मेवारी सम्हालेका थिए । पूर्णकालीन नियुक्ती नभए पनि विद्युत प्राधिकरणका उनी दिनै भरि जसो भेटिन्थे र संचालक समिति सदस्यको हैसियतले प्राधिकरण सुधारका विभिन्न योजनाहरुमा काम गरि रहन्थे । कुनै समय एकै पटक करिब १२ वटा जति समितिमा रहेर उनले काम गरेका थिए । करिब तीन वर्ष काम गरे पछि २०७६ कार्तिकमा उनले नेपाल बिद्युत प्राधिकरणको संचालक समिति सदस्य पदबाट राजीनामा दिए ।
प्राध्यापन पेशामा थानी
२०६८ देखि नै शिक्षण पेशामा आबद्द थानीले विभिन्न जिम्मेवारीका बीच पनि पढाउने काम भने जारी नै राखेका थिए । उपत्यकाका नाम चलेका निजी क्याम्पस देखि लोकसेवाका तयारी कक्षा सम्ममा उनले अध्यापन गराउदै आएका थिए । यहि बिचमा वि.सं. २०७६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेष्ट इञ्जिनियरिङ कलेजले उनलाई प्रिन्सिपलको रुपमा प्रस्ताव गरेको थियो । काउन्सिलको रजिष्ट्रारसम्म भै सकेका उनी नीजी कलेजको प्रिन्सिपलको रुपमा काम गर्न सुरुमा अनिच्छुक थिए तर कलेज प्रशासनले निरन्तर रुपमा गरेको आग्रह र शिक्षण पेशामा उनको लगाव कै कारण उनले २०७६ जेठ १५ मा प्रिन्सिपलको जिम्मेवारी सम्हाले । एभरेष्टमा रहदा उनले थप कार्यक्रम संचालन, शैक्षिक गतिविधि बिस्तार जस्ता क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेका थिए । प्रिन्सिपलको रुपमा पहिलो कार्यकाल सकिए पछि कलेज प्रशासनले उनलाई थप एक कार्यकालका लागी प्रिन्सिपलको जिम्मेवारी थप गर्न अनुरोध गरेको थियो, तर यो बिचमा २०७७ पौष ४ गते सम्पन्न भएको सिडेनको छैठो कार्यसमितिको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भएकाले उनले कार्यकाल थप गर्न मानेनन् र एभरेष्ट इञ्जिनियरिङबाट बिदा लिए ।
आयल निगमका बहुप्रसिद्ध सफल कार्यकारी निर्देशक थानी
२०७८ फाल्गुण २६ गते बसेको मन्त्री परिषदको वैठकले खुल्ला प्रतिश्प्रधाबाट थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । थानीले कठिन समयमा नेपाल आयल निगमको जिम्मेवारी सम्हालेका थिए । त्यतीबेला निगम करिब ४९ अर्ब रुपैया संचित नोक्सानीमा थियो र रसिया - युक्रेन युद्दका कारण विश्वभर नै भैरहेको मूल्यवृद्धिले पेट्रोलियम पदार्थको आपुर्ती कठिन भै रहेको थियो, उनले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको तेस्रो दिनमा नै पेट्रोलमा १८ र डिजेलमा २४ रुपैयाको मूल्य वृद्धि भएर आएको थियो । त्यतीबेला पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु भएको थिएन, आयात गरिएको तेलको मूल्य निरन्तर बढ्दै जाने र नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउन राजनैतिक नेतृत्वले आट नगर्ने गरेको कारण निगमको आर्थिक अवस्था धरासयी जस्तै थियो। यो बिचमा भारतीय आयल कर्पोरेसनलाई तिर्न पर्ने बक्यौता रकम निरन्तर बढ्दै गइ रहेको थियो । २०७९ बैशाख ३१ मा स्थानीय निर्वाचनमा देशै भर तेलको माग हवात्यै बढ्दा र धेरै मूल्यमा आपुर्ती गरिएको तेल कम मूल्यमा बेच्नु पर्ने अवस्थाले आइओसीलाई तिर्न बाकि बक्यौता करिब ३४ अर्ब पुगेको थियो । यसरी बक्यौता बढ्दै गएको कारणले २०७९ जेठ १ मा सबै स्थानीय निर्वाचनमा होमिएको समयमा निगमले पेट्रोल र डिजेलमा १० रुपैया र ग्यासमा २०० रुपैयाले वृद्धि गरेको थियो र संस्थालाई थप धरासायी हुनबाट जोगिएको थियो । आइओसीलाई तिर्न पर्ने बक्यौता बढ्दै गएपछि इन्धन आपुर्तीमा नै समस्या हुने देखेर बक्यौता तिर्नकै लागी निगमले ७ अर्व रुपैया नेपाल सरकारसँग ऋण लिएको थियो । अर्थ मन्त्रालयले आवश्यकता अनुसार ऋण नदिए पछि निगमको टेकु स्थित कार्यालयलाई धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्व रुपैया लिने प्रक्रिया उनले अघि बढाएका थिए । निगमकै सम्पति धितो राखेर ऋण लिन नहुने भन्दै उनलाई ट्रेड युनियनहरुले बिरोध गरेका थिए, उनले ३ महिना भित्र ऋण चुक्ता गर्ने भन्दै सबै कर्मचारीहरुलाई हलमा नै राखेर आश्वस्त बनाए । २०७९ को असार महिनामा लिएको उक्त ऋण तिन महिना भित्रै बोलेको बाचा अनुसार नै आश्विन महिनामा चुक्ता भएको थियो ।
बक्यौता चुक्ता निगम ऋणमुक्त
निगममा थानीले कार्यकारी निर्देशकका रुपममा जिम्मेवारी सम्हालेको १४ महिनाकै दौरानमा २०८० जेठ अन्तिममा निगमले आइओसीलाई तिर्न पर्ने सबै बक्यौता रकम चुक्ता गरेको थियो र नेपाल सरकारसँग लिएको ७ अर्ब रुपैया ऋण भने तिर्न बाकि थियो । ठुलो बक्यौता तिरेर गुज्रिएको निगमलाई अब आर्थिक रुपमा सशक्त बनाउन स्वचालित मूल्य लागु गर्नु पर्ने भन्दै उनले तत्कालिन प्रधानमन्त्री, मन्त्री, संचलाक समिति समेतलाई सहमति गराएर २०८० श्रावण १ गते बाट स्वचालित मूल्य प्रणाली लागु गर्न सफल भएका थिए । स्वचालित मूल्य प्रणाली लागु भए पछि २०८० मङ्सिर १३ मा नेपाल सरकारसँग लिएको ऋण समेत तिरेपछि नेपाल आयल निगम ऋणमुक्त भएको थियो । संस्था ऋणमुक्त भएको १३ दिन पछि उनले निगमको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए ।
थानीले निगमको नेतृत्व सम्हाल्दै गर्दा आ.व. २०७९/०८० मा सरकारको पूर्ण तथा आंशिक लगानीमा संचालित ४२ संस्थान मध्ये नेपाल आयल निगम सर्वाधिक नाफा गर्न सफल भएको थियो, करिब १८ अर्व नाफा भएको उक्त रकम अघिल्लो वर्षहरुको बक्यौता रकम तिर्न प्रयोग भएको थियो ।उनी कार्यकारी निर्देशक भएर आउदा मोतिहारी देखि अमलेखगंजसम्म आउने पाइपलाइनबाट डिजेलको मात्र आपुर्ती भै रहेको थियो र भण्डारण क्षमताको अभावले पेट्रोल भने पाइपबाट आपुर्ती गर्न सकिएको थिएन, उनले भण्डारण क्षमता अभिवृद्धिका लागी भण्डारण क्षमता अभिवृद्धि परियोजना नै संचालन गरेका थिए । यसका अतिरिक्त क्षेत्रगत मूल्य कायम गर्ने, लोथरसम्म पाइपलाइनका योजना अघि बढाउने जस्ता कामहरु उनको नेतृत्वमा भएका थिए ।
थुप्रै नियुक्ती, विवादरहित कार्यकाल
सरकारले राजकाज संचालनका क्रममा गर्ने थुप्रै नियुक्तिहरु कार्यकाल सकिने बेलासम्म बिबादमा तानिने थुप्रै उदाहरणहरु छन् । तर थानी एउटा यस्ता दुर्लभ पात्र हुन्, जसको कार्यकाल बिबादमा कहिलै तानिएन । विभिन्न नेतृत्वमा रहँदा उनले संस्थाको सर्वोतम हित हुने गरि नै निर्णय लिएका छन्, यो उनको कार्यकुशलता र व्यवस्थापकिय जिम्मेवारीप्रतिको लगाव पनि हो । थानीले विभिन्न जिम्मेवारीको शिलशिलामा नेपालका ७७ वटै जिल्लाको भ्रमण गरि सकेका छन् भने करिब डेढ दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन्, यसबाट उनलाई देशका भूगोलका अतिरिक्त अन्तर्राष्ट्रिय स्तरमा राज्य संयन्त्रको कार्यप्रणाली सम्बन्धी ज्ञानसमेत हासिल गर्न सहयोग पुगेको छ । थानीको योगदानको कदर गर्दै उनलाई नेपाल सरकारले वि.सं २०७८ सालको संविधान दिवसको अवसर पारेर सुप्रवल जनसेवा श्री पदकबाट विभूषित गरेको थियो । त्यस्तै, नेपाल आयल निगममा रहेर गरेको उत्कृष्ट कार्य सम्पादनका कारण थानीलाई नेपाल इन्जिनियर एशोसिएसनले २०८० श्रावण ३ गते इञ्जिनियर्स डे को अवसर पारेर सर्वोत्कृष्ट ब्यवास्थापकको पुरस्कारबाट पुरस्कृत समेत गरेको थियो । यस अघि विभिन्न जिम्मेवारीमा रहँदा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै २०८२ भाद्र २३ मा भएको जेन जी पुस्ताको आन्दोलन पश्चात गठन हुन लागेको नागरिक सरकारमा थानीलाई मन्त्री बनाउन पर्ने भन्दै केही स्व-स्फुर्त युवाहरुले सामाजिक संजाल डिस्कर्डमा सिफारिस समेत गरेका थिए । त्यसो त कुशल व्यवस्थापकका पहिचान बनाएका थानीलाई बालेन शाह नेतृत्वको सरकारले जिम्मेवारी दिन लागेको हल्ला समेत सार्वजनिक वृतमा छ, तर थानी स्वयम् भने त्यस्ता हल्लाहरुका बारेमा खासै जानकार नभएको बताउछन् । तर विभिन्न जिम्मेवारीमा रहदा कुशल भूमिका निर्वाह गरेका उनलाई सरकारले जिम्मेवारी दिने हो भने सुधारको नतिजा भने पक्कै देखिनेछ ।
Your email address will not be published. Required fields are marked *