धनराज आचार्यको नेतृत्वमा पोखराले हासिल गरेका उपलब्धिका कथा
Home News फिचर्ड स्टोरी

धनराज आचार्यको नेतृत्वमा पोखराले हासिल गरेका उपलब्धिका कथा

images/__________________pokhara________________________.png
images/__________________pokhara________________________.png
Text Size

इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला गण्डकी प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौँ । पुर्वाधार, सडक र संचारले पछिल्लो दशकमा गण्डकी प्रदेशले तिब्र बिकास गरेको देखिन्छ । सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले गण्डकी प्रदेशमा विभिन्न स्थानीय तहले पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा गरेको बिकास र तीनको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुको सफलताको कथा र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ । यो शृंखलामा हामीले गण्डकी  प्रदेशको कास्की स्थित पोखरा महानगरपालिकाले पूर्वाधारमा गरेको बिकासको स्थलगत भ्रमण सहितको विशेष रिपोर्टिङ गरेका छौँ । स्थानीय केही प्रतिनिधि जनता, पोखराबाट काठमाडौँ आएर अध्ययन गरि रहेका केही विद्यार्थीसँगको अन्तरक्रिया अनि हाम्रो टोलीले दुई पटक गरी ९ दिन पोखरा बसेर यहाँका स्थानीय, सरोकारवाला निकाय अनि विभिन्न व्यवसाय गरि रहेकाहरुसँगको अन्तरक्रिया तथा  पालिकाले उपलब्ध गराएको तथ्यांकको आधारमा यो रिपोर्ट तयार गरिएको छ ।

images/__________________pokhara________________________.png

पूर्वाधारमा बिकास: खाल्डारहित सडक, उज्यालो बाटो

images/__________________pokhara________________________.png

यति बेला पोखरामा देखिने तिब्र बिकास भनेको नै फराकिला र उज्याला सडक हुन् , भित्रि सडक पनि चार लेनमा बिस्तार गरिएको छ भने बस्ती सम्म पुग्ने सडकहरु पनि खाल्डा रहित ढलान छ ।  आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्ममा पोखरा महानगरपालिकामा संघ तथा प्रदेश सरकारबाट सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरु, निजी क्षेत्र र विकास साझेदारहरुको तर्फ बाट भएको लगानी कुल खर्च रु. ३३ अर्ब पुगेको छ । आ.व २०८१/०८२ को अन्तिमसम्म महानगर क्षेत्र भित्र कुल पक्की सडक ९५० कि.मि.मा विस्तार भएको छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्वमा हालसम्म महानगर क्षेत्रमा ९३ किलो मिटर सडक निर्माण भएको छ । जसमा ७० किलो मिटर पीच, २३ किलो मिटर स्तरोन्नती र केही स्थानमा नयाँ ट्रयाक खोलिएको छ । ४८ किमी सडक रिसिलिङ भएको छ भने १५ किमी सडक स्तरोन्नती गरी कुल ६३ किमी सडकको मर्मत तथा सुधार गरिएको छ । सडकको सुरक्षा र आकाशे पानीको व्यवस्थापन लागि ७० किमी पक्की र १९ किमी नालाको मर्मत भएको छ । पोखराका भित्रि सडकहरु अहिले चिल्लो भएको छ । पोखरामा देखिएको यो बिकासका सन्दर्भमा हामीले नगर प्रमुख धनराज आचार्यलाई सोधेका थियौँ  "नगरको अधिकांश बजेट पूर्वाधारमा खर्च गर्नु भयो कि केन्द्रको मुख ताक्नु भयो?" जवाफमा आचार्यले मुस्कुराउदै भनेका थिए, "हाम्रा प्रमुख प्राथमिकतामा शिक्षा, स्वास्थ्य अनिबल्ल भौतिक पूर्वाधार पर्दछ, यसको प्रतिफल तत्काल देखिदैन तर दीर्घकालिन रुपमा यसले ठुलो महत्व राख्दछ । आन्तरिक आम्दानी, समपुरक अनुदानबाट स्थानीयका न्युनतम आधारभूत आवश्यकता पुरा गर्ने र पूर्वाधार बिकास र ठुला आयोजना संचालनका सन्दर्भमा हामीले विभिन्न बिकास साझेदारहरुसङ समन्वय गरिरहेका छौँ । "

बिकासका लागी कुटनैतिक पहल गरिरहेका नगर प्रमुख आचार्य

पोखरा महानगरपालिकाका बिकासका सन्दर्भमा यहाँका नगर प्रमुख आचार्यले कुटनैतिक पहल समेत गरिरहेको देखिन्छ, त्यसैको प्रतिफल स्वरुप पोखरामा अहिले विभिन्न साझेदार संस्थाहरुबाट ठुलो लगानीका आयोजनाहरु संचालन भै रहेको छ । समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन लक्ष्य हासिल गर्न पोखराले World Bank, JICA, KOICA, UNDP जस्ता विकास साझेदार सँगको सम्बन्ध स्थापना गरेको छ । विकास साझेदारहरुसँगको सहकार्यमा मात्रै करिब ३३ अर्ब बढीका परियोजनाहरु सम्झौता र कार्यन्वयनको चरणमा छन् । कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) र युनडिपीको सहयोगमा हरित रोजगार सृजना गर्ने गरी पोखरा प्रदर्शनी केन्द्रमा ग्रीनभेन्चर जोन (जिभिजेड) निर्माण भइरहेको छ । कलात्मक शैलीमा निर्माण गरिएको नमुना जिभीजेड सेन्टर पोखराका लागि निकै महत्वको परियोजनाका रुपमा स्थापित हुदैछ । जिभीजेडले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमहरूलाई बढवा दिनेछ । यसबाट आरयु उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना हुने परियोजनाको विश्वास छ । यसका लागि कोइकाले पोखरालाई ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.९८ मिलियम अमेरिकी डलर सहयोग गरेको छ । पोखराको फोहोर व्यवस्थापन जटिल बन्दै गै रहेको अवस्थामा कोइकाको सहयोग कोसेढुंगा हुने विश्वास यहाँका नागरिकले लिएका छन् । कोइका कै सहयोगमा हरित यातायात प्रणालीको विकास परियोजनाको अवधारणा अनुसार पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण र ३ स्थानमा बस टर्मिनल निर्माण गर्ने गरी प्रक्रिया अघि बढेको छ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने गरी कोरियन टोलीले विश्वास दिलाएको नगर प्रमुख आचार्यले बताए ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको खानेपानी शुद्धीकरण परियोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने जाइकासँग कै सहकार्य मा पोखरा महानगर क्षेत्रको फोहोर पानी ढलभल प्रशोधनका लागि विशेष परियोजना सञ्चालनका लागि समझदारी भई डिपिआर निर्माण कार्य अन्तिम चरणमा छ । विश्व बैकको सहयोगमा तालचोकवेगनास, शिशुवा सिसाघाट सडक र दोविल्लापुँडीटार  लामेआहाल सडक निर्माण सम्पन्न हुने चरणमा छ । एशियाली विकास बैकको सहयोगमा इमोविलिटी र दिगो पर्यटन विकासका १५ वटा परियोजनाहरु सञ्चालित छन् ।  पोखरा भ्रमण वर्ष घोषणाका बेलामा बेलुन पड्किएर मेयर स्वयम् घाइते भएको अवस्था पछि पोखरामा जलन अस्पतालको आवश्यकताको बहस सुरु भएको थियो, त्यस लगतै कोइकाले सहयोग गर्ने गरी पोखरामा बर्न तथा स्पेसलाइज्ड हस्पिटल निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढ्न लागेको हो ।

वैदेशिक सहायता परिचालनका दृष्टिले पोखरा सम्भवत सबै भन्दा बढी योजना भित्राउने स्थानीय तह हो । यसले यहाँको बिकास र समृद्धिसँग मात्र हैन कुटनैतिक हिसाबले समेत दीर्घकालीन महत्व राखेको छ । यसका अतिरिक्त पोखराले विभिन्न देशका १३ नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको छ । सांस्कृतिक कुटनीति मार्फत पोखरा अन्तराष्ट्रिय स्तरमा Culturally Rich and Welcoming City का रुपमा स्थापित हुँदैछ । चीनको लुझाउ, कान्जो लगाएत जापानको हुकुतोसँग पर्यटन मित्रता कायम गरेको छ, यसबाट महानगरले पर्यटन क्षेत्रमा दिगो उपलब्धि हासिल गर्ने आधारशिला तयार भएको छ ।

फेवाताल सिमांकन

सार्वजनिक जग्गाको संरक्षण पोखरा मात्र नभई देशै भरका स्थानीय तहका प्रमुखको टाउको दुखाइको विषय पनि हो । सिमा क्षेत्र कायम गर्न र अतिक्रमित बस्ती हटाउने विषयमा हुने राजनीतिकरणको सिकार स्थानीय तहको प्रमुख बन्नु परेको छ,  पोखरा पनि यसबाट अछुतो हुने कुरै भएन । पोखरामा सार्वजनिक जग्गा मात्र हैन ताल समेत अतिक्रमित छ । पोखराको सबैभन्दा बढी जटिल विषय नै फेवाताल सहितका सार्वजनिक जग्गाको अतिक्रमण हो । नगर प्रमुख आचार्यले यही जोखिम मोले र फेवाताल संरक्षण सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि सहजीकरण समिति गठन गर्दै फेवातालको सिमाङ्कन सम्पन्न गरे । यस क्रममा महानगरले ताल घरमा १०५५ वटा सीमा स्तम्भहरु गाडेको छ । यसका अतिरिक्त ड्रोन सर्भे मार्फत डिटेल सर्वेक्षण गरी फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलो मिटर यकिन गरिएको छ । फेवाताल संरक्षणको विषय अहिले बालेन साह नेतृत्वको सरकारले १०० बुँदे शासकीय सुधारको सुचीमा समेत समावेश गरेपछि फेवातालको अतिक्रमित फिर्ता ल्याउने सन्दर्भमा पोखरा निर्णायक मोडमा छ ।

साना कृषकका पोखरा

झट्ट हेर्दा पर्यटन उद्यम मात्र सुनिने पोखरा महानगरपालिकामा साना कृषि उद्यमीको सफलता अझै रोचक छ । साना किसान अहिले पोखरा महानगरपालिकाको प्राथमिकतामा परेका छन् । महानगरपालिकाले यिनै साना किसानहरुको उत्पादनलाई खपत र व्यवस्थापन गर्न उत्पादक, उपभोक्ता दुवैको सेवाका लागि डिजिटल कृषि बजार व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । यस प्रणाली अन्तर्गत महानगरले कृषि एम्बुलेन्स संचालन गरेको छ । कृषि एम्बुलेन्स मार्फत नगरपालिकाले स्थानीय स्तरमा उत्पादन भएका तरकारीहरुलाई कृषक कै ठाउँमा गएर संकलन गरि रहेको छ । यसले बजारबाट निक्कै टाढा रहका किसानलाई बजारसँग मात्र जोडेको छैन, किसानलाई आत्मनिर्भर समेत बनाई रहेको छ । हालसम्म महानगरले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको ३ हजार मेट्रिक टन तरकारी कृषि एम्बुलेन्स मार्फत संकलन गरी बिक्री केन्द्रसम्म लगेको छ । कृषिजन्य उत्पादनको बिक्रीका लागि २३ स्थानमा कृषि उपज संकलन तथा बिक्री केन्द्रहरू स्थापना तथा सञ्चालन गरिरहेको छ ।

कृषिमा यान्त्रीकरणको प्रयोगलाई प्रोत्साहन गर्न कृषकलाई महानगरले ५० प्रतिशत लागत साझेदारीमा ४ सय १० थान हाते ट्याक्टर, ८४ थान ग्रास कटर,  ६७ थान कम्बाइन मिल, ९ थान पावर स्प्रे, डयाङ बनाउने मेसिन, ४ थान थ्रेसर र २ थान तेल पेल्ने मेसिन वितरण गरेको छ । कृषकलाई आत्मनिर्भर बनाउदै कृषि पेशामा आकर्षण बढाउन महानगरले च्याउ, गोलभेडा, सिमि, कोदो जस्ता कृषिजन्य उपजमा न्युनतम समर्थन मूल्य लागु गरेको छ । यसबाट बजारमा उत्पादनको मुल्य समर्थन मूल्य भन्दा कम भएको अवस्थामा महानगरले अन्तर मूल्य प्रदान गर्ने गर्दछ । हालसम्म महानगरले यस बापत २६ लाख ७९ हजार रुपैया कृषकलाई प्रदान गरेको छ ।  यसबाट ७६१ किसान लाभान्वित भएका छन् । पोखरा महानगरले शहर केन्द्रित वडाहरुमा बस्ने आफ्ना स्थानीयहरु समेतलाई कृषिमा आकर्षण गर्न कौशी खेती प्रवर्धनको कार्यक्रम लागु गरेको छ । यस अन्तर्गत ३० हजार परिवारलाई कम्पोस्ट बिन, कम्पोस्ट मल, बिउ तथा बिरुवामा ५० प्रतिशत अनुदान सहायता र प्राविधिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

महानगरले कृषि सहित पशुपालनलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु समेत संचालनमा ल्याएको छ । मेयरमैत्री बाख्रा कार्यक्रम अन्तर्गत कम्तीमा २० वटा माउ बाख्रा पाल्नेलाई ४० हजार र ११ वटा माउ बाख्रा पाल्नेलाई २० हजारका दरले पालिकाले प्रोत्साहन दिदै आएको छ, यसबाट स्थानीयले लाखौँ रुपैँया रकम आम्दानी गरेका छन् ।  पालिकाले अति गरिब परिवारलाई कुखुराका चल्ला तथा दाना वितरण गर्दै आएको छ ।

कृषिमा प्रविधि भित्राउदै पोखरा

पोखरा महानगरपालिकाले कृषिलाई डिजिटल प्रविधिसँग जोडेको छ । जस मार्फत कृषकले पोखरा कृषि एप्स तथा https://www.pokharakrishi.com वेवसाइटबाट आ-आफ्नो उत्पादनका बारेमा जानकारी दिन तथा लिन सक्नेछन् । कृषि उत्पादनको न्युनतम समर्थन मूल्यदेखि संकलन केन्द्रमा कृषि एम्बुलेन्स आउने दिन समय सबै किसानलाई सजिलै उपलब्ध हुनेछ । कृषकले आफ्नो खाता मार्फत आफ्ना सबै विवरणहरु भरि सकेपछि आफ्ना उत्पादनहरुका बारेमा समेत त्यहीबाट जानकारी दिन सक्नेछन् । महानगरले कृषि बिमाका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि कृषकको सहजताका लागि सफ्टवेयर मार्फत सहजीकरण गरिरहेको छ । यसका लागि insurance.krishilink.com वेवसाइट नै संचालन गरि रहेको छ । झट्ट हेर्दा साना तर किसानका लागी महत्वपुर्ण काम गर्दै पोखराले कृषिमा डिजिटल रुपान्तरण गरेको छ, यहाका किसानले स्थानीय सरकारको अनुभूति गर्न पाई रहेका छन् ।

चौपायाको व्यवस्थापन

पोखरामा कुनै समयमा वर्षेनी १३ जनाले छाडा चौपायाका कारण ज्यान गुमाउनु परेको सरकारी तथ्यांक छ, तर पोखरेलीको यो नियती अहिले फेरिएको छ र पोखरामा छाडा चौपाया नियन्त्रणमा आएको छ । पोखरा १४ स्थित बाच्छी बुडुवामा रहेको पुष्करिणी परोपकार गोकुलधामसँगको सहकार्यमा गौशाला स्थापना भए यता छाडा चौपायाहरुको व्यवस्थापना भएको छ । छाडा चौपाया देखेको खण्डमा नगर प्रहरी, जन प्रतिनिधि वा अन्य सरोकारवालाहरुलाई जानकारी गराएपछि महानगरले ती चौपायाहरुको व्यवस्थापन गर्दछ । यहाँ रोचक के देख्न सकिन्छ भने बिहान १० बजे गाईहरु आफैँ चरण जान्छन् भने बेलुका ५ बजे आफैं बासस्थानमा फर्कने गर्दछन् ।

संस्कृति र पर्यटनमा पोखरा

प्राकृतिक, सांस्कृतिक र साहसिक क्षेत्रको अनुपम संगम पोखराको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धन गरी दिगो पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने उद्देश्य हासिल गर्न पोखरा महानगरपालिका क्रियाशील देखिन्छ । यति बेला राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गर्दै पर्यटनमार्फत समृद्धि हासिल गर्ने लक्ष्यका साथ २०८० चैत्र ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको थियो । विश्वका केही सिमित सहरहरु मात्र पर्यटकीय राजधानीका रुपमा घोषणा हुँदै आएकोमा पोखराको यो घोषणा पोखरेली जनताका लागी मात्र नभई सिंगो नेपालका लागी गर्वको विषय हो । यसका अतिरिक्त मिति २०८१ फाल्गुन ३ गते सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरी विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन भएको थियो । छिमेकी मुलुक चीनले समेत सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकै सन्दर्भमा पोखरा भ्रमण वर्ष घोषणा हुनु कुटनैतिक रुपमा समेत महत्वपुर्ण छ । यसका अतिरिक्त पोखरा चिनाउने सर्जक प्रा. डा. मुकुन्दशरण उपाध्याय, स्व. डा. हर्क गुरुङ र स्व. प्रेम प्रकाश मल्ललाई पोखरा महानागरपालिकाले सम्मान गरेको छ । साथै पर्यटन पूर्वाधारमा जोड दिदै बिकास साझेदारको सहयोगमा ११७ कि.मि लम्बाईको लेक टु लेक साइकल ट्रयाकको गुरु योजना तयार भै कार्यन्वयनको चरणमा छ ।

महानगरले पोखराको महेन्द्रपुलमा अन्तराष्ट्रिय एकता र मित्रताको प्रतीकका रुपमा झण्डा पार्क निर्माण गरेको छ । पोखरा महानगरपालिका र लायन्सको साझेदारीमा निर्माण गरिएको यो पार्क विश्वव्यापी सम्बन्धलाई झल्काउने एक ताजा र जीवन्त गन्तव्य बनेको छ। संयुक्त राष्ट्र संघमा आवद्ध १ सय ९३ देशका साथै संयुक्त राष्ट्र संघ, पोखरा महानगरपालिका, गैह्र आवासीय नेपाली संघ र लायन्स इन्टरनेसनल गरी १ सय ९७ झण्डा रहेको यो पार्क विश्वका विभिन्न मुलुकबाट पोखरा घुम्न आएका पर्यटकको लागी एउटा आकर्षक गन्तव्यका रुपमा बिकसित भएको छ, एकै पटकमा झन्डै ४०० भन्दा बढी मानिसले बिश्राम लिन पाउने यो पार्कले एकता, विविधता र शान्तिको विश्वव्यापी सन्देश प्रवाह गर्नुका साथै स्वाधीनताको सम्मान र स्वतन्त्र अस्तित्वको स्वीकारोक्ति गरेको महानगरको बुझाइ छ ।

व्यवसाय प्रवर्धन केन्द्र, पोखरा : स्थानीय तहमा नमुना अभ्यास

लामो समय देखि विभिन्न देश घुमेका यहाँका नगर प्रमुख आचार्यसँग पोखरामा पनि केही नयाँ अभ्यास गर्ने हुटहुटी देखिन्छ त्यसैको एउटा उदाहरण हो, व्यवसाय प्रवर्धन केन्द्र । घर अगाडीको सडक चिल्लो हुने तर त्यही सडक हुँदै घरमा प्रवेश गर्ने मान्छे सिपको अभावमा बेरोजगार बस्नु पर्ने नेपाली समाजको नियति जस्तै बनेको छ । यही यथार्थलाई नजिकबाट देखेका आचार्यले भौतिक पूर्वाधारसँगै मानव संसाधनको बिकासलाई पनि सँगै लैजाने प्रयत्न गरेका छन् । जस अन्तर्गत पालिकाले यति बेला व्यवसाय प्रवर्धन केन्द्र मार्फत विभिन्न प्रकारका व्यवसायहरुलाई प्रवर्धन गर्न सिपमुलक तालिम दिनेदेखि साना व्यवसाय गर्नेहरुलाई सहुलियत कर्जा समेत उपलब्ध गराउदै आएको छ । पालिकाले प्रदान गरेको सिपमुलक तालिमबाट हजारौँ जनता लाभान्वित भएका छन्, यही तालिम लिएर अहिले कयौले व्यवसाय गरि रहेका छन् । यति बेला पोखरामा नवउद्यम सम्बन्धी ९१ वटा नयाँ आइडीया आइडीया बैंकमा समावेश गरिएका छन् । पालिकाले यति बेला सम्म २५० जनालाई विना धितो सहुलियत दरको कर्जा उपलब्ध गराएको छ । यसका अतिरिक्त व्यवसायिक बिकासका लागी साझेदारसँग साझेदारीमा प्रवर्धनात्मक कार्यक्रमहरु समेत पोखरामा लागु गरिएका छन् । व्यवसाय प्रवर्धन केन्द्रको तथ्यांक अनुसार हालसम्म ३०११ जना सेवाग्राहीहरु यसबाट लाभान्वित भएका छन् । व्यवसायिक रुपमा पन्चे बाजा बजाउनेदेखि, कुक, वारिस्ता, प्लम्बिङ, सवारी साधन मर्मत, ग्राफिक्स डिजाइन, लेखा प्रणाली, उद्यमशीलता बिकास, मनोसामाजिक परामर्श लगाएतका विभिन्न ४० भन्दा बढी सिपमुलक तालिमहरु केन्द्रले उपलब्ध गराई रहेको छ । यसले यहाँको जनजीवनलाई आत्मनिर्भरतातर्फ जोडेको छ भने जीविकोपार्जनमा समेत सहयोग पुराइ रहेको छ ।

तर पालिकासँग तालिम लिएका र खासै केही नगरेका केही पात्रहरुले गर्दा केही तालिमहरु नाम मात्रको भै रहेको र त्यसले प्रशिक्षक, प्रशिक्षार्थी र नगरको समेत समय र बजेट खेर गइ रहेको पालिकाको बुझाइ छ । त्यसैले आवश्यकताको तालिम लिएर त्यसलाई जीविकोपार्जनसँग जोड्न र ती तालिमहरुको प्रभावकारिता कायम राख्न पालिकाले थप काम गरिरहेको नगर प्रमुख धनराज आचार्यले बताए । पालिकाले जातीय, सांस्कृतिक र भाषिक पहिचानका तालिमका लागी समेत आवश्यक बजेट बिनियोजन गरिरहेकाले यहाँका स्थानीय भाषा, साहित्य र कलाको प्रवर्धन समेत हुँदै आएको छ ।

पोखराको अर्को नमुना अभ्यास भनेको नगर उर्जा योजनाको तर्जुमा र कार्यन्वयनको चरण हो । सन् २०४५ सम्ममा नेट जेरो कार्बन बनाउने अन्तराष्ट्रिय सन्धि र सम्झौता अनुसार नै पोखराले समेत यसका आवश्यक योजना तर्जुमा गरेको छ, सम्भवत यस्तो अभ्यास स्थानीय तहहरुमा पहिलो हो । दक्ष र दिगो ऊर्जा मार्फत समुन्नत पोखरा भन्ने सोच र ऊर्जा स्वच्छता र दक्षता मार्फत कार्बन तटस्थ पोखराको निर्माण गर्ने ध्येयले यो योजनाको तर्जुमा गरिएको नगर प्रमुख आचार्यले बताए ।  योजना अनुसार विसं २१०० (सन् २०४३) सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य महानगरले लिएको छ । यस योजना अन्तर्गत सन् २०२९ सम्म पोखरा महानगरका २५ % घरमा विद्युतीय चुलोको प्रयोग गर्ने लक्ष्य छ, जबकि अहिले ०.२३% ले मात्र विद्युतीय चुलोको प्रयोग गरिरहेका छन् ।

युवा र खेलकुदमा पोखरा

पोखरा महानगरपालिकाले युवाहरूको सर्वाङ्गीण विकास गर्ने  उद्देश्यले नगर युवा परिषद्को संरचना निर्माण गरेको छ । नगर युवा परिषद मार्फत युवा लक्षित विभिन्न कार्यक्रमहरु संचालनमा छन् । युवाको नेतृत्व तथा क्षमता विकासका लागि नमुना नगर सभा, नमुना युवा परिषद जस्ता कार्यक्रमहरु तथा विभिन्न प्रकारका तालिम तथा सचेतना मुलक कार्यक्रमहरु विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा सञ्चालन गरि रहेको छ । नगर युवा परिषद्ले पञ्चवर्षीय रणनीतिक कार्य योजना तयार गरी सोही अनुसारको कार्यक्रमहरु संचालन गरि रहेको छ । महानगरले यो बिचमा विभिन्न विधाका ४० वर्ष मुनिका ६ जना युवाहरुलाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गरेको छ । महानगरसँगको साभेदारीमा फुटबल, भलिबल, म्याराथन, ड्रागन बोट रेस, साइक्लिङ, ब्याडमिन्टन,ट्रयोथलन लगायतका प्रतियोगिताहरू पोखरामा सञ्चालन भइरहेका छन् । पोखरा कप, मेयर कप, अन्तर क्लब स्तरीय क्रिकेट प्रतियोगिताल, पोखरा खेलकुद महोत्सव लगाएतका प्रतियोगिताको सफल आयोजना महानगरले गरिरहेको छ । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई महानागरले नगद रु.२ लाख २२ हजार २ सय २२ सहित सम्मान गरेको छ । यसका अतिरिक्त घरेलु तथा अन्तराष्ट्रिय खेलकुदमा महानगरपालिकाले सहभागिता जनाइहेको छ ।

 शिक्षा र स्वास्थ्यमा पोखरा

पोखरा महानगपालिकाले शिक्षा र स्वास्थ्यमा ठुलो लगानी  गरेको छ ।  शिक्षा र स्वास्थ्यको लगानीको प्रतिफल तत्काल नै नदेखिए पनि दीर्घकालीन रुपमा पोखराको समग्र बिकासका लागी यो लाभदायक हुने प्रमुख आचार्य बताउँछन् । महानगरले १२५ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरेको छ । साथै १ हजार भन्दा बढी शिक्षकका लागी क्षमता बिकास तथा प्रविधिमैत्री शिक्षण तालिम प्रदान गरेको छ । महानगरले ४० विद्यालयका कक्षाकोठामा शिक्षण सिकाइका लागी आधुनिक शैक्षिक उपकरण सहितको प्रविधि जडान गरेको छ । यो बिचमा पालिकाले आधारभूत तहको परिक्षा केन्द्र निर्धारण गरी परिक्षा संचालन गरेको छ र परिक्षा मार्फत नै कक्षा ११ को छात्रवृति प्रदान गरेको छ । देशै भरका अधिकांश सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सम्बन्धित वडाका वडा अध्यक्ष नै हुने व्यवस्था छ, तर पोखरामा भने हामीले यो अभ्यास पाएनौ, कुनै पनि राजनैतिक दलमा आवद्द नभएकाहरुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्ति गर्ने अभ्यास यहा छ । यसका अतिरिक्त करार शिक्षकको नियुक्तिका लागी पालिकाले पहुँचका आधारमा नगरी शिक्षक सेवा आयोगको छनोट कार्यविधि अनुसार नै गर्ने गरि रहेको छ । हामीले नगर प्रमुख आचार्यलाई "यत्तिको आँट कसरी गर्नु भयो?" उनले एकछिन शान्त रहेर बताए, "गरिबका छोराछोरी पढ्ने स्कुलमा राजनैतिक दलका नाममा हामीले गलत क्रियाकलाप नगर्ने हो भने विद्यालय सुध्रन बेर नै लाग्दैन, भौतिक पूर्वाधारको बिकास मात्र भएर हुदैँन, हामीले अझै यहाँ चेतना जागृत गर्नु छ र चेतनाको संचार गर्ने उपाय भनेकै विद्यालयलाई सुधारेर मात्र हो, हामीले सुधारका लागी शिक्षक सरुवा देखि विद्यालय मर्ज सम्मका नीति अवलम्बन गरेका छौँ।" यसका अतिरिक्त प्रसुति स्याहारमा रहेका शिक्षिकाको अभावमा तत्कालका लागी स्वयंसेवक शिक्षक व्यवस्था गरेको छ भने बिज्ञ समूहबाट विद्यालय अनुगमन/निरीक्षणको कामलाई पालिकाले तिब्रता दिएको छ । शिक्षालाइ थप सुदृढीकरणका गर्न प्रधानाध्यापकहरु लाई प्रोत्साहन गरी कार्यक्षमता र कार्यकुशलतालाई अभिवृद्दि गर्न प्रधानाध्यापक भत्तामा वृद्धि गरेको छ भने प्रधानाध्यापकहरुसँग कार्य सम्पादन करार सम्झौता समेत गरेको छ । पालिकाले शिक्षामा देखिने गरी काम गरि रहेको यहाँका शिक्षा विदहरु समेत बताउछन् ।

शिक्षालाई सिप, सिपलाई उद्योग, र उद्योगलाई उत्पादनसँग जोड्न सकिए मात्र हाम्रा शिक्षा व्यवहारिक हुन्छन् भने बुझेका नगर प्रमुख आचार्यले पालिकामा सिप मुलक प्राविधिक शिक्षाका लागी विशेष अवधारणा नै ल्याए ।  सोही अवधारणाका आधारमा पोखरा महानगरपालिकाले गण्डकी बहुप्राविधिक शिक्षालयको सञ्चालन गरि रहेको छ । जसमा अटोमोबाइल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, वन विज्ञान, फार्मेसीका डिप्लोमा तहका कक्षा सञ्चालन गरेको छ । यस गण्डकी बहुप्राविधिक शिक्षालयमा हाल ३२१ जना विद्यार्थी अध्ययनरत रहदा करिब ९० प्रतिशत भन्दा बढी विद्यार्थी राष्ट्रिय सिप परिक्षण केन्द्रद्वारा लिइएको सिप परिक्षण परिक्षामा उतिर्ण भएका छन् । यहाँबाट उत्पादन भएका जनशक्तिहरुले भोलि देश र पोखराको बिकासका लागी थप योगदान दिनेमा पूर्ण आशाबादी देखिन्छन् प्रमुख आचार्य । यसका अतिरिक्त महानगरले एक जना शहिद परिवारका सन्तानलाई एमविविएस कार्यक्रम समेत अध्यापन गराइरहेको छ । पोखरा महानगरले शिक्षण संस्थाहरुलाई सुचना, प्रविधि मैत्री बनाउदै लैजानुका साथै स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । गत वर्ष तीन वटा विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरिएकोमा अहिले थप ६ वटा विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको र क्रमश: सबै विद्यालयमा लैजाने प्रमुख आचार्य बताउँछन् ।

यति बेला पोखराले १३१ खोप केन्द्रमा हात धुने स्थानसहित स्वास्थ्य व्यवस्था विस्तार गर्दै नियमित खोप तथा विभिन्न खोप अभियान सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त AI प्रविधियुक्त X-ray सहित सक्रिय खोज कार्यक्रम मार्फत १,७७४ क्षयरोगी बिरामीको पहिचान तथा उपचार सेवा सञ्चालन गरि रहेको छ भने २१,०८६ जनालाई मासिक रु. ५,००० उपचार खर्च सहयोग तथा १,४८८ जनालाई रु. १ लाख बराबर विपन्न सहायता सिफारिस समेत गरेको छ ।

आलोचनारहित छैनन् धनराज पनि

स्थानीय तहका जनप्रतिनिधीहरु आलोचनारहित हुन नै सक्दैनन्, यो प्राय: सबै पालिकामा लागु हुने गर्दछ । पोखराका नगर प्रमुख पनि धनराज आचार्य पनि आलोचनारहित भने छैनन् । हामीले पोखरामा भेटेका प्राय: सबैले पूर्वाधार, सडक र कुटनैतिक सहयोग बिस्तार गर्न आचार्यले गरेको बिकासको प्रशंसा गरे पनि सडक पेटीबाट ब्यापार हटाउने जस्ता काम गर्दा भुइँ मान्छेलाई वेवास्ता गरेको बताए । यसका अतिरिक्त फेवातालका सन्दर्भमा यहाका स्थानीयले स्थानीय सरकारले आफ्नो मागलाई वेवास्ता गरेको आरोप पनि लगाएका छन् ।  साथै पोखरा महानगरको फोहोर व्यवस्थापनका सन्दर्भमा समेत आचार्यको आलोचना हुने गरेको छ । त्यसो त उनी निर्वाचित भएर आएको १ वर्ष नबित्दै २०७९ चैत्रमा नै फोहोरमैला प्रशोधन केन्द्र निर्माण, स्वामित्वकरण संचालन तथा हस्तान्तरणका लागी आशय पत्र माग गरेर ३ वटा छनोट गरे पनि जग्गा अभावका कारण प्लान्ट स्थापना भने हुन सकेको छैन । आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय हटाएर झन्डा पार्क बनाएको सन्दर्भमा समेत अहिले पनि यहाँका केही स्थानीयको चित्त दुखाइ नै छ । त्यसो त बसपार्कको छेवैमा बन्नै लागेको अत्याधुनिक पोखरा भवनमा यसको व्यवस्थापनको तयारी महानगरले गरि रहेको छ ।

अन्त्यमा,

देशकै प्रमुख पर्यटकीय शहर हुनाले ठुलो आयोजना संचालनको फाइदा पक्कै पनि पोखराले लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन । संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, आचार्यलाई पनि त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला धनराज आचार्य नेतृत्वको पोखरा महानगरले केही आशालाग्दो काम गरि रहेको छ । राजनैतिक दलप्रति जनताको बढ्दो बितृष्णा, जेन जी आन्दोलनका बाछिट्टा, जनताको आक्रोश, स्थानीय तह भित्र हुने बिबाद, आतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान, आफ्नै र फरक दलबाट निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने बाध्यता, कर्मचारीतन्त्रको आलश्यता, नगरको भत्किएको भवनले पार्ने मनोबैज्ञानिक असर, परिवर्तनका क्रममा आफ्नै दल र फरक दलबाट आउन सक्ने अवरोध जस्ता चुनौतीका बिच आचार्यको आगामी करिब एक वर्षे कार्यकाल आजै आकलन गर्नु केही हतारो हुन सक्छ, तर पछिल्लो ४ वर्षमा धनराज आचार्यको नेतृत्वमा सडक, संजाल र पूर्वाधार, शिक्षा, कृषि जस्ता क्षेत्रको बिकासमा पोखराले राम्रै प्रगती गरिरहेकै छ ।

images/__________________pokhara________________________.png

 

images/__________________pokhara________________________.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *