काठमाडौँ:
संघिय राजधानी काठमाडौँबाट करिब २४० कि.मि पूर्वी दक्षिण क्षेत्रमा कमला नगरपालिका छ। मधेश प्रदेशको राजधानी जनकपुरबाट करिब ३७ कि.मि पर रहेको यो नगरपालिका धनुषा जिल्लामा पर्दछ।
संघिय राजधानीमा बस्ने, हुर्कने र पढ्नेहरुका लागी कमला लगाएत मधेशका गाउँ गाउँका दुख र कष्टका कहानीहरु एकादेशको कथा जस्तै लाग्छ। गाउँमा शिक्षा, स्वास्थ्य र पुर्वाधारले त्यति धेरै फड्को मारेको छैन तर अभाव र दुखमा रहेको गाउँमा सपनाको भने अंकुरण मात्र हैन पुष्पन पनि भै सकेको छ।
कमला नगरपालिकाको वडा नम्बर ७ मा नगरको पुर्व उत्तर छेउ, कमला नदीको किनारमा हथमुण्डा गाउँ छ। महेन्द्र राजमार्ग स्थित पोताहबाट करिब १८ कि. मि. भित्र पर्ने हथमुण्डा त्यही गाउँ हो जसलाई बेलाबेलामा कमलाको बितण्डाले तर्साइ रहन्छ।
ठुला सहर, चिल्ला सडकमा मात्र सपना देख्न सकिन्छ भन्ने आम सोचलाई हथमुण्डा उल्ट्याएको छ।
हथमुण्डाका किसान दम्पती विकरु महतो कोइरी र उर्मिला कुमारी महतोका तीन छोरा र एक छोरीले हासिल गरेको शैक्षिक उपलब्धिले यति बेला सिंगो गाउँ नै खुशी छ।
बिहान सबैरै खेत, बेलुका गोरु गास्ने र जीवनभर गोडमेलमै व्यस्त रहेका विकरु महतोले विद्यालयको ढोका कहिल्यै देख्न पाएनन्। विद्यालय नदेखेका उनीसँग थियो केवल एक दृढ अठोट – “सन्तानले कलम समाउन्, माटोको सट्टा भविष्य जोतुन्।”
यही गाउँका अधिकांश अभिभावकहरूले सानै उमेरमा बालबालिकालाई कमाइतिर धकेल्छन्, त्यही परिवेशमा विकरुले कहिल्यै पढाइप्रति सम्झौता गरेनन्।
“बुबाले कहिल्यै ‘पढाइ छाड’ भन्नुभएन,” ठूला छोरा राकेश कुमार महतो सम्झिन्छन्, “हामीले उहाँका चाउरिएका हात र अनुशासनको कठोरता देखेका थियौं। त्यसैले पढाइमा कहिल्यै ढिलाइ गरेनौं।”
इन्जिनियर बन्ने सपना : खेतदेखि किताबसम्मको यात्रा
महतो दम्पतीका तीन मध्य जेठा छोरा राकेश महतो हाल पुर्वाञ्चाल क्याम्पस, धरानमा सिभिल इञ्जिनियरिङ्ग बिषयमा स्नातक तहको अध्ययन गर्दैछन् भने माइला छोरा सुशान्त र कान्छा छोरा सिरयान्स डिप्लोमा तहको अध्ययन गर्दैछन्। उनीहरु तिनै जनाले स्थानीय प्रगतीशील माध्यमिक विद्यालयबाट एस.ई.ई सम्मको अध्ययन पुरा गरेका हुन्। महतोका जेठी छोरी बबिता कुमारी भने स्नातोकत्तर तहको अध्ययन गर्दैछिन्।
राकेशले गाउँमा १० सम्मको अध्ययन गरेपछि बागमती स्थित श्री ५ महेन्द्र जनता माध्यमिक बिद्यालयबाट डिप्लोमा सम्मको अध्ययन पुरा गरेका थिए। राकेशले स्नातक तहको सिभिल इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे भने माइलो र कान्छा छोराले डिप्लोमा तहको सिभिल इन्जिनियरिङ छात्रवृत्तिमा अध्ययन गर्दै छन्। उनीहरु सबैको एउटै उद्देश्य छ: इन्जिनियर बन्ने, गाउँ फर्कने, गाउँको बिकास गर्ने र आफूले भोगेका अभाव अरूलाई दोहोराउन नदिने।
सपना सहरमा मात्र होइन, गाउँको माटोमा पनि अंकुराउँछ
हथमुण्डाका यी तीन भाइको यात्रा सजिलो थिएन। संघर्ष, पीडा, अभाव र अथक लगनले भरिएको थियो यो यात्रा। तर जब गाउँमा उनीहरूको सफलताको खबर फैलियो, मानिसहरू अचम्मित भए – “एउटै घरबाट तीनजना इन्जिनियर!” आज गाउँका शिक्षक, जनप्रतिनिधि र छिमेकीहरू गर्वका साथ भन्छन्, “कमलाको इतिहासमा यस्तो पहिलो पटक भएको हो।” अब कमलाले अझै थुप्रै इन्जिनियर र डाक्टरहरु जन्माउछन्।स्थानीय देवेन्द्र यादवका अनुसार महतो परिवारको उदाहरण आज गाउँका हरेक विद्यार्थीका लागी प्रेरणाको स्रोत बन्ने गरेको छ। यादव भन्छन् " उहाँहरु हाम्रो गाउँको मात्र नभएर सिंगो नगरको लागी उदाहरण बन्नु भएको छ, अझ नगरले थप प्रोत्साहन गर्ने हो भने थुप्रै यस्ता प्रतिभाहरु गाउँगाउँबाट उदाउछन्। "
शिक्षाको पहुँच : समानताको गहिरो बहस
यी तीन भाइको सफलताले फेरि एकपटक शिक्षामा पहुँच र समानताको बहसलाई उजागर गरिदिएको छ। सहरका महँगा विद्यालय मात्र होइन, गाउँमा पनि यदि अवसर प्रदान गरियो भने त्यहाँका बालबालिकाले पनि प्रतिस्पर्धा जित्न सक्छन् भन्ने बलियो प्रमाण समेत हो यो। हथमुण्डा यही गाउँ हो जसमा तीन वर्ष अघि मात्र बिजुली पुगेको थियो। तीन सय घर धुरी रहेको यो गाउँमा कक्षा १० सम्म अध्ययन हुने बिद्यालय रहेको छ।
महतो दम्पतीमा खुशी सिमा नै छैन।
सन्तानको प्रगतीले गर्दा आज विकरु महतो र उर्मिला महतोको अनुहारमा गर्व झल्किरहेको छ। उनीहरुका जीवनभरका दुःख, पसिना र परिश्रमले साकार पाएको उनीहरुको बुझाइ छ। छोरोले यही देशको सेवा गरोस् भन्ने उनीहरुको बुझाइ छ।
Your email address will not be published. Required fields are marked *