नेपाल आयल निगमले पोखरा बिमानस्थलमा अत्याधुनिक हवाई इन्धन भण्डारण गृह (डिपो) को निर्माण सम्पन्न गरेको छ । इतिहासमै पहिलो पटक सतप्रतिशत स्वदेशी सीप र पुँजीमा निर्माण गरिएको हवाइ इन्धन डिपो करिब ८५ करोड लगानीमा तयार भएको हो। बिहिबार निगमले पोखरास्थित परियोजना परिसरमा पत्रकार सम्मेलन गर्दै भण्डारण गृह निर्माणबारे जानकारी गराएको छ।
डिपो निर्माणका लागी बिमानस्थल परिसरमै ९,२१५ बर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।२०८० साल साउन १ गते निर्माण कार्यको शिलान्यास गरी आयोजना सुरु भएको थियो। निर्माण सुरु भएको करिब दुई वर्षपछि ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण भएको छ।
डिपो निर्माणका लागी निगमले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इञ्जिनियरिङ्ग अध्ययन संस्थान कन्सल्टेन्सी सेवासँग परामर्श गरी डिजाइन, लागत अनुमान सहितको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो। परियोजना प्रतिवेदन तयार भएसँगै कन्सल्टेन्सी सेवाको सुपरिवेक्षणमा परियोजना सम्बन्धि काम हुदै आएको थियो। निगमकै सिनामंगल स्थित हवाई इन्धन कार्यालयको स्थान्तरणको अर्को परियोजनाको डिजाइन, लागत अनुमान समेत इञ्जिनियरिङ्ग अध्ययन संस्थानले नै गर्दै आएको र उक्त परियोजनाको समेत डीपीआर करिब अन्तिम चरणमा रहेको र असार मसान्त अघि नै निगमलाई हस्तान्तरण गर्ने कन्सल्टेन्सी सेवाका प्रमुख नारायण गौतमले बताउनु भयो।
के के छन् पूर्वाधार ?
पोखरामा निर्माण गरिएको हवाई इन्धन डिपो हाल सम्मकै अत्याधुनिक प्रविधियुक्त रहेको परियोजना प्रमुख प्रदीप यादवले बताए। डिपोमा १२ लाख लिटर क्षमताका तीन वटा हवाई इन्धन भण्डारण ट्यांकसहित, एउटा पानी भन्डारण ट्यान्क, कार्यालय भवन, प्रयोगशाला निर्माण गरिएको छ । त्यस्तै, डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरीपरी जडान गरिएको फायर फाइटिङ संरचनालाई आवद्ध गरिएको छ । हवाइ इन्धन जस्तो प्रज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरालाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आवद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ । यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुई वटा फायर फाइटिङ डिजल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प जडान गरिएको छ। यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामको पाइपहरु अमेरिकिन पेट्रोलियम इन्स्टिच्यूड (एपिआई) मापदण्डमा आधारित रहेका छन्।
यो डिपोमा हालसम्मकै अत्याधुनिक प्रविधि जडान गरिएको छ भने आगलागी हुँदा स्वचालित उपकरणबाट पानीको फोहोरा हालेर निभाउने प्रविधि समेत जडान गरिएको छ । हालको आपुर्ती अनुसार यो हवाई इन्धन डिपोले पोखराको ४ महिना सम्मको मागलाई थेग्न सक्ने निगमका प्रोजेक्ट म्यानेजर ई. अशोक अर्यालले बताए।
नेपाली प्राविधिकबाट नै निर्माण हुनु गौरवको विषय: डा. लामिछाने
परियोजना निर्माण सम्बन्धि जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इञ्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन डा. सुरज लामिछानेले नेपाली प्राविधिकको प्रयोग गरेर तयार गरिएको यो डिपो निगम र इञ्जिनियरिङ्ग अध्ययन संस्थानका लागी मात्र नभई सिंगो राष्ट्रका लागी पनि गौरवको विषय भएको बताएका छन्। तोकिएको समयमा नै नै निर्माण सम्पन्न हुनु सकरात्मक पक्ष रहेको बताउदै उनले यस परियोजनाले नेपाली प्राविधिक र निर्माण कम्पनीमा समेत ठुला परियोजना बनाउन सक्ने दक्षता रहेको पुष्टि भएको बताए।
Your email address will not be published. Required fields are marked *