काठमाडौं । नेपाल आयल निगमले रुपन्देही जिल्लामा अत्याधुनिक प्रविधि सहितको भण्डारण गृह निर्माणको लागि डिपिआर तयार पारेको छ । २०८१ साल मंसिर १२ गते काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभाग र आयल निगम, भण्डारण क्षमता वृद्धि परियोजनाबीच डिपिआर निर्माणका लागि भएको सम्झौताअनुसार तयार भएको डिपिआर आज हस्तान्तरण भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिघा क्षेत्रफलमा सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्न लागिएको जनाएको हो। इन्धन डिपो निर्माणका लागि काठमाडौं विश्वविद्यालयले तयार गरेको डिपीआर निगमलाई हस्तान्तरण समेत गरिएको छ।
परियोजनाको ११ बिघा जमिन खरिद गरिएको र थप साढे ८ बिघा प्रति जग्गालाई निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, रुपन्देही मार्फत पहल भइरहेको निगमले जनाएको छ। उक्त परियोजनाका लागि कर बाहेक कुल ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार ९४९ रुपैयाँ ५६ पैसा लागत अनुमान गरिएको नेपाल आयल निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीप कुमार यादवले बताए। निर्माण हुने नयाँ डिपो अत्याधुनिक र सुविधा सम्पन्न हुने उनले जानकारी दिए।
नयाँ बन्ने डिपोमा डिजेल भण्डारणका लागी ४५०० कि.लि क्षमताको ३ वटा भर्टिकल ट्यांक, पेट्रोल भण्डारणका लागी २१०० कि.लि क्षमताको २ वटा भर्टिकल ट्यांक र ७६० कि.लि क्षमताको १ भर्टिकल ट्यांक र मट्टीतेल भण्डारणका लागी ७६ कि.लि क्षमताको ३ वटा भर्टिकल ट्यांक रहने निगमले जनाएको छ। डिपो भित्र अग्नी सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुई वटा पानी ट्यांकी निर्माण हुने छ । यहाँ निर्माण हुने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनालाई धान्ने माग बराबरको पेट्रोलियम पदार्थ मौज्दात गर्न सकिने निगमले जनाएको छ। इन्धन लोडिङ सेडमा ८ बटा ‘बे’ र अनलोडिङ सेडमा पनि ८ वटा ‘वे’ निर्माण हुने निगमले जनाएको छ। हाल रुपान्देहीको भलवारी डिपोमा पेट्रोल ५१९ किलोलिटर, डिजेल ३ हजार ४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण गर्ने क्षमता छ।
उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालयका कन्सल्टेन्सी सेवाका प्रमुख डा. विवेक बराल निगमका पुर्व कार्यकारी निर्देशक ई.सुशिल भट्टराई, निगमका उपनिर्देशक रामहरि निरौला लगायतको उपस्थित रहेको थियो ।
Your email address will not be published. Required fields are marked *