बगडीयाको कथा
Home News फिचर्ड स्टोरी

बगडीयाको कथा

इन्जिनियर खबर - Nov. 22, 2025 1798049 views
images/WhatsApp_Image_2025-11-18_at_20.41.56.jpeg
images/WhatsApp_Image_2025-11-18_at_20.41.56.jpeg
Text Size

बगडीया, तपाइँ बिराटनगर आसपासको क्षेत्रमा बसोबास गर्नुहुन्छ भने तपाइँ यो नामसँग पक्कै परिचित हुनुहुन्छ। रंगेली नगरपालिकाको वेवसाइटमा नगर प्रमुखको परिचय हेर्नु भयो भने तपाइँले दिलिप कुमार अग्रवाल भनेर देख्नुहुन्छ। रंगेली गएर दिलिप अग्रवाल भनेर भन्नु भयो भने रंगेलीको नगर प्रमुख हो भनेर कमैले आकलन गर्न सक्छन् तर तपाइँले दिलिप बगडीया भनेर भन्नु भयो भने रंगेली क्षेत्रका मात्र हैन नजिकका बिराटनगर, कर्सिया, कटहरी लगाएतका क्षेत्रका स्थानीयले सजिलै भनिदिन्छन् "रंगेलीको मेयर साब।" 

images/WhatsApp_Image_2025-11-18_at_20.41.56.jpeg

यिनै बगडीयाले नेतृत्व गरेका रंगेली नगरपालिकाले पछिल्लो समय पूर्वाधार, सडक, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय प्रगती गरेको भनेर विभिन्न सरोकारवाला निकायले गराएको जानकारी र हाम्रो रिसर्च टिमले केही समय पहिले रंगेली नै गएर स्थलगत अध्ययन गरेर फर्किए पछि रंग बदलेको रंगेलीको कथा शिर्षकमा विशेष सामाग्री तयार गर्न इन्जिनियर खबरको टिम गत सोमबार रंगेली पुगेको थियो। नगरपालिकाको समृद्धिको कथा प्रकाशन गर्न पुगेको हाम्रो टिमले फर्कने बेला अर्को निर्णय गर्यौ, प्रमुखको कथा बिना रंगेलीको कथा समेत अपुर्ण हुने हुनाले बगडीयाको कथा शिर्षकमा अर्को सामाग्री प्रकाशन गर्ने। आइतबार बेलुका बिराटनगर गएर बस्ने र सोमबार बिहान बिराटनगर स्थित निवासमा प्रमुख अग्रवाललाई भेटेर उनी सँगै रंगेली लाग्ने हाम्रो पुर्व निर्धारित तालिका अनुसार हामी सोमबार बिहान उनको नीजी निवासमा थियौँ। उनले सधै प्रयोग गर्ने गाडी बिग्रिएको र नीजी ड्राइभर उक्त गाडी बनाउन गएकाले छोराले प्रयोग गर्ने गाडीमा हामी समेतलाई लिएर गाडी रंगेली तर्फ लाग्यो अनि ड्राइभिङ सिटमा थिए मेयर अग्रवाल। 

images/WhatsApp_Image_2025-11-18_at_20.41.56.jpeg

गाडी चढ्दै गर्दा हामीले सोध्यौ, "पालिकाको गाडी खै र?" एकैछिन उनले भने, "पालिकाको गाडी, इन्धन, ड्राइभर लगाएतका सुबिधा मैले कहिलै लिने गरेको छैन, बिग्रिएको गाडी पनि मेरो नीजी गाडी नै हो, आफ्नो व्यवस्थापकीय खर्च आफैंले व्यहोर्न सक्ने नै छु, त्यसैले किन पालिकाको गाडी प्रयोग गर्नु भनेर नचढेको हुँ।" बजेटको आकार नै कम हुने पालिकाहरुमा यस्ता शिर्षकमा थोरै भए पनि रकम बचाउन सकिए पालिकालाई फाइदा हुने उनको दृढता हामीलाई मन पर्यो, त्यसो त आर्थिक रुपमा सम्पन्न प्रमुख अग्रवालका लागी यी खर्च सामान्य नै हुन्। हामीले सुरुमै बिराटनगरमा भेटिएको ई- रिक्सा चालकले उठाएको प्रसङ्ग कोट्याउदै सोधेका थियौँ, "तपाइँलाई किन बगडीया भन्छन्?" हाँसो सहित अग्रवालले जवाफ दिए, "यो मेरो टाइटल हो, राजस्थानको बगड भन्ने ठाउँबाट म भन्दा अगाडीको पाचौँ पुस्ता रंगेलीमा बसाइ सरेर आएका थिए, आफ्नो पुर्खाको ठाउँ बगड चिनाउन मैले सुरुमा आफुलाई बगडीया भनेर चिनाउन थाले, पछि सबैले यही नामले चिन्न थाले।", बगडीया भन्दा आफुलाई सन्तोष लाग्ने पनि उनले बताए। हामीसँग कुरा गरि रहेका बेला उनको आमाले फोन गरेर टिफिनमा रोटी छ भन्नु भयो। अनि हामीले सोध्यौ, "सधै आमाको हातको रोटी खानुहुन्छ?" उनले स्तब्ध भएर भने "श्रीमती बिति हालिन् अनि।" सन् २००४ मा क्यान्सरबाट उनको श्रीमती मनिसा देवी अग्रवालको स्वर्गारोहण रहेछ। अहिले हरेक दिन उनको नीजी कर्मचारी (पालिकाका होइनन्)ले टिफिन पालिकासम्म पुराउने गरेका रहेछन्। बाटोसँगै बगडीयाले आफ्नो कहानीहरु बताउन थाले अनि छेउमा रहेको रेकर्डर हामीले अनमा राख्यौ ।

व्यापारी अग्रवाल

मदनलाल अग्रवालका जेठा छोराका रुपमा दिलिप कुमार अग्रवालको जन्म आज भन्दा ५८ वर्ष अगाडी वि.सं २०२४ सालमा मोरङको रंगेलीमा भएको थियो। रंगेलीमा यस अघि नै उनका चार पुस्ता बसोबास गर्दै आइरहेका थिए। त्यती खेर अग्रवालको परिवार आज जस्तो सम्पन्न अवस्थामा थिएन । माडवारी समुदायका भए पनि उनीहरुको आर्थिक अवस्था कमजोर नै थियो। SLC सम्मको औपचारिक शिक्षाको अध्ययन गरेपछी अग्रवालका वुवालाई अझै छोरालाई पढाउन मन थियो तर घरको आर्थिक अवस्था राम्रोसँग बुझेका दिलिपले त्यती बेला पढ्न छाडेर आम्दानीको बाटो रोजे अनि वि.सं २०३९ सालमा दर्ता गराए, 'दिलिप भेराइटी स्टोर' यो स्टोरबाट उनी व्यवसायमा प्रवेश गरे। यहा साइकलका पार्टपुर्जा, चप्पल, जुत्ता, टर्च, खुद्रा किराना देखि कस्मेटिक सम्मका सामाग्रीको ब्यापार हुने गर्दथ्यो ।

व्यापार कै क्रममा उनले बबन हटियामा २०० रुपैयामा फाटा कम्पनीको कोट बेच्ने गर्दथे। ब्यापार सँगसंगै उनले कृषि पेशा पनि छाडेका थिएनन् । उनले वि. सं २०४२ सालमा मोरङ जिल्लामा नै सबै भन्दा ठुलो आलु फलाएका थिए। ७५० ग्रामको आलु फलाएर जिल्लामा नै अवार्ड हात पारेका थिए उनले । एकातिरा ब्यापार पनि गर्नु थियो भने अर्का तिर कृषिलाई पनि सँगसँगै लैजानु थियो। आफैँ समय निकालेर पानी पट्टाउने, फरुवा चलाउने गर्दथे उनी, बिगत सम्झदै भावुक हुँदै उनले भने, "त्यो बेला एक जना किसान मजदुरको ज्याला जम्मा २५ रुपैयाको थियो, तर एक जना मजदुरको ज्याला बचाउन म आफैं खेतमा काम गर्दथे, सङै ब्यापार पनि गर्नु पर्ने थियो, त्यहाँ नेर मेरो जीवनको संघर्ष छ।" जीवनका संघर्ष नजिकबाट देखेका अग्रवाल अहिले आर्थिक रुपमा सम्पन्न छन्, तर सम्पन्नताको हिसाबमा उनमा कुनै प्रकारको घमण्ड भने देखिदैंन। 

दिपक भेराइटी स्टोरबाट उनले बिस्तारै आफ्नो ब्यापार बढाउदै लगे। ट्रकहरु किने र तीनलाई भाडामा लगाउन थाले, ४ दाजुभाई र एक बहिनीको जेठा दाजु हुनाको नाताले उनीहरुलाई उच्च शिक्षासम्मको अध्ययन गराउने, पारिवारिक जिम्मेवारी सम्हाल्ने पनि अग्रवाल कै काँधमा थियो। अग्रवालले दिपक भेराइटी स्टोर चलाइ रहँदा उनका भाइहरु महेन्द्र मोरङमा उच्च शिक्षा हासिल गरि रहेका थिए। रंगेलीबाट बिराटनगर आइ बहालमा बसेर अध्ययन गरि रहेका भाइहरुले व्यापारमा पनि दाइलाई साथ दिइ रहेका थिए । यसै क्रममा २०५० साल तिर उनले आफ्नो व्यापारको धार बदले र दिपक भेराइटी स्टोरको जिम्मा आफ्नो बुवालाई लगाउदै उनी इट्टाको व्यवसायमा प्रवेश गरे, इट्टाको व्यापारबाट उनले पछाडी फर्केर हेर्न परेको छैन । यही इट्टा उद्योगले उनको आर्थिक अवस्थामा पुरै परिवर्तन ल्यायो ।

२०५० सालमा आफु सहित अन्य केही लगानीकर्तासँगको सहकार्यमा उनले आनन्द इट्टा उद्योग संचालनमा ल्याए । आफ्नो करिब ५ लाख जतिको लगानीमा उनी इट्टा व्यवसायमा पवेश गरेका थिए । आफ्ना चार जना दाजुभाई र नातेदार तीन जना गरी ७ जनाको लगानीमा अहिले ८ वटा इट्टा उद्योग संचालनमा छ । ५ वटा मोरङ र ३ वटा सुनसरीमा संचालित यी उद्योगमा करिब ८००० मजदुर काम गरि रहेका छन् । पहिले पाताको चिम्नी रहेको यिनको उद्योगमा पछि फिक्स चिम्नी हुँदै अहिले फोर्स डार्क चिम्नी जडान भएको छ । अर्को महत्वपूर्ण कुरा रंगेलीको बिकास आयोजनामा काम गरि रहेका ठेकेदार कमपनीले रकम अभावमा काम अलपत्र पार्दा उनले ती कम्पनीलाई दुइ वर्ष सम्म उधारोमा इट्टा उपलब्ध गराएका रहेछन् । "अलिकत पैसा कमाए पछि व्यापारिक साझेदार टुट्नु हाम्रो सामाजको वास्तविकता हो तर ३२ वर्ष सम्ममा पनि हाम्रो व्यापारिक साझेदारी चलिरहेको छ, आगामी दिनहरुमा समेत यो लम्बिरहने छ ।" अग्रवालले भने । २०७५ साल देखि अग्रवाल आफू पूर्णकालीन राजनीतिमा प्रवेश गरेर इट्टा उद्योगको व्यवस्थापनको जिम्मा अरुलाई लगाएका छन्। तथापी कम्पनीमा उनले आफ्नो लगानी भने झिकेका छैनन्।  इट्टाका अलावा यिनका अरु थुप्रै कम्पनीमा पनि लगानी रहेको छ। यिनको खयर उत्पादन गर्ने कम्पनी रहेको छ। यिनको कम्पनीले उत्पादन गरेको पान मसालामा हाल्ने खयर अहिले विदेशमा निर्यात भै रहेको छ।  चप्पल उत्पादन गर्ने म्याजिक फुट वेयर, प्लाई वोर्डको उत्पादन गर्ने अल्ट वुड, स्कुले बच्चाको खाजामा प्रयोग हुने पौष्टिक आहार उत्पादन गर्ने कम्पनीमा समेत यिनको लगानी छ। यिनको कम्पनीले अहिले सुनसरीको बर्जु गाउँपालिकामा २५ मेगा वाटको सोलार प्लान्ट जडान गर्न वातावरणीय प्रभाव मुल्यांकन पश्चात स्वीकृति पाएको छ।

समाजसेवा हुँदै राजनीतिमा प्रवेश

अग्रवालको व्यापारिक पृष्ठभुमी पछि हामीले अग्रवाललाई सोधेका थियौँ, "व्यापारको साम्राज्य विस्तार गर्न छाडेर किन राजनीतिको बाटोमा लाग्नु भयो?" अग्रवालले राजनीतिमा प्रवेश गर्नु अगाडीका आफ्ना समाजिक कार्यहरुका पृष्ठभुमी खोतल्न लागे, बिगत सम्झदै उनले भने, "म आफु पनि अभाव र पिडाबाट ग्रसित थिए त्यसैले सजिलै अरुका पिडाहरु बुझ्दथे, आफु SLC देखि नै सामाजिक कामहरुमा संलग्न रहने गरेको उनले बताए, व्यापारसँगै  समाजसेवाका कामहरुमा आफुलाई अभ्यस्त गराउदै थिए, अग्रवाल। उनी १० वर्ष रंगेली ब्यापार संघको अध्यक्ष भएर काम गरे , मोरङ अस्पतालको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था थियो, त्यो समयमा उनले कोषाध्यक्ष भएर काम गरे यस्तै  सर्स्वसम्मतिमा ३ कार्यकाल गरी १० वर्ष  दादर बैरिया विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे। आफु अध्यक्ष रहँदा ४ कट्ठा जग्गा उनले विद्यालयलाई अनुदान दिएका थिए । उनले पहिलो पटक विद्यालय व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दा काठको भवन रहेको स्कुलको पछि ४ पक्की भवन बने पछि उनी नेतृत्वबाट बिदा भएका थिए। वि.सं २०७० साल तिर पाँच वर्ष भित्रमा अस्पताल बनाएर संचालन  गर्नु पर्ने अन्यथा जग्गा फिर्ता दिनु पर्ने शर्त राख्दै उनले आफ्नो नाममा रहेको २५ बिगाह जग्गा  जि. पि. कोइराला फाउन्डेसनका लागी दान दिएका थिए । पाँच वर्ष भित्र अस्पताल बन्न नसके पछि अहिले उक्त जग्गा उनको नाममा फिर्ता आएको छ ।

कांग्रेसबाट कम्युनिष्टमा प्रवेश

मोरङ अर्थात नेपाली कांग्रेसको उर्वर भुमी, कोइराला परिवारको बिरासत भएको क्षेत्र, अग्रवाललाई पनि यहाँको कांग्रेसको राजनीतिले नछुने कुरै भएन। उनी बुझ्ने भए देखि नै नेपाली कांग्रेससँग नजिक थिए। उनको पारिवारिक पृष्ठभुमी पनि नेपाली कांग्रेस नै भएकाले उनी कांग्रेसको सभा सम्मेलनमा गइ रहन्थे । पछि कांग्रेसको क्रियाशील  सदस्यता लिएका उनी, क्षेत्रीय प्रतिनिधि सम्म बनेका थिए । तर कांग्रेस भित्रको आन्तरिक किचलोका कारण वि.सं २०७० मा उनी कांग्रेसको राजनीतिबाट अलग भए । उनी अलग रहँदा कांग्रेसको कुनै नेतृत्वले पनि उनलाई रोक्नका लागी अनुरोध समेत नगरेको तितो अनुभव उनीसँग छ । कांग्रेसबाट अलगिए पछी २०७० मा उनी माओवादीमा प्रवेश गरेका थिए। काम गर्ने ठाउँ खोज्दा कांग्रेस र एमाले जस्ता ठुला पार्टीले ठाउँ नदिने भए पछि माओवादी केन्द्र तर्फ लागेको उनले बताए । २०७० मा उनलाई समानुपातिक तर्फको उमेदवार बनाएको थियो तर अन्तिम सुचीमा उनी अटाएनन् । पछी उनले जिल्ला कमिटि सदस्य हुँदै क्षेत्रीय इन्चार्ज सम्मको जिम्मेवारी सम्हाले । आफु इन्चार्ज रहँदा पार्टी भित्र हुने चन्दा उठाउने, उद्योगी, किसानहरुलाई दुख दिने जस्ता विकृति अन्त्य गरेको उनले बताए। 

२०७० सालको निर्वाचनमा उनी इन्चार्ज रहेको क्षेत्रबाट माओवादीका उमेदवार शिव कुमार मण्डल ८ मतले निर्वाचित भए, अनि सांसद प्रतिनिधिका रुपमा अग्रवालले बिकास निर्माणको काम हेर्ने मौका पाए, यही जिम्मेवारीले उनको सामाजिक पहिचान थपिदैं गयो र क्षेत्र भरि उनी परिचित हुन पुगे । पछी २०७४ को स्थानीय तहको निर्वाचनमा उनलाई माओवादी केन्द्रले नगर प्रमुख पदको उमेदवार बनायो । माओवादीबाट उनी सहित उप प्रमुख र तीन वडा अध्यक्ष निर्वाचित भए । माओवादी केन्द्र र नेकपा एमालेका बीच २०७५ सालमा एकीकरण भए पछी नेकपा बन्यो, तर पछी फेरी नेकपा फुटेपछि उनी माओवादी केन्द्र तर्फ नगई एमालेमा नै रही रहे । नेकपाको फुट पछि उनी मात्र हैन, रंगेलीका सबै कार्यकर्ता एमालेमा नै रही रहे । यो बेलामा भने उनलाई माओवादी केन्द्रका थुप्रै केन्द्रिय नेतृत्वले माओवादीमा फर्कन अनुरोध गरेका थिए, तर आफुले भन्दैमा ग्राउण्डका कार्यकर्ताले नमान्ने भन्दै आफु मूल घरमा नै रहेको उनले बताए । पछि २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उनलाई नगर प्रमुख पदको उमेदवार बनायो । पाँच दलीय गठबन्धन विरुद्द उनले ३८०० मतान्तरले निर्वाचन जिते, उनले आफुले मात्र हैन नेकपा एमालेका ४७ मध्ये ४६ उमेदवारलाई निर्वाचित गराउन सफल भए।

बिकासप्रेमी नगर प्रमुख

images/WhatsApp_Image_2025-11-18_at_20.41.56.jpeg

रंगेलीमा देखिएको बिकासका बारेमा उनी दावाका साथ भन्दै थिए, "यी सारा पिच मेरो पालामा भएको हो, रंगेली चोक देखि अस्पतालसम्म पुग्न घुँडा घुँडा हिलो पुग्ने १० फिटको बाटो थियो, यो बिस्तार गर्न मैले आफ्नै परिवार भित्र पनि बिद्रोह गरे, मेरो आफ्नै दाजु भाउजुको घर यहाँ थियो, त्यो सबै हटाएर यहाँ अहिले बाटो बिस्तार भएको छ, रंगेलीको मूल सडकको कुनै पनि खण्ड अब पिच गर्न बाकी राख्दैनौँ, भित्रि भित्रि ठाउँ जहाँ पहिले मान्छे बस्न डराउथे अहिले त्याहाँ हामीले सडक पुराएको छौँ, भित्रि गाउँहरु चक्रपथले जोडिएको छ, पालिकाले स्थानीयको आवश्यकतालाई महशुस गरेर काम गर्दैछ, गरिब जनताले यहाँको बिकासको अनुभूति गरेका छन्, रंगेली फेरिएको छ, अझै थुप्रै गर्नुछ, यहाँको बिकासले यहाँबाट नजिकका सहरहरुमा हुने पलायन रोकिएको छ ।" जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला दिलिप कुमार अग्रवाल (बगडीया) ले रंगली नगरपालिकामा केही आशालाग्दो काम गरि रहेका छन् । लगातार दुइ पटकको स्थानीय निर्वाचनमा निर्वाचित हुन कुनै पनि जनप्रतिनिधिलाई त्यती सजिलो विषय पक्कै हैन, तर अग्रवालको काम गर्ने शैलीलाई यहाँका स्थानीयले पत्याएर नै दोस्रो पटकका लागी निर्वाचित गराएकै हुन्। पाँच दलका गठबन्धनका बिरुद्द अग्रवालले ३८०० मतान्तरले निर्वाचित हुनु अग्रवालको लोकप्रियता नै हो, यसमा कुनै दुविधा नै छैन, अझ उनले पालिकामा आफ्नै चुनाव चिन्हबाट उठेका सबै जसो उमेदवारलाई (एक जना वडा सदस्य बाहेक) बिजय गराउन सक्नु उनको नेतृत्वको खुवी पनि हो। आज पनि अग्रवाल  केन्द्र, प्रदेश र दातृ निकायको बजेटका लागी राजनैतिक लबीङ्ग गरि रहेकै छन्, बिकास बजेट कम भएका पालिकाहरुलाई बिकास गर्न चुनौती हुनु स्वाभाविक पनि हो, तर अन्य स्रोतबाट बजेटको व्यस्थापन गर्नु राजनैतिक नेतृत्वको खुबी पनि हो, अग्रवाल यही अभ्यास गरि रहेकै छन्। अर्को महत्वपुर्ण अभ्यास भनेको टुक्रे योजनाबाट उपभोक्ता समिति गठन गर्दै दलका कार्यकर्तालाई पोस्ने काम यहाँ देखिदैन, वडा अध्यक्षलाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने अभ्यास पनि यहाँ छैन, यति मात्र हैन कुनै पनि दलका कुनै पनि कमिटिमा आवद्ध राजनीतिज्ञ यहाँ विद्यालयको व्यवस्थापन समितिमा वस्न पाउदैनन् । यो अभ्यास अन्य पालिकाका लागी पनि उदाहरणीय बन्न सक्छ। आर्थिक रुपमा सम्पन्न अग्रवाल पालिकाको गाडी नचढेर नीजी गाडी चढीरहेका छन्। अग्रवालले पालिकामा आर्थिक पारदर्शीता कायम राखी रहेको बताइरहदा महालेखाले हालसम्म करिब १५ करोडको बेरुजु भने उठाएको छ, यसमा थप सुधार गर्नु पर्ने नै छ। तर, बिकास र पूर्वाधारका दृष्टिकोणले रंगेलीले अहिले रंग नै बदलेको छ। हामीसँग सम्पर्कमा आएका अधिकांश भुइँ मान्छेले पालिका र अग्रवालको मुक्तकण्ठले प्रसंशा गरेका छन्। पहिलो पटक नगर प्रमुखमा निर्वाचित हुँदा अग्रवालले बिकासको आधारशीला तयार गरे, अहिले त्यही रोडम्यापमा उनले रंगेलीको बिकासको चित्र कोर्दैछन् । यहाँका बिकासका आधारमा यतिबेला बगडीयाले बिकासप्रेमी नगर प्रमुखको छवि बनाएका छन् । 

images/WhatsApp_Image_2025-11-18_at_20.41.56.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *