इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला सुदुरपश्चिम प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौ । पुर्वाधार, सडक र संचारले पछिल्लो दशकमा सुदुरपश्चिम प्रदेशले बिकास गरेको देखिन्छ । भौतिक संरचनाको बिकासमा इन्जिनियरहरुको भूमिका अत्यन्त महत्वपुर्ण हुन्छ। सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले सुदुरपश्चिम प्रदेशमा विभिन्न निकायको नेतृत्व गरि रहेका केही अब्बल इन्जिनियरहरुको सफलता र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ । यो शृङ्खलामा हामीले सुदुरपश्चिम विश्वविद्यालयका स्कुल स्कुल अफ इञ्जिनियरिङका डीन प्रा. डा. किसन दत्त भट्टसँग कुराकानी गरेर विशेष सामाग्री तयार गरेका छौँ ।
प्रा. डा. किसन दत्त भट्ट अहिले देशकै सुदुर भेगमा रहेको सुदुरपश्चिम विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीनका रुपमा कार्यरत छन् । गाउँबाट सहर अनि सहरबाट बिदेशीने चलन चलि रहेको नेपाली समाजमा डा. भट्ट विदेशबाट काठमाडौ अनि काठमाडौबाट सुदुरपश्चिममा आएर यहाँको इन्जिनियरिङ शिक्षामा योगदान दिइ रहेका छन् । २०१५ को अन्तिम देखि सुदुरपश्चिम विश्वविद्यालयमा जोडिएका भट्टले आफ्नो प्राध्यापन पेशाको दश वर्ष यही सुदुरमा बिताएका छन्, उनले यहाँ १० वर्ष मात्र बिताएनन, सुदुरका गाउँ गाउँबाट महेन्द्रनगर आएका सयौं विद्यार्थीलाई भविष्य लेख्न सिकाए, सपना देख्न सिकाए अनि काठमाडौको पहुचबाट टाढा रहेका हजारौं विद्यार्थीलाई सुदुरमा नै इन्जिनियरिङ शिक्षाको सहज उपलब्धता गराए, त्यसैले त अहिले सुदुरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा यहाँका विद्यार्थीहरु इन्जिनियरका रुपमा कार्यरत छन् । सुदुरका इन्जिनियरिङ क्षेत्रका पर्यायवाची जस्तै सुनिने डा. भट्टसङ सुदुरपश्चिम विश्वविद्यालयमा बिताएका १० वर्ष र यहाँको इन्जिनियरिङ क्षेत्रका बारेमा बुझ्न हाम्रो टोली सुदुरपश्चिम प्रदेशसम्म पुगेको थियो ।
बैतडी देखि पुल्चोक क्याम्पससम्म
बैतडीमा जन्मिएका भट्टले कक्षा ४ सम्मको औपचारिक शिक्षा गाउँमा नै पुरा गरे । पछि महेन्द्रनगर झरेर वि.सं. २०५२ मा महेन्द्रनगर मा. वि महेन्द्रनगरबाट कक्षा १० सम्मको अध्ययन पुरा गरेका भट्टले महेन्द्रनगरको सिद्धनाथ बिज्ञान क्याम्पसबाट वि.सं. २०५५ मा आइ.एस.स्सी सम्मको अध्ययन पुरा गरे । आइ.एस.स्सी अध्ययन गर्ने बेलामा भट्टले आफ्नो समुह टप गरेका थिए । आइ.एस.स्सी अध्ययन पश्चात भट्ट उच्च शिक्षा अध्ययनका लागी काठमाडौँ प्रस्थान गरे । दुइ दिन यात्रा गरेर महेन्द्रनगरबाट करिब सात सय किलोमिटर टाढा रहेको काठमाडौँसम्म आएर अध्ययन गर्नु चुनौतीपूर्ण थियो, गाउँमा नै पढेका भट्टलाई काठमाडौँमा गएर अध्ययन गर्नु थप चुनौती छदै थियो, भट्टले त्यही चुनौती पछ्याए अनि इञ्जिनियरिङ अध्ययन गर्ने आफ्नो सपना पुरा गर्न इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको प्रवेश परिक्षा दिए र पुल्चोक क्याम्पसमा आर्किटेक्चर कार्यक्रमका लागी स्नातक तहमा सोहि वर्ष २०५५ सालमा छात्रवृति पाएर भर्ना भए ।
पुल्चोकदेखि हङकङ विश्वविद्यालयसम्म
वि.सं. २०६० मा स्नातक सकेका भट्टले २०६० लगत्तै ख्वप इञ्जिनियरिङ कलेज र त्यसपछि पुल्चोक क्याम्पसमा पूर्ण कालिन रुपमा अध्यापन गराउन सुरु गरे । २०६२ / ६३ मा निजामति सेवामा आकर्षण घटी रहेको समयमा भट्टले २०६२ को अन्तिममा लोकसेवा आयोगको परिक्षा उतिर्ण गरे र २०६३ जेठमा तत्कालिन अवस्थामा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनमा सेवा सुरु गरे । शहरी बिकासमा काम गरी रहदा स्नातक पछिको उच्च शिक्षाको आवश्यकता देखेका भट्टले निजामति सेवाबाट अवकास लिए र स्नातोकत्तर अध्ययनका लागी हङकङ विश्वविद्यालयमा आवेदन दिए । तत्कालिन समयमा हङकङ विश्वविद्यालय विश्व कै उत्कृष्ट २० विश्वविद्यालय भित्र पर्दथ्यो, अहिले यो ११ औँ उत्कृष्ट विश्वविद्यालय भित्र छ । सन् २००६ देखि २००८ सम्म हङकङ विश्वविद्यालयमा शहरी बिकास कार्यक्रममा स्नातोकत्तर अध्ययन गरेका भट्टले विशिष्ट श्रेणीमा अध्ययन सकाए । उनले स्नातोकत्तर अध्ययनका लागी एसियन डेभेल्पमेन्ट बैंक जापान स्कलरशिपबाट छात्रवृति समेत प्राप्त गरेका थिए ।
भट्टले स्नातोकत्तर अध्ययन पछि नेपाल फर्किएर नेपाल इञ्जिनियरिङ कलेजमा अध्यापन सुरु गरेका थिए । पछि सन् २०१० देखि हङकङ विश्वविद्यालयमा नै विद्यावारिधिसम्मको अध्ययन गरेका भट्टलाई विद्याबारिधी अध्ययनको लागी विश्वविद्यालयले पोस्ट ग्राडुएट स्क्लरशिप उपलब्ध गराएको थियो भने पछि उत्कृष्ट शैक्षिक क्रियाकलापका आधारमा उनले बिरलैले मात्र प्राप्त गर्ने युनिभर्सिटी फेलोशिप समेत प्राप्त गरे । विद्यावारिधीसम्मको औपचारिक शिक्षा पश्चात उनी सन् २०१४ मा नेपाल फर्किए । पछि उनले नेपाल फर्किएपछि सन् २०१४ मा नेकमा र सन् २०१५ देखि पुल्चोक र थापाथली क्याम्पसमा केहि समय अध्यापन सुरु गरे ।
काठमाडौँ देखि सुदुरपश्चिम सम्म
डा. भट्ट नेपाल फर्किएको केही समयमा नै सुदुरपश्चिम विश्वविद्यालयले खुल्ला प्रतिश्प्रधा मार्फत सह- प्राध्यापक पदका लागी दरखास्त आह्वान गरेको थियो, विद्यावारिधि सहित ८ वर्षको अध्यापन अनुभव भएको हुन पर्ने प्रावधान राखिएको उक्त पदका लागी डा. भट्ट योग्य पात्र थिए । भट्टको स्थायी घर पनि सुदुरपश्चिमको बैतडी जिल्लामा नै भएको र यही भेगको विश्वविद्यालयमा इञ्जिनियरिङ शिक्षाको लागी केही योगदान गर्नु पर्छ भनेर उनलाई केहीले सुझाई पनि रहेका थिए, तर अर्का तिर विश्वकै प्रसिद्द विश्वविद्यालयबाट विद्यावारिधि गरेका, काठमाडौँमा पनि आफ्नै कन्सल्टिङ गरि रहेका र विश्वका अन्य उत्कृष्ट विश्वविद्यालयबाट पोस्ट डकका लागी अवसरहरु आइ रहेका डा. भट्टलाई काठमाडौँको सुबिधा, नेटवर्किंङ छुट्ने डर पनि थियो तर भट्टले यो बेला आफुले सुदुरपश्चिमबाट अध्ययनका लागी काठमाडौँमा बसेर गरेको दुख सम्झिए, सुदुरको भेगबाट काठमाडौँको पहुँच बाहिर रहेका आफ्ना कयौँ साथीहरुले उच्च शिक्षा हासिल गर्न नपाएको नियती सम्झिए र सुदुरको इञ्जिनियरिङ शिक्षामा योगदान गर्ने निर्णय लिए र काठमाडौँबाट सुदुरपश्चिमको यात्रामा होमिए । अनि वि.सं २०७२ को माघबाट सह प्राध्यापकका रुपमा सुदुरपश्चिम विश्वविद्यालय प्रवेश गरे । उनी विश्वविद्यालय प्रवेश गरे लगत्तै उनलाई इञ्जिनियरिङ संकायको कार्यक्रम संयोजकको जिम्मेवारी समेत दिइएको थियो । विश्व कै प्रसिद्द विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. भट्ट सुदुरपश्चिममा जाँदा स्नातक गरेका शिक्षकहरु समेत अध्यापनका लागी सुदुर जान मान्ने अवस्था थिएन ।
सन् यात सेन छाडे, सुदुरपश्चिम रोजे
सुदुरपश्चिम विश्वविद्यालय आएको करिब ४ महिना करार सेवामा काम गरेका भट्ट त्यस पछि सेवा आयोगको परिक्षा उतिर्ण गरेर स्थायी शिक्षकका रुपमा नियुक्त भए र १ वर्षको परिक्षणकाल पुरा गरे । डा. भट्टको परिक्षणकाल सकिएको त्यो समयमा स्कुल अफ इञ्जिनियरिङ कार्यक्रमको लागी डीन छनोट हुँदै थियो । त्यो समयमा ३६ वर्षका डा. भट्ट पनि डीनका लागी इच्छुक त थिए, तर विश्वविद्यालयमा हुने चरम राजनैतिक हस्तक्षेप लगाएतका कारण उनी पूर्ण रुपमा आशाबादी भने थिएनन् । त्यसैले यो बिचमा उनले पोस्ट डकका लागी दक्षिण एशिया कै प्रसिद्द सन् यात सेन विश्वविद्यालयमा वेल्ट एण्ड रोड इनिसीयटिभ अन्तर्गत आबेदन दिएका थिए । उनी सुदुरपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायको डीनको प्रतिश्प्रधामा हुदा सन् यात सेन विश्वविद्यालयले पोस्ट डकका लागी उनको आबेदन स्वीकृत गर्यो । उनले चीन प्रस्थान गर्न सबै तयारी पुरा गरेर तत्कालिन उपकुलपति प्रा. भूषण श्रेष्ठ समक्ष अध्ययन बिदा पनि पेश गरेका थिए । अध्ययनका लागी चीन प्रस्थान गर्न डा. भट्टले सबै तयारी पुरा गरेका थिए, कति सम्म भने उनले महेन्द्रनगरमा प्रयोग गर्दै आएको मोटरसाइकल समेत बेचेर काठमाडौँ हिडि सकेका थिए । तर चीन प्रस्थान गर्नु १ हप्ता अगाडी मात्र तत्कालीन उपकुलपति प्रा. भूषण श्रेष्ठको एउटा फोनले भट्टले आफ्नो निर्णय पुनविचार गरे, उक्त फोनमा श्रेष्ठले डा. भट्टलाई इञ्जिनियरिङ संकायको डीनको रुपमा विश्वविद्यालयको सेवा गर्न र हाल पोस्ट डकका लागी नजान सुझाव दिएका थिए ।
एकातिर विश्वको प्रसिद्द विश्वविद्यालयबाट विद्यावारिधि गरेको अनुभव, अर्कातिर विश्वको अर्को उत्कृष्ट विश्वविद्यालयबाट पोस्टडकको अवसर अनि प्रस्थानको सबै तयारी पुरा, अनि अर्का तिर नेपालकै सुदुर भेगमा रहेको विश्वविद्यालयको डीनको अवसर, २०७४ को असाढ अन्त्यमा डा. भट्ट यही अन्योलताको बिचमा थिए । उत्तिकै आकर्षणका अवसरहरु एकै पटक आउँदा हो मान्छेलाई निर्णय लिन गाह्रो हुने, डा. भट्ट पनि यही अवस्थामा थिए । तर उनले धेरै अलमल गरेनन् अनि अलिक फरक बाटो रोजे र सन् यात सेनलाई अन्तिम आवरमा आफु नआउने जानकारी सहितको इमेल पठाए, चीनको लागी काटेको टिकेट रद्द गरे अनि धनगढीको टिकेट काटेर सुदुरपश्चिम प्रस्थान गरे । यतिबेला उनका थुप्रै साथीहरुले भट्टलाई सुदुरपश्चिम छाडेर सन् यात सेन जान सुझाव दिएका थिए तर भट्टले ग्रासरुटमा इञ्जिनियरिङ शिक्षाको जग बसाउन सुदुर नै रोजे र २०७४ श्रावण ५ मा डीनको जिम्मेवारी सम्हाले ।
सुदुरपश्चिममा इञ्जिनियरिङ संकायका पर्याय
भट्ट सुदुरपश्चिम आउँदा सुदुरपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ भर्खरै सुरु मात्र भएको थियो, ४८ जना विद्यार्थी सिभिल इञ्जिनियरिङ कार्यक्रमका लागी भर्ना त भएका थिए तर भौतिक पूर्वाधार, शिक्षक, ल्याब, पूर्ण पाठ्यक्रम पनि तयार भएको थिएन । यो अवस्थालाई नजिकबाट बुझेका डा. भट्टले सुदुरमा इञ्जिनियरिङ शिक्षालाई प्रभावकारी बनाउन थुप्रै योजनाहरु बनाए, साना साना समस्या समाधानका लागी कामहरु गरे र देखिने गरी परिवर्तन ल्याए । भौतिक पूर्वाधारका अभाव हटाउनका लागी आफैले प्रपोजलहरु तयार गर्दै तत्कालिन उपकुलपति, रजिष्ट्रार समक्ष पेश गरे । उपकुलपति र रजिस्ट्रारको नेतृत्वमा भौतिक पूर्वाधारको बिकासका लागी सरकारका बिभिन्न्न निकायहरुसँग समन्वय गरे । यो बिचमा डा. भट्ट सहितका पदाधिकारीहरुको निरन्तरको पहलमा सुदुरपश्चिम विश्वविद्यालयलाई राष्ट्रिय योजना आयोगले पाँच करोड रकम प्रदान गर्यो जसबाट ल्याबको समानहरु खरिद गर्ने, कक्षा कोठाहरु बनाउने जस्ता कामहरुको सुरुवात भयो, एक हिसाबले भन्नु पर्दा सुदुरपश्चिमको इञ्जिनियरिङ संकायको भौतिक पूर्वाधारमा यसले एक प्रकारको फेरबदल नै ल्यायो । भौतिक पूर्वाधारको अभाव त सुल्झिने क्रममा नै थियो तर शिक्षकको अभाव भने त्यस्तै थियो, स्नातक गरेका शिक्षक समेत सुदुरपश्चिममा भेटाउन गाह्रो हुने अवस्था थियो । शिक्षकको अभावमा गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिरहेको अवस्थालाई पुर्ती गर्न उनले पुल्चोक क्याम्पसमा आफुले अध्यापन गराउदाका शिक्षकहरुलाई समन्वय गर्दै सुदुरमा लैजाने, स्थायी शिक्षकहरु थप गर्ने जस्ता कामहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरे । यसले बिस्तारै सुदुरको इञ्जिनियरिङ शिक्षामा सुधार ल्याईरहेको थियो ।
अत्यन्त सिमित स्रोत, साधन, पुजी र जनशक्तिका बिचमा सुरु गरिएको स्कुल अफ इञ्जिनियरिङ कार्यक्रममा अहिले ३२ जना पूर्णकालीन शिक्षक / कर्मचारीहरु कार्यरत छन् । यो बिचमा शैक्षिक सत्र २०७७ /०७८ बाट कम्प्युटर इञ्जिनियरिङ र शैक्षिक सत्र २०८१/०८२ बाट आर्किटेक्चर कार्यक्रमको सुरुवात भएको छ । त्यसै गरि शैक्षिक सत्र २०७९/०८०बाट स्नातकोत्तर तहमा Construction Project Management कार्यक्रमको सुरुवात भएको छ । डा. भट्टले स्कुल अफ इञ्जिनियरिङमा पुराएको योगदानलाई कदर गर्दै विश्वविद्यालयले पुन: २०७८ को चैत्र ६ गते देखि उनलाई दोस्रो कार्यकालका लागी स्कुल अफ इञ्जिनियरिङको डीनमा पुन: नियुक्ति गरेको थियो । यही बिचमा वि.सं २०८१ असार देखि डा. भट्ट प्राध्यापक पदमा बढुवा भएका थिए । दोस्रो कार्यकालको अवधि सकिए गत चैत्र ५ मा सकिए पछि डा. भट्ट अहिले अर्को व्यवस्था नभएसम्मका लागी डीन कै रुपमा कार्यरत छन् ।
अनि सुदुरपश्चिममा भित्रन थाल्यो प्रोजेक्ट
कुनै समय शिक्षक नै भित्रन नमान्ने सुदुरपश्चिममा डा. भट्टले त्यसपछि विभिन्न अन्तराष्ट्रिय प्रोजेक्टहरु सुदुरपश्चिममा भित्राउन थाले । शिक्षकहरुको क्षमता वृद्धि गर्नुका साथै विद्यार्थी समेतलाई अनुसन्धानमा आकर्षण गराउन विश्वविद्यालयमा प्रोजेक्टहरु अत्यन्तै महत्वपुर्ण हुन्छन् । उनले सबैभन्दा सुरुमा इरासमसका प्रोजेक्टहरुका गर्नका लागी विश्वविद्यालयले तयार गर्नु पर्ने आवश्यक सबै प्रकारका कागजपत्रहरु तयार गरे र Bhutan+ Nepal : Higher Education for Sustainable Development Goals नामक पहिलो प्रोजेक्ट ३ वर्षका लागी सुदुरपश्चिमको इञ्जिनियरिङ संकायमा भित्राए, जसमा दिगो बिकासका १७ लक्ष्य, विश्वविद्यालयको नीतिगत सुधारदेखि थुप्रै पक्षहरुमा काम गर्नु पर्ने थियो, यो प्रोजेक्टबाट विश्वविद्यालयले थुप्रै पक्षमा सुधार समेत गरेको थियो । यहि प्रोजेक्ट अन्तर्गत इन्जिनियरिङ संकायमा कार्यरत शिक्षक तथा विद्यार्थीहरु युरोप, भारत, भुटान, पाकिस्तान जस्ता देशहरुमा प्रशिक्षण क्षमता विकासका सेमिनार तथा तालिमहरुमा सहभागी हुन पाएका छन् । डा. भट्टकै नेतृत्वमा पछि SQUARE Project: Sustainability and Quality Assurance for Academic Governance and Redesign of Engineering Studies नामक प्रोजेक्ट समेत सुरु भयो, जसमा इञ्जिनियरिङ कार्यक्रमका पाठ्यक्रम र बजारमा देखिएका ग्यापहरुलाई पुरा गर्न आवश्यक पर्ने सुधारहरु ४ वटा डोमेनमा राखी काम हुदैंछ । अहिले कम्प्युटर इञ्जिनिरिङ कार्यक्रमलाई लक्षित गरी Cyber Security for All प्रोजेक्ट समेत संचालनमा छ । यस्ता प्रोजेक्टहरुबाट विश्वविद्यालयमा नीतिगत सुधार मात्र भएको छैन, प्राध्यापक, कर्मचारी र विद्यार्थी समेत लाभान्वित भएका छन् ।
विश्वविद्यालय भित्र हुने विभिन्न पूर्वाधारहरुको परामर्श समेत बाहिरबाट गर्नु पर्ने कार्यको अन्त्य गर्दै शिक्षकहरुले समेतले प्रोफेशनल कार्य गर्नका लागी डा. भट्ट कै पहल र समन्वयमा इन्जिनियरिङ परामर्श सेवाको समेत सुरुवात भएको छ । यसका अतिरिक्त यति बेला विश्वविद्यालयको आफ्नै जर्नल समेत प्रकाशित छ, "जर्नल अफ इन्जिनियरिङ, टेक्नोलोजी एण्ड प्लानिङ" नामक जर्नलको सुरुवात गर्दै यसको प्रमुख सम्पादकको जिम्मेवारी समेत भट्टले निभाएका छन्, उक्त जर्नलको सातौ संस्करण समेत प्रकाशनको तयारीमा रहेको छ ।
यो १ दशकका बीचमा सुदुरपश्चिमको इञ्जिनियरिङ संकायले तिब्र बिकास गरेको छ, अनि यसको साक्षी मात्र हैन, पहलकर्ता र संवाहकका रुपमा समेत रहेका छन्, डा. किसन दत्त भट्ट । बिगत सम्झदै डा. भट्ट भन्दछन्, "सुरुमा म यहाँ आउँदा २/३ वर्ष सेवा गर्छु, एउटा गतिमा यहाँको इञ्जिनियरिङ संकायलाई पुराएपछि बिदा लिन्छु सोचेको थिए, तर यहाँ काम गर्दै जाँदा ग्रास रुटमा काम गरेको अनुभूति भयो, सुदुरबाट काठमाडौँ गएर अध्ययन गर्दाका संघर्ष मैले बुझेको छु, अहिले हामी कहाँ आर्थिक रुपले कमजोर अवस्था भएका, बिकटका विद्यार्थीहरुले समेत सर्व शुलभ रुपमा इञ्जिनियरिङ शिक्षा अध्ययन गर्न पाएका छन्, ५०% विद्यार्थीले पूर्ण छात्रवृति पाएका छन्, शिक्षामा ग्रास रुटमा योगदान पुगेको अनुभूति गरेको छु, १ दशकको यो यात्रामा यहाँको इञ्जिनियरिङ संकायको शिक्षामा ब्यापक सुधार भएको छ, थुप्रै ल्याबहरु थपिएका छन्, ३ वटा कलेजहरु अहिले सम्बन्धन लिएर संचालन भै रहेका छन्, हाम्रा अल्मुनाइहरु यहाँका स्थानीय तहदेखि विश्व कै प्रसिद्द विश्वविद्यालयहरुमा हुनुहुन्छ, यो हाम्रो उपलब्धि हो । अर्को वर्षबाट स्नातकोत्तर तहमा स्ट्रक्चरल इञ्जिनियरिङ र कम्प्युटर इञ्जिनियरिङ तथा सिभिल इञ्जिनियरिङमा विद्यावारिधि सुरुवात गर्ने गरी तयारी गरि रहेका छौँ, शिक्षक, कर्मचारी, पदाधिकारीहरुको निरन्तरको सहयोग, सहकार्य र सकारात्मक सोचका साथै विद्यार्थीहरुको उत्कृष्ट कार्यले नै यो उपलब्धि हासिल भएको र यसलाई थप उत्कृष्ट बनाउन सबैले काम गर्नुपर्नेछ ।"
भट्टले एक दशकका बीचमा सुदुरपश्चिम विश्वविद्यालयको इञ्जिनियरिङ संकायमा दिएको योगदानको यहाँका सरोकारवालाहरु समेतले मुक्तकण्ठले प्रशंसा गरि रहेका छन् । "सुदुरको इञ्जिनियरिङ शिक्षामा दुइ कार्यकाल डीनका रुपमा र विश्वका अन्य मन्चहरुमा सुदुरपश्चिम विश्वविद्यालयलाई चिनाउन डा. भट्टले निकै योगदान दिइ रहनु भएको छ।" सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तले भन्नु भयो । इञ्जिनियरिङका डीनका रुपमा विश्वविद्यालय भित्र मात्र हैन, अन्तराष्ट्रिय मन्चहरुमा समेत डा. भट्टले सुदुरपश्चिमको उपस्थितिलाई बलियो रुपमा पेश गरिरहेका छन्, उनकै नेतृत्वमा विश्वविद्यालयले अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने देखि, विभिन्न प्रोजेक्टहरुसमेत हात पार्दै आएको छ ।
विश्वविद्यालयलाई थप सुधार गर्नका लागी अझै दक्ष शिक्षक, कर्मचारी, तथा प्राविधिकहरुको आवश्यकता रहेको र सो को लागी रणनीतिक योजना समेत बनाई सकेको प्रा. भट्टले बताए । सिमित श्रोत साधनका बाबजुत पनि देशकै सुदुर भेगमा गएर इञ्जिनियरिङ शिक्षालाई विश्वविद्यालयमा स्थापित गरि इञ्जिनियरिङ शिक्षामा दुर्गम भेगका जनताको पहुच पुराउने कार्यमा डा. भट्टले ठुलो योगदान दिएका छन् । आज सुदुरपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ अध्ययन गर्ने र गरि सकेका सयौ इन्जिनियरको लागि प्रा. भट्ट एक उदाहरणीय प्राध्यापक बनेका छन् । सुदुरका इञ्जिनियरिङको एक पर्यायबाची नाम डा. भट्टकै नेतृत्वमा सुदुरपश्चिम विश्वविद्यालयले प्राप्त गरेका सफलताहरु पनि सबैका लागी प्रेरणा बनिरहेको छ ।
Your email address will not be published. Required fields are marked *