समुन्नत ठाकुरबाबा, सबल नगरबासी निर्माणका लागी अभ्यासरत ठाकुरबाबा नगरपालिका
Home News फिचर्ड स्टोरी

समुन्नत ठाकुरबाबा, सबल नगरबासी निर्माणका लागी अभ्यासरत ठाकुरबाबा नगरपालिका

इन्जिनियर खबर - Jan. 20, 2026 458302 views
images/__________________________________________.png
images/__________________________________________.png
Text Size

इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला प्रदेश- प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौ । सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले विभिन्न स्थानीय तहहरुले पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा गरेको बिकास र तीनको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुको सफलताको कथा र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ । भौतिक पूर्वाधारमा गरेको बिकास, स्थानीयसँगको अन्तरक्रिया, इन्जिनियरिङ क्षेत्रका बहु आयामका बिकासका आधारमा हामीले स्थानीय तहहरु छनोट गरि रहेका छौँ।  सबै प्रदेशका कम्तीमा एक एक पालिका छनोट गरी तीनको असल अभ्यासका बारेमा प्रकाशन / प्रसारण गर्दै आशाको संचार गर्नु गराउनु यसको प्रमुख उदेश्य हो। यो शृंखलामा हामीले लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको बिकासको स्थलगत अध्ययन गरेर विशेष सामाग्री तयार गरेका छौँ। (स्थानीय केही प्रतिनिधि जनता, बर्दिया स्थायी घर भै काठमाडौँ काठमाडौँ आएर अध्ययन गरि रहेका केही विद्यार्थीसँगको अन्तरक्रिया, विभिन्न बिकास साझेदार संस्थाहरुका प्रतिनिधि, अनि हाम्रो टोलीले दुई पटक ठाकुरबाबा नगरपालिका भित्र बसेर यहाँका स्थानीय, सरोकारवाला निकाय अनि विभिन्न व्यवसाय गरि रहेकाहरुसँगको अन्तरक्रिया तथा पालिकाले उपलब्ध गराएको तथ्यांकको आधारमा यो सामाग्री तयार गरिएको हो ।)

images/__________________________________________.png

बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट करिव २२ किलोमिटर यात्रा गरे पछि ठाकुरबाबा नगरपालिका पुगिन्छ। नेपालगंज बिमानस्थलबाट करिब ६६ किलोमिटर दुरीमा रहेको यो पालिका मुलुकको पश्चिमी क्षेत्रमा अवस्थित पालिका हो। जिल्लाको उत्तर पश्चिम क्षेत्रमा पर्ने यो पालिका साबिकका  बगनाह र नेउलापुर गा.वि.स. लाई समेटेर वि. सं.२०७२ साल असोज २ मा बबई नगरपालिकाका रुपमा र पछि शिवपुर र ठाकुरद्वारा गा.वि.स  समेतलाई समेटेर वि.सं. २०७३ फाल्गुण २७ मा ठाकुरबाबा नगरपालिकाको रुपमा स्थापना भएको हो । जम्मा ९ वटा वडामा बिभाजन गरिएको यस पालिका १०४.५७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।  यस पालिकाको जनसंख्या करिब ५७ हजार  छ भने ११५६४ घरधुरी बसोबास गर्ने गर्दछन्, कुल जनसंख्याको करिब ५५% थारु समुदाय रहेका छन् । ५४८. ५५ प्रति वर्गकिलोमिटर जनघनत्व रहेको यस पालिकाको साक्षरता दर ७६% रहेको छ। दोश्रो स्थानीय तहको निर्वाचनपछिको पहिलो नगरसभाको बैठकबाट समुन्नत ठाकुरबाबाः सवल नगरवासी आदर्श वाक्य चयन गरी सो को प्राप्तिका लागी यतिबेला नगरपालिका क्रियाशील देखिन्छ। स्थापनाको करिब एक दशक पुग्नै लाग्दा यति बेला पालिकाले भौतिक पूर्वाधार, सडक, संजाल, शिक्षा, स्वास्थ्य, संचारका क्षेत्रमा गुणात्मक फड्को मारेको छ र सामाजिक क्षेत्र बिशेषत शिक्षा र स्वस्थ्य क्षेत्रमा प्राप्त उपलब्धिले आम नागरिकले नजिकको सरकारको अनुभूति गरिरहेका छन् भने आर्थिक विकास र पूर्वाधारको क्षेत्रमा भएको उपलब्धि पनि त्यतिकै महत्वपुर्ण छ । यही समृद्धिको यात्रामा लागिरहेको नगरको नेतृत्व गरि रहेका छन् तिलक राम लम्साल 

images/__________________________________________.png

पूर्वाधारमा बिकास: सडक, बत्ति देखि बन्यजन्तु छेकबारसम्म

यति बेला ठाकुरबाबा नगरपालिकामा पूर्वाधारको राम्रो बिकास देख्न सकिन्छ। यस पालिकाका करिव ८२ वटा बस्तिहरुलाइ वडाको केन्द्र वा मूल सडकहरुसँग जोड्ने र वडाका केन्द्रलाइ नगरपालिकाको केन्द्र वा मुख्य राजमार्गहरुसँग जोडि सदावहार आवतजावत गर्न सकिने र यातायातका साधन निर्वाध सञ्चालन गर्न सक्ने गरी सडक सञ्जालहरु बिस्तार गर्न योजनाबद्व ढंगले कार्य अघि बढाएको छ ।बाटो बिस्तार नभएका बस्तीहरुमा बाटो बिस्तार गर्ने र यस अघि नै बिस्तार भएका बाटोहरुमा आवश्यकता अनुसार कालोपत्रे अथवा ग्रावेल गर्ने काम पालिकाले गरि रहेको छ। पछिल्लो तीन आर्थिक वर्षमा मात्रै २९.६६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने अर्को १७ किलोमिटर सडक समेत ठेक्का लाग्ने क्रममा छ। यसका अतिरिक्त ४७.३६ कि.मि. सडक स्तरोन्नति गरिएको छ भने ६.९ कि.मि सडकको लिग खोल्ने काम सम्पन्न भएको छ। पालिकाले संघ र प्रदेशसँग समेत निरन्तर समन्वय गरी ८.१ कि.मि सडक  पिच गरेको छ। पालिकाले सडकको गुणस्तर कायम गर्न अस्पाल्ट विधिबाट मात्र पिच गर्ने नीतिगत निर्णय नै गरेको छ। पालिकाका ३ वटा प्रमुख बजार क्षेत्रको सौन्दर्यता तथा सुरक्षाका लागी ३ वटा हाइमष्ट लाइट जडान  गरिएको छ। यसका अतिरिक्त आवश्यकताका अधारमा विभिन्न वडाहरुमा गरेर १०४६ वटा सडक वत्ती जडान गरिएको छ। यी सडकहरुमा रातको समयमा यात्रा गर्दा पूर्ण रुपमा उज्यालो पाउनु हुन्छ। सबै वडाहरुमा रहेका मुख्य चोक र मुख्य तथा सहायक सडकहरुमा सडक बत्ती जडान भएको छ । बबइ सिचाई आयोजनाको पानी नहर मार्फत कृषकलाई वितरण गर्न करिब २ कि.मि लामो सिचाई नहरको निर्माण पालिकाले गरेको छ भने ९ वटा सामुदायिक भवनहरु, ११ वटा कल्भर्ट र २५६ वटा ह्युमपाइपहरुको व्यवस्था भएको छ।

यो पालिकाको करिब ३६% क्षेत्र बनले ढाकेको छ। पूर्व, पश्चिम र उत्तर दिशामा बर्दिया राष्ट्रिय निकुञ्जले घेरेको यस पालिकाको ३२ कि.मि क्षेत्र निकुञ्जको सिमानासँग जोडिएको हुनाले वन्यजन्तुको आक्रमण र मानव बन्यजन्तु द्वन्दको अवस्था सामान्य जस्तै छ। यही अवस्थालाई राम्ररी बुझेका नगर प्रमुख तिलक राम लम्सालले पूर्वाधार बिकासको अधिकांश बजेट हात्ती छेकवारवाल कै लागी खर्च गरेका छन् । मानव वन्यजन्तु द्वन्दसँगै हात्ति र जंगली जनावरबाट अन्नवाली र मानिसको घर बचाउन अत्यन्त कठिनाइ भएको समयमा पछिल्लो दिनमा पक्कि हात्ति छेकवारवाल सफल देखिएको छ । यस योजनालाई लुम्बिनी प्रदेशले गौरवको योजनाको रुपमा स्वीकार समेत गरेको छ ।बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिइ संघ प्रदेश र नगरपालिकाले समेत प्राथमिकतायुक्त योजनाको रुपमा कार्यान्वयन गरी हालसम्म ११ किमी लम्बाइको छेकवारवाल निर्माण गरिएको छ । ठाकुरबाबा - ५ मा भेटिएका एक स्थानीय घर अगाडी पक्की सडक बनेर भन्दा पालिकाले हात्ती छेकवार वाल लगाईदिएकोमा खुशी देखिन्थे, "दिउँसोको समयमा छाडा चौपाया र रातको समयमा जंगली जनावरको बीगबीगीले कृषि बाली लगाउने अवस्था नै थिएन, तर अहिले पालिकाले यो दुवैलाई नियन्त्रण गरेको छ, यसले धेरै हद सम्म राहत दिएको छ, घर अगाडी बाटो पिच पनि भएको छ, तर हामी यही पर्खाल लगाएको कारणले बढी खुशी छौँ।" पिच गर्ने रकमलाई अन्य ठाउँमा हात्ती छेकवार कै लागी प्रयोग गरे थप प्रभावकारी हुने उनको सुझाव थियो।

अहिले पालिकाका सबै वडाहरुले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरि रहेका छन्। कतै पुराना गाउँ विकास समिति वा सार्वजनिक भवन र भाडामा सञ्चालन भएका वडा कार्यालयहरु बिस्थापित भएका छन् र नौ वटै वडामा हल र कम्पाउण्ड वाल सहित एउटै मापदण्डका कार्यालयहरु रहेका छन्, वडाहरुमा करिब १०३३ कम्पाउण्ड वाल निर्माण भएको छ । यो बिचमा पालिकाले जेष्ठ नागरिकका लागी चौतारी भवन निर्माण गर्ने देखि, पालिकाका प्रतिष्ठित व्यक्तित्वको पहिचान झल्काउने गरी चोकहरुको नामाकरण गर्ने र प्रतिमा स्थापना गर्ने सम्मको काम गरेको छ।

पछिल्लो ३ वर्षमा पालिकाको अनुदानमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत २१७ वटा सुरक्षित तथा बिपन्न घरहरु निर्माण भएको छ। गत वर्ष मात्रै १०२ जनालाई बिपन्न नागरिकको घर निर्माण भएको छ।  यसले सिमान्तकृत, बिपन्न समुदायमा खुशी छाएको छ भने स्थानीय सरकारको अनुभूति गरि रहेका छन्। यसरी पालिकाको अनुदानमा निर्माण भै रहेका घरहरु उर्जा प्रभावकारी छन्, युरोपियन युनियन अन्तर्गत स्वीच एसिया कार्यक्रमको आर्थिक सहायतामा सञ्चालित बिल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (BEEN) परियोजना संगको सहकार्यमा पालिकाले  ऊर्जा प्रभावकारी गारो निर्माण विधि Rat – Trap Bond तथा Cavity Wall निर्माण सम्बन्धि ६ दिने तालिम सञ्चालन गरी तालिम सहभागीहरुबाट उर्जा प्रभावकारी भवनहरु निर्माण गराई रहेका छन्। बिन परियोजनाले प्राय: सबै पालिकासँग समन्वय गरे पनि कार्यन्वयन भने थोरै पालिकाले मात्र गरि रहेका छन्, तिनै मध्येको एक हो ठाकुरबाबा।  यस विषयमा नगर प्रमुख लम्साल भन्छन्, "स्थानीय सरकारसँग यहाँका नागरिकका ठुला ठुला अपेक्षा छैनन्, दैनिक क्रियाकलापमा सहज होस् भन्ने अभिप्राय राखेका छन् , हामीले जनताका आवश्यकतालाई महशुस गरेर नीति तथा कार्यक्रमहरुको तर्जुमा गर्दछौँ र सोही अनुसार कार्यन्वयन गरी रहेका छौँ।"

चुस्त सार्वजनिक सेवा

सरकारको सेवा प्रवाह जनतामुखी, पारदर्शी र प्रविधिमैत्री बनाउदै नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बाट प्राप्त अधिकार र दायित्व वमोजिम नगरपालिकाबाट बनाउनु पर्ने ऐन,कानुन निर्माण, आवधिक योजना, मध्यकालीन खर्च संरचना, राजश्व सुधार योजना, संगठन तथा सर्भेक्षण प्रतिबेदन तयारी, नियमित सार्वजनिक सुनुवाइ, सेवाप्रवाह सर्भेक्षणमा शतप्रतिशत नागरिक सन्तुष्टी, सेवाशुल्कमा ५० प्रतिशत छुट लगायतका विभिन्न जनमुखिसेवाका कारण ठाकुरबाबा नगरपालिका, नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसका अवसरमा संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा देशभरिकै २९३ नगरपालिका मध्ये उत्कृष्ट नगरपालिका सम्मान २०८१ बाट  सम्मानित भएको छ ।

 स्थानीय तहको सुशासन र कार्य सम्पादनलाइ मापन गर्ने प्रमुख सूचक स्थानीय तह संस्थागत स्वमूल्याङ्कन प्रणाली र स्थानीय तह बित्तीय सुशासन जोखिम मुल्याङ्कनमा विगत ३ बर्षको विवरणलाइ बिश्लेषण गर्ने हो भने गुणात्मक ढंगले सुधार भएको छ । आ.व. २०७८ /०७९ मा स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा ठाकुरबाबा समग्रतामा नेपाल र लुम्बिनी प्रदेश भन्दा पछि रहेकोमा पछिल्लो २ बर्षमा गुणात्मक सुधार गरी तुलनात्मक रुपमा सबै भन्दा अग्रस्थान र बर्दियाका पालिकाहरुमा पनि पहिलो स्थानमा रहेको छ । स्थानीय तह बित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि आब २०७८/ २०७९ मा ठाकुरबाबा नगरपालिका समग्रतामा लुम्बिनी प्रदेश भन्दा पछाडी रहेता पनि पछिल्लो २ बर्षमा सुधार संगै समग्रतामा अग्रस्थानमा रहँदै बर्दिया जिल्लाका पालिकाहरुमा प्रथम स्थानमा रहन सफल रहेको छ। यो ३ वर्षको दौरानमा बित्त आयोगको प्रतिवेदनमा समेत पालिकाले दोब्बर अंक हासिल गरेको छ।

 

शिक्षामा ठाकुरबाबा  

ठाकुरबाबा नगरपालिकाले पछिल्लो समय शिक्षामा उल्लेख्य प्रगती गरेसँगै प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्टताको सम्मान प्राप्त गरेको छ। पालिकाले गत वर्ष कुल बजेटको ३४% रकम शिक्षा क्षेत्रमा खर्च गरेको छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीको प्रतिफल तत्काल नै नदेखिए पनि दीर्घकालीन रुपमा ठाकुरबाबाको समग्र बिकासका लागी यो लाभदायक हुने प्रमुख लम्साल बताउँछन् । नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरे  पनि पालिका भित्र आधारभूत र माध्यमिक तहको शिक्षा पूर्णतया निशुल्क हुन सकेको थिएन। २०७९ भन्दा अगाडी विद्यार्थी संख्याको अनुपातमा शिक्षक उपलब्ध नहुनु, प्रयाप्त भौतिक पूर्वाधार नहुनु, अन्य व्यवस्थापनका लागि श्रोत नहुनु जस्ता कुराले सहयोग शुल्कको रुपमा अभिभावकहरुसँग विद्यालयले शुल्क उठाइरहेको अवस्था थियो । करिव ४ हजार घरधुरी गरिबीको रेखामुनी रहेको अवस्थामा जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न पालिकाले २०७९ भाद्र २३ गते कक्षा १ देखि १० सम्म पूर्ण निशुल्क र कक्षा ११ र १२ मा लक्षित बर्गका लागि शुल्क रहित शिक्षा घोषणा गरी कार्यान्वयन गरेकोमा आर्थिक वर्ष २०८२ /०८३ देखि कक्षा १२ सम्म नै निशुल्क शिक्षा कार्यान्वयन गरिरहेको छ।जसका कारण सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्याथीहरुको आकर्षण बढेर गएको मात्र छैन सार्वजनिक शिक्षामा समेत गुणात्मक सुधार देखिएको छ।

शिक्षामा सुधारको अर्को पक्ष भनेको शिक्षक बैंकको स्थापना पनि हो। उपत्यका बाहिरका स्थानीय तह र विद्यालयहरुले भनेकै समयमा शिक्षक नपाउनु प्राय: सबै पालिकाको दुखद पक्ष हो । रिक्त पदमा शिक्षक पदपुर्ति गर्न लाग्ने लामो समय, शिक्षक सुत्केरी विदामा बस्दा करिव ४ महिना जस्तो खाली हुने कक्षाकोठा र शिक्षक लामो विदामा वस्दा शिक्षक अभाव हुने र पठन पाठन प्रभावित हुने समस्यालाई नजिकबाट बुझेका प्रमुख लम्सालले यो समस्यालाई सम्वोधन गर्न नगरपालिकाले पहिला नै प्रक्रियागत रुपमा शिक्षक छनोट गरी राख्ने र खाली भएकै दिनमा तहगत र विषयगत रुपमा विद्यालयमा खटाउने गरी शिक्षक बैंक खडा गरी राख्ने योजना बनाए। यसले विद्यालयको शिक्षण सिकाइलाई निरन्तरता दिन सहज भएको मात्र छैन, पद रिक्त भए पछि छनोट प्रक्रियामा हुने अनावश्यक तनावलाइ समेत हटाएको छ । आ.व २०८०/८१ मा छनोट भएका ६० शिक्षक मध्य १६ लाई पठनपाठनको जिम्मेवारी दिइएको थियो भने २०८१/०८२ मा ५६ छनोट भएका मध्य ८ लाई काममा लगाइएको छ।  पालिकाले त्रिभुवन नमुना मावि भुरीगाउमा अभिभावक विहिन १० जना बालबालिकाका लागी आवासीय विद्यालय संचालन गरि रहेको छ भने जलेश्वर मन्दिरमा जलेश्वर गुरुकुल विद्यालय स्थापना गरी संचलान गरि रहेको छ। पालिकाले ४ वटा क्लस्टरमा ४ वटा विग विद्यालय बनाउने अवधारणा अनुरुप काम गरि रहेको छ भने पालिका नमुना विद्यालयको अभ्यास समेत गरि रहेको छ। विद्यालयका प्रारम्भिक बालविकास कक्षाहरुलाई वातानुकुलित बनाउनुका साथै विद्यार्थी संख्या थोरै रहेका साना विद्यालयहरुलाइ ठूला विद्यालयले ब्यवस्थापन गर्ने गरी मर्ज गरेको छ।

पालिकाले कक्षा ५, ८ र १० का विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरे वापत शिक्षकहरुलाई थप प्रोत्साहन भत्ता दिदै आएको छ। उक्त रकमको पहिलो किस्ता कक्षगत आधारमा र दोश्रो किस्ता नतिजालाई आधार मानि कार्य सम्पादनमा आधारित रहेर उपलब्ध गराउदै आइएको छ।जसका कारण विद्यालयको नतिजामा पनि गुणत्मक रुपमा पनि सुधार हुदै आएको छ । गत वर्षको एसइइ परिक्षाको नतिजामा देशैभरको उतिर्ण प्रतिशत ६१.८१ रहदा, लुम्बिनी प्रदेशको ६२.३२, बर्दिया जिल्लाको ५६.४ हुँदा ठाकुरबाबा नगरपालिकाको ७२.३५% रहेको छ।सामुदायिक विद्यालयमा एकरुपता कायम राख्न पालिका भित्रका सबै सामुदायिक विद्यालयमा एउटै पोशाकको व्यवस्था गरिएको छ। यसका अतिरिक्त स्थानीय पाठ्यक्रम थप परिमार्जन गर्दै हाम्रो ठाकुरबाबा तयार गरी नियमित पठनपाठनको काम गर्दै आएको छ। 

शिक्षालाइ थप सुदृढीकरणका गर्न प्रधानाध्यापकहरु लाई प्रोत्साहन गरी कार्यक्षमता र कार्यकुशलतालाई अभिवृद्दि गर्न पहिलो चरणमा ९ वटा माध्यमिक तहका प्रधानाध्यापकहरुका लागी सेतो प्लेटको मोटरसाइकल बितरण गरेको छ भने प्रधानाध्यापक भत्तामा १०००% सम्मले वृद्धि गरेको छ  ।यसका अतिरिक्त करारका शिक्षकलाई सामाजिक सुरक्षामा जोडेका छन्। नगर र राष्ट्रिय स्तरको परीक्षामा बिषयगत उत्कृष्ट नतिजा दिने बिषयगत शिक्षकहरुलाइ १०हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । २०८१ को परीक्षाको आधारमा ८४ जना शिक्षकहरु सम्मानित भएका छन् । विद्यार्थीलाई मात्र हैन अभिभावकलाई समेत शिक्षित बनाएमा मात्र समाज बिकास गर्न सकिन्छ भन्ने भाष्य बुझेका प्रमुख लम्सालले अभिभावक शिक्षाको अवधारणा समेत ल्याएका छन्, जस अनुरुप टोलटोलमा गैर हालसम्म १६५१ जना अभिभावकहरुलाई यसमा सहभागिता गराएको छ भने थप गर्ने लक्ष्य पालिकाको छ। यति बेला नगर प्रमुख तिलक लम्साल, प्रमुख कार्यकारी रामहरी रिजाल सहितको टोली एसईइ परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सामुदायिक विद्यालयमा पुगी रहन्छन्। नगर प्रमुख नै आएर परिक्षा तयारी, शिक्षकका कार्यसम्पादन, समस्या, तिनका समाधानका उपायका बारेमा चासोका साथ सोध्नाले परिक्षाको तयारीमा रहेका विद्यार्थी खुशी देखिन्छन्। बर्दिया जिल्लाकै सबैभन्दा बढी विद्यार्थी रहेको त्रिभुवन मा.वि सहित यहाँका सामुदायिक विद्यालयहरुलाई तीनतारे विद्यालयको मापदण्डमा पुर्याउन खानेपानी, सरसफाई र स्वच्छताको स्वमूल्यांकन गरी  सुरक्षित खानेपानी, लैगिक तथा अपांगमैत्री शौचालय र फोहर व्यवस्थापन कार्यलाई व्यवस्थित बनाइरहेको छ।  शिक्षा क्षेत्रको भौतिक बिकासमा पालिकाको प्रगती उलेख्य छ। पछिल्लो ३ वर्षमा सामुदायिक विद्यालयका १९ वटा भवनहरु निर्माण भएका छन् जसमा जम्मा ११९ वटा कक्षाकोठाहरु छन्। यसका अतिरिक्त ३२ क्याबिनका ७ वटा शौचालयको निर्माण भएको छ।

निशुल्क शिक्षा कार्यान्वयनका लागी नगरपालिकाले गरेको नीतिगत व्यवस्था, शिक्षक बैंक स्थापना, तहगत दरबन्दि मिलान लगायत संरचनागत विकासका साथै ठूलो लगानीका कारण शिक्षा पत्रकार समूहबाट ठाकुरबाबा नगरपालिका देशभरिकै उत्कृष्ट नगरपालिका र Principals Association of Nepal बाट लुम्बिनी प्रदेशको पनि उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको छ ।

शिक्षामा पालिकाको ठुलो लगानी रहेकाले यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले भोलि देश र ठाकुरबाबाको बिकासका लागी थप योगदान दिनेमा पूर्ण आशाबादी देखिन्छन् प्रमुख लम्साल ।"गरिबका छोराछोरी पढ्ने स्कुलमा राजनैतिक दलका नाममा हामीले गलत क्रियाकलाप नगर्ने हो भने विद्यालय सुध्रन बेर नै लाग्दैन, भौतिक पूर्वाधारको बिकास मात्र भएर हुदैँन, हामीले अझै यहाँ चेतना जागृत गर्नु छ र चेतनाको संचार गर्ने उपाय भनेकै विद्यालयलाई सुधारेर मात्र हो, हामीले सुधारका लागी शिक्षकलाई प्रोत्साहन देखि विद्यालय मर्ज सम्मका नीति अवलम्बन गरेका छौँ।" निक्कै आशावादी स्वरमा उनले भने, "यहीँ विद्यालयहरुबाट हामीले दक्ष जनशक्ति उत्पादन गर्छौं, समय लाग्ला तर हामीले उत्पादन गर्छौं, विश्वस्त हुनुस्।"

खेलकूदमा ठाकुरबाबा

स्वास्थ्य लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित ठाकुरबाबा नगरपालिकाले नियमित रुपमा खेलकूदका गतिविधिहरु सञ्चालन गर्न नगर खेलकूद विकास समिती गठन गरेको छ । नगरपालिकाले सञ्चालन गर्दै  आएका खेलकुदका गतिविधिहरु नगर खेलकूद विकास समितिबाट सञ्चालन  भै रहेकोछ ।पालिकाले नियमित रुपमा वडा स्तरीय, नगर स्तरिय तथा राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको छ।यसका साथै नगरपालिकाबाट खेल प्रशिक्षक नै राखी विद्यालय तहमा नै नियमित रुपमा खेलकूद कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। पालिकाले जिल्ला, राष्ट्रिय, अन्तराष्ट्रिय पदक विजेतालाई सम्मान समेत गर्दै आएको छ। जिल्ला स्तरिय रनिंग शिल्ड, राष्ट्रिय, अन्तराष्ट्रिय खो खो पतियोगितामा सहभागिता), खेलाडी सम्मान तथा प्रोत्साहन)जस्ता कार्यक्रम पनि नियमित रुपमा गरिदै आएको छ । खो खो खेल र ठाकुरबाबा नगरपालिका एक आपसका पर्यायबाची जस्तै छन्। नेपालले खो विश्वकप २०२५ मा महिला र पुरुष तर्फको दुबै खेलमा उपविजेता हुन सफल हुदाँ सहभागी आधा भन्दा बढी खेलाडीले ठाकुरबाबा नगरपालिकाका छन् ।नेपालमा नै पहिलो पटक खो खो लिग चरण आयोजना यही पालिका भित्र भएको छ। पालिकाकै लगानीमा कभर्ड हलको निर्माण समेत सम्पन्न भएको छ, यसका अतिरिक्त प्रत्यक विद्यालयहरुमा खेल सामाग्रीको व्यवस्था, खेल मैदान, कभर्ड हलहरुको व्यवस्थापन जस्ता काम पनि पालिकाले गरि रहेको छ।

संस्कृति र पर्यटनमा ठाकुरबाबा

ठाकुरबाबा नगरपालिका सांस्कृतिक, धार्मिक, जातीय हिसाबले बिबिधता भएको स्थानीय तह हो। थारु समुदायको बाहुल्यता रहेको यस पालिकामा  नगरस्तरीय भाषा, कला, साहित्य,संस्कृतिको संरक्षण, विकास र प्रवर्धन गर्नका लागि ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान ऐन २०८० निर्माण गरी ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । लुम्बिनी प्रदेशमै दोश्रो प्रज्ञा प्रतिष्ठानका रुपमा गठन भएको ठाकुरबाबा प्रज्ञाप्रतिष्ठानले स्थानीय कला, साहित्य, संस्कृति संरक्षण लगायत विभिन्न उल्लेखनीय गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

मगर, नेवार, दलित समुदायको हुड्के लगायत डेउडाप्रेमि समुदायको भावनालाई सम्बोधन गर्दै प्रतिष्ठानबाट डेउडा संस्कृति संरक्षण, लाखेनाच कार्यक्रम आयोजना, मारुनी नाच संरक्षणका लागि तालिम लगायत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसका साथै प्रज्ञा  प्रतिष्ठानबाट परम्परागत तथा रैथाने खाना र बस्तुहरुको संरक्षणका काम पनि सुरु गरेको छ ।  स्थानीय लोक साहित्य र संस्कृतिको जगेर्ना गर्न महिलालाई पन्चेबाजा, मादल बजाउने तालिम दिदै आएको छ भने खुला लोकनृत्य तथा कविता प्रतियोगिता आयोजना हुँदै आएको छ। 

स्वास्थ्यमा ठाकुरबाबा

स्वास्थ्यका क्षेत्रमा पनि ठाकुरबाबाले प्रगती गरि रहेको छ। संविधानले निःशुल्क स्वास्थ्य सेवाको अवधारणालाई विकसित गरे अनुरुप ठाकुरबाबा नगरपालिकाले नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट अत्यावश्यक निःशुल्क उपचार सेवा सुरु गरी नगरबासीको स्वास्थ्यको हक सुनिश्चित गर्ने प्रयास गरेको छ।संघीयता कार्यान्वयनका क्रममा स्थानिय तहको स्वास्थ्य क्षेत्रका जिम्मेवारीहरु पूरा गर्न नगरपालिका अन्र्तगत स्वास्थ्य शाखाको स्थापना गरिएको छ। यस नगरपालिकामा आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न ४ स्वास्थ्य चौकी, ५ आधारभुत स्वास्थ्य सेवा केन्द्र,२९ गाँउघर क्लिनिक, ३० खोप क्लिनिक, ८३ जना महिला स्वास्थ्य स्वयम् सेविका छन् । यसै गरी साबिकमा स्वास्थ्य चौकी नरहेका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु स्थापना भई सञ्चालनमा आएका छन् । यस नगरपालिकाले गरिब, अल्पसंख्यक, पिछडिएका सिमान्तकृत, लक्षित वर्ग, उमेर समुह, शारीरिक तथा मानसिक रुपमा अशक्त नागरिकहरुमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ ।

यस नगरपालिका अन्र्तगत २ वटा स्वास्थ्य चौकीबाट पाँच प्रकारका परिवार नियोजनका साधन तथा प्रसुती सेवा उपलब्ध छ । यस्तै गरी यस पालिका भित्र बिभिन्न किसिमका निजी स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्दै आएका छन्। यस नगरपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा ९१ जना स्वास्थ्यकर्मिद्धारा स्वास्थ्य सेवा प्रदान गरिदै आइएको छ । स्वास्थ्यकर्मि र जनसंख्याको अनुपात हेर्दा ४२५२ जनसंख्यालाई १ जना प्यारामेडिक्स तथा ६१४ जनसंख्यालाई १ जना महिला स्वास्थ्य स्वयंसेविका हुन आउँछ । पालिकाले भिडियो एक्सरे, विरामी भर्ना तथा सामान्य शल्यक्रियालगायत २४ घण्टे एमरजेन्सी सेवा सहित नगर अस्पताल सञ्चालन गरिएको छ । यसका साथै नागरिकहरुको लागि सबै स्वास्थ्य संस्थाबाट प्रदान गर्नुपर्ने आधारभूत सेवा, समयमै औषधि आपुर्ति सेवा, स्वास्थ्य विमा सेवा,  भेन्टिलेटर सहितको सर्पदंश उपचार सेवा,  रेविज खोप सेवा र जटील अवस्थामा रेफर गर्नुपर्ने सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा, निशुल्क भिडियो एक्स रे सेवा प्रदान गर्दै आएको छ । क्यान्सर पीडित मृगौला रोगि र मेरुदण्ड चोट भै पक्षघात भएका बिरामिहरुलाइ मासिक उपचार खर्च सुविधा समेत उपलब्ध गराउदै आएको छ।  सुबिधा सम्पन्न नगर अस्पतालको नयाँ भवन तयार भै सकेको छ भने आगामी महिना भित्र नयाँ भवनबाट नगर अस्पतालले सेवा प्रवाह गर्नेछ। १० वटा स्वास्थ्य संस्थाबाट पछिल्लो तीन आर्थिक वर्षमा मात्र २०३५४७ सेवाग्राहीले सेवा लिएका छन्। स्वास्थ्य विमा सेवा लिन पनि यस पालिकाका जनताहरु नेपालगन्ज पुग्नु पर्ने अवस्थाको अन्त्य गर्न आधारभुत नगर अस्पतालबाटै स्वास्थ्य विमा सेवा प्रदान गर्न २०८० देखि स्वास्थ्य विमा सेवा तथा शुरु गरिएको छ । स्वास्थ्य विमा सेवा शुरु भएपछि हालसम्म ८९४८ जनाले सेवा लिइसक्नु भएको छ । जनताको आधारभुत स्वास्थ्य सेवा सन्देश सम्वाहकको रुपमा तथा स्थानीय आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुरयाउने काम गर्दै आइरहेका महिला स्वास्थ्य स्वयमसेविकालाई नगरपालिकाबाट पनि विभिन्न किसिमका क्षमता अभिबृद्धि तालिमहरु र सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयसेविकालाई जनही १ लाख रकम सहित बिदाई ,स्वयमसेविकाको निशुल्क स्वास्थ्य विमा लगाएतका प्रोत्साहनका कामहरु पालिकाले गरि आएको छ।

पालिकाले विशेषज्ञ स्वास्थ्य शिविर समेत संचालन गरि रहेको छ। साप्ताहिक रुपमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन विशेषज्ञ सेवा र बृहत रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर, हरेक वर्ष आखा शिविर, कान शिविर र त्रैमासिक रुपमा रक्तदान शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरहरुबाट स्थानीयहरु लाभान्वित भएका छन् भने स्थानीय सरकारले आफुहरुको अपनत्व लिएको महशुस गरि रहेका छन् । 

गरि खाने समाजको निर्माण गरी रहेका प्रमुख लम्साल

प्राय: सबै स्थानीय तहहरुले पछिल्लो वर्षहरुमा गरेको बिकास भनेका नै सडक ढलान हो। घर अगाडीको सडक चिल्लो हुने तर त्यही सडक हुँदै घरमा प्रवेश गर्ने मान्छे सिपको अभावमा बेरोजगार बस्नु पर्ने नेपाली समाजको नियति जस्तै बनेको छ। यही यथार्थलाई नजिकबाट देखेका लम्सालले भौतिक पूर्वाधारसँगै मानव संसाधनको बिकासलाई पनि  सँगै लैजाने प्रयत्न गरेका छन्।बजेट विनियोजन गर्दा नै पालिकाले भौतिक पूर्वाधार सहित मानव संसाधनका लागी बजेट बिनियोजन गरि रहेको छ ।

यसका साथै महिलाहरुलाई सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक एवम् आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागी पालिकाले चालेका कदम प्रशंसायोग्य छ। पालिकाले यति बेला विभिन्न प्रकारका सिपमुलक तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ जसबाट हजारौँ जनता लाभान्वित भएका छन् । तराइमा उत्पादन हुने मकैको पोस्कर खेर गै रहेको अवस्थालाई देखेर यसबाट टोपी र ब्याग बनाउने तालिम पालिकाले दिएको छ गत आर्थिक वर्षमा ४० जना महिलाले यस प्रकारको तालिम लिएर लाभान्वित भएका छन्। अवसरबाट कोही पनि बन्चित नहुन् भन्ने ध्ययले लक्षित वर्गका लागी निशुल्क लोकसेवा तयारीको कक्षा पालिकाले संचालन गरेको छ, यसबाट करिब १०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन्। रेसामा आधारित हस्तकला सामाग्री बनाउने तालिमबाट २० जना भन्दा बढी लाभान्वित भएका छन् भने, द्वन्दपिडित महिलालाई डिप फ्रिज सहितको आइसक्रिम ठेला सहयोग गरेको छ।सालको पातको दुना टपरी बनाउने तालिम देखि अचार बनाउने तालिम सम्मको सिप प्रवर्धनको काम पालिकाले गरि रहेको छ। दलित समुदायको परम्परागत सिपलाई प्रवर्धन गर्न सामाग्री हस्तान्तरण गरेको छ। पालिकासँग तालिम लिएर अहिले काम गरेर मासिक राम्रो आर्जन गरि रहेका छन् यहाँका स्थानीयले । प्रोफेसनल कुक, प्लम्बिङ्ग, लाइट भेहिकल मेकानिक, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ् जस्ता दिगो बिकासका सिप योजना पनि पालिकाले संचालन गर्दै आएको छ।  CTEVT Level 2 का विभिन्न प्रकारका गरी ३६९६ घण्टा सिप तालिमहरु संचालन भएको छ। एक हप्ताको मात्र तालिम लिएका स्थानीय महिलाले मासिक पचास हजारसम्म कमाउने गरेको तथ्यांक पालिकासँग छ । तर पालिकासँग तालिम लिएका र खासै केही नगरेका केही पात्रहरुले गर्दा केही तालिमहरु नाम मात्रको भै रहेको र त्यसले प्रशिक्षक, प्रशिक्षार्थी र नगरको समेत समय र बजेट खेर गइ रहेको उनको बुझाइ छ। त्यसैले आवश्यकताको तालिम लिएर त्यसलाई जीविकोपार्जनसँग  जोड्न र ती तालिमहरुको प्रभावकारिता कायम राख्न पालिकाले थप काम गरिरहेको लम्सालले बताए ।

कृषकका ठाकुरबाबा

ठाकुरबाबा नगरपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार भनेको नै कृषि हो। झन्डै ६५०० घरधुरी कृषि पेशामा आबद्द छन्। कृषि क्षेत्रको सुधार गर्ने उद्देश्यले नगरपालिकाले समुन्न्त ठाकुरबाबा सवल नगरवासी बनाउने ध्येयका साथ ठाकुरबाबा नगरपालिकाका आर्थिक विकासको सम्भावना बोकेका क्षेत्रहरुको विकास, व्यवसायिक उत्पादन र बजारीकरणका लागि नगरपालिकाले नियमित रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। आ.ब २०७९/०८० बाटै कृषिमा लहर: समृद्ध नगर भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरु अगाडि सारेको थियो । व्यवसायिक उत्पादनका लागि प्रोत्साहन गर्न नमुना खेती गरेर सिकाउने कार्यका साथै कृषि उपज भण्डारका लागि शितभण्डार निर्माण कार्य अगाडी बढाएको छ। छोटो समय भण्डारका लागि कोल्ड रुम निर्माण भएको छ भने कृषकहरुले उत्पादन गरेका बस्तुको उचित मूल्य प्राप्तिका लागि कृषि उपजको समर्थन मूल्य तोकि खरिदका लागि बिउपूजी उपलब्ध गराइएको छ। समर्थन मूल्य तोकेर खरिद कार्य सुरु गरेपछि कृषकहरुले झण्डै दोब्बर मूल्य प्राप्त गर्न सफल भएका छन् । यसका साथै बीउ धान उत्पादन गर्ने कृषकलाई उत्पादनमा आधारित अनुदान, एक वडा एक नमुना कृषक, गरेर सिक्ने प्रविधि कृषक पाठशाला, सिचाइ सुविधा नपुगेका स्थानका लागि बोरिंग, मोटर अनुदान सहयोग, बबइ सिचाइ आयोजनाको समन्वयमा सिचाइ नहर निर्माण जस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् । रैथानी बाली प्रवर्धनका लागी पालिकाले विशेष कार्यक्रम नै संचालन गरि रहेको छ। अहिले पालिकाभित्रका कुल खेतियोग्य जमिनको झन्डै ८०% क्षेत्रमा खेती भै रहेको छ।

ठाकुरबाबा नगरपालिकामा अव्यवस्थित र छाडा छाडिएका गाइहरुका कारण समुदायको वालीनाली क्षति हुने जस्ता समस्यालाई न्यूनिकरण गर्न ठाकुरद्धारा ५ बनकट्टीमा गौशाला निर्माण गरी छाडा छाडिएका गाइहरुलाई एकत्रित गरी गौशाला निर्माण गरी व्यवस्थापन गरेको छ । पालिकाले बाख्रा, खसी, राँगाको व्यवसायिक उत्पादनका लागी बिउ राँगा, बिउ बोका, कृषि सामाग्री वितरण जस्ता कार्यक्रमहरु नै संचालन गर्यो। बाख्राका खोर सुधार, गडयौला मल उत्पादन, सामुहिक बजारीकरण अभियान जस्ता कार्यक्रम कृषि क्षेत्रका लोकप्रिय कार्यक्रम हुन्। यसबाट आर्थिक उपार्जन भएको छ।

संघ र प्रदेशको कार्यशैलीप्रति गुनासो

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्साल संघ र प्रदेश सरकारका कार्यशैली र गर्ने व्यवहारप्रति गुनासो गर्दछन्। संघ र प्रदेशले स्थानीय तहको माग र आवश्यकताको आधारमा भन्दा पनि विभिन्न मानिसहरुको पहुँचका आधारमा बजेट बिनियोजन गरिदिनाले समस्या एका तिर हुने र बजेट अन्तै तिर बिनियोजन भै रहेको प्रमुख लम्सालको गुनासो छ र यो समस्याको समाधान हुने हो भने थुप्रै परिणाम देखिनेमा उनी विश्वस्त छन् । केन्द्र र प्रदेश सरकारले समेत केही नीतिगत सहज बनाइदिए मात्र धेरै समस्याको समाधान हुने उनले बताए।

सामुदायिक बनबाट प्राप्त हुने १० % लोयल्टी प्राप्त हुन नसकेको र त्यसबाट ठुलो राजस्व गुमी रहेको तितो अनुभव उनीसँग छ। उनी निर्वाचित भै सके पछि पालिकाले संकलन गर्ने राजश्वको दर आधा घटाउदा पनि करिब तीन गुणा बढी राजश्व संकलन भै रहेको छ। पालिकाको ठुलो हिस्सा बनले ओगटेको, ती बनले कार्वन उत्सर्जनलाई कम गर्न मद्दत पुराइ रहेको हुनाले नेपालले यी विषयमा अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने लोयल्टीको केही प्रतिशत मात्र भए पनि पालिकालाई दिनु पर्ने उनी बताउछन्, "मानव - बन्यजन्तु द्वन्दको अवस्थालाई न्यूनीकरण गर्न हामीले बजेटको ठुलो हिस्सा लगानी गर्नु परेको छ, जुन हामीले अन्य सामाजिक बिकासका बजेट कटौती गरेर बिनियोजन गरी रहेका छौँ, सरकारले विभिन्न दातृ निकायबाट पाउने यस्ता लोयल्टी हामी जस्ता पालिकालाई उपलब्ध गराउनु पर्ने हो, तर त्यस्तो हुन सकी रहेको छैन। " सरल जीवन बिताउने राजनीतिज्ञलाई मन्त्रालय, बिभाग र अड्डाले समेत खासै महत्व नदिने तितो अनुभव सुनाउँदै उनले भने, "सिंहदरबारको खाल्डोले राजधानी बाहिरलाई हेर्ने नजर नै फरक छ, यहाँका जनजीविकाका सन्दर्भमा जोडिएको मुद्दालाई त्यति महत्व दिएर सुन्दैन, यसमा सुधार हुन जरुरी छ।"  १ मेगावाट सोलर निर्माण र ठुला जलाशय सहितका पर्यटन पूर्वाधार निर्माण आफ्ना प्रमुख योजना भए पनि संघीय सरकारका केही बाध्यात्मक कानुनले जग्गा प्राप्तिमा ढिलाई भै रहेको मेयर लम्साल बताउछन्।

अन्त्यमा,

images/__________________________________________.png

भौगिलिक हिसाबले सुगम क्षेत्र हुनाको फाइदा पक्कै पनि ठाकुरबाबाबले लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन। संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, लम्साललाई त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला तिलक लम्साल नेतृत्वको ठाकुरबाबा नगरपालिकाले केही आशालाग्दो काम गरि रहेको छ । टोलटोलमा स्थानीय सरकार कार्यक्रम मार्फत गाउँ टोलमा आगो तापिरहेको अवस्थामा पालिका प्रमुखलाई भेट्दा, बिकास योजनाका बारेमा चासो राख्दा आफुहरु खुशी भएको स्थानीयको प्रतिक्रिया छ।   लम्साललाई २०७९ को निर्वाचनमा ठाकुरबाबाका ९०४२  मतदाताले विश्वास गरेका थिए । राजनैतिक दलप्रति जनताको बढ्दो बितृष्णा, जेन जी आन्दोलनका बाछिट्टा, जनताको आक्रोश, स्थानीय तह भित्र हुने बिबाद, नदीजन्य पदार्थको उत्खनन, आफ्नै र फरक दलबाट निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने बाध्यता,  परिवर्तनका क्रममा आफ्नै दल र फरक दलबाट आउन सक्ने अवरोध जस्ता चुनौतीका बिच लम्सालको आगामी करिब डेढ वर्षे कार्यकाल आजै आकलन गर्नु केही हतारो हुन सक्छ, तर बिहानीले दिनको संकेत गर्छ भनेझैँ सडक, संजाल र पूर्वाधारको बिकासमा ठाकुरबाबाले राम्रै प्रगती गरिरहेकै छ र यो बिकासको नायक बनि रहेका छन् प्रमुख लम्साल। 

images/__________________________________________.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *