सफा र स्वच्छ सिद्धार्थनगरको लडाई लडि रहेका नगर प्रमुख इश्तियाक अहमद खाँ
Home News फिचर्ड स्टोरी

सफा र स्वच्छ सिद्धार्थनगरको लडाई लडि रहेका नगर प्रमुख इश्तियाक अहमद खाँ

इन्जिनियर खबर - Jan. 25, 2026 300005 views
images/4.png
images/4.png
Text Size

रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित सिद्धार्थनगर नगरपालिका लुम्विनीको प्रवेशद्वार र रुपन्देही जिल्लाको प्रशासनिक केन्द्रको रुपमा रहेको छ। क्षेत्रफलको हिसाबले रुपन्देही जिल्लाको सबैभन्दा सानो स्थानीय तहको रुपमा रहेको यो पालिका गत वर्ष सहरी योजना, पूर्वाधार बिकास तथा विपद व्यवस्थापनको क्षेत्रमा देशै भरका उत्कृष्ट पालिकाका रुपमा पुरस्कृत भएको छ। पालिकाले पछिल्लो समय फोहोर व्यवस्थापन, सहरी सौन्दर्यकरण जस्ता क्षेत्रमा उल्लेख्य प्रगती गरी रहेको छ अनि यही बिकासको नायक बनि रहेका छन् यहाँका नगर प्रमुख इश्तियाक अहमद खाँ।

images/4.png

इश्तियाक अहमद खाँ नेतृत्वको सिद्धार्थनगरको प्रगतीको स्थलगत अवलोकन सहित यसको दस्तावेजीकरणका लागी इन्जिनियर खबरको टोली भैरहवा प्रवेश गरेको थियो। यिनै इश्तियाक अहमद खाँले नेतृत्व गरेका सिद्धार्थनगर  नगरपालिकाले पछिल्लो समय पूर्वाधार, सडक, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय प्रगती गरेको भनेर विभिन्न सरोकारवाला निकायले गराएको जानकारी र हाम्रो रिसर्च टिमले केही समय पहिले भैरहवा नै गएर स्थलगत अध्ययन गरेर फर्किए पछि विशेष सामाग्री तयार गर्न इन्जिनियर खबरको टिम गत शनिबार भैरहवा पुगेको थियो। नगरपालिकाको समृद्धिको कथा प्रकाशन गर्न पुगेको हाम्रो टिमले फर्कने बेला अर्को निर्णय गर्यौ, प्रमुखको कथा बिना सिद्धार्थनगरको कथा समेत अपुर्ण हुनेहुनाले सफा र स्वच्छ सिद्धार्थनगरको लडाई लडि रहेका नगर प्रमुख इश्तियाक अहमद खाँ शिर्षकमा अर्को सामाग्री प्रकाशन गर्ने।

images/4.png

इश्तियाक अहमद खाँ भन्दा अगाडी उनका सातौ पुस्ता भैरहवा बसाई सरेर आएका थिए। भारतको सिमावर्ती सहर नौतुनामा प्रवेशिक सम्मको अध्ययन गरेका उनले पछि त्रिचन्द्र बहुमुखी क्याम्पसबाट बिज्ञानमा स्नातक सम्मको औपचारिक अध्ययन गरे। पछि भैरहवा फर्किएपछि उनी घरजग्गा व्यवसायमा होमिए र भैरहवा क्षेत्रकै पहिलो रियल स्टेट व्यवसायी बने। सबल आर्थिक स्थिति भएका परिवारमा जन्मिएका उनले आफ्नो जग्गा बेचेर साढे चार लाख रुपैया लगानीबाट सुरु गरेको व्यवसाय भैरहवा, परासी, कपिलवस्तु हुँदै काठमाडौँसम्म पुग्यो। यो बिच व्यवसायको क्षेत्र मात्र बढेन लाख लगानीबाट सुरु भएको उनको कारोबार करोड सम्म पुग्यो, उनलाई अहिलेपनि भैरहवाका पुराना स्थानीयले घर जग्गाव्यवसायी कै रुपमा चिन्दछन्। २०६० साल तिर सुर्य बहादुर थापा प्रधानमन्त्री हुँदा उनी यही पालिकाको वडा अध्यक्ष थिए। करिब १ वर्ष कार्यकाल सम्हालेका उनले त्यती बेला सन्तोषजनक कार्यसम्पादन गरेका यहाँका स्थानीयको बुझाइ छ। पहिले राप्रपासँग नजिक रहेका उनी २०७४ मा नेपाली काङ्ग्रेसमा आबद्द भए र २०७९ सालमा नेपाली काङ्ग्रेसबाट नगर प्रमुखको उमेदवारमा सिफारिस भए। निर्वाचनमा खानले ९१३४ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी राप्रपाका सागर प्रताप राणाले ८१३७ मत ल्याए। निर्वाचनमा बिजयी भएसँगै उनी पालिकाको बागडोर सम्हाल्न सिद्धार्थनगर प्रवेश गरे।

सिद्धार्थनगर: नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” अवस्थित रहेको पालिका, भारतसँग सिमा जोडिएको पालिका, क्षेत्रफलका हिसाबले सानो पालिका, स्थानीयको चेतनास्तर, खुल्ला सिमाना अनि तिनका बिबाद, कार्यपालिकामा आफु र फरक दलबाट निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने बाध्यता, पुरानो र आलस्य कर्मचारीतन्त्र यस्तै यस्तै अवस्थाका बिच सिद्धार्थनगरको नेतृत्व लिन त्यती सहज थिएन। नेतृत्वमा आए देखि नै उनले यहाँको फोहोरमैला व्यस्थापन आफ्नो प्रमुख उद्देश्य रहेको बताईरहेका थिए। घोषणापत्र देखि आफ्ना सम्बोधनहरुमा फोहोरमैला व्यवस्थापनलाई नै अघि सारेका उनले सुरु देखि यही क्षेत्रमा काम गर्न खोजिरहे, अहिले पनि उनी स्वच्छ सिद्धार्थनगरको लडाई लडी रहेका छन्।

क्षेत्रफलका हिसाबले सानो सिद्धार्थनगरमा सार्वजनिक जग्गाको अभावलाई नजिकबाट देखेका खानले छिमेकी पालिका रोहीणी गाउँपालिकामा अवस्थित आफ्नै जग्गामा फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्न भरपुर प्रयास गरि रहेका छन्। फोहोर व्यवस्थापन हुन नसकेको भन्दै अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिहरुको तिब्र आलोचना हुनुका साथै कयौ पटक स्थानीयले पालिकाका विरुद्द धर्ना दिने देखि नाराबाजी गर्नेसम्म गरेका थिए। फोहोर कै बिबादका कारण थुप्रै पटक स्थानीयको अवरोधलाई देखेका खानले आफ्नो कार्यकालको सुरुवातमा फोहोर व्यवस्थापनको उद्देश्य सहित केही सिकाइ र अनुभव सुन्न निर्वाचित भएको करिब २०/२५ दिनमा नै भारतको इन्दौर क्षेत्रको भ्रमणमा गए। इन्दौर त्यही क्षेत्र हो, जसले लगातार ५ पटक उत्कृष्ट सफा र हरियाली सहरको रुपमा पुरस्कार हात पारेको छ।आज स्थानीय तहको फोहोर व्यवस्थापनको उत्कृष्ट अभ्यासको रुपमा सिक्न र अनुभव हासिल गर्न विश्वका थुप्रै अनुसन्धानकर्ता, नीति निर्माताहरु इन्दौरको भ्रमण गर्दछन्।आफै बिज्ञानका विद्यार्थी भएका कारणले उनलाई फोहोर व्यवस्थापनका विभिन्न बिधिहरुका बारेमा सामान्य जानकारी भने थियो, इन्दौरको भ्रमण पछी उनी थप उत्साह सहित नेपाल फर्किएर भैरहवामा पनि यस्तै प्रकारको प्लान्ट लगाएर फोहोर व्यवस्थापन गर्ने पक्षमा थिए। तर दुर्भाग्य आज सम्म पनि फोहोर व्यवस्थापनका लागी जग्गाको व्यवस्था हुन सकेको छैन भने नगर प्रमुख स्वयमको जग्गामा व्यवस्थापनका लागी प्रयास गरे पनि त्यो सफल हुन सकिरहेको छैन।

रोहीणी गाउँपालिकामा नगर प्रमुख खानका आफ्नो समूहको करिब ३० / ४० बिघाह नीजी जग्गा छ, त्यही जग्गामा उनले फोहोर व्यवस्थापनको प्लान्ट स्थापना गर्न खोजेका थिए, सुरुमा यहाँका स्थानीयहरु उनका योजनाप्रति खुशी देखिए पनि पछी विभिन्न हल्लाको पछी लाग्नाले फोहोर व्यवस्थापन केन्द्रको स्थापना गर्न नसकेको उनले बताए। फोहोर खुल्ला ठाउँमा राख्ने, त्यसको दुर्गन्ध बस्ती सम्म प्रवेश गर्ने हो कि भन्ने स्थानीयको आशंकाले प्लान्ट स्थापनामा ढिलाई हुदै गएको हो। तर यता खानका अनुसार, "भैरहवाबाट संकलित भएको फोहोरलाई बन्द गाडीमा त्यहाँसम्म पुराउने र त्यहाँ पनि व्यस्थित वातावरणमा यसको पुन: प्रयोग, यसबाट उर्जा उत्पादन गर्न सकिने फोहोरबाट उर्जामा परिवर्तन गर्ने अनि रासायनिक मल सम्मको उत्पादन गर्न सकिने सम्भावना रहेको छ, इन्दौर लगाएतका थुप्रै ठाउँमा यसको प्रयोग गरिएको छ, सिद्धार्थनगरको मात्र नभई हामीले छिमेकी पालिकाहरुको फोहोर समेत प्रयोग गरेर यसको रिसोर्स रिकभरीमा ध्यान दिन सक्छौँ, यसबाट उत्पादन गर्न सकिने मलले हाम्रो अर्थतन्त्रमा समेत टेवा पुराउछ" निकै उत्साहित भावमा खानले भने, “मैले जुन ठाउँमा प्लान्ट स्थापना हुन्छ, त्यहीको स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर रोजगारका अवसरहरु उपलब्ध गराउने, त्यहाका सार्वजनिक ठाउँहरुमा बिकास बजेट उपलब्ध गराउने, यहाँबाट उत्पादन हुने आम्दानीलाई केही वर्षसम्म त्यहाँ मात्र प्रयोग गर्ने र फोहोर व्यवस्थापन प्लान्टलाई एउटा व्यवस्थित पार्कको रुपमा संचालन गर्ने गरी तयारी गरेको छु, यहाँबाट  CNG देखि मल सम्म उत्पादन गर्न सकिने सम्भावना छ, त्यो सुरुमा यही प्रयोग होस्, तर व्यवस्थित वातावरणमा फोहोरलाई व्यवस्थापन गर्ने गराउने हाम्रो उद्देश्य पुरा होस् ।“

चेतनाका अभावले स्थानीयको अवरोध हुनु स्वाभाविक भए पनि यो सबै बुझेका चेतनशील र केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवारीपनले स्थानीयमा संशय उत्पन्न भएको उनको बुझाइ छ, “उँहाहरुलाई बुझाउने प्रयास गरिरहेको छु, जिम्मेवार व्यक्तिहरुले साथ दिनु भयो भने फोहोरको लडाई पक्कै जित्छु, यो लडाई मैले मात्र जित्दिन सिंगो भैरहवाले जित्छ, फोहोरलाई व्यवस्थापन गर्ने प्रयास गरी रहेका थुप्रै पालिकालाई उदाहरण हुन सक्छ, आसपासका थुप्रो पालिकाको फोहोर व्यवस्थापनको समस्या हल हुन सक्छ,  रासायनिक मलको आपुर्ती घट्न सक्छ, हामीले अहिले यो काम गरेनौ भने फोहोरको दीर्घकालीन समाधान हुनै सक्दैन, वर्षौ पिछे फरक फरक ठाउँमा फोहोर थुपार्ने प्रवृतिले त्यहाँको वातावरणमा गम्भिर असर परिरहेको छ, लिचेटको उचित व्यवस्थापन नहुँदा भूमिगत पानीका स्रोतहरू प्रदूषित भइरहेका छन्, पानीका स्रोतहरूमा एमोनिया लगायतका ग्यासको मात्रा समेत बढ्दै गएको अनुसन्धानले देखाएको छ, यो प्लान्ट स्थापना गर्न सकिए यी समस्याको समाधान मात्र हुदैन विभिन्न क्षेत्रमा फड्को मार्न सक्छौँ, मलाई विश्वास छ, यहाँको स्थानीयले विश्व भर नै अपनाइएको यो प्रुभन प्रविधिको प्रयोग गर्न साथ दिनु हुनेछ।” फोहोर व्यवस्थापनमा मात्र हैन केही महत्वपुर्ण योजनाहरुमा समेत स्थानीय सरकार प्रमुखको भनाइ केन्द्रले नसुन्ने उनको तितो अनुभव छ, “फोहोरको काममा केन्द्र र प्रदेश सरकारले समन्वय गरेको भए काम अगाडी बढ्न सहज हुने अवस्था थियो तर कार्ययोजना सहित अगाडी बढ्ने योजना दिदा समेत केन्द्रले आवश्यक समन्वय गर्दैन, यो मेरो मात्र हैन सबै स्थानीय प्रमुखको दुखद अवस्था हो।”

नगर प्रमुख खानले भनेका कुराहरु अन्तराष्ट्रिय जर्नलहरुले समेत पुष्टि गर्दछ। फोहोरको दिर्घकालीन समाधान भनेकै व्यवस्थित वातावरणमा यसलाई पुन: प्रयोग र उर्जामा  रुपान्तरण गरेर गर्न सकिन्छ। विश्व भर नै ऊर्जा उत्पादन, रिसाइक्लिङ र रिसोर्स रिकभरीमा जोड दिँदै नयाँ रणनीति तथा प्रविधिहरु आएका छन् ।जैविक फोहोरलाई इन्जिनियरिङ प्रविधिबाट बायोग्यास, कम्पोस्ट र अन्य उपयोगी उत्पादनमा रूपान्तरण गर्न सकिन्छ भने बायोमिथेनेसन (फोहोरलाई नियन्त्रणित वातावरणमा विघटन गरी बायोग्यास उत्पादन गर्ने प्रविधि)मार्फत बायोग्यासको उत्पादन गर्न सकिन्छ । यसले स्थानीयमा कुनै प्रकारको असर नगर्ने अनुसन्धानहरुले बताएको छ। एक अध्ययनका अनुसार उपत्यकामा एक दिनमा उत्पादन हुने फोहोरबाट उत्पादन गर्न सकिने बायोग्यासले यहाँको पाँच दिनको मागलाई पूर्ति गर्न सकिन्छ । भारतबाट ग्यास आयातमा भर पर्ने वर्तमान अवस्थालाई ध्यानमा राख्दा, यो प्रविधि दिगो विकल्प बन्नुका साथै अर्थतन्त्रमा समेत ठूलो सहयोग पुर्‍याउनेछ । फोहोरलाई उच्च तापक्रम र प्रेसरमा ब्रिकेट बनाई कम्प्याक्ट इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ । यस्ता ब्रिकेट सिमेन्ट उद्योगमा कोइलाको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ, वैकल्पिक ऊर्जाको रूपमा यसले वातावरणमा हुने प्रदूषण घटाउन समेत महत्त्वपूर्ण भूमिका खेल्दछ । यसका अतिरिक्त यहाँ उत्पादन हुने फोहोरमैलालाई इनसिनरेसन र पायरोलाइसिसजस्ता प्रविधिमार्फत ऊर्जामा परिवर्तन गर्न सकिन्छ । यस्ता प्रविधिहरूले ल्यान्डफिलसम्ममा जाने फोहोरको मात्रा घटाउँछन् भने नवीकरणीय ऊर्जामा ठूलो योगदान पुर्‍याउनेछ जसले हरितगृह ग्यास उत्सर्जन कम भई स्वच्छ र स्वस्थ्यकर सहरी वातावरणमा ठूलो भूमिका खेल्ने विज्ञहरुको भनाइ छ। फोहोरबाट ऊर्जा उत्पादनमा छिमेकी मुलुक भारतले अहिले ठूलो फड्को मार्दै छ, त्यहाँका प्रतिष्ठित संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मद्रासले स्थानीय तहबाट उत्पादित फोहोरबाट ऊर्जा र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, खरगपुरले फोहोरबाट बायोफ्युलसम्मको उत्पादनमा उल्लेखनीय काम गरिरहेका छन् । हामीले पनि हाम्रो देशका विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँग समन्वय गरी यस्ता प्रविधिमा अनुसन्धान र विकासलाई प्राथमिकता दिएमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छौं । 

फोहोरको मात्र हैन अन्य विकासको क्षेत्रमा पनि खानले दीर्घकालीन योजना अघि बढाइ रहेका छन्। रोहीणी र घाघरा खोलालाई जोड्न सके यो पर्यटन र व्यापारिक हब बन्ने उनको बुझाइ छ। यसका लागी उनले संघीय सरकारका बिकास मन्त्रालयदेखि दातृ निकायसम्मलाई घचघचाई रहेका छन्। सिद्धार्थनगर क्षेत्रफलका हिसाबले अत्यन्त सानो पालिका भएकाले यहाँ केही महत्वपुर्ण विकासका योजना कार्यन्वयनका लागी जग्गाको अभाव भै रहेको  छ। जम्मा ३६ वर्ग कि.मि रहेको यो पालिकाको करिब २ वर्ग कि.मि क्षेत्र अन्तराष्ट्रिय बिमानस्थलले लिएसँगै करिब ३४ वर्ग कि.मि क्षेत्रफल रहेको छ। यसैले यस पालिका सहित छिमेकी पालिकाहरु ओमसतिया, सियारी, रोहीणी र मायादेवीलाई आपसमा मर्ज गर्न सके ठुलो प्रशासनिक खर्च जोगिनुका साथै जिल्लाको दक्षिणी क्षेत्रमा ठुला बिकासका आयोजनाहरु संचालन गर्न सकिने भएको उनको बुझाइ छ। यही योजनाका साथ उनले  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेश गरि रहेका छन् भने स्थानीय सरकारका बिज्ञहरु, संघीयताका बिज्ञहरु सघन छलफल समेत गरि रहेका छन्। तर पाच वटै पालिकाहरुले आपसमा निर्णय नगरेसम्म यो योजना कार्यन्वयनमा अत्यन्त चुनौतीपूर्ण हुने देखिन्छ नै।

अन्त्यमा, देशकै हेभीवेट नेताहरुको निर्वाचन क्षेत्र हुनाको फाइदा पक्कै पनि भैरहवाले   लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन। संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, खानलाई त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला इश्तियाक अहमद खाँ  नेतृत्वको सिद्धार्थनगर नगरपालिकाले केही आशालाग्दो काम गरि रहेको छ । राजनैतिक दलप्रति जनताको बढ्दो बितृष्णा, जेन जी आन्दोलनका बाछिट्टा, जनताको आक्रोश, स्थानीय तह भित्र हुने बिबाद, नदीजन्य पदार्थको उत्खनन, आफ्नै र फरक दलबाट निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने बाध्यता, कर्मचारीतन्त्रको आलश्यता, परिवर्तनका क्रममा आफ्नै दल र फरक दलबाट आउन सक्ने अवरोध जस्ता चुनौतीका बिच खानको आगामी करिब डेढ वर्षे कार्यकाल आजै आकलन गर्नु केही हतारो हुन सक्छ, तर बिहानीले दिनको संकेत गर्छ भनेझैँ सडक, संजाल र पूर्वाधारको बिकासमा बुटवलले राम्रै प्रगती गरिरहेकै छ। फोहोर व्यवस्थापनको क्षेत्रमा उनको दिर्घकालीन योजना कार्यन्वयन हुन सके सिद्धार्थनगरको समृद्धिमा थप आयाम पुग्नेमा कुनै दुबिधा नै छैन।

images/4.png

 

images/4.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *