इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला प्रदेशबाट प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौ । सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले मधेश प्रदेशमा विभिन्न निकायको नेतृत्व गरि रहेका केही अब्बल अफिसरहरुको सफलता र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ । यो शृङ्लामा हामीले प्रलयंकर आचार्यले नेतृत्व गरिरहनुभएको नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगंजको स्थलगत भ्रमण सहितको विशेष रिपोर्टिङ गरेका छौँ ।
वि.सं २०३० मा स्थापना भएर वि.सं २०३२ साल देखि संचालनमा आएको यो डिपोको नेतृत्व यति बेला प्रलयंकर आचार्यले गरी रहनु भएको छ । बारा जिल्लाको अमलेखगंज क्षेत्रमा पर्ने यो डिपो नेपाल आयल निगमको सबैभन्दा ठुलो डिपो हो । सिमरा विमानस्थलबाट करिब ११ किलोमिटर र हेटौडाबाट करिब २० किलोमिटर दुरीमा रहेको यो डिपो निगमको अत्याधुनिक डिपो हो, अनि निगमले सुरु गर्ने भनेको इथानोल ब्लेण्डीगको काम यही डिपोबाट सुरु गर्ने निगमको तयारी छ । निगमको केन्द्रिय कार्यलयमा कार्यरत रहँदा निगम संचालक समितिको निर्णय अनुसार २०८१ भाद्र ५ देखि प्रमुखको जिम्मेवारी सम्हाल्ने गरी मधेश प्रादेशिक कार्यालयमा आचार्यको नियुक्ती भएको थियो । बहुप्रतिक्षित मोतिहारी - अमलेखगंज पाइपलाइनको पहिलो चरणको काम सम्पन्न भएको लामो समय सम्म पनि डिजेल मात्र आपुर्ती भै रहेको, दोस्रो चरणको काम सम्पन्न गर्नु पर्ने जस्ता चुनौतीका बिच अमलेखगंज झरेका आचार्यको कार्यकाल चुनौती पूर्ण हुने नै थियो । यस अघि लुम्बिनी प्रादेशिक कार्यालयको चुनौतीपूर्ण नेतृत्व सफलतापुर्वक निर्वाह गरेका उनलाई निगमले मधेश झारेको थियो । आचार्यले यहाँको नेतृत्व सम्हालेसँगै उनको प्रमुख लक्ष्य नै दोस्रो चरणको काम सफलतापुर्वक सम्पन्न गराई निगमलाई अटोमेशनमा लैजानु थियो । यहाँका बस्तु स्थित्ति बारे नजिकबाट बुझेका उनले नेतृत्व लिएसंगै संरचनागत सुधारका साथै पारदर्शिता र अग्नी सुरक्षाको लागी निकै मिहिनेत गरेर काम गरे । अन्तत: उनले नेतृत्व सम्हालेको करिब डेढ वर्ष पुग्दा आचार्यले देखिने गरी नै संरचनात्मक सुधार ल्याए र हाल निगम पूर्ण रुपमा स्वचालित बन्दै गएको छ ।
पाइपबाटै तीन प्रकारका पेट्रोलियम पदार्थ आपुर्ती
मोतिहारी - अमलेखगंज पाइपलाइन परियोजना सम्पन्न भएसँगै अहिले तीन वटै प्रकारका पेट्रोलियम पदार्थको आपुर्ती पाइपलाइनबाटै भै रहेको छ । २०१९ सेप्टेम्बर १० देखि पाइपलाइनबाट डिजेलको आपुर्ती गर्न थालेको निगमले ४ अक्टोबर २०२४ देखि पेट्रोल र ११ डिसेम्बर २०२४ देखि मट्टीतेलको आपुर्ती गरेको थियो । मोतेहारीदेखि अमलेखगंजसम्म जोडिएको करिब ६८ किलोमिटर लामो एउटै पाइपबाट तीनै प्रकारका पेट्रोलियम पदार्थको आपुर्ती भै रहेको डिपो प्रमुख प्रलायंकर आचार्यले बताउनु भयो । एउटै पाइपबाट तीनै प्रकारका पेट्रोलियम पदार्थ आपुर्ती हुने हुनाले एउटा पछि अर्को पेट्रोलियम पदार्थको वितरण गर्दा पिसीके (पाइपलाइन कम्प्याटिबल केरोसिन) को प्रयोग गर्ने गरिन्छ, जसले इन्टरफेस बनाउने गर्दछ र एक आपसमा मिसिन दिने छैन । २४ सै घण्टा संचालन हुने यो पाइपलाइनबाट प्रति घण्टा औसतमा २ लाख ५० हजार लिटर पेट्रोलियम पदार्थ आपुर्ती हुने गर्दछ । यसरी आपुर्ती भएको पेट्रोलियम पदार्थलाई भण्डारण गर्न पेट्रोल भण्डारका लागी १७,४९० कि.लि, डिजेलको २५,५९० कि.लि र मटितेलको २२७० कि. लि भण्डारण गृहको व्यवस्था गरिएको छ । भण्डारण क्षमताको हिसाबले यो नेपालको सबैभन्दा ठुलो प्रादेशिक डिपो हो । यही डिपोबाट दिनहुँ औसतमा तिन सय गाडी पेट्रोलियम पदार्थ लोड हुने प्रमुख आचार्यले बताउनु भयो । यस अघि भारतबाट आयात गर्ने थानकोट, पोखरा, भैरहवा, विराटनगर, बीरगञ्ज र जनकपुर लगाएतका डिपोहरुमा पनि अहिले अमलेखगंजबाट नै नियमित रुपमा पेट्रोलियम पदार्थको दुवानी भै रहेको छ । नेपाल भित्र वितरण हुने करिब ७० % पेट्रोलियम पदार्थको वितरण यहीले डिपोले गरि रहेको छ ।
पाइपलाइन बिस्तारको दोस्रो चरणको कामको लागी निगमको प्रादेशिक कार्यालयको प्रमुखको रुपमा नेपालको तर्फबाट नेतृत्व लिएका आचार्यले परियोजना सम्पन्न गर्ने क्रममा अत्यन्त समस्याहरु आइ परेको र लामो मिहिनेत पश्चात तिनको व्यवस्थापनको पक्षलाई ध्यानमा राखेर समाधान गरिएकाले परियोजना सफल भएको बताउनु भयो । पाइपलाइनबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न समेत सहयोग पुगेको प्रमुख आचार्यको बुझाइ छ। पाइपलाइनबाट तेलको आपुर्ती गर्दा औसतमा दुइ रुपैयाँ सस्तो पर्ने निगमको तथ्यांक छ । यतिबेला पाइपलाइनबाट पेट्रोल आएसँगै डिपोलाई पूर्ण अटोमेसनमा गरी पूर्वाधारहरु समेत तयार भएको छ । पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न निगमले थप ४ वटा ट्यांकी, लोडिङ बे, अत्याधुनिक प्रयोगशाला लगायत पूर्वाधार बनाएसँगै डिपो अटोमेसनमा गएको छ । लोडिङमा पूर्ण अटोमेसन गर्न २४ वटा ‘लोडिङ बे’ निर्माण गरिएको छ । २४ वटा ‘लोडिङ बे’मा ३६ वटा फिलिङ पोइन्ट राखिएको छ, जसमध्ये पेट्रोलको ७ वटा बटम लोडिङ र ८ टप लोडिङ गर्न सकिन्छ । डिजेलको ४ वटा बटम र १४ वटा टप लोडिङ गर्न सकिन्छ । मट्टीतेलको १ वटा बटम लोडिङ रहेको प्रमुख आचार्यले बताउनु भयो । परियोजनाको दोस्रो चरणअन्तर्गत अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क समेत निर्माण भएको छ ।
पूर्ण अटोमेशन
नेपाल आयल निगमका डिपोहरु मध्ये अमलेखगंज स्थित डिपो अहिलेसम्मकै अत्याधुनिक डिपोको रुपमा रहेको छ। पाइपलाइन बिस्तारसँगै तेल आपुर्तीमा कुनै समयमा प्राविधिक समस्या देखापरेमा आपतकालीन आपुर्तीका लागी डिपोमा राखिएका १०४ वटा ब्याक - अप गाडीहरु समेत गत माघ १२ बाट पूर्ण रुपमा हटाईएको छ । निगमको पछिल्लो भागमा रहेको घासे मैदानलाइ व्यवस्थित गरेर अहिले अत्याधुनिक प्रविधि सहितको २४ वे हरु थप गरिएको छ । ३ हजार कि.लि को पानी भण्डारण गृह, जक्की पम्प सहितको हाइड्रेन्ट सिस्टमहरु जडान गरिएको छ । पूर्ण अनलाइन गरिएको यो डिपोमा ट्यांकरहरुले कार्ड मार्फत इन्धन भर्ने गर्दछन् । ट्यांकरहरुलाई उपलब्ध गराइएको कार्डमा नै इन्धनको प्रकार, परिणाम, वे नम्बर देखि सबै जानकारीहरु हुने गर्दछ । सबैभन्दा सुरुमा उक्त कार्डलाई स्क्यान गरेर ट्यांकरहरु लोडिंग क्षेत्र भित्र प्रवेश गर्दछन् र आफुलाई तोकिएको वेमा गएर बस्दछन् । त्यसपछि वेमा भएको फलोमिटरमा स्कान गरेपछि पूर्ण स्वचालित उपकरणले दीइएको मात्रामा इन्धन लोड गर्दछ र मात्रा पुरा भए पछि अटो कट अफ हुने गर्दछ। यसरी इन्धन भरिए पछि लोडिंग एरियाबाट निस्कने बेला पुन: कार्ड स्क्यान गरेपछि ट्यांकर बाहिरिने गर्दछ ।
“लोडिङमा फ्लोमिटर जडान भएकाले लोडिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित बन्नुका साथै पारदर्शिता कायम भएको छ, सुरुमा सेट गरिएको मात्रा पूरा भएपछि अटो कट प्रणाली मार्फत आपूर्ति रोकिन्छ, जसले गर्दा तेलको लस हुने समस्या पूर्णमा समाधान भएको छ” प्रमुख आचार्यले बताउनु भयो “अर्का तर्फ म्यानुअल हुँदा इन्धनको भेपर मुखमा आउने गर्दथ्यो, त्यसले गर्दा कर्मचारीहरुको स्वास्थ्यमा असर गर्नुका साथै भेपर लसका कारण इन्धनको नोक्सानी हुने गर्थ्यो, तर अहिले यी दुवै समस्याको हल भएको छ।“ यसले गर्दा तेल भर्न घण्टौं लाइन बस्नुपर्ने ट्याङ्करका लागि पनि सहज भएको र फ्लो मिटर नजिकै जडान गरिएको सिसिटिभीले त्यसको प्रतक्ष्य निगरानी राख्ने हुनाले पारदर्शिता कायम भएको छ। त्यहाँ जडान गरिएको सीसीटिभीको एक्सेस दिएपछि केन्द्रीय कार्यालयबाट समेत यसको निगरानी राख्न सकिनेछ । यसले गर्दा लोडिङको काम अत्यन्त सहज हुनुका साथै माग अनुसारको आपुर्ती गर्न पनि सहज भएको डिपो प्रमुख आचार्यले बताउनु भयो । "केहीसमय अघिसम्म लोडिंग र अनलोडिंगको समस्या कारण राती १२ बजे सम्म गर्नु पर्ने काम अहिले समयमा नै सकिने गरेको छ, यसले गर्दा ताप्रक्रम घट्दा तेलमा हुने नोक्सान समेत जोगिएको छ भनेअर्को तर्फ माग अनुसारको आपुर्ती गर्न नसकिने अवस्था रहेकोमा अहिले बे थपिए पछि सहजरुपमा आपुर्ती भइ रहेको छ। “जनमानसमा विश्वसनियता कायम गर्न, निगमभित्र पारदर्शिता कायम गर्न, डिपो र वरपर रहेका स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति गराउन हामी निरन्तर लाग्दैछौँ त्यसमा मलाई निगम सन्चालक समिति, कार्यकारी निर्देशक ज्यु, निगमका पदाधिकारीहरु लगाएत यो डिपोमा कार्यरत सबैकर्मचारी साथीहरुले सहयोग गरिरहनु भएको छ" प्रमुख आचार्यले भन्नुभयो।
Your email address will not be published. Required fields are marked *