काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी ले नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै यसको सुधारका लागि सरकार, विश्वविद्यालय र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालका विश्वविद्यालय तथा कलेजमा इन्जिनियरिङ विषयका सिट खाली रहँदा पनि ठूलो संख्यामा विद्यार्थी विदेश अध्ययनका लागि जानु चिन्ताको विषय भएको उल्लेख गरिन्। उनका अनुसार यसले देशबाट जनशक्ति मात्र होइन, ठूलो मात्रामा पुँजी पनि बाहिरिइरहेको संकेत गर्छ।
अधिकारीले वैदेशिक अध्ययनका नाममा ठूलो रकम देशबाट बाहिरिनु नेपालकै उच्च शिक्षाप्रति घट्दो आकर्षणसँग जोडिएको बताएकी छन्। उनले आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक अध्ययनका लागि मात्रै १ खर्ब ४१ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको तथ्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै स्वदेशमै गुणस्तरीय र व्यवस्थित इन्जिनियरिङ शिक्षा दिन नसक्दा विद्यार्थी विदेशतर्फ आकर्षित भइरहेको उल्लेख गरेकी छन्।
उनले विशेषगरी त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षा, भर्ना प्रक्रिया र नतिजा प्रकाशनमा हुने ढिलाइलाई गम्भीर समस्या औंल्याएकी छन्। कक्षा १२ को नतिजा आएलगत्तै विदेशी विश्वविद्यालयहरूले भर्ना प्रक्रिया अघि बढाउने, तर नेपालमा भने प्रवेश परीक्षाकै लागि लामो समय कुर्नुपर्ने अवस्थाले विद्यार्थीलाई बाहिरिन बाध्य बनाइरहेको उनको भनाइ छ।
सांसद अधिकारीले इन्जिनियरिङ कलेजहरूमा सिट किन खाली भइरहेका छन् भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। साथै, परीक्षा र भर्ना प्रणालीलाई छरितो, पारदर्शी, आधुनिक र विद्यार्थीमैत्री बनाउन शिक्षा मन्त्रालय र विश्वविद्यालय प्रशासनले तत्काल काम सुरु गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
उनले नेपाललाई भविष्यमा दक्षिण एसियाकै आकर्षक इन्जिनियरिङ शिक्षा गन्तव्य का रूपमा विकास गर्न सकिने सम्भावना रहेको पनि बताएकी छन्। त्यसका लागि शैक्षिक गुणस्तर सुधार, समयमै शैक्षिक तालिका कार्यान्वयन, प्रयोगात्मक सिकाइ, पूर्वाधार विकास र सक्षम जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको धारणा छ।
अधिकारीका अनुसार, नेपालभित्रै विश्वासिलो र गुणस्तरीय इन्जिनियरिङ शिक्षा सुनिश्चित गर्न सके स्वदेशी विद्यार्थीलाई विदेशिनबाट रोक्न मात्र होइन, आगामी दिनमा विदेशी विद्यार्थीलाई समेत नेपालतर्फ आकर्षित गर्न सकिनेछ।
Your email address will not be published. Required fields are marked *