नेपालमा फेरि ठूलो वर्षाको सम्भावना, मौसमविद् पोखरेलद्वारा सतर्क रहन आग्रह
Home News समाचार

नेपालमा फेरि ठूलो वर्षाको सम्भावना, मौसमविद् पोखरेलद्वारा सतर्क रहन आग्रह

Engineer Khabar - Sept. 20, 2026 2380 views
images/B1.jpg
images/B1.jpg
Text Size

काठमाडौं — आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना देखिएको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी बंगालको खाडी र अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणाली नेपालतर्फ प्रभाव पार्न सक्ने भएकाले किसान, यात्रु, स्थानीय तह र सर्वसाधारणलाई समयमै तयारी गर्न सुझाव दिइएको छ।

images/B1.jpg

 

images/B1.jpg

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेल ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विश्लेषणमा असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मै उल्लेख्य वर्षा हुन सक्ने सम्भावना औंल्याउनुभएको छ। उहाँले विशेषगरी खेतीपाती, सडक यात्रा, नदी किनार तथा पहिरो जोखिम भएका क्षेत्रमा बसोबास गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

 

यसैबीच, जल तथा मौसम विज्ञान विभाग को पछिल्लो मौसमी मूल्यांकनले पनि आगामी केही दिन वर्षाको सक्रियता बढ्न सक्ने संकेत गरेको छ। विभागका अनुसार उक्त प्रणाली अहिले नेपालबाट केही टाढा रहे पनि असोज ६ गतेपछि पूर्वी भूभागबाट यसको आंशिक प्रभाव सुरु हुन सक्ने र साताको अन्त्यतिर कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यका र मध्य नेपालका केही भूभागमा पनि यसको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।

 

यद्यपि, मौसमविद्हरूले अहिले नै ठ्याक्कै कुन जिल्लामा कति मिलिमिटर वर्षा हुन्छ भनेर निश्चित रूपमा भन्न नमिल्ने बताएका छन्। कारण, समुद्रमा विकसित न्यूनचापीय प्रणालीको दिशा, गति, शक्ति र स्थलतर्फ सर्ने मार्ग अझै परिवर्तन हुन सक्छ। यही कारणले सामाजिक सञ्जालमा फैलिएका नक्सा वा पोस्टलाई अन्तिम पूर्वानुमान मानेर निष्कर्षमा पुग्न नहुने विज्ञहरूको सुझाव छ।

 

 

इन्जिनियरिङ दृष्टिले किन महत्त्वपूर्ण छ यो पूर्वसूचना ?

 

प्राविधिक हिसाबले हेर्दा, छोटो समयमा धेरै वर्षा हुँदा यसको असर केवल पानी पर्ने विषयमा सीमित हुँदैन। सहरी क्षेत्रमा पानी निकास प्रणाली (drainage system) को क्षमता नाघ्न सक्छ, जसले सडक डुबान, चोक–गल्लीमा पानी जम्ने, ढल ओभरफ्लो हुने र ट्राफिक अवरोध हुने जोखिम बढाउँछ। त्यस्तै पहाडी क्षेत्रमा माटो चिसिँदै जाँदा ढलान अस्थिर हुने, सडक माथिबाट पहिरो खस्ने, कटान बढ्ने र निर्माणाधीन संरचनामा क्षति पुग्ने सम्भावना पनि रहन्छ।

 

नदी तथा खोलानालासँग जोडिएका क्षेत्रमा अकस्मात बहाव बढ्ने, पुलका एप्रोच रोड, कल्भर्ट, साना तटबन्ध तथा कमजोर सडक संरचनामा दबाब पर्न सक्ने भएकाले स्थानीय सरकार र प्राविधिक निकायले पूर्वतयारी गर्नुपर्ने देखिन्छ। विशेषगरी नाला सफाइ, जोखिमयुक्त सडकखण्डको निगरानी, निर्माणस्थलको अस्थायी सुरक्षा, नदी किनार र कमजोर बस्तीको सतर्कता जस्ता काम समयमै गर्न सकिए सम्भावित क्षति कम गर्न सकिन्छ।

 

मौसमविद्हरूका अनुसार अहिलेको मुख्य सन्देश आतंक फैलाउनु होइन, तयारी बढाउनु हो। सम्भावित ठूलो वर्षालाई सामान्य रूपमा नलिने, तर अपुष्ट सामाजिक सञ्जालका दाबीका आधारमा अनावश्यक त्रसित पनि नहुने सल्लाह दिइएको छ। विभागबाट जारी हुने पछिल्ला आधिकारिक मौसम बुलेटिन, वर्षा चेतावनी र जोखिम सूचना हेर्दै निर्णय लिनु नै उपयुक्त हुने विज्ञहरूको भनाइ छ।

 

 

 

 

images/B1.jpg

 

images/B1.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *