पोखरा — तीन वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि नियमित अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ। फ्लाई दुबईले पोखरा–दुबई दैनिक व्यावसायिक उडान सुरु गरेसँगै २०७९ पुस १७ मा उद्घाटन भएको विमानस्थलबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालनमा आएको हो।
बुधबार साँझ ६ बजेर १८ मिनेटमा फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमान पोखरा अवतरण गर्यो। विमानलाई पानीको फोहराले स्वागत गरिएको थियो। दुबईबाट ११३ यात्रु बोकेर पोखरा आएको विमान साँझ ७ बजेर १५ मिनेटमा १५३ यात्रु लिएर दुबई फर्किएको थियो। विमानका नेपाली क्याप्टेन सर्वजित यादव थिए।
यो उडान चार्टर्ड वा विशेष नभई नियमित व्यावसायिक सेवा हो। फ्लाई दुबईले पोखरा–दुबई रुटमा दैनिक उडान गर्ने जनाएको छ।
पहिलो उडानका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा. मुकेश डङ्गोल, विमानस्थलका अधिकारी तथा पोखराका पर्यटन व्यवसायीले विमानस्थलमा स्वागत गरेका थिए। पहिलो उडानबाट विदेश जाने यात्रुलाई पनि महानगर प्रमुख आचार्यले विमानस्थल पुगेर बिदाइ गरे।
पोखरा महानगरपालिकाले नियमित अन्तर्राष्ट्रिय उडानलाई पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तारका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। महानगरले उडानलाई दिगो र प्रभावकारी बनाउन सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्ने जनाएको छ।
नगर प्रमुख आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्न हवाई सम्पर्क विस्तारसँगै पर्यटकमैत्री सेवा, पूर्वाधार विकास र पर्यटन व्यवसायको प्रवर्द्धनमा जोड दिने बताएका छन्।
‘पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फ नयाँ यात्रा’
आचार्यले आफ्नो सामाजिक सञ्जालमार्फत फ्लाई दुबईको नियमित उडानलाई पोखराको पर्यटन, व्यापार, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्।
उनले सन् २०२३ जनवरी १ मा उत्साहका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानहरू विस्तार भए पनि अन्तर्राष्ट्रिय सेवाका रूपमा चार्टर्ड तथा केही नियमित विशेष उडानबाहेक अपेक्षित रूपमा नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन नसकेको उल्लेख गरेका छन्।
फ्लाई दुबई र एमिरेट्सबीचको कोडसेयरिङमार्फत पोखराबाट दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्न सकिने भएकाले यसले पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने आचार्यको भनाइ छ।
‘आजको यो उडान एउटा विमानको उडान मात्र होइन, पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुवात हो,’ उनले लेखेका छन्।
उनले नियमित उडान सम्भव बनाउन सहयोग र समन्वय गर्ने नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, फ्लाई दुबई, एमिरेट्स, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गरेका छन्।
काठमाडौं धाउनुपर्ने बाध्यता घट्ने
पोखराबाट दुबईको दैनिक उडान सुरु भएपछि गण्डकीसहित पश्चिम नेपालका यात्रुले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि विदेश जाने यात्रुले पोखराबाटै दुबई हुँदै तेस्रो मुलुकसम्म यात्रा गर्न सक्नेछन्। दुबई अन्तर्राष्ट्रिय हवाई हब भएकाले त्यहाँबाट विभिन्न मुलुकमा कनेक्सन लिन सकिनेछ।
फ्लाई दुबईका नेपाल प्रबन्धक नवराज शाहीका अनुसार प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यमा पोखराबाट टिकट काठमाडौंको तुलनामा औसत ४ देखि ५ हजार रुपैयाँसम्म सस्तो पर्न सक्नेछ। केही गन्तव्यमा यस्तो अन्तर ३ देखि ७ हजार रुपैयाँसम्म हुन सक्ने उनले बताएका छन्।
फ्लाई दुबई र एमिरेट्सबीचको कोडसेयर साझेदारीका कारण एउटै टिकटमार्फत दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्न सकिनेछ।
पर्यटन व्यवसायीमा उत्साह
नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीमा पनि उत्साह देखिएको छ। विदेशी पर्यटकलाई काठमाडौं हुँदै पोखरा ल्याउनुपर्ने अवस्थाको विकल्पका रूपमा सिधा अन्तर्राष्ट्रिय उडानले काम गर्ने व्यवसायीहरूको अपेक्षा छ।
पहिलो उडानबाट आएका यात्रुलाई लक्षित गर्दै होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ तथा पर्यटकीय यातायात व्यवसायीले विभिन्न छुट तथा सुविधा घोषणा गरेका छन्।
होटल संघ पोखराले पहिलो उडानका यात्रुलाई एक रात निःशुल्क बसाइ र भोलिपल्ट ब्रेकफास्ट उपलब्ध गराउने जनाएको छ। सहभागी होटलमा बोर्डिङ पास देखाउने यात्रुले ३० प्रतिशतसम्म छुट पाउनेछन्। रेस्टुरेन्ट तथा बार व्यवसायीले १५ देखि २० प्रतिशत र लेखनाथ क्षेत्रका व्यवसायीले २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छन्।
पूर्वाधार तयार, अब नियमितताको परीक्षा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो ह्यान्डलिङ तथा यात्रु सेवाका पूर्वाधार तयार छन्। सुरक्षा व्यवस्थासमेत आवश्यकताअनुसार मिलाइएको छ।
तर नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु मात्र विमानस्थलको दीर्घकालीन सफलताको आधार होइन। यात्रुको माग, मौसम, विमानको पेलोड क्षमता, सञ्चालन लागत र रुटको व्यावसायिक सम्भाव्यताले उडानको निरन्तरता निर्धारण गर्नेछ।
सरकारले विमान कम्पनी आकर्षित गर्न पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्कमा पूर्ण छुट र ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। यो सुविधा २०८५ भदौ मसान्तसम्म रहनेछ।
२२ अर्बको विमानस्थलमा बल्ल नियमित अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ। चीनको एक्जिम बैंकको सहुलियत ऋणमा चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङले निर्माण गरेको विमानस्थल २०७९ पुस १७ अर्थात् सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको हो।
सञ्चालनमा आएयता चीन, भारत र भुटानबाट चार्टर्ड तथा विशेष अन्तर्राष्ट्रिय उडान भए पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक सेवा सञ्चालन हुन सकेको थिएन।
२ हजार ५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा एकैपटक तीन ठूला र आठ साना जहाज पार्क गर्न सकिने व्यवस्था छ।
साढे तीन वर्षको प्रतीक्षापछि सुरु भएको पोखरा–दुबई दैनिक उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडेको छ। अब यसको वास्तविक परीक्षा भनेको उडान सुरु हुनु होइन, नियमितता र व्यावसायिक दिगोपन कायम राख्नु हुनेछ।
Your email address will not be published. Required fields are marked *