नवीकरणीय ऊर्जा अनुसन्धान, प्राविधिक ड्यु डिलिजेन्स र विद्यार्थी सहभागितामा सहकार्य गर्ने उद्देश्य
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच पाँच वर्षे सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नवीकरणीय ऊर्जा तथा जलविद्युत् क्षेत्रमा अनुसन्धान, प्राविधिक अध्ययन र विद्यार्थी सहभागितामा सहकार्य गर्ने उद्देश्यले सोमबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा विश्वविद्यालयका रजिस्ट्रार सहप्राध्यापक डा. बिराज सिंह थापा र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार दुवै पक्षले नवीकरणीय ऊर्जा र जलविद्युत् क्षेत्रमा अनुसन्धान, प्राविधिक अध्ययन तथा ड्यु डिलिजेन्स, विशेषज्ञता र ज्ञानको आदानप्रदान र विद्यार्थीको अनुसन्धान तथा व्यावहारिक सहभागितालाई प्रवर्द्धन गर्न सहकार्य गर्नेछन् ।
यसै अवसरमा विश्वविद्यालय अन्तर्गतको एकाडेमिया–इन्डस्ट्री कोअपरेशन (एआईसीकेयू) र एचआईडीसीएलबीच नेपालमा हाइड्रोजन उत्पादनसम्बन्धी प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । सो सम्झौतामा एआईसीकेयूका संयोजक लक्ष्मण लामा र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले हस्ताक्षर गरेका हुन् ।
नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भाव्यता, प्राविधिक पक्ष र भविष्यमा परियोजना विकासका सम्भावनाहरू पहिचान गर्न यो प्रारम्भिक अध्ययन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
एआईसीकेयूका संयोजक लक्ष्मण लामाले उक्त सहकार्यले विश्वविद्यालय, उद्योग र लगानी क्षेत्रबीचको सम्बन्ध थप सुदृढ बनाउँदै नेपालमा नवीकरणीय ऊर्जा तथा हरित हाइड्रोजनसम्बन्धी अनुसन्धान, प्रविधि विकास र व्यावसायिक सम्भावना अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
नर्वेबाट हाइड्रपोवरमा डक्टरेट गरेको अनुभव भएका डा. थापा विश्वविद्यालयको हरित हाइड्रोजन प्रयोगशालाका पनि प्रमुख हुन् । २०२ मा स्थापना गरिएको उक्त प्रयोगशालाबाट हाइड्रोजन इन्धनसम्बन्धी विभिन्न अध्ययन भइरहेका छन् । २०२१ मा आयल निगमसँग हाइड्रोजन इन्धन प्रयोगका लागि समझदारी गरेको विश्वविद्यालयले २०२३ मा देशकै पहिलो हाइड्रोजन कार ल्याएको थियो । यसपटकको सहकार्यले विश्वविद्यालयको हाइड्रोजन अनुसन्धानमा थप गति दिने देखिन्छ ।
सरकारको स्वामित्वमा रहेको एचआईडीसीएल तामोर जस्ता महाजलविद्युत् परियोजनामा लगानी गर्ने कम्पनी हो । वर्षायाममा उत्पादन भएर बितिरहेको अरुक्त बिजुलीबाट हरित हाइड्रोजन उत्पादन गर्ने विषयमा लामो समयदेखि चर्चा भइरहेको छ । यस सहकार्यले नेपालको ऊर्जा तथा अनुसन्धान क्षेत्रमा नयाँ मोड आउने अपेक्षा गरिएको छ ।
Your email address will not be published. Required fields are marked *