एउटा टावर भाँचिएपछि पुलको एक स्पान नदीमै खस्यो, आवागमन पूर्ण रूपमा बन्द
धनगढी । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीमा आएको बाढीले बुधबार बिहान करिब आठ बजे पुलको एक भाग भत्काएको हो । एउटा टावर भाँचिएपछि पुलको एक स्पान नदीमा खसेको छ भने लठ्ठासहित पुलको संरचना अहिले नदीमै लत्रिएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा–चाँदनी नगरपालिका–४ तर्फबाट तेस्रो नम्बरको पिल्लर भत्किएको हो । पुलमा आठवटा पिल्लर छन् । समयमै आवागमन रोकिएकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार बिहान पुलको करिब पाँचदेखि सात मिटर भाग अस्वाभाविक रुपमा माथि उठेको देखिएपछि तत्काल आवागमन रोकिएको थियो । ‘पुलको एउटा स्पान, बीचको एउटा टावर नै खसेको अवस्था छ । अहिले आवतजावत हुन सक्ने अवस्था छैन,’ प्रजिअ कोइरालाले भने ।
महाकाली अनलाइनका प्रबन्धक खडक रावलका अनुसार बिहान करिब चार–पाँच बजेतिर पुलबाट ओहोरदोहोर गर्ने स्थानीयले पुलको एक भाग माथि उठेको देखेर प्रहरीलाई जानकारी गराएका थिए । करिब आठ बजेतिर सोही भाग नदीमा खसेको उनले बताए । पुल भत्किएपछि दुई नगरपालिकाबीचको पैदल आवागमन बन्द भएको छ । अब आउजाउ गर्दा करिब दुई किलोमिटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने रावलले बताए । दोधारा–चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकका अनुसार पुल मंगलबार राति नै क्षतिग्रस्त अवस्थामा भेटिएको थियो । कञ्चनपुर–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा मंगलबार राति करिब ११ बजे आएको बाढीको भँगालोले पुलको टावर ब्लक तथा स्पर क्षेत्रमा क्षति पुर्याएको बताए । उनका अनुसार करिब ७५ मिटर भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
२०६१ सालमा बनेको थियो पुल
दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने सो पुल २०६१ सालमा करिब नौ करोड ४२ लाख ४१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो । एक हजार चार सय ५२ दशमलव ९६ मिटर लामो र एक दशमलव छ मिटर चौडाइको पुलमा आठ पिल्लर र १२ स्पान छन् । पुलको सबैभन्दा लामो स्पान २२५ दशमलव ४० मिटरको छ । निर्माणका बेला यो पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रुपमा चिनिन्थ्यो । २०७६ सालमा एक करोड १० लाख रुपैयाँ खर्चिएर पुलको मर्मत गरिएको थियो । पछिल्लो समय महाकालीमै आठ सय मिटर लामो चार लेनको पक्की पुल सञ्चालनमा आएपछि ठूला सवारीसाधन त्यही बाटो आवतजावत गर्ने गरेका छन् । पैदल यात्रीका लागि भने झोलुङ्गे पुल नै छोटो बाटो थियो ।
बाढीकै कारण भन्ने प्रारम्भिक अनुमान
असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि महाकालीमा आएको ठूलो बाढीका कारण पुलमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । त्यसबेला नदीको बहाव एक लाख ८० हजार क्युसेकसम्म पुगेको थियो । बुधबार बिहान भने नदीको बहाव घटेर करिब ६५ हजार क्युसेकमा झरिसकेको प्रजिअ कोइरालाले बताए । पुलको क्षतिको प्राविधिक कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले प्राविधिक टोली खटाएको छ । झोलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बमसहितको टोली घटनास्थल पुगेर अध्ययन थालिसकेको निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले बताए । ‘प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था र मर्मत तथा पुनर्निर्माणबारे यकिन गर्न सकिन्छ,’ जोशीले भने ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो घटनास्थलको अनुगमन गरे । उनले पुललाई प्रदेशको ऐतिहासिक धरोहर बताउँदै भत्किएको भागको पुनर्निर्माणसँगै पुलको सुरुदेखि अन्त्यसम्मका सबै पिल्लर संरचनाको प्राविधिक जाँच गर्नुपर्ने बताए । ‘पुल पुनर्निर्माणका लागि संघ सरकार र प्रदेश सरकारबीच घनिभूत संवाद भइरहेको छ । यो पुल फेरि पनि गर्वको प्रतीक बनिरहोस्,’ मुख्यमन्त्री भट्टले भने । प्रजिअ कोइरालाले प्राविधिक विश्लेषणपछि प्रदेश सरकारबाटै मर्मत गर्न सकिने भए त्यसअनुसार अघि बढाइने र नसकिने देखिए संघीय मन्त्रालयसँग समन्वय गरिने बताए । प्रारम्भिक क्षति हेर्दा पुल सुचारु हुन केही समय लाग्ने देखिएको उनले बताए ।
घटनास्थल जोखिमपूर्ण रहेकाले पुल हेर्न वा भिडियो खिच्न पनि नजान प्रजिअ कोइरालाले सर्वसाधारणलाई आग्रह गरेका छन् । पुलको क्षतिको विस्तृत विवरण प्राविधिक टोलीको प्रतिवेदन आएपछि सार्वजनिक हुने प्रशासनले जनाएको छ ।

Your email address will not be published. Required fields are marked *