आधुनिक प्रविधिबाट तनहुँमा हाइड्रोपावर निर्माण गर्दै कालीका–सोङ्दा जेभी
Home News मुख्य समाचार

आधुनिक प्रविधिबाट तनहुँमा हाइड्रोपावर निर्माण गर्दै कालीका–सोङ्दा जेभी

Engineer Khabar - yesterday 9391 views
images/Tunnel-Tanahun.jpg
images/Tunnel-Tanahun.jpg
Text Size

तनहुँ । सेती नदीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। गौरवको आयोजनाका रूपमा अघि बढाइएको यस आयोजनाको समग्र भौतिक निर्माण प्रगति हालसम्म ६२  प्रतिशत पुगेको छ। बाँध, सुरुङ, भूमिगत विद्युत्गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण र दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका कामहरू एकसाथ अघि बढिरहेका छन्। तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार क्षेत्रमा निर्माण भइरहेको यो आयोजना तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको छ। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणसँगै एसियाली विकास बैंक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा आयोजना निर्माण भइरहेको छ। आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण र निर्माण अवधिको ब्याजसमेत जोड्दा करिब ५० करोड ५० लाख अमेरिकी डलर बराबर रहेको छ।

images/Tunnel-Tanahun.jpg

तीन प्याकेजमा अघि बढेको निर्माण

images/Tunnel-Tanahun.jpg

तनहुँ जलविद्युत् आयोजना मूलतः तीन प्रमुख प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ। प्याकेज–१ अन्तर्गत मुख्य बाँध तथा हेडवर्क्सका संरचना निर्माण भइरहेका छन्। प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, भूमिगत विद्युत गृह तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणसँग सम्बन्धित काम भइरहेको छ। त्यस्तै प्याकेज–३ अन्तर्गत दमौलीदेखि भरतपुरसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ।

प्याकेज–१ को निर्माणमा सोङ्दा कर्पोरेसन, भियतनाम र कालीका कन्स्ट्रक्सन प्रा.लि, नेपालबीचको सोङ्दा–कालीका जेभी संलग्न छ। यही प्याकेजमा आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचनामध्ये एक १४० मिटर अग्लो मुख्य बाँध निर्माण हुँदैछ। पछिल्लो सार्वजनिक विवरणअनुसार प्याकेज–१ को निर्माण प्रगति करिब ६२ प्रतिशतको आसपास पुगेको छ।

कालीका कन्स्ट्रक्सनको महत्वपूर्ण भूमिका

आयोजनाको निर्माणस्थलमा पुग्दा सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण देखिने संरचनामध्ये मुख्य बाँध क्षेत्र एक हो। यही क्षेत्रमा कालीका कन्स्ट्रक्सनसहितको सोङ्दा–कालीका जेभीले मुख्य निर्माण कार्य अघि बढाइरहेको छ। ठूलो नदीको बहाव व्यवस्थापन गर्दै बाँध निर्माणका लागि आवश्यक पूर्वाधार तयार पार्नु आफैंमा जटिल इन्जिनियरिङ कार्य हो । मुख्य बाँध निर्माण सुरु गर्नु अघि सेती नदीको बहावलाई डाइभर्सन गरी सुरुङ मार्फत अन्यत्र मोड्ने, नदीको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण गर्ने, पहाड काटेर आवश्यक स्तर कायम गर्ने र पहुँच सडक निर्माण गर्ने जस्ता काम सम्पन्न गरिएका छन्। सेती नदीलाई आयोजनाको मुख्य बाँध क्षेत्रबाट २०८० कात्तिक २० गते डाइभर्ट गरिएको थियो। त्यसपछि मुख्य बाँध निर्माणका लागि आवश्यक वातावरण तयार भएको हो। मुख्य बाँधका लागि आवश्यक डाइभर्सन संरचना र पहुँच पूर्वाधार तयार भएपछि अहिले बाँधको मूल संरचना निर्माण तर्फ काम केन्द्रित भएको छ। पछिल्लो विवरण अनुसार १४० मिटर अग्लो मुख्य बाँधका लागि आवश्यक करिब ८ लाख ५० हजार घनमिटर कंक्रिट मध्ये ५ लाख  घनमिटर भन्दा बढी काम सम्पन्न भइसकेको

नदी डाइभर्सनदेखि मुख्य बाँधसम्म

मुख्य बाँध निर्माणका लागि नदीको प्राकृतिक बहावलाई अस्थायी रूपमा नियन्त्रण गर्नु आयोजनाको महत्वपूर्ण प्राविधिक चरण हो। यसका लागि दुईवटा डाइभर्सन सुरुङ निर्माण गरिएको छ। त्यस सँगै बाँधको दायाँ तथा बायाँ किनारमा पहाड कटान, पहुँच सडक निर्माण, अस्थायी बाँध तथा अन्य सहायक संरचनाको निर्माण गरिएको छ। इन्जिनियरिङ दृष्टिले हेर्दा आयोजनाको विशेषता यसको भौगोलिक अवस्थिति र ठूलो भूमिगत संरचनासँग पनि जोडिएको छ।

भूमिगत विद्युत गृह र सुरुङतर्फ पनि तीव्रता

आयोजनाको प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, भूमिगत विद्युत गृह तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणसम्बन्धी काम भइरहेको छ। यस प्याकेजको समग्र प्रगति हाल करिब ७० प्रतिशत पुगेको सार्वजनिक विवरणमा उल्लेख छ। भूमिगत विद्युत गृहको उत्खनन कार्य सम्पन्न भइसकेको छ भने कंक्रिटिङ तथा अन्य संरचनात्मक काम अघि बढेको छ। चट्टानको अवस्था पहिचान, सुरुङ उत्खनन, रक सपोर्ट, कंक्रिट लाइनिङ, पानीको नियन्त्रण तथा भूमिगत संरचनाको स्थायित्व कायम गर्ने विषयमा इन्जिनियरिङ टोलीले निरन्तर निगरानी गरि रहेको छ । यस आयोजनामा मुख्य सुरुङ, टेलरेस सुरुङ, सर्ज ट्याङ्क तथा पेनस्टकसँग सम्बन्धित संरचनाहरू पनि निर्माण भइरहेका छन्।

प्रसारण लाइन निर्माण पनि अन्तिम चरणतर्फ

आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। यो काम प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले गरिरहेको छ। करिब ३३ किलोमिटर लामो प्रसारण लाइनमा कुल ९४ वटा टावर निर्माण गर्नुपर्नेमा पछिल्लो सार्वजनिक विवरण अनुसार ७८ वटा टावरको जग निर्माण सम्पन्न भइसकेको छ  प्याकेज–३ को प्रगति करिब ७० प्रतिशत पुगेको छ। प्रसारण लाइनको राइट अफ वे क्षेत्रमा पर्ने वन क्षेत्र व्यवस्थापनका काम पनि सम्बन्धित निकायसँगको समन्वयमा अघि बढाइएको छ।

आधुनिक प्रविधिबाट कंक्रिटको तापक्रम नियन्त्रण

तनहुँ जल विद्युत् आयोजनाको मुख्य बाँध निर्माणमा प्रयोग भइरहेको प्रविधि मध्ये मास कंक्रिटको तापक्रम नियन्त्रण नेपालको परिपेक्ष्यमा नयाँ प्रविधि हो। १४० मिटर अग्लो कंक्रिट बाँध निर्माण गर्दा ठूलो परिमाणमा एकैपटक कंक्रिट प्रयोग हुने भएकाले कंक्रिट भित्र उत्पन्न हुने तापक्रमलाई नियन्त्रण गर्नु संरचनाको दीर्घकालीन गुणस्तर र स्थायित्वका लागि संवेदनशील मानिन्छ। यही कारण निर्माणस्थलमा कंक्रिटको तापक्रम व्यवस्थापनका लागि आधुनिक प्रविधि र गुणस्तर नियन्त्रण प्रणाली अपनाइएको छ।

कंक्रिट तयार गर्ने क्रममा एग्रिगेट, सिमेन्ट र पानीको मिश्रणसँगै बरफका टुक्राहरु प्रयोग गरी तापक्रम नियन्त्रण गर्ने व्यवस्था अपनाइएको छ। यसरी कंक्रिटलाई आवश्यक तापक्रमको दायरामा राखेर तयार गरिन्छ र त्यसपछि निर्माण स्थल तर्फ ढुवानी गरिन्छ। सिमेन्ट हाइड्रेसनका क्रममा उत्पन्न हुने तापलाई व्यवस्थापन गर्न तथा कंक्रिटमा अनावश्यक थर्मल स्ट्रेस र क्याकिंगको जोखिम घटाउन कंक्रिटको तापक्रम नियन्त्रण गर्ने प्रविधि अपनाइएको कालिकाका सिनियर इन्जिनियर सिताराम श्रेष्ठले बताउनु भयो। कंक्रिट तयार भएपछि त्यसलाई टिपर तथा सम्बन्धित ढुवानी प्रणाली मार्फत बाँध निर्माण स्थलसम्म पुर्‍याएर तोकिएको स्थानमा लेयर बाइ लेयर प्लेसमेन्ट गर्ने गरिएको र प्रत्येक तहलाई आवश्यक रूपमा कम्प्याक्ट गरी कंक्रिटमा एक रूपता कायम गर्ने र संरचनाको गुणस्तर सुनिश्चित गर्ने गरिएको श्रेष्ठले बताउनु भयो।

 

images/Tunnel-Tanahun.jpg

 

images/Tunnel-Tanahun.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *