काठमाडौं । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। क्याम्पसको स्थान टुंग्याउन विशेष अध्ययन समिति गठन गरिने र समितिको प्रतिवेदनका आधारमा स्थान तय गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार क्याम्पस निर्माण र सञ्चालनको निश्चित समयसीमा भने अझै तय भएको छैन। तथापि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको उनले बताए। सरकारले नयाँ क्याम्पसलाई परम्परागत अध्यापनमा मात्र सीमित नराखी आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार र त्यसको व्यावहारिक प्रयोगमा केन्द्रित अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।
‘प्रत्येक वर्ष मधेशबाट ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ पढ्न काठमाडौंलगायत अन्य क्षेत्रमा जान बाध्य छन्,’ मन्त्री पोखरेलले भने, ‘यसले अभिभावकमाथि आर्थिक भार बढाउनुका साथै विद्यार्थीलाई बसाइँसराइलगायत व्यावहारिक समस्या पनि सिर्जना गरेको छ।’
हाल पाँच आङ्गिक क्याम्पस, मधेशमा शून्य
हाल आईओईका पाँचवटा आङ्गिक क्याम्पस सञ्चालनमा छन् — पुल्चोक (ललितपुर), थापाथली (काठमाडौं), पूर्वाञ्चल (धरान), पश्चिमाञ्चल (पोखरा) र चितवन इन्जिनियरिङ क्याम्पस। यीमध्ये एउटा पनि मधेश प्रदेशमा छैन।
शैक्षिक सत्र २०८३ का लागि यी पाँच क्याम्पसमा गरी कुल २ हजार ४० सिट निर्धारण गरिएको थियो। सबैभन्दा धेरै ६२४ सिट पुल्चोक क्याम्पसको हो। पछिल्लो भर्ना विवरणअनुसार पुल्चोकमा पहिलो चरणमै ६०५ सिट भरिसकेका थिए। यी क्याम्पसमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फर्मेसन, मेकानिकल, अटोमोबाइल, कृषि, एयरोस्पेस, केमिकल, जियोमेटिक्स, औद्योगिक तथा आर्किटेक्चर गरी दर्जन बढी विधाका स्नातक तहका कार्यक्रम सञ्चालनमा छन्।
सरकारी आङ्गिक क्याम्पसबाहिर मधेशमा निजी क्षेत्रका केही इन्जिनियरिङ कलेज छन्। तर ती त्रिभुवन विश्वविद्यालय वा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित छन्, आईओईको आङ्गिक क्याम्पस भने प्रदेशमै छैन। आङ्गिक क्याम्पसको शुल्क निजी कलेजको तुलनामा कम हुने हुँदा मधेशका विद्यार्थीका लागि यो अन्तर सस्तो होइन।
सम्बन्धन जनकपुरको, कलेज ललितपुरमा
आईओईको सम्बन्धनप्राप्त कलेजको सूचीमा ‘जनकपुर इन्जिनियरिङ कलेज’ पनि छ। तर नाममा जनकपुर भए पनि यो कलेज लामो समयदेखि उपत्यकामै सञ्चालित छ। आईओईले २०५७ सालमा जनकपुरमै सञ्चालन गर्ने गरी उक्त कलेजलाई सम्बन्धन दिएको थियो। सञ्चालनको केही वर्षमै कलेजले काठमाडौंभित्र सञ्चालनका लागि अनुमति माग्यो र डिन कार्यालयको अनुमतिपछि २०६५ सालदेखि उपत्यकामा सञ्चालन हुँदै आएको छ। यस वर्षको पहिलो चरणको भर्नापछि उक्त कलेजमा १६२ सिट रिक्त रहेको आईओईले सार्वजनिक गरेको विवरणमा देखिन्छ।
यो एक्लो मामला होइन। कान्तिपुर दैनिकले २०८० सालमा गरेको रिपोर्टिङअनुसार आईओईले सम्बन्धन दिएका १० वटै निजी इन्जिनियरिङ कलेज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा मात्र सञ्चालित छन्। अर्थात् आईओईको शैक्षिक सञ्जाल उपत्यकाभित्र खुम्चिएको छ। मधेशमै इन्जिनियरिङ पढ्ने वातावरण नहुँदा प्रदेशकै नाम बोकेको कलेज पनि राजधानी केन्द्रित हुन पुगेको जनकपुर इन्जिनियरिङ कलेज एउटा उदाहरण हो।
अब के के गर्नुपर्ने छ ?
सरकारले घोषणा गरेको कदम अहिले प्रारम्भिक चरणमा छ। क्याम्पस बन्नका लागि कम्तीमा यी काम बाँकी छन् ।
तीन वर्षभित्र पढाइ सुरु गर्ने लक्ष्य राखिएको छ, तर माथिका सबै चरण पूरा गर्न त्यो समय कति यथार्थवादी हो भन्ने विषयमा अध्ययन समितिको प्रतिवेदनले नै स्पष्ट पार्नेछ।
प्राविधिक शिक्षाको संरचना पनि काठमाडौं केन्द्रित
मधेशमा आङ्गिक इन्जिनियरिङ क्याम्पस नहुनु एक्लो समस्या होइन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा छ भने इन्जिनियरिङ पेशाको अनुमतिपत्र दिने नेपाल इन्जिनियरिङ परिषद् काठमाडौंको मिनभवनमा छ। आईओईका आङ्गिक क्याम्पस पनि पाँचमध्ये तीनवटा काठमाडौं उपत्यका र त्यसआसपासमा केन्द्रित छन्।
यही असन्तुलनका कारण प्राविधिक जनशक्तिको उत्पादन, परीक्षा र पेशागत नियमन सबै काठमाडौं केन्द्रित रहँदै आएको छ। मधेशमा नयाँ क्याम्पस स्थापना भएमा त्यो ढाँचामा केही परिवर्तन आउने अपेक्षा गरिएको छ।
प्रश्न बाँकी छन्
घोषणा सकारात्मक छ, तर कार्यान्वयनका लागि उत्तर खोजिनुपर्ने प्रश्न पनि छन् — अध्ययन समिति कहिले र कसको संयोजकत्वमा बन्छ ? क्याम्पस कुन जिल्लामा राखिन्छ — जनकपुर, बर्दिवास, वीरगञ्ज वा अन्यत्र ? जग्गा प्रदेश सरकारले दिने कि संघीय सरकारले व्यवस्था गर्ने ? बजेट संघीय बजेटबाट निकासा हुने कि अन्य स्रोत खोजिने ? पहिलो चरणमा कुन कुन विधाका कार्यक्रम सञ्चालन हुन्छन् ?
यी प्रश्नको उत्तर आएपछि मात्र मधेशमा इन्जिनियरिङ पढाइ कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन चित्र बाहिर आउनेछ। इञ्जिनियर खबरले यी विषयमा सम्बन्धित निकायसँग थप प्रतिक्रिया लिने प्रयास गरिरहेको छ।
Your email address will not be published. Required fields are marked *