सुदुरपश्चिम विश्वविद्यालयमा इन्नेक्स - २०२६ आयोजना हुने
नवप्रवर्धन, उद्यमशिलता र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले राष्ट्रिय स्तरको ह्याकाथन आयोजना गर्ने भएका छन् । स्कुल अफ इन्जिनियरिङ अन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लब (आईसीईसी) ले आगामी मंसिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको हो ।
‘इन्नेक्स २०२६’ नाम दिइएको प्रतियोगिता स्कुल अफ इन्जिनियरिङमा सञ्चालन हुनेछ । क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
क्लबकी अध्यक्ष जेलिना भट्टले दुई वर्षअघि क्लब गठन भएदेखि नै ह्याकाथन आयोजना गर्ने सपना देखेको र अहिले त्यो पूरा हुन लागेको बताइन् । दुई वर्षअघि गठन भएको क्लबले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि अघि बढाउँदै आएको छ । यिनै विषयमा छलफल गर्ने क्रममा ह्याकाथन आयोजना गर्ने अवधारणा अघि सारिएको अध्यक्ष भट्टले जानकारी दिइन् ।
विभिन्न आठ विधामा प्रतियोगिता
प्रतियोगितामा सहभागीले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल) र ओपन इनोभेसन गरी आठ विधामा रहेका समस्या पहिचान गरी प्राविधिक समाधान विकास गर्नेछन् । ४८ घण्टाको अवधिमा सहभागी टोलीले आफ्नो अवधारणालाई परियोजनाका रूपमा विकास गरी प्रस्तुत गर्ने आयोजकको योजना छ ।
बिजेतालाई एक लाख पन्ध्र हजार नगद
प्रतियोगितामा विभिन्न संकाय तथा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन्। सहभागीहरुले ३ देखि ४ जनाको समूह बनाएर रु. २००० सहभागी शुलक तिरी दर्ता गर्न सक्नेछन भने बिजेताले नगद रु. एक लाख पन्ध्र हजार सहित थुप्रै विद्युतीय उपकरणहरु प्राप्त गर्नेछन्।
सूचना प्रविधिसँग सम्बन्धित नयाँ सोच, सिर्जनशीलता र व्यावहारिक समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागिएको क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि स्कुल अफ इन्जिनियरिङ तथा विभिन्न संघसंस्थासँग सहकार्य र सहयोग जुटाउने काम भइरहेको क्लबले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *